१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मागेर टुहुरा भाइहरू पाल्दै सुरिता

जाजरकोट– यतिबेला नेताहरू वैशाख ३१ गते हुने चुनावका लागि घर घरमा  भोट मागिरहेका छन् । आफूलाई भोट  दिने  जनता छुट्छन् कि भनेर उनीहरू गाउँका सवै जनताका घर घरमा पुगेर बिन्तिभाउ गरिरहेका छन्। 

नेताहरू जस्तै कुसे गाउँपालिका ५ जहरगाउँकी सुरिता परियार आफ्ना ४ भाइहरूको साँझ बिहानको छाक टार्न गाउँलेहरूको घरमा खलो चहार्दै सहयोग माग्दै हिडिरहेकी छिन् । आफ्नो गाउँमा बस्ने घरबारी नभएपछि सुरिता र उनका ५ जना भाइहरू त्रिवेणी नलगाड नगरपालिकाको   करुवामा  सानो झुपडीमा बसिररहेका छन् । 

पढ्ने साह्रै ठूलो धोको छ तर म पढ्न गए यी भाइहरुको भोक कस्ले मेटाइदेला?

 गाउँ गाउँ कार्यकर्ताहरुको साथमा हिड्ने नेताहरुलाई चुनाव हार्छु की भन्ने चिन्ता छ तर सुरितालाई भने खानाको जोहो नभए भाइहरु भोकै  मर्छन कि भन्ने चिन्ता छ । आर्थिक हिसावले निकै विपन्न दलित परिवारकी सुरिता उमेरले भर्खर १५ पुगे पनि ४ भाइहरूको आमा र बुबाकै भूमिकामा  छिन् । यही वर्षको  भदौ ९ गते आमा अमला परियार र  कार्तिक १२ गते वुवा जितवहादुर परियारले आत्महत्या गरेपछि सुरिता र उनका चार भाइहरू टुहुरा भएका हुन् । 

पढ्ने साह्रै ठूलो धोको छ तर म पढ्न गए यी भाइहरुको भोक कस्ले मेटाइदेला? सुरिताले घरको दुःख पोख्दै भनिन् । बुबा आमाको मृत्य पछि मैले चाहेर पनि स्कूल जान पाइन अब के गरौं म नभए यी भाइहरू भोकै  मर्छन्, उनले दुखेसो गर्दै भनिन् ।

एकै पटक बुबा आमाको मृत्युपछि एक्ली घरमुली भएकी सुरिता अहिले स्कूलको पढाइ छोडेर  गाउँमा खलो उठाउँदै भाइबहिनीको स्याहारमा व्यस्त छिन् ।

कैलासकन्या आधारभूत विद्यालय कट्केको कक्षा ७ मा पढ्दा पढ्दै पढाइ छोडेकी सुरिताका चार भाइहरू  करुवा स्थित करुणोदय प्राविमा पढ्छन् । उनका सबै भाइहरू विद्यालयमा पढ्न जान्छन् । सुरिताको  जेठोभाइ  १२ वर्षीय राममचन्द्र ५ कक्षामा, माइलो ९ वर्षीय गोविन्द २ कक्षामा, साइलो   ६ वर्षीय सुरेन्द्र र कान्छो ३ वर्षीय दशरत १ कक्षामा पढ्छन् । 

उनका सबै भाइहरू  स्कुल जान्छन् । भाइहरूकै लागि सुरिताले आफू स्कूल जान छोडेकी छिन् । सानो दुई कोठाको अर्कैको घरमा बसिरहेका उनका ५ भाइबहिनीहरुलाई उनका कोही पनि आफन्तले नहेरेको सुरिताका सौतेनी बुबाकी छोरी सर्मिला रोकायले बताइन् ।

‘कुनै दैवले सहयोग गरे हो नत्र भने उनीहरू भोकै मर्ने अवस्थामा छन्,’ शर्मिलाले भनिन्, ‘आमा बुबा मरेपछि तर झन उनीहरुलाई कठै भन्ने पनि कोहि भएन ।’   

सुरीता र चार भाइहरुको  सहयोगको लागि   हातमा  जन्मदर्ता, गाँउपालिकाको सिफारिस पत्र र वुवाआमाको मृत्यु दर्ताको प्रमाणपत्र वोकेर विभिन्न निकायमा धाइरहेकी सर्मिलाले  आफना टुहुरा भाइवहिनीहरुको लागि  कसैले सहयोग गर्छु नभनेको गुनासो गरिन् । 

आमा एउटै बुबा फरक भएकी शर्मिलाले भाइबहिनीहरूको सहयोगका लागि सांसद देखी अन्य नेता र कर्मचारीहरुलाई दिन दिनैहार गुहार गरिरहेको बताइन्  । 

आफूले सबै ठाउँमा गएर भाइ बहिनीको पढाइ र लालनपालनका लागि सहयोग गरिदिन आग्रह गरेपनि कतै आफ्नो गुहारको सुनुवाइ नभएको  उनले गुनासो गरिन्  । 

डाडागाउँ करुवाका  स्थानीय कुशलराज थापाले सुरिता र उनका भाइहरु निकै बिचल्लीमा रहेको र उनीहरूको सहयोगका लागि कसैले  ध्यान दिए ठूलो पुण्य मिल्ने बताए । 

कुसे गाउँपालिकाका प्रमुख मणिराम रिमालले सुरिता र उनका भाइबहिनीहरूको सहयोगका लागि आफ्नो कार्यालयको तर्फबाट   सिफारिस गरेको  बताए ।  बिचल्लीमा परेका उनीहरुलाई  सबैले सहयोग गर्नुपर्ने  रिमालले बताए । 

आमाबुबाले आत्महत्या गरेपछि बिचल्लीमा परेकी सुरिता र उनका भाइहरू । तस्विर : जनक केसी

प्रकाशित: ३० चैत्र २०७३ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App