लेखनको लत

शनिबार, ०५ चैत २०७३, ११ : २४ शिक्षा रिसाल  | @RisalShiksha


असीम ठमेल घुम्न गएका थिए, २०७० सालको कुनै एक दिन। त्यहाँ कोही देशको झन्डा बेच्दै थिए, कोही देशको नक्सा। गुजारा चलाउन कसैले आइसक्रिम बेच्दै थिए। अनि, उनलाई फुर्‍यो–

धनमाया इस्कुस बेच्छिन्, इमान बेच्दिनन्

साग बेच्छिन्, स्वाभिमान बेच्दिनन्

आइसक्रिम बेच्छिन्, हिमाल बेच्दिनन्

देशको मानचित्र बेच्छिन् देश बेच्दिनन्

मैले तिनै धनमायासँग सिकेको हुँ

देशलाई माया गर्न।

• तरकारी व्यापारको व्यस्तताबाट अलिकति समय निकालेर कवि गोष्ठी, कार्यक्रममा जान्छु। म यसरी बाहिर निस्केको श्रीमती र छोराहरुले राम्रो मान्छन्। कहिल्यै नाइँनास्ती गर्दैनन्। –असीम सागर

'हो, गुजाराका लागि मानिस पसिनादेखि अन्य विभिन्न वस्तु बेच्दैछन्। सोच्दासोच्दै झट्ट मेरो दिमागमा आयो– कतै नेेताले देशै त बेचिदिन्नन्?,' असीम भन्छन्, 'अनि यो कविता कोरेँ।'

'पसिनाको जुलुस' शीर्षकको यो कवितामा असीमले आफू र आफूहरुजस्तैका जीवन उतारेका छन्। 

असीम सागर, वर्ष ४४, साहित्य अनुरागीमात्र होइनन् लेखक पनि हुन्। उनी लगनखेलमा तरकारी बेच्छन्। सँगसँगै अक्षरको खेती गर्छन्। आफूभित्र उठेका विचार, भावना, संवेदनालाई शब्दमा पोख्छन्।

०००

हरेक व्यक्तिमा संवेदना हुन्छ। मानिसले आफूभित्रको संवेदनालाई शब्दका माध्यमबाट व्यक्त गर्छ र साहित्य बन्छ। साहित्य उच्चतम मानवीय अभिव्यक्ति हो, मानिसले लेखेर वा बोलेर साहित्यिक अभिव्यक्ति दिइरहेको हुन्छ। साहित्यका अक्षरमा अन्यमा भन्दा बढी शक्ति हुन्छ त्यसैले पाठक यसमा आकर्षित हुन्छन्। अक्षरको खेती गर्ने अर्थात् लेख्न मन गर्नेहरुमा एउटा लत नै हुन्छ। लत लागेपछि जस्तासुकै अप्ठेरा पनि सहज बन्न पुग्छन्।

अर्घाखाँची वाङ्लाका असीम लाउँलाउँ र खाउँखाउँको उमेरमा परदेशिए। 'घरको आर्थिक अवस्था त्यस्तै थियो,' उनी भन्छन्, 'कक्षा १० सम्म पढेपछि काम खोज्दै भारतका विभिन्न स्थान  पुगेँ।'

भारतको कालिङपोङमा बस्दा उनले थुप्रै गजल लेखे। साहित्यिक संगतमा पुगे। उनले ०५४ सालदेखि गीत–गजल, कविता, हाइकु र मुक्तक लेख्दै आएका छन्। दार्जीलिङबाट उनका दुई गजलसंग्रह प्रकाशित छन्– 'जून पोखिएको रात' र 'अस्तित्वको आवाज।'

'स्वर्गको सपना गजल एल्बम पनि निकालेको छु,' असीम भन्छन्, 'स्थापित गायकले गाउनुभएको छ।' असीम कवितासंग्रह प्रकाशन गर्ने योजनामा छन्।

कालिङपोङबाट काठमाडौँ फर्केको पाँच वर्ष भयो, काठमाडौँमा जीविकोपार्जनका लागि तरकारी बेच्छन्। पसलमा तरकारी बिक्री गर्दागर्दै उनमा अनेक विचार र भावना आउँछन्, जसलाई उनी डायरीमा उतार्छन्।

• म परिवारका जेठो छोरा हुँ, एउटा भाइ र एउटी बहिनी छन्। पारिवारिक जिम्मेवारी मेरो थाप्लोमा छ। रोजगारी गर्दैै कविता लेख्दै आएको छु। –सुरज राना

उनलाई लेखनमा लाग्न परिवारको ठूलो सहयोग छ। 'तरकारी व्यापारको व्यस्तताबाट अलिकति समय निकालेर कवि गोष्ठी, कार्यक्रममा जान्छु,' उनी भन्छन्, 'म यसरी बाहिर निस्केको श्रीमती र छोराहरुले राम्रो मान्छन्। कहिल्यै नाइँनास्ती गर्दैनन्।'

सहरमा उनको नाम त्यति ठूलो बनिसकेको छैन। तर, उनलाई हौसला दिने भने बढ्दैछन्। 'केही साथी कमाएको छु, उहाँहरु मलाई हौसला दिइरहनुहुन्छ,' उनी भन्छन्, 'मैले कल्पना पनि गरेको थिइनँ, काठमाडौँजस्तो ठाउँमा पाँच वर्षमै धेरै गरेँ जस्तो लाग्छ, अझै गर्न बाँकी छ।'

सुनसरीका सुरज राना वैदेशिक रोजगारीमा छन्– संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित मरिना मलमा सेल्सम्यान। कामसँगै उनी कवितामा रमाउँछन्। उनी आबुधाबी पुगेको दुई वर्ष भयो भने कविता लेख्न थालेको १० वर्ष।

'मभित्र बाल्यकालदेखि नै कवि हृदय थियो जस्तो लाग्छ,' उनी भन्छन्, 'सानैदेखि कविता पढ्न र सुन्न रमाइलो लाग्थ्यो। १४–१५ वर्षको उमेरदेखि लेख्न थालेको हुँ।'

सुरज परिवारका जेठो छोरा हुन्। एउटा भाइ र एउटी बहिनी छन्। 'पारिवारिक जिम्मेवारी छ,' उनले भाइबरमा भने, 'रोजगारी गर्दैै कविता लेख्छु।'

व्यवस्थापनमा स्नातक सुरज आबुधाबी जानुअघि इटहरीको एक कम्प्युटर इन्स्टिच्युटमा डिप्लोमा इन एकाउन्टिङ प्याकेज पढाउँथे। बिस्तारै प्रतिस्पर्धा बढ्दै गयो, कमाइ घट्दै गयो। 'क्षमताअनुसारको जागिर नपाएपछि बिदेसिनुपर्‍यो,' उनी भन्छन्, 'जेहोस्, अर्को देश र समाजलाई बु‰न पाएको छु।'

राना गजल पनि लेख्छन्। साहित्य रचना उनको दैनिकी नै बनेको छ। उनको अनुभवमा लेख्न समय र वातावरण चाहिँदैन। 'लेख्ने वातावरण त लेखक आफैले बनाउनुपर्छ,' उनी भन्छन्। दिनभर काम गरेर उनी कविताबारे सोच्ने समय निकाल्छन्। उनका लागि जीवन र जगत्प्रतिको गहन अनुभूति तथा त्यसको कलात्मक अभिव्यक्ति नै साहित्य हो। उनको 'कल्चर अफ लभ' नामक गजलसंग्रह २०६९ सालमा प्रकाशित भएको छ।

नेपालमा विस्तारै साहित्यको विकास भइरहेको मान्ने उनी लेख्नेको संख्या पनि बढिरहेको देख्छन्। नेपाली पाठकको चेतनास्तर पनि बढेको उनको बुझाइ छ। 'तर, केही राजनीतिक विचारको दास बनेर साहित्य कर्म गर्नेको गुटबन्दीले भने नयाँ कलमको भ्रूणहत्या हुने सम्भावना छ,' उनले जोखिम देखेका छन्।

आफ्ना भोगाइबुझाइलाई समेटेर उनले केही गजल र कविता लेखेका छन्। उनले २०६९ सालमा गजलसंग्रह निकाले। 

• माटोको पूजा त कसरी छोड्न सक्छु र? बिहान–बेलुकी र बिदाको दिन खेतबारीमा व्यस्त रहन्छु। व्यस्तताबीच समय निकालेर कविता, गजल र कथा लेख्छु। –डिल्लीनाथ सापकोटा

दोलखा चरिकोटका डिल्लीनाथ सापकोटाको जीविकोपार्जनको मेलो बेग्लै छ, उनी आफ्नो काममा दत्तचित्तले लाग्छन्। सँगसँगै उनको व्यग्रता साहित्यप्रति पनि छ। दोलखा चरिकोटका ३३ वर्षीय डिल्लीनाथ चार वर्ष अघिसम्म पूर्णकालीन कृषक थिए। अहिले दोलखाकै मिलीजुली बचत तथा सहकारीमा बचत संकलनको काम गर्छन्। वर्षौंदेखि गर्दै आएको मलिलो माटोको पूजा त कसरी छोड्न सक्थे र? बिहान–बेलुकी र बिदाको दिन उनी आफ्नै खेतबारीमा व्यस्त रहन्छन्। यही व्यस्तताबीच समय निकालेर कविता, गजल र कथा लेख्छन्। 'खासगरी बिहानको समयमा लेख्न मन लाग्छ, समय पनि मिलाउँछु,' उनी भन्छन्। डिल्लीनाथ नेपाली विषयमा स्नातक हुन्। उनलाई कथा, कविता पढ्न र लेख्न सानैदेखि रूचि थियो। स्कुल पढ्दादेखि नै अलिअलि लेख्ने गरेका उनी १६–१७ वर्षको भएपछि आफ्नो लेखनमा 'टर्निङ प्वाइन्ट' आएको ठम्याउँछन्। उनका दाइ द्वन्द्वकालमा मारिए। 'दाइलाई गुमाएको पीडा कवितामा पोख्न थालेँ,' उनी भन्छन्।

सुरुसुरुमा उनी यसरी साहित्य सिर्जना लागेको परिवारका सदस्यलाई चित्त बुझेको थिएन। 'आमाले त राम्रै मान्नुहुन्थ्यो,' उनी भन्छन्, 'बुवाले त्यति निको मान्नुहुन्नथ्यो। यो कोठाभित्र एक्लै बस्ने भयो, जीवनमा केही गर्ने भएन भन्नुहुन्थ्यो।'

दाइ मारिएदेखि अहिलेसम्म डिल्लीनाथको जीवनमा धेरै परिवर्तन आइसकेको छ। उनले बिहे गरिसकेका छन् भने बाबुसमेत भइसकेका छन्। समय पहिलेजस्तो छैन, जीवन धान्नका लागि अरु काममा पनि लागिपरेका छन्। पारिवारिक बन्धनमा बाँधिएपछि विभिन्न घरायसी समस्या समाधानका लागि पनि उनी दौडिनुपर्छ। पढ्न र लेख्न त मन लाग्छ तर घर–गृहस्थीले गर्दा अहिले त्यसका लागि पर्याप्त समय नभएको उनी बताउँछन्।

उनका लागि जीवन नै साहित्य हो र साहित्य नै जीवन हो। 'म साहित्य नै बिर्सेर बाँच्न कुनै पनि हालतमा सक्दिनँ। विभिन्न समस्याका बाबजुद पनि म लेख्ने कुरालाई भने छोड्न सक्दिनँ,' उनी साहित्यप्रतिको प्रतिबद्धता व्यक्त गर्छन्। अहिले उनले लेख्दा भने पहिलेजस्तो परिवारका सदस्य रिसाउँदैनन्। प्रायः आफूले लेखिरहँदा परिवारका सदस्यले अफिसको काम गरिरहेकोे होला भनेर सोच्ने गरेको उनी बताउँछन्।

सहकारी, कृषि र लेखनका अलावा उनी दोलखामा स्थानीय रेडियोमा स्थापनाकालदेखि नै कार्यक्रम पनि चलाउँछन्। उनी त्यहाँ साहित्यसम्बन्धी कार्यक्रम चलाउँछन्, जसमा कविता, गजल र उपन्यास वाचन पनि गर्छन्। उनको कार्यक्रम स्रोतामाझ प्रिय छ।

साहित्यमा लाग्दा ठूलो अपेक्षा केही नगरेको डिल्लीनाथ बताउँछन्। 'यति गरौँला यति पैसा कमाउँला भनेर लेख्दिनँ। आत्मसन्तुष्टिका लागि लेख्छु,' उनी भन्छन्, लेखनबाटै समाजले असल मान्छे भनेर चिनिदिए पुग्छ।'

खोटाङका नवीन प्यासीको कवितामा विशेष लगाव छ। उनलाई जीवन संघर्षले काठमाडौँ ल्याएको चार वर्ष भयो। केही समयअघि उनी पोल्ट्री फार्ममा काम गर्थे। अहिले जावलाखेलस्थित जर्मन बेकरीमा काम गर्छन्। काम गर्दागर्दै उनी कविता रचना गर्छन्। 

आर्थिक समस्याका कारण उनले उच्च शिक्षालाई निरन्तरता दिन सकेनन्। केएफए बिजनेस स्कुलमा पढ्दापढ्दै छाड्नुपर्‍यो। 'जीविकोपार्जनकै लागि बेकरीमा काम गरिरहेको छु,' उनी भन्छन्, 'अब बीए पढ्ने विचारमा छु।' 

काम, सोच, सपनाबीच उनी लेखनमा उत्रन्छन्। उनले लेख्न थालेको दुई वर्ष भयोे। हालै धरानमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा तृतीय भएपछि उनलाई लेख्ने विश्वास बढ्यो। त्यसअघि पनि उनले स्थानीयस्तरका साहित्यिक प्रतियोगितामा भाग लिएको र पुरस्कृत पनि भएको बताए।

'सानैदेखि नै साहित्यमा मेरो रूचि थियो। म लेख्न चाहन्छु। अरु कामभन्दा लेख्न र पढ्नमा बढी मज्जा आउँछ। जीवनमा जस्तोसुकै परिस्थिति आए पनि म लेख्न छाड्ने छैन,' उनको लेखनप्रतिको प्रतिबद्धता यस्तो छ।

उनको परिवारमा आमा, बुवा, बहिनीहरू छन्। साधारण परिवार, परिवारबाट उनलाई खासै सहयोग छैन। 'सायद मैले परिवारलाई बुझाउन सकिनँ वा वहाँहरुले मलाई बु‰न सक्नुभएन। यसैले पढाइ पनि छुट्यो। त्यसपछि म आफै काम गर्दै बाँचिरहेको छु,' उनी भन्छन्।

द्रुत गतिमा विकास भइरहेको देशको ठूलो मलको सेल्स काउन्टरमा काम गर्नुको मजा भनेकै विभिन्न देशका नागरिकसँग दिनहुँ भेट हुन्छ। कुनै न कुनै रुपमा कुराकानी पनि भइरहन्छ। यो एक्सपोजरले रानालाई संसारका धेरै देशको संस्कार र परम्परासँग परिचित हुन सघाएको छ। 'जब विकसित देशका सभ्य नागरिकलाई भेट्छु, मलाई मेरो देश र नागरिकको धेरै माया लागेर आउँछ। उनीहरुको सभ्यता र इमानदारीले धेरै प्रभावित बनाउँछ,' उनी भन्छन्।

भेटेका मानिसको कुरा र सम्बन्धले उनलाई साहित्य सिर्जना गर्न जोस र हौसला दिन्छ, कविता र गजलका लागि प्लट पनि मिल्छ। साहित्य लेखन आफ्नो रुचि भए पनि पूर्णकालीन साहित्यकार बन्ने सोच भने नराखेको उनी बताउँछन्। 'मलाई विशेषगरी समाज र देशको गलत प्रणाली देख्दा त्यसका विरुद्ध लेख्न मन लाग्छ,' उनी थप्छन्।

• सानैदेखिको रूचि हो, म लेख्न चाहन्छु। अरु कामभन्दा लेख्न र पढ्नमा बढी मज्जा आउँछ। जीवनमा जस्तोसुकै परिस्थिति आए पनि म लेख्न छाड्ने छैन। –नवीन प्यासी

लेख्नेहरुका लागि लेखन एउटा लत नै हो। प्यासीलाई पनि कहिलेकाहीँ लेख्न मन लागिरहेको हुन्छ। उनलाई मन पर्ने विधा कविता हो। कविता उनले धेरै लेखेका छन्। उनका कविता पत्रपत्रिकामा छापिन्छन्। उनलाई संग्रह निकाल्न भने हतार छैन।

'सोच्छु, यो लेखाइले मलाई कहाँ पुर्‍याउँछ? म केका लागि लेख्न चाहन्छु? कसका लागि लेख्न चाहन्छु? मेरो गन्तव्य कहाँ हो,' प्यासी भन्छन्, 'म पुग्नुपर्ने ठाउँ कहाँ हो र नेपाली भाषा साहित्यलाई मैले के दिन सक्छु भन्ने महसुस र जिम्मेवारीबोध नभएसम्म संग्रह निकाल्ने योजना छैन।'

प्यासीको बुझाइमा साहित्यले मानिसमा सकारात्मक सोच र चिन्तन विकास गर्छ र गर्नुपर्छ। 'साहित्यले मानिसलाई जीवन बु‰न सिकाउँछ,' उनी भन्छन्, 'आ‰नो सिर्जनाले दिने कुरा के हो भन्ने लेखकलाई बोध हुनुपर्छ।'

प्यासी साहित्यमै आफ्नो जीवन देख्छन्। पारिवारिक सहयोग पाएको भए उनी वित्तीय क्षेत्रमा काम गरिरहेका हुन्थे होला। 'बैंकमा काम गरिरहेको भए लेखनमा 'प्यासियोनेट्ली' लाग्न सक्दिनथेँ होला किनभने परिवारको जिम्मेवारीले पनि मलाई थिच्थ्यो। अब भने म सबै आफै गरिरहेको छु र त समय मिलाइरहेको छु,' उनी भन्छन्। यसोे भन्दैमा परिवारप्रति गैरजिम्मेवार पनि नभएको उनी बताउँछन्।

दैनन्दिन जीवन धकेल्न रानाले भीमकाय खुड्किला जसोतसो उक्लिए। साहित्यको खुड्किलो उक्लिन पनि उनले उस्तै संघर्ष खेपे। साहित्य भनेपछि मन जुरुक्क हुन्थ्यो, तन हुरुक्क हुन्थ्यो। 'पहिले त परिवार, साथीभाइ कोही पनि साहित्यमा नभएकाले इच्छा र क्षमता भएर पनि बाटो भेटिरहेको थिइन,' उनी भन्छन्, 'मन त्यसै मारेर बसेँ।'

त्यही बाटो नभेटाएर उनका अनेक भावना डायरीका पानामा थन्किए। तर, जब चेतनामै साहित्यको लत बस्यो, त्यसबाट निस्कनै सकेनन्। उनलाई लाग्यो– यसले जीवन बाँच्न सिकाउँछ, लर्खराएको जीवनमा टेको दिन्छ। 'साहित्यकै लागि मैले धेरै रात ननिदाई बिताएको छु। यसले मेरो स्वास्थ्यमा नराम्रो असर पारेको छ,' उनी भन्छन्, 'अनि सोच्दासोच्दै आफ्नै संसारमा हराउने बानीले धेरै साथीसँग अल्लगिएको पनि छु। दुःख यसैमा लाग्छ।'

राना धेरै पढ्छन्। पढ्ने लहडमा उनले साथीका कोठाबाट धेरै किताब चोरेका छन्। पढाइको भोकले कति पटक पेटको आगो भुलेका छन्। भन्छन्, 'खाना र किताब रोज्न दिए म किताब छान्छु। कतिपटक भोकै बसेको छु।' साहित्यमा खर्चिएको समयलाई उनी लगानी ठान्छन्। त्यस्तो लगानी, जसले जीवनको अँध्यारो चिर्ने बाटो पहिल्याइदिन्छ। उनी जहाँसम्म आइपुगेका छन्, जुन बाटो हिँडेका छन् त्यसमा कसैले हात तेर्स्याएर उनलाई बामे सारेन। आफ्नो बाटो आफै बनाए, आफै हिँडे। यो अर्थमा उनी आफ्नै पथप्रदर्शक हुन्। आफ्नै अभिभावक हुन्।

केही प्रसिद्ध लेखकका दुःख

इङ्ल्यान्डको ककरमाउथ, क्याम्ब्रियामा सन् १७७० को अप्रिल ७ मा जन्मिएका विलियम वर्डस्वर्थकी आमाको निधन वर्डस्वर्थ आठ वर्षको हुँदा भएको थियो। उनले हक्सहेड ग्रामर स्कुलमा पढे जहाँ उनको कविताप्रतिको लगाव र रूचि स्थापित भयो। उनले त्यहीँ नै कविताका पहिलो हरफ कोर्न सुरु गरेको मानिन्छ। जीवन बाँच्न यी प्रसिद्ध कविले विभिन्नखालका संघर्ष गर्नुपर्‍यो।

हक्सहेडपछि उनले क्याम्ब्रिजको सेन्ट जोन्स कलेजमा पढे र अन्तिम सेमेस्टरअघि युरोप यात्रामा निस्के। यसले उनको कविता लेखन र राजनीतिक संवेदनशीलतालाई प्रभाव पार्‍यो। युरोपमा यात्रा गर्दै जाँदा उनी फ्रेन्च क्रान्तिमा पनि संलग्न भए। सन् १७९३ मा उनका सुरुवाती कवितासंग्रह 'एन इभिनिङ वाक एन्ड डिस्त्रि्कप्टिभ स्केचेज' प्रकाशित भयो। सन् १८०२ मा उनले मेरी हचिन्सनसँग विवाह गरे। उनीहरूबाट पाँच जना छोराछोरी जन्मे।

उनको कवितायात्रा सन् १९९४ मा कविता स्यामुअल टेलर कलरिजलाई भेटेपछि झनै प्रगाढ भयो। सन् १७९८ मा वर्डस्वर्थले प्रसिद्ध 'लिरिकल ब्यालेड्स' प्रकाशित गरे। उनको सबैभन्दा चर्चित कृति 'दि प्रिल्युड'(१८५०) लाई अंग्रेजी रोम्यान्टिसिज्ममा ठूलो उपलब्धि मानिन्छ। सन् १८५० को अप्रिलमा उनको मृत्यु भयो र उनकी श्रीमतीले उनको मृत्युको तीन महिनापछि 'दि प्रिल्युड' प्रकाशन गरिन्।

सन्् १९०९ को फेब्रुअरीमा मिसौरीमा जन्मिएका ल्यांग्सटन ह्युले आफ्नो पहिलो कविता सन् १९२१ मा प्रकाशित गरेका थिए। उनको पहिलो पुस्तक २४ वर्षको उमेरमा सन् १९२६ मा प्रकाशित भयो। उनी कोलम्बिया विश्वविद्यालयमा अध्ययन गर्थे, तर विभिन्न ठाउँमा यात्राका कारण उनले एक वर्षमै अध्ययन छाड्नुपर्ने अवस्था आयो।

उनका बुवा र आमाको सम्बन्ध बिच्छेदपछि उनी मामाघरकी हजुरआमासँग बसेका थिए। तर, उनको पनि चाँडै नै निधन भयो। त्यसपछि उनी फेरि आफ्नी आमासँगै बस्न थाले र विभिन्न ठाउँमा यात्रा गर्न थाले। त्यही बेला उनले कविता लेख्न सुरु गरेका थिए। उनी १९२४ मा अमेरिका फर्किएपछि विभिन्न काम गर्न थाले। वासिङ्टनमा 'बसब्वाइ' देखि लिएर होटल तथा रेस्टुरेन्टमा समेत उनले काम गरे। एकदिन होटलमा अमेरिकन कवि भाचेल लिन्ड्सेलाई उनले आफ्नो कविता देखाए जसबाट लिन्ड्से धेरै प्रभावित भए। उनले ह्युका कवितालाई स्रोतामाझ पुर्‍याउन पनि सघाए। सन् १९२५ मा ह्युको 'द वेरी ब्लुज' भन्ने कविताले अपरच्युनिटी म्यागेजिनको साहित्यक प्रतिस्पर्धामा प्रथम पुरस्कार पाएको थियो।

सन् १९५० देखि भने ह्यु विशेषगरी युवापुस्ता र नेग्रो लेखकहरूमाझ लोकप्रिय हुन पुगे। उनले आफ्नो लेखनमा धेरैजसो कालाजातिका आवाज पोख्ने गर्थे। उनको प्रसिद्धि चुलिँदै थियो, तर सन् १९६७ मा ६५ वर्षको उमेरमा उनको मृत्यु भयो। उनले आफ्नो जीवनकालमा १९ वटा कवितासंग्रह निकाले भने उपन्यास, कथासंग्रह, बालबालिकाका लागि किताब तथा नाटक पनि थुप्रै प्रकाशित गर्न भ्याए।

सन् १९१४ मा वेल्सको स्वान्सीमा जन्मिएका वेल्सम्यान ड्यालन थोमसले लेखक र रिपोर्टर बन्नका लागि १६ वर्षको उमेरै स्कुल छोडे। उनको प्रसिद्ध कविता 'डु नट गो जेन्टल इन्टु द्याट नाइट' सन् १९५२ मा प्रकाशित भए पनि उनको ख्याति वर्षौंअघिदेखि नै रहेको थियो। उनको आख्यान 'अन्डर मिल्कउड'(१९५४) र 'ए चाइल्ड्ज क्रिसमस इन वेल्स'(१९५५) मा प्रकाशित भएका थिए। थोमस उनको एनिमेटेड पठनका लागि पाठकद्वारा रूचाइएका छन्, तर उनको ऋण र धेरै पिउने बानीले गर्दा सन् १९५३ मा ३९ वर्षकै उमेरमा न्युयोर्कमा उनको निधन भयो। 

सन् १९३१ मा १६ वर्षको उमेरमा स्कुल छाडेपछि उनी साउथ वेल्स डेली पोस्ट पत्रिकामा जुनियर रिपोर्टर भएर काम गरे। तर, त्यहाँ उनी लामो समय टिकेनन्। सन् १९३२ को डिसेम्बरमा उनले पत्रिका छोडे। त्यसपछि उनी साहित्य लेखनमा लागे। उनका दुईतिहाइ रचना किशोरावस्थाका पछिल्ला वर्षमा सिर्जना गरिएका थिए।

थोमसले चाँडै नै सफलता हासिल गरे। सन् १९३३ मा उनको कविता 'एन्ड डेथ स्याल ह्याव नो डोमिनियन' प्रकाशित भयो, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रकाशन थियो। यसले गर्दा सन् १९३३ को समरमा थोमसले बेलायतका अंग्रेजी भाषाका विभिन्न साहित्यिक म्यागेजिनका सम्पादकसँग भेट्ने अवसर पाए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...