१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यातायातमा हट्यो, लिखित कागजी लाइसेन्स फारम

काठमाडौं– यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वागमती एकान्तकुनाले कागजी लिखित फारामको व्यवस्था हटाएको छ। 

मंगलबारदेखि यातायात कार्यालय एकान्तकुनाले बिचौलियाको बिगबिगी रोक्नका लागि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को कागजी लिखित फारमको व्यवस्था हटाएको हो।

कार्यालयका प्रमु्ख तेजनारायण यादवले चैत १ गतेदेखि लाइसेन्सको कागजी लिखित आवेदन बुझ्न छाडेको बताएका छन् । बिचौलियाले एकैपटक फारम किनेर कृत्रिम अभाव खडा गरेर अवैध बेचबिखन गरिरहेकाले अवैध गतिविधि रोक्न लाइसेन्सको लिखित फारम बुझ्ने व्यवस्था हटाएको उनले भने।

ललितपुर उपमहानगरपलिकाले लाइसेन्सको लिखित फारम १० रुपैयाँमा उपलब्ध गराउने भए तापनि बिचौलियाले एकैपटक फारम खरिद गरेर दुई सय रुपैयाँसम्म बेचबिखन गर्दै आएका थिए । कार्यालयले ललितपुर उपमहानगरपलिकालाई लाइसेन्सका लागि लिखित फारमसमेत नछाप्न परिपत्र गरिसकेको कार्यालय प्रमुख यादवले बताए ।

कार्यालयले पुस १० गतेदेखि नै अनलाइनमार्फत लाइसेन्सको आवेदन बुझाउने व्यवस्था गरेका थियो । तर, कार्यालयले अनलाइन फारम बुझाउन नजान्ने सेवाग्राहीका लागि कागजको लिखित आवेदन बुझाउने अवसर दिँदै आएको थियो ।

कागजको लिखित फारम लिँदा बिचौलियाले ठग्ने प्रवृति नरोकिएपछि चैत १ गतेदेखि नै कागजको लिखित फारम नबुझ्ने व्यवस्था  कार्यान्वयनमा ल्याएको कार्यालयले जनाएको छ । ‘अबदेखि सेवाग्राहीले लाइसेन्सको आवेदनका लागि बिचौलियाको सहयोग लिनु नै पर्दैन । आफैँ अनलाइनमार्फत फर्म भर्न नसक्नेलाई कार्यालयमा फर्म भर्ने व्यवस्था मिलाएका छौँ,’ कार्यालय प्रमुख यादवले भने, ‘लाइसेन्सका लागि आवेदन दिने सेवाग्राहीले नागरिकता लिएर आउनुपर्छ । कर्मचारीले निःशुल्क भरिदिन्छन् ।’ 

कार्यालय प्रम्ुख यादवले कार्यालयलाई बिचौलियामुक्त बनाउने अभियान थालेको बताएका छन् । ‘यातायात कार्यालयलाई व्यवस्थित गर्न खोजिरहेको छु,’ उनले अगाडि भने, ‘कार्यालय परिसरमा पर्खाल लगाएर नै बिचौलियालाई निरुत्साहित गर्न लागिरहेका छौं ।’

कार्यालयका अनुसार दैनिक पाँच सय जना सेवाग्राहीले अनलाइन मार्फत फराम भर्न सक्नेछन् । 
कसरी भर्ने अनलाइन फाराम ?

लाइसेन्सको अनलाइन फारम भर्न यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपीमा जानुपर्छ । वेबसाइटको होमपेजमा ‘अनलाइन सवारीचालक अनुमतिपत्र’ को लिंकमा क्लिक गरेपछि अनलाइन फारम भेटिन्छ । आवेदनकर्ताले आफ्नो विवरण भरेपछि सबमिटमा गएर क्लिक गर्नुपर्छ । यसपछि प्रिन्टमा क्लिक गरी रेफरेन्स नम्बरसहितको प्रिन्टआउट सामग्री लिएर यातायात कार्यालयमा जानुपर्छ । सेवाग्राहीले बायोमेट्रिकका लागि आफैँ कार्यालयमा पुगेर, फोटो, हस्ताक्षर तथा औँठाछाप लगाउनु कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २ चैत्र २०७३ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App