१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक अब छ घण्टा बन्द हुने

चितवन- राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आउँदो चैत १५ गते मंगलबारदेखि दिनहुँ छ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सञ्चालन भइरहेको छ। सो क्रममा अहिले पनि दिनहुँ दिउँसो साढे चार घण्टा सडक पुर्ण रुपमा बन्द हुने गरेको छ।

नारायणगढ मुग्लिन सडक आयोजनाले सोमबार सुचना जारी गर्दै आउँदो हप्ताबाट सडक बन्द हुने समय बढ्ने जानकाकरी दिएको हो। सूचनाअनुसार चैत १५ गतेबाट सो सडक खण्डमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी चल्न रोक लाग्ने छ। अहिले सो सडकमा बिहान साढे १० बजेदेखि दिउँसो तीन बजे अर्थात दैनिक साढे चार घण्टा बन्द हुँदै आएको छ।

'चैत १५ गतेदेखि अर्को सूचना नआउँदासम्म सडक छ घण्टा बन्द हुनेछ,' आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने। सडक विस्तारको काम चली रहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तिब्रता दिनुपरेको आयोजना कार्यालयले जनाएको छ।

'सो समयमा वैकल्पिक सडकबाट जानसक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं,' आयोजना प्रमुख चन्द्रनारायण यादवले भने। काम हुँदै गरेका कारण बन्दका बेलामा साना गाडीहरुसमेत छिर्न गाह्रो हुने अवस्था छ। एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवसस्था गरेर पार लगाउने गरेको अधिकारीहरु बताउँछन्।

वैकल्पिक मार्गमा काठमाडौंबाट पूर्व जान आउनका लागि बनेपा बर्दिवासको बीपी राजमार्ग, हेटौंडा नौं बिसेको त्रिभुवन राजपथ छन्। तर यी मार्ग ठूला र मालबाहक गाडीका लागि उपयुक्त छैनन्। त्यस्तै पश्चिम जान आउनका लागि मुग्लिनबाट पोखरा हुँदै सिद्धार्थ राजमार्गबाट स्याङ्जा बुटवल निस्कन सकिन्छ। तर  यो बाटो पनि खासै राम्रो छैन र दूरी पनि लामो छ।

यसअघि निर्माणधीन नारायणगढ-मुग्लिन सडक पुस सात गतेबाट बिहान ११ बजेदेखि तीन बजेसम्म अर्थात् चार घण्टा बन्द हुने गरेको थियो। त्यस्तै पुस १९ गतेबाट थप आधा घण्टा अर्थात् बिहान साढे १० बजेदेखि तीन बजेसम्म बन्द हुँदै आएको थियो। गत वर्ष माघमा पनि यसरी नै बन्द गरेर सडक निर्माण गरिएको थियो। जुन समय वर्षा सुरु भएपछि मात्रै हटेको थियो।

यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो। सो बेला भएको सम्झौताअनुसार निर्माणको काम दुई वर्षपछि अर्थात् यसै महिना पूरा हुनु पर्ने थियो। तर अहिलेसम्म जम्मा ४१ प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख यादवले बताए।

सोचेअनुरुप काम हुन नसकेको भन्दै निर्माण कम्पनी र सडक आयोजनाका अधिकारीहरु सडक बन्द गर्ने समय लम्ब्याउन चाहन्छन्। उनीहरुले चार घण्टाको समय कम भएको भन्दै आएका थिए। तर राजधानीलाई जोड्ने मुख्य मार्ग भएका कारण चाहे अनुरुप सडक बन्द गर्न पनि अफ्ठ्यारो छ।

'हामीसँग निर्माण कम्पनीले दैनिक आठ घण्टा बाटो पूरै बन्द भए राम्रोसँग काम गर्न पाइन्थ्यो भन्दै आएका छन्। आयोजनाको तर्फबाट पनि छ घण्टासम्म बन्द गर्न पाए ठीकै हुने थियो भन्ने लागेर त्यहीअनुरुप समय मिलाएको हो,' नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने।

सडक निर्माण सम्पन्न हुने अवधि आउँदो डिसेम्बरसम्म थप भएको छ। भूकम्प, नाकाबन्दीलगायतका कारणहरु देखाउँदै आठ महिना समय थप भइसकेको छ। तर पनि काम निकै सुस्त हुने गरेको छ। तर थप भएको समयमा पनि निर्माण पुरा हुनेमा आशंका नै छ। सो सडक निर्माण पुरा हुन कम्तिमा एक वर्ष ढिला हुने अधिकारीहरुले अनौपचारिक रुपमा आफ्ना धारणाहरु राख्ने गरेका छन्।

नारायणगढमुग्लिन सडक ३६ किलो मिटर लामो छ। त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ। नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अरब रुपैयाँ ऋण सहयोगमा विस्तारको काम हुँदै गरेको हो। पहिला एक घण्टामा पार हुने सो सडक अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ।

प्रकाशित: ८ चैत्र २०७३ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App