१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साझाले माग्यो भक्तपुरमा रुट परमिट, व्यवसायीले भने- 'भक्तपुरमा चल्न दिँदैनौं'

काठमाडौं- साझा यातायातले भक्तपुरमा साझा बस सञ्चालनका लागि यातायात व्यवस्था विभागसँग रुट परमिट (इजाजत) मागेको छ। स्थानीय जनताले साझा बसको माग गरेकाले भक्तपुर क्षेत्रमा रुट परमिटका लागि विभागसँग पत्राचार गरेको साझाले जनाएको छ।

साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले भक्तपुरका जनताले साझा बस माग गरेकाले सेवा विस्तार गर्न लागेको बताए। 'स्थानीयको मागअनुसार सेवा विस्तार गर्न लागेका हौं', उनले भने, 'पहिलो चरणमा कलंकी–कोटेश्वर रुटमा चलेका सवारीसाधनलाई भक्तपुरसम्म विस्तार गर्न लागेका हौं।'

साझाले फागुन ३० गते निवेदन दिएर रुट परमिटका लागि इजाजत मागेको हो। साझा बसले भक्तपुरमा १० वटा सुविधासम्पन्न बस सेवा पुर्‍याउन विभागसँग रुट परमिट माग गरेको हो। पाण्डेका अनुसार कलंकी, त्रिपुरेश्वर, सुन्धारा, बानेश्वर, कोटेश्वर, जडीबुटी, सल्लाघारी, सूर्यविनायक, जगाती, कमलविनायक, ब्यासीसम्म चल्ने गरी रुट मागेको हो। साझाले साबिक सञ्चालनमा रहेको कोटेश्वर, बानेश्वर, सहिदगेट, त्रिपुरेश्वर र स्वयम्भू रुट गर्न चाहेको छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने साझालाई भक्तपुर क्षेत्रमा रुट परमिट दिन नहुने भन्दै विरोध गर्दै आएको छ।

महासंघका वागमती अञ्चल संयोजक धर्मराज रिजालले साझा बसलाई मनलाग्दी हिसाबले जुनसुकै रुटमा चल्न नदिने बताए। 'साझा बसलाई जहाँ चल्न मन लाग्यो, त्यहीं चल्न दिँदैनौं', उनले भने, 'सडकको अध्ययन गरेर मात्रै रुट परमिट प्रदान गर्नुपर्छ। हचुवाको भरमा गर्न पाइँदैन।' यातायात व्यवसायीले साझाले सुगम ठाउँमा मात्रै सवारी चलाउन नहुने दाबी गरेका छन्। 'साझाले नयाँ गाडी ल्याएर जुनसुकै चलाओस्। यसमा हाम्रो विरोध छैन', संयोजक रिमालले भने, 'पुरानो रुटका गाडी जबरजस्ती नयाँ रुटमा चलाउनु भएन। निजी क्षेत्रले यातायात क्षेत्रमा साढे तीन खर्ब रुपैयाँ लगानी गरेको छ। त्यसलाई धराशयी गराउनु भएन । सरकारले निजी क्षेत्रको लगानी जोगाउनुपर्छ।'

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले प्रक्रिया पूरा गरेर आउने यातायात व्यवसायीलाई रुट परमिट दिइने बताए। 'सरकारले यातायात व्यवसायीलाई सवारी दर्ता हुनबाट रोक्न सक्दैन। प्रतिस्पर्धात्मक ढंगले आउनेलाई इजाजत दिन्छौं', उनले भने, 'साझाले प्रक्रिया पुर्‍याएर आएमा रुट परमिट दिनेछौं।' साझाले इजाजतका लागि पत्र पठाएकाले त्यसको अध्ययन भइरहेको विभागले जनाएको छ । 'यातायात क्षेत्रमा कसैले कार्टेलिङ गर्न पाउँदैनन्', उनले भने।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनतालाई सेवा दिने साझा बस सञ्चालन गर्नुपर्ने बताएका छन्। 'जनताले धेरै सास्ती पाइरहेका छन्। त्यसैले सुविधाजनक बस सञ्चालन गर्नुपर्छ', उनले भने, 'पहिलाको ट्रलिबसले जस्तै सुविधा दिनुपर्छ।' ट्रलिबस बन्द भएपछि भक्तपुरवासीले सार्वजनिक सवारीसाधनमा धेरै दुःख पाएको उनको भनाइ छ।

उपत्यकामा हाल साझाले ४२ वटा बस सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर काठमाडौं–वीरगन्ज र काठमाडौं–बाग्लुङ रुटमा चारवटा गरी ४६ वटा बस सञ्चालनमा छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आइतबार यातायात व्यवस्था विभागमा विरोधसहित ज्ञापनपत्र बुझाएको छ। महासंघका महासचिव सरोज सिटौलाले  साझाले नियोजित ढंगले सहर केन्द्रित बस चलाएको आरोप लगाएका छन्। 'साझाले सुगम ठाउँमा मात्रै होइन, दुर्गम क्षेत्रमा पनि चलाउनुपर्‍यो', उनले भने, 'साझाले दुर्गममा पनि बस सेवा सञ्चालनमा ल्याएर प्रतिस्पर्धामा ल्याउनुपर्‍यो।' निजी क्षेत्रले यातायात क्षेत्रमा ठूलो लगानी गरेकाले लगानीको स्वामित्व जोगाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ७ चैत्र २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App