१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मण्डलामा जयमायाको कथा

काठमाडौं- जता घाम उतै छ घमाइलो

बाचुन्जेल गरौं है रमाइलो

रेलले तानेर, रेलले तानेर

सानुमाया बेमानी छ भन्ने कल्ले जान्यो र

तिमी कता म कता जाने हो

तिनपानेले बलमाला सम्झाउने

रेलले तान्यो र, रेलले तान्यो र

सानुमाया बेमानी छ भन्ने कल्ले जान्यो र।।।

मादलको रन्कोमा गाउनेहरु देख्दा लाग्थ्यो, कुनै रमाइलो पर्व मनाइँदैछ। गाउँमा चाडपर्वका बेला यसरी नै भेला भएर दोहोरी खेल्ने चलन पनि नौलो हैन। तर, त्यो दृश्य कुनै गाउँको रौनकपूर्ण चाडको थिएन। घनघोर जंगलझैं देखिने ठाउँमा जम्मा भएकाहरु दोहोरी खेल्दै थिए।

यहींनेर घटनाक्रममा अर्को पीडादायक मोड आउँछ। हिँड्नै नसक्ने भएपछि चन्द्रा लत्रक्क पर्छे। सम्हाल्दै बसेका लोग्ने गजमानलाई भन्छे, ‘दमिनी बिहे गरेर खुब दुःख पायौ है, अब म मरेपछि चाहिँ लिडे मगर्नी नै बिहे गर्नु।’ पीडाको भारी थाम्न नसकी गजमानले ‘के भन्छे यो’ भन्दै एक झापड लगाउँछ। बिरामी पत्नीले पीडा भुल्न ‘एउटा गीत गाइदेऊ न’ भन्दै लोग्नेलाई प्रस्ताव राख्छे।

'सुखदुःख कोसँग मैले कसरी साट्ने हो, बाँकी जिन्दगी कोसँग मैले कसरी काट्ने होु मनमा परेको पीडा लुकाउन खोज्दै लोग्ने गाउँछ। त्यत्तिकैमा स्वास्नी मर्छे। पीडा खप्न नसकेपछि लोग्ने आफूले बोकेको दमाहा एकसुरमा ढ्वाङ ढ्वाङ  बजाउँछ।

जंगलमा पनि विलापले भरिएको दोहोरीरु प्रश्न उठ्न सक्छ। तर, त्यो जंगल अन्त कतै नभई मण्डला थिएटरभित्र बनेको थियो। राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा गत बुधबार यसरी नै गाउँले भाकामा दोहोरी चल्दै थियो।

आगामी वैशाख १ गतेदेखि मञ्चन हुन लागेको नाटक ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ को रिहर्सलमा कलाकार मादलको रन्कोमा झुमिरहेका थिए। अर्कोतिर पीडा झल्किने फरक दृश्यमा अभिनय गर्दै थिए एकजोडी कलाकार।

नाटक प्रदर्शनअघि कलाकारको रिहर्सलमा दृश्यलाई जीवन्त पार्ने कोसिस भइरहँदा दोहोरीका निर्देशक सुनिल पोखरेल पनि आनन्दित हुन्थे, पीडाको दृश्य आउँदा भावुक बन्थे। पीडाको दृश्य कारुणिक बनाउन छेउमा तबला र हार्मोनियमबाट कलाकारले सुरताल थप्दै थिए। इन्द्रबहादुर राईको कथा 'जयमाया आफूमात्रै लिखापानी आइपुगीु लाई पोखरेलले दर्शकमाझ नाटक बनाएर ल्याउन यस्तो मेहनत गरिरहेका थिए।

एकपछि अर्को दृश्यलाई जोड्ने कडी उनले सिकाए। ‘पानी पर्न लाग्दाको मौनता जोड्न गिँलास पालैपालो लैजाऊ,’ उनले निर्देश गरे, ‘अनि स्वास्नीको गालामा दुई चड्कन लाउनू, मरेपछि पछ्यौरा तान्नू।’ जसलाइ जे अह्राइएको थियो सबैले ‘हुन्छ’ भने।

कथाअनुसार दोस्रो विश्वयुद्धताका जापान र ब्रिटेनको लडाइँमा गएका नेपाली सैनिकका परिवार बर्मातिर बसाइँ सरेका थिए। जब युद्ध चर्कियो, नेपाल फर्कन सबैजना जंगलैजंगल सपरिवार भागे। त्यही घटनालाई राईले कथाको स्वरूप दिएका थिए। टकाव नदीसम्म आइपुग्दा धेरैको परिवार छिन्नभिन्न भइसकेको थियो।

लिखापानीसम्म आइपुग्दा उनीहरुको टोलीकी एकमात्र सदस्य सुबेदारकी पन्धवर्षे छोरी जयमाया बाँकी रहन्छे। पल्टनमा भएको दाजु विक्रमको खोजी गर्ने जिम्मा मर्नुअघि आमाबाबुले उसलाई नै सुम्पेका थिए।

त्यो कष्टमय यात्राका बीचमा केके हुन्छरु समूहका मानिस कसरी छुट्टिन्छन्रु के साँच्चै जयमायामात्रै फर्केकी हुन्छे तरु यो हेर्न भने नाटक मञ्चन हुने दिनसम्म दर्शकले कुर्नैपर्ने हुन्छ।

जयमायाको भूमिका सुनिशा बजगाईंले निर्वाह गरेकी छन्। अभिनयकला नै अध्ययनरत उनी दुई सातादेखि रिहर्सलमा व्यस्त छिन्। ‘पहिले त के हो के जस्तो लाग्थ्यो। अहिले बल्ल कथा पहिल्याउँदैछु ,सुधार भैराुछ,’ उनले भनिन्।

नाटकमा उतिबेलाकै परिवेश देखाउन उनीसहित २२ जनाको टोली कस्सिएको छ। रिहर्सलसँगै धमाधम स्टेज सजावट चलिरहेको छ, जहाँ कलाकार अनुप बराल सघाइरहेका छन्।

कथा पुरानै भए पनि नेपालीको त्यो बेलाको सकस अहिलेका दर्शकले नजिकबाट हेर्न पाउने निर्देशक पोखरेलले बताए। अहिले पनि नेपाली विदेशी हस्तक्षेपको पीडामै भएकाले त्यो कथा सान्दर्भिक हुने उनको दाबी छ। उनका अनुसार नाटक एक महिनासम्म मञ्चन हुनेछ।

प्रकाशित: २५ चैत्र २०७३ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App