२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शंकर आधारभूत जिल्लाकै सफा स्कूल

जिल्लाकै सफा घोषित शंकर आधारभूत विद्यालयलाई प्रोत्साहन रकम र प्रमाणपत्र प्रदान गर्दै जिल्ला शिक्षा अधिकारी टंक गौतमलगायत । तस्बिर : भीम चापागाईं

मार्से –    जिल्लाको रोङ गाउँपालिका–३, मार्सेस्थित शंकर आधारभूत विद्यालय जिल्लाकै सफा स्कूल घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय, जिल्लास्तरीय सरसफाइ स्वच्छता समिति र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सरसफाइका सूचक पूरा गरेको यो स्कूललाई विद्यालयमै पुगेर पुरस्कार प्रदान गरे । 
    सरसफाइका २० सूचकमध्ये यो स्कूलले १९ वटा पूरा गरेको महासंघले जनाएको छ । ‘विद्यालयका सबै पूर्वाधार अपांगमैत्री बनाउने सूचक चाहीँ  विद्यालयले पूरा गर्न सकेको छैन,’ महासंघ इलामका गोपाल दाहालले भने, ‘तर, यो विद्यालयमा अपांगता भएका बालबालिका र शिक्षक पनि छैनन् ।’ वर्षदिनको अवधिमा अन्य १९ सूचक पूरा गरेको स्कूललाई २० हजार रुपैयाँ प्रोत्साहन रकमसमेत प्रदान गरिएको छ । 
    विद्यालयक प्रधानाध्यापक कमलकुमार आचार्यले विद्यालयलाई जिल्लाकै सफा बनाउन अभिभावकको सबैभन्दा ठूलो भूमिका रहेको बताए । ‘शिक्षक र विद्यार्थीका कारण मात्रै हाम्रो स्कूल सफल भएको होइन,’ उनले भने, ‘यो सफलताको सबैभन्दा बढी श्रेय स्थानीय अभिभावकलाई जान्छ ।’ अभिभावकले दिनहुँ विद्यालयलाई सहयोग गरेको र उनीहरूकै निगरानीका कारण सफा विद्यालयमा दर्ज हुन सकेको प्रअ आचार्यले जनाए । 
    विद्यालय अध्यक्ष भक्त खवासले अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्य हुनसके सरकारी स्कूलले जुनसुकै चुनौती सामना गर्न सक्ने बताए । उनले भने, ‘यी तीन पक्ष (शिक्षक, विद्यार्थी र अभिभावक)को समन्वय र सक्रिय सहकार्य भयो भने स्कूलको पढाइ, सरसफाइ र भौतिक पूर्वाधार विकासमा पनि ठोस काम गर्न सकिनेरहेछ ।’ 
    कक्षा–८ सम्म पढाइ हुने यो स्कूलमा १३ शिक्षक र १ सय १० विद्यार्थी छन् । स्कूलमा धारो, चर्पी, फूलबारी, आँगन, कक्षाकोठालगायत सबै सफाचट देखिन्छन् । सेनेटरी प्याडसहितको छात्रा शौचालय छ भने शिक्षक र विद्यार्थीले प्रयोग गर्ने शौचालय फरक–फरक छैन । विद्यालय व्यवस्थापन समितिका हरेक बैठकमा सरसफाइको कुनै न कुनै निर्णय लिइएको छ । विद्यार्थीलाई हात–मुख धुन, सफा लुगा लगाउन र सफा खाना मात्र खान सिकाइएको स्कूलले जनाएको छ । 

शौचालयमा खानेपानी र हात धुने सुविधा, महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड, फोहोर प्याड जलाउन इन्सिनेटर अादि राखिएकाे छ 

    महासंघले ‘नागरिक आवाज कार्यक्रम’अन्तर्गत यो वर्ष जिल्लाका २० विद्यालयलाई सरसफाइका २० सूचक दिएर विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, प्रत्येक ५० छात्रछात्रा बराबर एक शौचायल, शौचालय सफा राख्न पर्याप्त पानी, नियमित सफाइ, हावाका लागि भेन्टिलेटर, शौचालयमा चुकुलसहितको ढोका, आँगनमा टुट्टीसहितको खानेपानी सुविधा, पिउने पानी शुद्धीकरण, साबुन र साबुन केससहित हात धुने सुविधा यसका सूचक छन् । छात्रछात्राले खाना खानुअघि, दिसा–पिसाब गरेपछि र फोहरमैला छोएपछि साबुन–पानीले हात धुने, बालमैत्री, अपांगमैत्री शौचालय, खानेपानी र हात धुने सुविधा, महिनावारी स्वच्छताका लागि शौचालयमा सेनेटरी प्याड, फोहोर प्याड जलाउन इन्सिनेटर, शौचालय नियमित मर्मतसम्भार, विद्यालयमा सरसफाइसम्बन्धी फोकल शिक्षक तथा बालक्लबको सक्रियताजस्ता सूचक तोकिएका छन् । सड्ने र नसड्ने फोहोर बेग्लाबेग्लै व्यवस्थापन, विद्यालय सरसफाइ कोषलगायतका सूचक स्कूलहरूले पाएका थिए । 
    यीमध्ये १० सूचक पूर्ण र ६ सूचक आंशिक पूरा गरी इलाम नगरपालिकाको जस्बिरेस्थित बालमण्डल माध्यमिक विद्यालय जिल्लाको दोस्रो सफा विद्यालयमा दरिएको छ । बालमण्डललाई पनि मंगलबार १० हजार नगदसहित पुरस्कृत गरिएको छ । विद्यालयका प्रधानाध्यापक टीकानाथ पौडेलले सरसफाइलाई शिक्षाजस्तै अपरिहार्य आवश्यकताका रूपमा राखेर स्कूलमा सरसफाइका कार्यक्रम सञ्चालन गर्ने बताए । 
    जिल्ला शिक्षा अधिकारी टंक गौतमले विद्यालयमा बालबालिकाले सिकेको सीप घरमा पनि पालना गर्ने वातावरण बनाउन शिक्षक र अभिभावकलाई आग्रह गरे । ‘स्कूलमा बालबालिका जे सिक्छन् त्यही सीप घरमा व्यावहारिक रूपमा  प्रयोग गराउने बानी बसाल्न सकेमात्र सिकाइ दीर्घकालीन हुन्छ,’ उनले भने, ‘सरसफाइलाई बालबालिका, शिक्षक र अभिभावकले सिकाइको अभिन्न विषयका रूपमा अघि बढाउनुपर्छ ।’ 
    महासंघले समिति र शिक्षा कार्यालयको सहमन्वय तथा वाटरएडको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत लक्ष्मीपुरको सरस्वती मावि, महमाईको बिन्तीविनायक मावि, मंगलबारेको महेन्द्रोदय मावि, सिद्धिथुम्काको खान्द्रुङ मावि, सुम्बेकको सुम्बेक मावि, पञ्चकन्याका पुन्य स्मारिका, वीरेन्द्र मावि र इलाम नगरपालिकाको महमाई आधारभूत स्कूललाई सफा स्कूल घोषणा गरिसकेको छ ।
 

 

    
 

प्रकाशित: १७ चैत्र २०७३ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App