१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रेष्ठताको होडमा कोस्टा र लुकाकु

लन्डन – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले इङ्लिस प्रिमियर लिग उपाधि अभियानअन्तर्गत आइतबार एभर्टनविरुद्ध हुने महत्वपूर्ण खेलमा डिएगो कोस्टाको प्रेरणामा अर्को तीन अंक हासिल गर्ने अपेक्षा गरेका छन् । प्रिमियर लिगमा उत्कृष्ट स्ट्राइकरको होडमा रहेका कोस्टाले आफूभन्दा अघि रहेका एभर्टनका रोमेलु लुकाकुलाई छायाँमा पार्न सके उपाधि अभियानमा शीर्ष टोली चेल्सीले महत्वपूर्ण फड्को मार्नेछ । 

सिजनका बाँकी पाँच खेलमा चेल्सीका लागि एभर्टनको भ्रमण सबभन्दा कठिन हुने अनुमान छ । एभर्टन घरेलु मैदानमा पछिल्ला आठ खेलमा अविजित छ । तथापि कोन्टे भने उत्तरी लन्डन डर्बीअन्तर्गत ढिलो गरी आर्सनललाई निम्त्याउने तयारीमा रहेको निकट प्रतिद्वन्द्वी टोटेनह्याममाथिको अग्रता केही घण्टाका लागि भए पनि सात अंकले फराकिलो पार्ने आशामा छन् ।

चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछि रहेको आर्सनल एक खेल कम खेलेका कारण अझै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा कायम छ । यो हप्ता सिटीविरुद्धको एफए कप सेमिफाइनलसँगै दुई खेल जितेर आर्सेन वेंगरको आर्सनलले उच्च मनोबल पनि बनाएको छ ।

सिटी र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडले पनि आइतबार तीन अंकको आशाका साथ रेलिगेसनको दबाबमा रहेका मिडिल्सब्रो र स्वान्सी सिटीसँग खेल्दै छन् । 

रिसाउने बानीका कारण विवादास्पद छवि बनाएका कोस्टाप्रति कोन्टे निकै सकारात्मक छन् । साउथह्याम्पटनमाथि मंगलबार जित हासिल गर्दा दुई गोल गर्दै फर्ममा फर्किंदै जारी सिजनमा व्यक्तिगत गोलसंख्या १९ पुर्याएका कोस्टालाई २४ गोल गरिसके पनि लुकाकुसँग साट्न आफू सहमत नरहेको कोस्टाले बताए । 

‘मेरा लागि मेरा खेलाडीहरू विश्वकै उत्कृष्ट हुन्, यो कुरा मैले बारम्बार दोहोर्याउँदै आएको छु । म कसैसँग पनि आफ्ना खेलाडीलाई साट्ने छैन,’ कोन्टेले भने । 

उनका एभर्टन समकक्षी रोनाल्ड कोम्यान भने गत सप्ताहान्तमा वेस्ट ह्यामसँग गोलरहित बराबरीमा सीमित हुनुपर्दा आफ्ना खेलाडीसँग खुसी छैनन् । चेल्सीलाई आइतबार निम्त्याउँदा उनी आफ्ना खेलाडीबाट व्यापक सुधारको अपेक्षामा हुनेछन् । 

‘सातौं स्थान पक्का भइसकेको अवस्थामा सिजनको अन्त्य सधै कठिन हुने गर्छ । यस्तो बेला खेलाडीबाट सिजन सकिन लागेको सोचमा बिदाको प्रतीक्षा हुने गर्छ । जुन मलाई मन पर्दैन,’ कोम्यानले भने । 

आर्सनलसँग प्रिमियर लिग इतिहासमा ५०औं पटक आमने–सामने हुन लागेको टोटेनह्याम चेल्सीमाथिको दबाब कायम राख्नका लागि आइतबार जितको आशामा हुनेछ । टोटेनह्यामका अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई आइतबार ‘डर्बी’ खेलको प्रतिष्ठाका लागि मात्र जितको अपरिहार्यता सीमित छैन । उपाधि जित्ने आशा जीवित राख्नका लागि पनि उनलाई आइतबार जित आवश्यक छ ।

‘हामी चार अंकले मात्र पछि छौं । यति नजिक पुगिसकेको अवस्थामा पनि उपाधि जित्न सकिएन भने म निकै निराश हुनेछु,’ पोचेटिन्होले भने, ‘मेरो लक्ष्य वा ममाथिको चुनौती आर्सनलभन्दा माथि रहेर सिजनको अन्त्य गर्नु होइन । मेरो लक्ष्य प्रिमियर लिगका १९ टिमलाई पछि पार्ने हो । म र पूरा टिम च्याम्पियन हुन चाहन्छौं ।’

आर्सनलका खेलाडीले लडाकूपना पुनः हासिल गरेपछि प्रशिक्षक वेंगरको उत्साह बढेको छ । पछिल्ला दुई खेलमा लगातार जित हासिल गरेपछि उनले शीर्ष तीनमा रहेर आगामी सिजनको च्याम्पियन्स लिगका लागि सोझै छानिने लक्ष्य फर्काएका छन् । 

‘हामीले आफ्ना सबै खेल जिते मात्र शीर्ष तीनमा रहेर सिजन समाप्त गर्न सक्छौं । त्यसैले हामीले हरेक खेललाई फाइनलको रूपमा लिएका छौं । अब हामीलाई सम्झौता गर्ने छुट छैन,’ ६७ वर्षे फ्रान्सेली प्रशिक्षकले भने ।

उता म्यानचेस्टरका क्लबहरू आइतबार जित हासिल गर्न सके २४ घन्टापछि वाट्फोर्डसँग खेल्ने तयारीमा रहेको लिभरपुललाई पछि पार्दै तेस्रो र चौथो स्थानमा उक्लिनेछन् । 

प्रकाशित: १७ वैशाख २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App