१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

आमा मेरीमात्र हुन् र ?

पाएको मनुष्य जीवन सबैलाई सुखी, खुशी, सफल र आनन्दित भएरै बिताउने इच्छा हुन्छ । हाम्रो मष्तिस्कको आकार हेर्दा कति सानो छ तर यसको सोच्ने शक्ति, विचार अथाह छ किनभने मानिस जन्मजात चेतनशील, विवेकशील प्राणी हो । सोच्ने र विचार गर्न सक्ने शक्ति अरु प्राणीमा भन्दा बढी छ मानिसमा । हाम्रो समग्र जीवन कर्मले ओगटेको छ । जन्मदेखि मृत्युसम्म हामी एकपछि अर्को कर्म गर्छौंं । दैनिक आवश्यकता पूर्तिका साथसाथ आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता सबैमा हाम्रो कर्मको सिधा हात रहन्छ । कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । केही आफ्नो कर्मका कारणले सुखी छन् त केही कर्मकै कारणले दुःखी । कसैले अरुको खुशियाली बढाउने कर्म गर्छ भने कसैले अरुको दुःख बढाउने । कतिले आफ्नो जीवन अरुलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरुको जीवन लिनुलाई आफ्नो कर्म । एक दिनमा अधिकतम २४ घण्टा हामीसँग कर्मका लागि उपलब्ध छ जुन अनेक तरिकाले प्रयोग गर्छौं । तर यी सबैका बाबजुद हामीले हाम्रो जीवनदाता, हाम्रो उद्गम, हाम्रो शुभचिन्तक र सधँै हाम्रो भलो चाहने व्यक्ति र ती सम्बन्धको महत्वबारे बिर्सेका हुन्छौंँ । कुनै वस्तुभन्दा व्यक्ति महत्वपूर्ण छ र कुनै सिद्धान्तभन्दा हाम्रो सम्बन्ध महत्वपूर्ण छ भन्ने कुरा ख्याल गरेकै हुँदैनौँ ।

अथाह सम्पत्तिको मालिक हुँदैमा त्यो धनवान र इज्जतदार हुन सक्दैन । वास्तविक धनवान र प्रतिष्ठित त त्यो हो जोसँग आफ्नी आमाको  सेवा गर्ने समय छ ।

जब आमाको मुख हेर्ने दिन भनेर पात्रोमा मिति र दिनको संकेत लगाइन्छ र आमाका  लागि उपहारको बन्दोबस्त गर्न थालिन्छ तब आमाको अलि धेरै याद, अलि धेरै मायाँ लागेर आएको अनुभव हुन सक्छ । हाम्रो जीवन, हाम्रो हुर्काइ, हाम्रो सफलता र हाम्रो जीवनशैली संस्कारमा आमाको जति भूमिका कसको हुन सक्ला ? औंशीको दिन आमाको मुख हेर्ने दिनमात्र होइन, आमाको मुहारमा खुशी हेर्ने दिन हो । औंसी अर्थात अँध्यारो, आफ्ना सन्तानको जीवनमा कहिल्यै औंसीको रातजस्तै अन्धकार क्षण नआओस् भनेर जीवनभर समर्पित र सहनशील भएर  सन्तानको खुशी चाहने जन्मदाता आमाको  मुहारमा औंसीको रातजस्तै कतै  हाम्रो व्यवहार र शब्दले उहाँको मुहारमा कुनै पीडा त छैन ? यो कुरा मूल्यांकन गर्ने दिन हो, आमाको मुख हेर्ने दिन ।

तर आजकल आमाप्रतिको श्रद्धा र भाव व्यक्त गर्न पनि वार्षिक पर्व कुरेर बसेझैँं भान हुन्छ । स्वदेशमा हुनेले आआफ्नो खुबी र इच्छाअनुसार उपहार दिने, आशीर्वाद लिने र टन्न फोटो खिचेर फेसबुकलगायतका सामाजिक सञ्जालमा पनि पोस्ट गर्ने अनि विदेशमा हुनेले पनि सम्झेर आमालाई फोन गर्ने, आशीर्वाद लिने, पुराना आमासँग बसेका फोटा पोस्ट गर्ने र भित्तामा धूमधामले ‘मदर्स डे’ मनाउने प्रचलन बढ्दो छ । आमाका लागि आपसेआप सबैको हृदयबाट प्रेमरूपी, श्रद्धारूपी र भक्तिभावरूपी उद्गार निस्कन्छन् नै । आमा तिमी प्रेमकी खानी हौ ,आमा तिमी धर्ती हौ, तिमी छौ र न मेरो अस्तित्व छ । आमा तिमीले दुःख, सुख सहेर हुर्कायौ, बढायौ, पढायौ र न आज मेरो इज्जत छ, शान छ आदि आदि । लाग्छ सबैले आमाप्रति देखाएका भाव र उद्गार हेर्दा शब्दमा जति व्यक्त गरे पनि शब्द फेल खान्छन् आमाको अगाडि आमा अर्थात् जननी, मातृत्व, सृष्टिकर्ता त्यो विशाल विशेषण नै आमाका लागि प्रशस्त छ ।

आमा प्रेमकी खानी हुन् मात्र भन्दा शब्दमा कन्जुस्याइँ हुन जान्छ । प्रेमले मात्र आमाको परिभाषा र श्रद्धा पूर्ण हुँदैन किनकि प्रेमले पाउँदा खुसी र नपाउँदा दुःखी बनाउँछ । आमा धैर्य हुन्, आमा धर्ती हुन् जसरी धर्तीमाताले हरेक परिस्थितिलाई सहजै सहेर सबै अनुकूल प्रतिकूल स्वीकार गरेकी हुन्छिन् त्यसरी नै आमा आफ्ना सन्तानका लागि हरपरिस्थिति, सुख, दुःख, हर्ष, विस्मात पचाएर सँधै एकनास आफ्ना सन्तानका अगाडि प्रस्तुत हुन्छिन् । सन्तानको असहज परिस्थितिलाई सहजै ढाडस दिने शक्ति आमामा मात्र हुन्छ । आफ्ना सन्तानका प्रतिकूल परिस्थितिमा पनि नआत्तिनु, केही हुन्न, चिन्ता नगर, म छु तिम्रा लागि जस्ता भरोसा र आशाका शब्द आमाको मुखबाट मात्र निस्कन्छन् र ?

यति हुँदाहुँदै पनि आजकल हामी आधुनिक भएका छौंँ, ब्यस्त छौं । त्यसैले आमालाई स्याहारसुसार गर्ने र समय दिने फुर्सद छैन हामीसँंग । त्यसैले वृद्धाश्रम बढ्दैछन् । नहुने गरिबले भन्दा धनी, प्रतिष्ठित र इज्जतदारले आमा बुबा लगेर वृद्धाश्रम लगेर राखेका छौंँ । तीमध्ये पनि कति हामी बुद्धिमानी थियौं र आफैँं लगेर राख्यौं, कति आमा आफैँं घर छाडेर, जन्माएका सन्तानले नसहेपछि वृद्धाश्रम पुगेका छन् । वृद्धाश्रम र अनाथाश्रमका हाम्रा आमाका हृदयविदारक भावनाले आमाप्रति श्रद्धा र भक्ति हुनेहरूको आँखाबाट आँसु झर्छ । जिन्दगीका हरेक अँध्यारा र अप्ठ्यारा मोडमा आफ्ना सन्तानलाई उज्यालो बाटो देखाउने आमालाई अँध्यारोमा धकेल्ने दुष्प्रयास गर्ने सन्तान पनि हाम्रै समाजमा छौंँ ।

सानो छँदा दाजुभाइ दिदीबहिनीबीच झगडा हुँदा सबैले भन्ने गथ्र्याैं आमा मेरी हुन् । ठूलो भएपछि, कमाइ सुरु गरेपछि, जिम्मेवारी बहन गर्न सक्ने भएपछि झगडा सुरु हुन्छ भाइभाइमा कि आमा तेरी हुन् । आमा मेरीमात्रै हुन् र ? आफ्नी आमालाई भार सम्झने मूर्खताले भरिएकाहरू पनि यही समाजमा छौंँ । हामी सानोमा रुँदा, निद्रा नलाग्दा, बिसन्चो हँुदा काखमा राखेर आमाले सुनाएका लोरी, आमाको गुन्गुनाहट, हृदयस्पर्शी  संगीत कुनै प्रसिद्ध कलाकारको  संगीतसँग तुलनीय छैन, धन कमाउने, ब्यस्त बनाउने, प्रतिष्ठा कमाउने इच्छा हुँदैमा संसार देखाउने आमाप्रतिको प्रेम र त्याग बिर्सियौं भने हाम्रो कमाइ दुई कौडीको बराबर हुनेछ । बच्चामा तोते बोलीदेखि बोल्न, हाँस्न सिकाउने आमा ठूलो भएपछि पाखे र उनका शब्द, उनका बोली हामीलाई मन पर्दैन र चूप लाग्न बाध्य बनाउँछौ भने यस्ता सन्तान हामी हाम्रा आमा र धर्तीकै कलंंकभन्दा अरु हुन् सक्दैनौंँ । अथाह सम्पत्तिको मालिक हँुदैमा त्यो धनवान र इज्जतदार हुन सक्दैन । वास्तविक धनवान र प्रतिष्ठित त त्यो हो जोसँग आफ्नी  आमाको  सेवा गर्ने समय छ ।

सानो छँदा हामीले खाना नखाएसम्म आमा खानुहुन्नथ्यो र खुवाउन जति जोड गर्नुहुन्थ्यो त्यसको एक प्रतिशत मात्र पनि उहाँहरूलाई हाम्रो सेवा दिन सके हाम्रो जीवन धन्य हुनेछ । आमाको चित्त दुखाउने सन्तान धनी हुन त सकेका होलान् तर सुखी हुन अवश्य सकेका हुँदैनन् । आमाको जस्तै निस्वार्थ भाव सन्तानमा हुन सकेमात्र असल सन्तानको परिचय मिल्छ । आमा त्यसै पनि आफ्ना सन्तानप्रति गर्वले भरिएकी हुन्छिन्, आमालाई दिने सर्वश्रेष्ठ उपहार हिरामोती होइन, असल चरित्र र सत्कर्म हुन सक्छ । सन्तान आज जुन पद र प्रतिष्ठा अनि सम्मानमा छन् त्यो आमाको देन हो, आमाको बाँकी जीवनमा सन्तानको देनले खुशियाली ल्याउन सकेमा असल सन्तानको देन हुनेछ । आमालाई दिने सबैभन्दा ठूलो धन श्रद्धा र प्रेम हो तर आजकल हामी बिनाहिच्किचाहट भन्ने गर्छौंं– मैले आमा पालेको छु । कति अपमानजनक शब्द प्रयोग गर्छौंं । हाम्रो प्रतिष्ठा र सफलताको प्रतीकस्वरूप जन्म दिने र हुर्काउने, बढाउने, पढाउने आमालाई सन्तानले कसरी पाल्न सक्छ ? मैले आमा पालेको छु होइन, म आमासँग बस्छु भनेर गर्वका साथ भन्न सक्ने सन्तान नै असल सन्तान हुन् ।

आमा उमेर छँदामात्र होइनन्, वृद्ध हुँदा पनि आमा नै हुन् । त्यसैले वृद्ध हुँदा भार सम्झने होइन बरु आमा हाम्री भाग्य हुन् भन्ने सम्झने सन्तानले आमाको दूधको भारा तिर्नेछन् । बूढो रुखले फल नदिए पनि शीतल छायाँ अवश्य दिन्छ । आमा एकमात्र त्यस्ती जीवन्त पात्र हुन् जो अरु सबैको अभाव पूरा गर्न सक्षम हुन्छिन् । यो संसारमा अरु कुनै त्यस्तो सम्बन्ध छैन जसले आमाको अभाव पूरा गर्न सकोस् । त्यसैले त भनिन्छ नि– अरुको लाख, आमाको काख ।  

 

प्रकाशित: १३ वैशाख २०७४ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App