१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोहलीको अर्धशतक व्यर्थ

राेयल च्यालेन्जर्सका केदार जाधवलार्इ रनअाउट गर्दै राइजिङ पुनेका महेन्द्रसिंह धाेनी

पुने –  कप्तान विराट कोहलीले अर्धशतक पूरा गरे पनि इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्लोरलाई हारबाट जोगाउन सकेनन् । बेङ्लोर शनिबार राइजिङ पुने सुपरजायन्टसँग ६१ रनले पराजित भएको हो ।  

महाराष्ट्र क्रिकेट संघको रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पुनेले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । पुनेका लागि कप्तान स्टिभ स्मिथले ४५ रन बनाउँदा मनोज तिवारीले अविजित ४४ रनको योगदान गरे । राहुल त्रिपाठीले ३७ रन बनाउँदा महेन्द्रसिंह धोनी २१ रनमा अविजित रहे ।

कोहलीले ४८ बलमा ५५ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि १ सय ५८ रनको लक्ष्य पछ्याएको बेङ्लोरले ९ विकेट गुमाएर ९६ रन मात्र जोड्न सक्यो । पुनेका इमरान ताहिरले ३ विकेट लिँदा लुके फर्गुसनले २ विकेट लिए । 

जितसँगै ९ खेलबाट १० अंक जोडेको पुने अंकतालिकाको चौथो स्थानमा रहँदा १० खेलबाट ५ अंक बटुलेको बेङलोर पुछारबाट दोस्रो स्थानमा छ । 

शुक्रबार ओपनर डेभिड वार्नर र शिखर धवनको उत्कृष्ट सुरुआत तथा बलरले मेहनत गरेको खेलमा सनराइजर्स हैदराबादले किंग्स–११ पन्जाबलाई २६ रनले हराएको छ । 

मोहालीमा सुरुआतमा ब्याटिङ गरेको हैदराबादले ३ विकेटको नोक्सानीमा सानदार २ सय ७ रन जोड्यो । धवनले ४८ बलमा ७७ रन प्रहार गरे । आइपिएलको पछिल्ला तीन खेलमा धवनले दोस्रो अर्धशतक प्रहार गर्न सफल भए । आक्रामक ब्याटिङ गरेका कप्तान वार्नरले २७ बलमा ५१ रन बनाए । वार्नरलाई ग्लेन म्याक्सवेलले बोल्ड गरेका थिए । पहिलो विकेटका लागि धवन र वार्नरले १ सय ७ रनको साझेदारी गर्दै टोलीको स्कोरलाई बढाउन योगदान गरे । 

धवनले आफूहरूको साझेदारी स्मार्ट र आक्रामक भएको बताए । ‘सामान्यतया पछिल्लो दुई खेलमा जब डेभिडले आक्रमण गर्छन्, त्यो बेला अब केही पछाडि हट्ने गरेको छु । उनले आफ्नो लयमा खेलेको बेला मैले आक्रामक रूपमा खेलें,’ धवनले भने, ‘आज हामी दुवै दिशाबाट आक्रामक रूपमा खेल्न चाहन्थ्यौं । यो राम्रो कुरा हो । हामी दुवै जना राम्रो स्कोर गर्न चाहन्थ्यौं । म खेलबाट खुसी छु र यसलाई जारी राख्न चाहन्छु ।’

धवनले थपे, ‘मलाई लाग्छ हामी दुवै (वार्नर)ले राम्रो क्रिकेट खेलेको छौं । त्यो हाम्रो योजना थियो । पछिल्ला खेलमा हामीले राम्रो खेले पनि रनरेट कम थियो । आज हामी त्योभन्दा अगाडि जान चाहन्थ्यौं र आफनो क्षमतालाई देखाउने कोसिसमा थियौं । मैले वार्नरसँग पछिल्ला दुई–तीन संस्करणमा खेलेको छु । हामीले एकअर्कालाई बुझेका छौं ।’

तेस्रो नम्बरमा ब्याटिङ गरेका केन विलियम्सबाट पनि सनराइजर्सले फाइदा उठाउन सफल भयो । अविजित ५४ रन जोडेका केनको ब्याटिङ पनि सनराइजर्सको जितमा महत्वपूर्ण बन्यो । सनराइजर्सले पछिल्लो ५ ओभरमा ५२ रन जोड्दै स्कोर बढाएको थियो । वार्नर १०औं ओभरमा आउट भएपछि केनले धैर्यपूर्ण तरिकाले खेलेका थिए । केनले सुरुआत राम्रो भएका कारण ब्याटिङ धैर्यका साथ गरेको बताए । ‘ओपनरले सुरुआतको दश ओभरमा राम्रो गरेपछि हामीले अब कति रन बनाउन सक्छौं भन्ने सोच्नुपर्छ । समयअनुसार हामीले राम्रो खेल्न सक्नुपर्छ,’ केनले भने, ‘ओपनरले राम्रो सुरुआत गरेका कारण हामीले पछि पनि राम्रो खेल्न आवश्यक थियो । यो फरम्याटको क्रिकेटमा धवन कहिलेकाहीँ मात्र आक्रामक रूपमा खेल्ने गरेका छन् । उनले आज धेरै दबाब दिए । उनको ब्याटिङ राम्रो थियो । जसले मलाई मेरो जिम्मेवारी पूरा गर्न सहज बनायो ।’

पन्जाबका म्याक्सवेलले २ विकेट लिए । २ सय ८ रनको लक्ष्य पछ्याएको पन्जाबले घरेलु मैदानमा १ सय ८१ रन मात्र जोड्न सक्यो । 

पन्जाबका साउन मार्सले ८४ रनको योगदान गरे पनि टोली हारबाट जोगिन सकेन । मार्सले ५० बलमा १४ चौका र २ छक्का प्रहार गरेका थिए । इयोन मोर्गनले २६ रन बनाए । ओपनर मार्टिन गुप्टिलले २३ रन बनाए पनि अन्यले गतिलो स्कोर जोडन सकेनन् । 

प्लेयर अफ द म्याच सनराइजका रसिद खानले १ विकेट लिए । किफायती बलिङ गर्ने क्रममा रसिदले ४ ओभरमा १६ रन मात्र खर्चेका थिए । आशिष नेहरा र सिद्धार्थ काउलले समान ३ विकेट लिए । 

पहिलो विकेटका लागि धवन र वार्नरले १ सय ७ रनको साझेदारी गर्दै टोलीको स्कोरलाई बढाउन योगदान गरे । 

 

प्रकाशित: १७ वैशाख २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App