१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँमा इन्जिनियर नबस्दा डकर्मीकै भर

चण्डेनी (काभ्रे)- भूकम्पमा भत्किएका घर पुनर्निर्माणका लागि पाँच महिनाअघि नै पहिलो किस्ता अनुदान पाएका चण्डेनी–३, कटहरेचौरका बद्रीप्रसाद पराजुलीले अझै घर बनाउन सकेका छैनन्।

सरकारले खटाएका इन्जिनियर गाउँमा नबसिदिँदा बलियो घर कसरी बनाउने भन्ने सल्लाह पाउन नसक्दा उनको योजना अघि नबढेको हो । लामो समय कुर्दा पनि प्राविधिक सहयोग पाउन नसकेपछि हालैमात्रै डकर्मीको सल्लाहमा जग खन्न थालेका छन् उनले।

अन्यत्रको तुलनामा उनको घर रहेको टोलका सबै घर भूकम्पमा भत्किएर पाताल भएपछि माटो नै कमजोर हो कि भन्ने आशंका उनको छ । ‘घर बनाउने ठाउँकै छनौट गर्दा इन्जिनियरलाई देखाउन पाए ढुक्क होइन्थ्यो,’ पराजुलीले भने ।

घरको जग खन्ने समयदेखि नै इन्जिनियरलाई नदेखाए सरकारले बाँकी किस्ता रकम दिँदैन भन्ने सुनेका उनले थपे, ‘पछि आउने इन्जिनियरले एकैपटक घरमात्रै हेरेर प्रमाणित गर्दैनन् भन्ने सुनेकाले अझै दोधारमा छु,’ पराजुलीले भने ।

यही चैतको पहिलो साताबाटै घर बनाउने योजना बनाएका कटहरेचौरकै सोमप्रसाद पराजुली पनि इन्जिनियरलाई भेट नहुँदा कस्तो र कसरी घर बनाउने भन्ने द्विविधामा छन् ।

‘हाम्रा लागि इन्जिनियर भने पनि डकर्मी भने पनि गाउँकै मान्छे छन् । उनीहरूले जसरी बनाउनु भन्छन्, त्यसै गर्नुपर्ला । नत्र त सरकारी इन्जिनियर कुर्दाकुर्दै फेरि वर्षाको सिजन आइपुग्ला,’ उनले थपे। कटहरेचौरका ६ घरधुरी पराजुली परिवार घर बनाउने तरखरमा छन् । तर, उनीहरूको योजना पनि यही कारणले अघि बढेको छैन ।

यतिखेर चण्डेनी गाविसका धेरै स्थानमा घर बनिरहेका छन् । यी घरहरू बनाउन गाउँकै डकर्मी संलग्न छन् । यीमध्ये थोरैले भवन डिभिजन र अन्यले गैरसरकारी संस्था कारितासबाट भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका छन् ।

‘मसहित ४ जनाले धुलिखेलबाटै भूकम्पप्रतिरोधी घर बनाउने तालिम लिएका थियौं । ३ जना अन्तै गाउँमा घर बनाउन गए । कारितास नेपालले तालिम दिएकामध्ये केही मात्र सक्रिय छन्,’ तालिम प्राप्त डकर्मी सुमन माझीले भने ।

चण्डेनी गाविसमा पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग गर्न गैसस कारितास नेपाल कार्यरत  छ। सरकारले खटाएका इन्जिनियर गाउँमा नबसे पनि कारितासका इन्जिनियरले गाउँलेको प्राविधिक समस्याको समाधान गर्दै आएका छन् ।

‘पहिला जग खन्ने बेलामै सरकारी इन्जिनियरलाई नखोजेका हैनौं । त्यतिखेर कुन दुलामा थिए। गाउँमा भएका कारितासकै इन्जिनियरलाई देखाउँदै तालिमप्राप्त डकर्मीलाई बनाउन लगाएको घर आज आएर प्रमाणीकरण हुँदैन भन्छन्,’ चण्डेनी–५ का कृष्णप्रसाद नेपालले गुनासो पोखे ।

टहरोमा दुई वटा हिउँद र दुई वटा वर्षात् कष्टले बिताएका स्थानीयले चाँडो घर बनाउन  तराईबाट डकर्मी र निर्माण मजदुरलाई गाउँमा ल्याएर धमाधम घर बनाइरहेका छन् । तराईका डकर्मी आएपछि आफूहरूले काम नपाएकोे चण्डेनी–२ का तस्बिर माझीले गुनासो गरे, ‘हामीले पनि कारितासबाट भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएको हो । घर बनाउने हो भन्दै सोध्दै हिँड्न भएन । गाउँका डकर्मीलाई बेवास्ता, बाहिरका ल्याउँछन्,’ उनले भने ।

चण्डेनीका ९ सय ८४ जनाको नाम अनुदानका लागि लाभग्राही सूचीमा प्रकाशित भएको थियो । तीमध्ये ९ सय २० जनालेमात्रै पहिलो किस्ताबापत ५० हजार रुपैंया अनुदान बुझेका छन् ।

‘गाविसभरिमा १ सय ५७ वटा घर बनिरहेका छन् । दोस्रो किस्ता पाउन योग्य ५७ वटा घर छन् । केहीलाई सबै किस्ता दिँदा पनि फरक पर्दैन तर, आजसम्म पनि दोस्रो किस्ता प्रमाणीकरण गर्ने सरकारी इन्जिनियरहरू उपलब्ध छैनन्,’ स्थानीय समाजसेवी केदारनाथ नेपालले भने ।

अब बन्ने घरहरूमा १२÷१२ को पिलर हुनुपर्ने सरकारको सर्त रहेको भए पनि अधिकांश ९/१२ को पिलरमा घर बनिसकेका छन् । यसरी घर बनाएकाले बाँकी किस्ता अनुदान पाइने या नपाइनेमा अन्योल भएको बताउन थालेका छन् ।

निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ मा निर्माणस्थल सुनिश्चितता र जग  रेखांकनका लागि प्राविधिक सहायता दिने र प्रमाणीकरण गर्ने उल्लेख छ।

तर, सहरी विकास मन्त्रालयबाट जिल्लामा खटिई आएका इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियरले क्रमशः जागिर छाड्दै हिँडेपछि गाउँमा निर्माणको रेखदेख र प्राविधिक सहायता दिने भनेकै डकर्मी हुन थालेका छन् ।

मन्त्रालयले प्रत्येक गाविस, नगरपालिका र स्रोत केन्द्रमा रहेर काम गर्न इन्जिनियर र सबइन्जिनियर गरी १ सय ७८ जना प्राविधिकलाई काभ्रेमा खटाएको थियो ।

‘यतिखेर मुस्किलले १ सय २८ को हाराहारीमा प्राविधिक छन् । भएकैले पनि कार्यविधिमा उल्लिखित घरको कम्तीमा चारवटा फोटो खिच्नै पर्ने ट्याब नहुँदा रोकिएको अवस्था छ,’ डिभिजनल इन्जिनियर अष्टलाल सुवालले भने । पछिल्लो समय स्रोत केन्द्रको व्यवस्था खारेज भएकाले यो संख्या अझै घट्ने भएको छ ।

जिल्लाकै दुर्गम डाँडापारिका मिल्चे, फोक्सिङटार र बनखुचौर गाविसमा इन्जिनियर नहुँदा घर निर्माणमा समस्या भएको गुनासो आइरहेको उनको भनाइ छ ।

कार्यविधिमा ७ सय लाभग्राही बराबर १ इन्जिनियर र त्यसपछिको प्रति ५ सय लाभग्राहीका लागि थप १ इन्जिनियरका दरले परिचालन गर्ने उल्लेख छ । मन्त्रालयबाट इन्जिनियर पठाइँदा लाभग्राहीको अनुपातमा नभएको डिभिजनका इन्जिनियर अशोक अधिकारीको भनाइ छ । ‘पाँचखालजस्तो जिल्लाकै ठूलो नगरपालिकामा जम्मा ३ जना इन्जिनियर पठाइएको छ, जबकि लाभग्राही नै ४ हजार ६ सय छन्। कार्यविधि अनुसार अझै ४ जना इन्जिनियर अपुग हुन्छ,’ अधिकारीले भने ।

पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधिले सबै प्राविधिक कामको जिम्मा डिभिजन कार्यालयलाई तोकिदिएको छ । हाल धुलिखेल डिभिजनमा रहेका जनशक्तिबाटै थप काम सम्पादन गर्न चुनौती थपिएको अधिकारीको भनाइ छ ।

काभ्रेमा विभिन्न संघसंस्थाले सञ्चालन गरेको निर्माणकर्मी सिप अभिवृद्धि कालिगढ तालिम र भस्कम्प प्रतिरोधी भवन निर्माण तालिमबाट हालसम्म १ हजार ६ सय जनाको हाराहारीमा दक्ष डकर्मी तयार भएको डिभिजनको अभिलेखमा छ ।

हाल तालिम लिएका सबै दक्ष डकर्मीले घर बनाउने काम गरेको अवस्थामा पनि निजी आवास पुनर्निर्माणका लागि अझै धेरै समय लाग्ने इन्जिनियर अधिकारीको भनाइ छ । ‘प्राधिकरणले लाभग्राहीको सूचीमा योग्य प्रमाणित गरकै संख्यालाई आधार मान्दा समेत एक जना दक्ष डकर्मीको  भागमा करीब ५० वटा घर बनाउनुपर्ने हुन आउँछ । उसले वर्षैभरि खट्यो भने पनि सम्भव छैन’, उनले भने।

यसलाई डिभिजनमा प्राप्त पुनर्निर्माण तथ्यांकले समेत पुष्टि गर्छ । काभ्रेका अनुदान सम्झौता गरेका ६२ हजार ७२ लाभग्राहीमध्ये हालसम्म २ हजार ५ सय ६५ जनाले मात्रै निर्माण सुरु गरेका छन् । सरकारको मुख नताकी घर निर्माण गर्ने लाभग्राहीको संख्या १ हजार ११ छ ।

यस्तै, प्लिन्थ ब्यान्डसम्म निर्माण सकेर दोस्रो किस्ताका लागि निवेदन गर्नेको संख्या ९ सय ५५ छ। यसरी सम्पन्न कार्यको हालसम्म डेढ सयको हाराहारीमा मात्रै प्रमाणीकरण सकिएको छ भने १ सय २० वटा घर जाँचको क्रममा रहेको डिभिजनले जनाएको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०२:५५ सोमबार

गाउँमा इन्जिनियर नबस्दा डकर्मीकै भर