१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट वार्तासम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित

युरोपेली संघको बेल्जियमको राजधानी ब्रसेल्समा भईरहेको बैठकमा इटालीका प्रधानमन्त्री पाओलो जेन्टीलोनीसँग गफ गर्दै जर्मन चान्सलर एज्जिला मर्केल । तस्बिर : एपी

ब्रसेल्स – युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ता बारेको निर्देशिकालाई ईयूका सदस्य राष्ट्रहरुले सर्वसम्मतिले पारित गरेका छन् ।

युरोपली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले बेल्जियमको राजधानी ब्रसेल्समा भएको ईयूको बैठकले ब्रेक्जिट वार्ता बारे दृढ र निष्पक्ष कार्यादेश अनुमोदन गरेको बताए ।

निर्देशिकामा ईयूबाट बेलायतको बहिर्गमन प्रक्रियामा पर्याप्त प्रगति नभएसम्म बेलायतसँगको कुनै प्रकारका व्यापार सम्बन्धहरुबारे वार्ता नगरिने विषयवस्तु समावेश गरिएको बताइएको छ ।

ईयूले बेलायतमा रहेका ३० लाख युरोपेली नागरिक र युरोपेली महादेशमा रहेका १० लाख बेलायती नागरिकबारे सुनिश्चितता खोज्नुका साथै विद्यमान प्रतिबद्धताहरु पूरा गर्न बेलायतले कति रकम तिर्नुपर्छ भन्ने विषयमा पनि ठोस निर्णय लिने बताइएको छ । 

सदस्य राष्ट्र र ईयूका सबै संयन्त्रबीच उच्चस्तरको सहमतिको प्रशंसा गर्दै ईयूका नेताहरुले जर्मन चान्सलर एन्जिला मर्केलप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।

यसअघि युरोपली परिषद्का अध्यक्ष टुस्कले ईयूमा बाँकी रहेका २७ सदस्य राष्ट्रहरु एकताबद्ध रहनुपर्ने बताएका थिए ।

बेलायतमा आगामी जुन ८ मा आम निर्वाचन नहुन्जेल लन्डन र ईयूबीच औपचारिक वार्ता शुरु नहुनेपनि बताइएको छ । 

ब्रसेल्स बैठकका लागि शनिबार बिहान त्यहाँ पुगेका टुस्कले ईयुमा रहेका २७ राष्ट्र एकताबद्ध रहनुपर्ने बताएका छन् । उनले त्यसो भएमात्रै वार्ता निष्कर्षमा पुर्याउन सक्ने बताए । उनले बाँकी २७ राष्ट्रको एकता बेलायतको हितमा पनि रहेको सन्देश जाने बताएको बिबिसीले जनाएको छ । 

हालै ईयूका २७ नेताहरुले लेखेको पत्रमा उनले बेलायतसँगको भावी सम्बन्धबारेको वार्ताअघि ‘मानिस, पैसा र आयरल्यान्ड’ बारे प्रगति हुनुपर्ने बताएका थिए ।

बेलायतले ईयूसँगको भावी व्यापार सम्बन्धका बारेमा वार्तामा ढिलाइ गर्न नचाहेको बताउँदै आएको छ ।

यसैबीच जर्मन अर्थमन्त्रीले ब्रेक्जिटसम्बन्धी वार्ताहरु टुंगिएपछि बेलायतले ईयूका २७ सदस्य राष्ट्रहरुबाट फाइदा लिन नपाउने बताएका छन् ।

उनले भनेका निःशुल्कमा खाना खान नपाइने बताउँदै बेलायतले यो कुरा थाहा पाइराख्नुपर्ने बताए। 

 

प्रकाशित: १७ वैशाख २०७४ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App