१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मौसमसँगै पहिरन फेर्दै सेलिब्रेटी

काठमाडौं– प्रकृतिले बिस्तारै हिउँदे मौसमको पछ्यौरा हटाइसकेको छ । सर्वसाधारणले बाक्ला लुगा थन्क्याएर हल्का र रंगिन लुगा लगाउन थालेका छन् । बदलिँदो मौसमसँगै सेलिब्रेटीले पनि विवाह तथा पार्टीमा रंगबिरंगी पातलो पहिरनमा देखिन थालेका छन् ।

सिर्जनात्मक कामका लागि निकै व्यस्त भइरहने कलाकारहरु जाडोका पहिरनलाई घरमै थान्कोमुन्को लगाएर  गर्मीका पहिरन किनमेल गर्ने तयारीमा छन् । धेरैले त जीउलाई सुहाउने ग्रीष्मकालीन पोशाक किनिसकेका छन् ।

काठमाडौंमै रहेकी गायिका मिलन अमात्यले सोमबार मात्रै गर्मीमा लगाउन मिल्ने किसिमको पहिरन बाटोमा किनिन् । स्वदेश होस् या विदेश दुवै स्थानमा केही ग्ल्यामर र खुल्ला देखिने पहिरन लगाएर दर्शकमाझ प्रस्तुत हुने यी गायिका ‘क्याजुअल’ किसिमको लुगा रुचाउँछिन् । ‘लुगा किन्नकै लागि मेरो विशेष ठाउँ त छैन, बाटोमा हिँड्दै गर्दा कुनै कपडा पसलको डमीमा राम्रो कपडा राखेको देखें भने त्यसको दाम बुझेर किन्ने गर्छु,’ सुगम संगीतसँगै फिल्मी पाश्र्वगायनमा पनि रुचाइएकी गायिका मिलनले नागरिकसँग भनिन्, ‘विशेषत कटन सर्ट र खुल्ला किसिमका लुगा रुचाउँछु, हल्का हुने किसिमका लुगा मात्र मेरो शरीरको लागि उपयुक्त हुन्छ ।’

यो वर्ष भारत, बेलायत, दक्षिण कोरियालगायतका मुलुकमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेकी मिलनले विदेशमा कार्यक्रम सकिएर आयोजकले पैसा हातमा दिएपछि मात्र सपिङको वातावरण बन्ने खुलाइन् । ‘विदेशका लुगा ब्राण्डेडसँगै महंगा किसिमका पनि हुन्छन्, सस्तो पर्ने किसिमका राम्रा लुगा मात्र किन्ने गर्दछु,’ आफूले लगाउने पहिरनका बारेमा उनले भनिन्, ‘स्वदेश वा विदेश कुनै स्थानमा कार्यक्रम गर्नुपर्नेछ भने पहिले नै हल्का किसिमको पहिरन डिजाइन गर्न लगाउँछु, त्यस्तो पहिरनमा मौलिकतासँगै ग्ल्यामर पनि झल्कियोस् भन्ने मेरो चाहना हुन्छ ।’ आफ्नो बजेटअनुसार मात्र खर्च गर्न रुचाउने मिलनले कमाइको २० प्रशित रकम चाहिँ वचत गर्नुपर्ने धारणा राख्छिन् । मिलनले आगामी वर्ष ४ देखि ५ महिनासम्म विदेशका कार्यक्रममा प्रस्तुति दिने तयारी भइरहेको खुलाइन् । मिलनका ‘जहिलेसम्म संसारमा’, ‘गाला रातै’, ‘विश्वसुन्दरी’लगायतका गीत चर्चित छन् ।

‘चौबन्दीमा पटुकी’, ‘खै त मलाई झुम्के बुलाकी’, ‘माया यो माया’ लगायतका गीत गाएर दर्शकश्रोतामाझ चिनिएकी गायिका आस्था राउत आफूलाई ‘फेसन कन्सस’ नभएको सेलिब्रेटी भन्न रुचाउँछिन् । ‘म फेसनमा खासै कन्सस छैन र कन्सस हुनुपर्छ भन्ने पनि छैन । तर म सजिलो पहिरनलाई बढी प्राथमिकता दिन्छु,’ बाल्यकालदेखि नै सर्ट र पेन्ट लगाउन रुचाउने आस्था भन्छिन्,‘ गीत गाउँदाको पहिरन छुट्टै हुन्छ । जसले दर्शकको ध्यान आफूतिर तान्ने गर्छ ।’

मौसम फेरिए भए पनि उनले अहिलेसम्म गर्मीमा लगाउने पहिरन किनेकी छैनन् । ‘पहिरन किने भने पनि सकेसम्म हल्काफुल्का लुगा किन्छु । मेरो मनपर्ने रंग कालो हो, त्यसले पनि मलाई हरेक इभेन्टमा दर्शकले कालै पहिरनमा देख्नुहुन्छ । कुर्तासुरुवालमा मेरो ध्यान कहिल्यै गएन, यो बच्चादेखि कै बानी हो ।’
आस्था स्वदेशभन्दा विदेशमा सपिङ गर्न रुचाउँछिन् । ‘विदेशमा सपिङ गर्दा म स्वतन्त्र अनुभव गर्छु, किनभने त्यहाँ फरक किसिमका पहिरनले आफूलाई आकर्षित गर्छ, धेरै पैसा खर्च गर्ने योजना नबने पनि कस्तो पहिरन आफ्नो लागि ठिक हुन्छ भन्ने कुरामा ध्यान दिन्छु,’ आस्थाले भनिन्, ‘नेपालमा सपिङ गर्दा आमाले निगरानी गर्नुहुन्छ, उहाँको चाहना सपिङमा भरसक कम रुपैयाँ खर्च होस् भन्ने हुन्छ ।’ पाँच हजारदेखि माथिका लुगा किन्ने गरेकी आस्थाले यो वर्ष विदेशका तीनदेखि ४ वटासम्मका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएको बताइन् ।

फिल्म क्षेत्रमा चकलेटी नायकका रुपमा चिनिने अभिनेता आर्यन सिग्देल सामान्यतया क्याजुअल लुगा रुचाउँछन् । नेपालमा रहँदा गर्मी सिजनमा दरबारमार्गमा लुगा किन्न रुचाउने आर्यन यसपटक उनले विदेशमा नै समर सपिङ गरिसकेका छन् । ‘यसपटक मलेसिया, सिंगापुरलगायतका ठाउँमा जाँदा नै गर्मीका लागि आवश्यक कपडा किनिसकेको थिएँ,’ पछिल्लो फिल्म ‘क्लासिक’ पछि कुनै पनि फिल्ममा नदेखिएका आर्यनले भने, ‘मलाई सामान्यतया सर्ट तथा जिन्सको पाइन्ट मन पर्छ, गर्मी मौसमका लागि यस्ता लुगा उपयुक्त हुन्छन् ।’ आफूलाई सुहाउँदो लुगा मात्र किन्न रुचाउने आर्यन फिल्ममा पनि त्यहीअनुसारका पहिरनमा प्रस्तुत हुन्छन् ।
 

डिजाइनरको व्यस्तता
ललितपुरको कुपण्डोलमा सन् २००९ देखि ‘उत्तम क्रिएसन’ नाम दिएर बुटिक चलाइरहेका डिजाइनर उत्तम नेपालीले बुटिकमा लामो क्याजुअल सर्टको माग बढेको बताए । ‘पुरानो समयमा यस्ता सर्ट विशेषतः पुरुषले लगाउँथे, तर अहिले महिलाबाट यस्तो सर्टको माग बढी आएको छ, फर्मल कटन, रसियन किसिमिका लामो स्कर्ट पनि उनीहरुको रोजाइमा पर्छ,’ सन् १९९५ देखि डिजाइनरका काम गरिरहेका उनले भने, ‘ग्राहकहरु विशेषतः झकिझकाउ भन्दा पनि सामान्य किसिमका पहिरन रुचाउँछन् ।’ उनले विशेष कार्यक्रमको समयमा मात्र सेलिब्रेटीहरुले आफ्नो बुटिकमा आएर पहिरन अर्डर गर्ने गरेको बताए ।
राजधानीको कोटेश्वरस्थित तीनकुनेमा पहिरन डिजाइन गर्ने डिजाइनर कमल मानन्धरले आफ्नो उद्योगमा गर्मी मौसममा प्रयोग हुने पहिरन बनाउने काम धमाधम भइरहेको बताए । ‘प्रायः महिला र पुरुषका लागि फ्लोर प्रिन्ट, सर्ट, लाइट कपडाहरुको डिजाइन भइरहेको छ । पुरुषका लागि लोक र आधुनिकताको फ्युजन गरी ब्लेजर पनि बनाइरहेका छौं । प्रायः ब्लेजर कोरियन शैलीका छन्,’ दुई वर्षदेखि फेसन डिजाइनरका रुपमा काम गरिरहेका उनले भने ।

हाल बागबजारमा शोरुमको शैलीमा बुटिक सञ्चालन गर्ने तयारी गरिरहेका उनले म्युजिक भिडियो र फिल्मका लागि आफूले विशेष प्राथमिकता दिएर पहिरन डिजाइन गर्ने बताए ।
गत एक वर्षदेखि नयाँबानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेज नजिकै सेड्स बुटिक सञ्चालन गरिरहेकी आशा गिरीलाई गर्मीको आगमनसँगै त्यही किसिमका पहिरनको डिजाइन गर्ने व्यस्तता छ । ‘बिहानबेलुका चिसो भए पनि दिउँसोको मौसमलाई ख्याल गर्दै त्यहीअनुसार लुगा डिजाइनको काम सुरु भइसकेको छ,’ आशाले भनिन्,‘गर्मीका लागि आउटडोर पहिरन, लेहेंगा–चोलीलगायतका डिजाइनहरु बनाउने काम सुरु गरिरहेका छौं । ग्राहकले गर्मी महिनामा टिसर्ट र स्कर्टलगायतका पहिरन रुचाउँछन् ।’
उनको बुटिकमा स्कर्टको मूल्य न्यूनतम ४ हजारदेखि अधिकतम १५ हजार रुपैंयाँ पर्छ ।  बुटिकमा कुर्तासुरुवाल ३ हजारदेखि ५ हजार मूल्यसम्मका छन् ।

प्रकाशित: २३ चैत्र २०७३ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App