१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

भारतीय राज्यस्तरको चुनावी अर्थ

यसै महिना भारतका पाँच वटा राज्यस्तरमा भएको विधानसभाको निर्वाचन परिणाम भर्खर आएको छ । निर्वाचन भएका राज्यमध्ये भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेश पनि छ, जसको जनसंख्या करिब बीस करोड छ । यो राज्यको नेपालसँग सीमासमेत जोडिएको छ । अर्को सीमा जोडिएको उत्तराखण्डमा पनि निर्वाचन भएको थियो । यसको जनसंख्या एक करोड मात्र छ र सुगौली सन्धिअघि यो नेपालकै भाग थियो । निर्वाचन भएका अन्य राज्यमध्ये करिब २ करोड ७७ लाख जनसंख्या भएको पञ्जाब, २७ लाख जनसंख्या भएको उत्तरपूर्वी राज्य मणिपुर र १४ लाख जनसंख्या भएको दक्षिण भारतमा रहेको राज्य गोवामा पनि थियो । सन् २०१४ मा भारतमा लोकसभा निर्वाचनमा एन.डी.ए. ले विजय हासिल गरेको थियो र भारतीय जनता पार्टीका नरेन्द्र मोदी प्रधानमन्त्री निर्वाचित भएका थिए । उक्त निर्वाचन भएको करिब अढाई वर्षपछि भएको यस निर्वाचनले भारतमा सन् २०१९ अगाडि हुने आम निर्वाचनमा कुन पार्टीले विजय हासिल गर्ला भन्ने अनुमान गर्न पनि सजिलो पारिदिएको छ । करिब एक वर्षअगाडि भारतको राजधानी दिल्ली र नेपालको सिमानासँग जोडिएको विहार राज्यमा समेत विधानसभाको निर्वाचन भएको थियो । दिल्लीमा आम आदमी पार्टीले विजय हासिल गरेको थियो भने विहारमा जे.डी.यू. र कांग्रेसको गठबन्धन विजयी भई नितिशकुमार मुख्यमन्त्री भएका थिए ।

उत्तर प्रदेशमा सन् १९९२ मा भएको निर्वाचनमा भाजपा विजयी भई कल्याण सिंह मुख्यमन्त्री भएका थिए । त्यसपछि विभिन्न गठबन्धनको सरकार बनेर बहुजन समाज पार्टी (बसपा) की मायावती र समाजवादी पार्टीका मुलायमसिंह यादव र उनका पुत्र अखिलेश यादव मुख्यमन्त्री भए । अहिलेको निर्वाचनको बेलामा अखिलेश यादवले भारतीय राष्ट्रिय कांग्रेसका राहुल गान्धीसँग गठबन्धन गरेका थिए । हुन त उत्तर प्रदेशमा कांग्रेस पार्टीको प्रभाव धेरै घटिसकेको छ, राहुलका बाबु राजीव गान्धी, बज्यै इन्दिरा र जिजुबाजे जवाहरलाल नेहरूको बेलामा भारतीय राष्ट्रिय कांग्रेस सबभन्दा शक्तिशाली पार्टी थियो । यस पटकको निर्वाचनले भने भारतीय राष्ट्रिय कांग्रेसका राहुल गान्धीलाई नराम्रोसँग हराइदिएको छ । धेरै जनाले अनुमान गरेका थिए कि उत्तर प्रदेशमा भाजपा सबभन्दा ठूलो पार्टी हुन्छ भनेर । निर्वाचनमा भाजपाले ठूलो पार्टी मात्र होइन, पूर्ण बहुमत हासिल गरी करिब दुई तिहाई सिटमा विजयी भयो । समाजवादी पार्टीका अखिलेश यादव र बहुजन समाज पार्टी (बसपा) की मायावतीले नराम्रोसँग हार्नु प¥यो । नेपालको सिमानासँग जोडिएको उत्तर प्रदेशमा भएको निर्वाचनको प्रभाव नेपालमा पनि पर्न सक्छ । नेपालको सीमाको पश्चिमको उत्तराखण्डमा पनि भाजपाले पूर्ण बहुमत मात्र ल्याएन कांग्रेसलाई नराम्रोसँग हराइदियो ।

नेपालको पहाडी भागमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी धेरै प्रभावशाली छन् । पहिलो निर्वाचनमा नेकपा (माओवादी) सबभन्दा ठूलो पार्टी भएको थियो । त्यसपछि नेपाली कांग्रेस र अनि नेकपा (एमाले) को नम्बर आउँथ्यो । दोस्रो संविधानसभाको निर्वाचनमा समेत नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी भए तापनि नेकपा एमाले र माओवादीजस्ता कम्युनिस्ट पार्टी दुवैको सिट जोडेमा कांग्रेसभन्दा बढी थियो । नेपाललाई धर्म निरपेक्षबाट हिन्दुसापेक्ष मुलुक  बनाउनुपर्छ भन्ने राप्रपा नेपाललाई ६०१ सदस्य भएको संविधानसभामा २५ सिट मात्र जितेको थियो । भारतको पश्चिमी बंगालमा माक्र्सवादी कम्युनिस्टको हार भएपछि भारतका कुनै पनि ठूलो राज्यमा कम्युनिस्ट पार्टीको शासन छैन । भारतको लोकसभामा समेत माक्र्सवादी कम्युनिस्ट (सिपिएम) पार्टीको सदस्य संख्या घटेको छ । मनमोहन सिंह पहिलो पटक प्रधानमन्त्री भएको बेला सिपिएमका नेता सीताराम येचुरीले नेपालमा गणतन्त्र ल्याउन र यसलाई धर्मनिरपेक्ष राज्य बनाउन ठूलो योगदान दिएका थिए । अहिले माओवादी नेता प्रचण्ड नेपालमा प्रधानमन्त्री छन् र हालै उनले आपूm राजावादी तथा नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्ने राप्रपा नेपालका कमल थापालाई उपप्रधानमन्त्री बनाई आफ्नै पार्टी सदस्यबाट महŒवपूर्ण मन्त्रालय खोसेर उनलाई दिएका छन् । भारतमा भएको निर्वाचन परिणामले नेपालमा हुने स्थानीय निर्वाचन र आगामी वर्षमा हुने संसदीय निर्वाचनमा समेत राप्रपा नेपालको सिट संख्या धेरै बढ्ने र नेपाल हिन्दु मुलुक बन्ने सम्भावना धेरै बढेको छ ।

पञ्जाबमा भारतीय राष्ट्रिय कांग्रेसले चुनाव जितेको छ । २० करोड जनसंख्या भएको उत्तर प्रदेशसँग २ करोड ७० लाख जनसंख्या भएको पञ्जाबको तुलना गर्न सकिँदैन । पञ्जाबमा शिरोमणि अकाली दल र भाजपाको गठबन्धनलाई भारतीय राष्ट्रिय कांग्रेसले नराम्ररी हराएको हो  । निर्वाचन भएका अन्य दुई राज्य मणिपुर र गोवामा भाजपा र भारतीय राष्ट्रिय कांग्रेसको बराबर जस्तै सिट संख्या छ । जे भए पनि यी धेरै साना राज्य हुन् ।

भारत सन् २०१९ मा हुने लोकसभाको निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले निर्वाचन जित्ने सम्भावना अब उत्तर प्रदेशको विधानसभाको परिणामले धेरै बढेको छ । केही महिनापछि भारतमा नयाँ राष्ट्रपतिको हुने निर्वाचनमा भाजपाको जित हुने सम्भावना बढेको छ । भारतको राज्यसभा सदस्यको निमित्त निर्वाचन हुँदा विधानसभाबाट समेत हुने हुँदा राज्यसभामा समेत भाजपाको सदस्य संख्या बढ्ने छ र भाजपालाई आफ्नो प्रभाव बढाउन सजिलो हुनेछ । यस निर्वाचनले भारतीय राजनीतिमा भारतीय राष्ट्रिय कांग्रेसको निमित्त विशेष गरी राहुल गान्धीको निमित्त निराशाजनक हुने देखाएको छ ।

प्रकाशित: १ चैत्र २०७३ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App