१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उज्यालोको 'आर्कटेक्ट'

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष हिउँदमा दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गर्न राष्ट्रिय अभियान नै चलाउनु परेको अनुभव सुनाए। 'बढी  खपत हुने समयमा बिजुलीको प्रयोग कम कसरी गर्न सकिन्छ भनेर सर्वसाधारणलाई सचेतना दिने काम राष्ट्रिय अभियानकै रुपमा लिएर गयांै,' उनी भन्छन्, 'राष्ट्रिय अभियान सञ्चालन नगरेको भए लोडसेडिङ हटाउन सकिँदैनथ्यो।'

लोडसेडिङ अन्त्य गर्न रणनीतिक योजना बनाएको पनि उनले सुनाए। 'पहिला काठमाडौंं उपत्यकालाई मात्र लोडसेडिङ मुक्त गर्दा बाहिरी जिल्लामा विरोधका स्वर आउने डर त्यतिकै थियो,' उनले लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु गर्दाको अनुभव सुनाए, 'लोडसेडिङ भएको अनुभव नहुने गरी कुशलतापूर्वक बिजुली व्यवस्थापन गरियो।'

चोरी नियन्त्रण गर्न हरेक जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको पनि उनले बताए। 'प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पैसा कति चाहिन्छ भन भनेर हाम्रो योजनालाई सहयोग पुर्‍याउनु भएको थियो,' उनी भन्छन्, 'ऊर्जा मन्त्री जनार्दन शर्माले अभियानको नेतृत्व नगर्नु भएको भए, लोडसेडिङ अन्त्य गर्न सम्भव थिएन।'

ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायतको टिम र प्राधिकरणका कर्मचारीको पनि लोडसेडिङ अन्त्य गर्न अत्यन्तै महत्वपूर्ण भूमिका रहेको उनी बताउँछन्। 'कलेक्टिभ इफोर्टले नै मुलुक उज्यालो बनाउन सफल भएका हौंं,' ठट्यौली पारामा भन्छन्, 'चैत १ गतेदेखि बाजा बजाएर लोडसेडिङलाई बिदाइ गरेका छौं।' अब बिजुलीको अत्यधिक खपत हुने समय सकिएको छ। वर्षायाम सुरु हुने लागेकाले पनि अब ६ महिना लोडसेडिङ हुने सम्भावना नै नरहेको उनको भनाइ छ।

'सुरुमा काठमाडौं र त्यसपछि पोखरा, चितवनलगायत क्षेत्रलाई लोडसेडिङ मुक्त गर्दै अन्त्यमा मुलुकलाई उज्यालो बनायौं,' घिसिङ भन्छन्, 'लोडसेडिङ अन्त्य गर्न सेवाग्राहीको पनि त्यतिकै योगदान छ।'

'इमान्दार भएर सबै लाग्दाको सुखद परिणाम हो,' लोडसेडिङ अन्त्यको जस कसलाई दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनी थप्छन्, 'बिजुली उपभोग गर्ने उपभोक्ताको पनि लोडसेडिङ अन्त्य गर्न कम भूमिका रहेन।' उपभोक्ताले जथाभावी बिजुली प्रयोग गरेको भएमात्र पनि लोडसेडिङ अन्त्य नहुने ठोकुवा उनको छ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ हटाउन एकैपटक १०–१२ वटा तरिका अपनाएका थिए। 'पहिलो काम सप्लाई साइड म्यानेजमेन्ट गरियो,' उनी भन्छन्, 'यसले मात्र लोडसेडिङ अन्त्य नहुने देखेर भारतबाट बिजुली आयात गरियो।'

आन्तरिक रुपमा आयोजनाबाट बिजुली उत्पादन भए पनि प्रसारण लाइन अभावमा सम्वन्धित क्षेत्रमा बिजुली पुर्‍याउन सकिएको थिएन। 'खिम्ती–ढल्केबर प्रसारण लाइन जोड्ने काम भयो,' थप्छन्, 'त्यसैगरी चपाली सबस्टेसनलाई अपग्रेड गर्ने काम पनि गरियो।'

चार वर्षका लागि कार्यकारी निर्देशकका रुपमा भदौ ३० गते विद्युत प्राधिकरणमा नियुक्त भएका घिसिङ सात वर्षमा ८ हजार मेगावाट क्षमताका जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न लागिएको योजना सुनाउन उनी पछि पर्दैनन्।

 'निर्माणाधीन आयोजना सकेसम्म छिटो ल्याउँदै छौ,' उनी भन्छन्, '३० मेगावाटको चमेलिया ३–४ महिनाभित्रै र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी २०७५ असारमा पहिलो युनिट सञ्चालनमा ल्याउँदै छौं।' यसका अलावा कुलेखानी तेस्रो पनि छिट्टै ल्याउने जानकारी उनी दिन्छन्।

माथिल्लो सान्जेन, सान्जेन, रसुवागढी लगायत आयोजना पनि आगामी साढे दुई वर्षमा सञ्चालनमा आउने कार्यकारी निर्देशक घिसिङ सुनाउँछन्। ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि बर्खामा बिजुली बढी हुने भएकाले खपत बढाउनुपर्ने आवश्यकता रहेको उनी औंल्याउँछन्।

घिसिङ आगामी बर्खामा नेपालले बिजुली निर्यात गर्ने महत्वाकांक्षी योजना पनि सुनाउँछन्। 'यो वर्ष सुक्खायाम सकिएकाले अब लोडसेडिङ हुँदैन,' उनी उत्साही हुन्छन्, 'बिजुलीको अत्यधिक माग हुने र उत्पादन कम हुने समय हामीले पार गरिसकेका छौं, अब लोडसेडिङ हुँदैन, अर्काे बर्खामा बिजुली निर्यात गर्न सक्ने अवस्थामा हामी पुग्छौं।'

माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न हुन लागेकाले नेपाललाई चाहिनेभन्दा बढी विद्युत उत्पादन हुने उनको अनुमान छ। यस्तै अन्य आयोजनाबाट पनि बिजुली उत्पादन हुँदा निर्यात गर्न सक्ने अवस्था आउने उनी बताउँछन्। 'तामाकोसी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना बिजुली बेच्नुपर्छ,' उनी थप्छन्।

विद्युत माग बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने भावी योजनातिर लागेको उनी जानकारी दिन्छन्। 'अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४ सय मेगावाट क्षमताका छन्,' उनी भन्छन्, 'अब यसलाई अपग्रेड गर्नुपर्ने छ।¬'

उनका अनुसार चालु आर्थिक वर्ष अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने छ। भारतबाट हुने आयात क्रमशः घटाउने योजना छ। 'अब लोडसेडिङको चिन्ता छैन। हामीले बिजुलीको माग र आपूर्तिलाई व्यवस्थापन गरेका छौं,' उनी भन्छन्, 'अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँदैछौं।'

अहिले मौसमको कारण बेलाबेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको उनको भनाइ छ। 'चट्ट्याङलगायत कारण ठाउँठाउँमा बिजुली जाने गरेको छ,' प्राविधिक समस्या अहिलेको चुनौती बनेको भन्दै उनी थप्छन्, 'तर, त्यो बिजुली आपूर्तिको कारणले होइन।'

चैत–वैशाखमा हावाहुरी चट्ट्याङलगायत कारण बढी समस्या आउने गरेकाले प्राधिकरणका कर्मचारी 'रातमा निद्रा न दिनमा भोक' भन्न पाएको तीतो अनुभव पनि उनी सुनाउँछन्। 'रात दिन नभनी अहोरात्र खटिरहेका छन्,' कर्मचारीप्रति गर्व गर्दै उनी भन्छन्, 'तीन वर्षमा २८ कर्मचारीको ज्यान गएको छ। त्यसकारण लोडसेडिङको कालो बादलभित्र आशाको किरण खोज्ने काम गरेका छौं।'

बेथानदेखि प्राधिकरणको एमडीसम्म

सरकारले २०७३ भदौ ३० मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको थियो। उनी त्यसबेला प्राधिकरणकै ११ औं तहमा काम गरिरहेका थिए। लोडसेडिङ अन्त्य र दिगो विद्युत विकासलाई गति दिने लक्ष्य सरकारले लिएपछि उनलाई एमडिमा नियुक्त गरेको थियो।

रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ २३ वर्षदेखि प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनी ६ कक्षापछि काठमाडौं आएका थिए। ६–७ कक्षा बालसेवा माध्यमिक विद्यालय झोंछेमा पढे। कक्षा ८ देखि बानेश्वरको अमर आदर्श बोर्डिङ स्कुलमा पढे। त्यही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरे।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएससी गरेपछि छात्रवृत्तिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएससी गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट 'पावर सिस्टम इन्जिनियरिङ' मा स्नातकोत्तर सकेपछि सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरे।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका घिसिङले झन्डै २३ वर्षमा विद्युत प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा २०६७ असारदेखि २०७१ असारसम्म प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका उनले रसुवागढी, मध्यभोटेकोसी, सान्जेन, माथिल्लो सान्जेन आयोजना अघि बढाउन विशेष भूमिका खेलेका थिए।

तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा प्राधिकरणमा फिर्ता बोलाइएको थियो। प्राधिकरणमा उनलार्ई दुई वर्षसम्म काम गर्न दिइएको थिएन।

प्रकाशित: ११ वैशाख २०७४ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App