‘एक पटक होल बडी चेकअप नगरी भएको छैन, कहाँ गर्ने ?’ धेरैले भनेको सुनिन्छ । बढ्दो स्वास्थ्य चेतना र चासोसँगै स्वास्थ्य अवस्था थाहा पाउन सम्पूर्ण स्वास्थ्य अवस्थाको जाँच गर्ने चाहना बढ्दो छ, शहरमा । त्यति मात्रै होइन ‘होल बडी चेकअप’को मेनु खोज्न अस्पताल, प्रयोगशाला र क्लिनिक धाउनेको संख्या पनि कम छैन । जुन आममानिसका लागि फेसन र अस्पतालका लागि कमाउने माध्यमसमेत बन्न थालेको छ ।
धूम्रपान, मद्यपानको अत्यधिक प्रयोग, व्यायामको अभाव, जंकफुड फास्टफुडको सेवन, बढी गुलियो र अधिक नुन प्रयोगजस्ता कारणले नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सर, उच्च रक्तचाप, मधुमेहजस्ता रोगका बिरामी शहरमा बढ्दै गएका छन् ।
तनाव, चिन्ता, अनिद्राजस्ता समस्याले पनि हार्मोनसम्बन्धी रोग थपिँदै जाँदा बिरामी पर्ने र मृत्यु हुनेको संख्या पनि बढ्दै छ । तर, चिकित्सक भने, होल बडी चेकअपबारे उचित चेतना अभावमा त्यसको दुरुपयोग बढ्दै गएको बताउँछन् । चिकित्सकका अनुसार स्वास्थ्यप्रति आएको जागरुकतामाथिको शोषणबाट जोगिन कस्तो अवस्थाका मानिसले कुन खालको स्वास्थ्य जाँच नियमित गर्नुपर्छ भन्ने चेतना बढाउन जरुरी छ ।
थरीथरी प्याकेज, मनपरी शुल्क
‘स्वास्थ्य परीक्षणका नाममा नचाहिने कुरा पनि जाँच्ने गरिएको छ,’ वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं फिजिसियन डा. अनिल बराल भन्छन्, ‘वर्षैपिच्छे सबै कुरा जाँच्नुपर्दैन । ब्रेन ट्युमर हुन सक्छ भनेर सीटी स्क्यान, एमआरआईसमेत गर्ने होल बडी चेकअप प्याकेज आउन थालेको छ, जुन वाहियात हो ।’
सरकारी र निजी अस्पतालहरूले एकैप्रकारका परीक्षणमा पनि मनपरी शुल्क राख्ने गरेका छन् । सरकारी अस्पतालमा दुईदेखि तीन हजार रुपैयाँको होल बडी चेकअप प्याकेज हुन्छ भने निजी अस्पतालहरूले १५ हजारसम्मका प्याकेज बनाएका छन् । उनीहरूले प्रारम्भिक परीक्षणका क्रममा अन्य समस्या देखिएमा थप शुल्क लिने गर्छन् । यस्तो शुल्क महिलाको सन्दर्भमा अझै बढी छ । पछिल्लो समयमा थाइराइड र भिटामिन डीको परीक्षण गराउने प्रवृत्ति फेसनकै रूपमा बढेको चिकित्सकहरू बताउँछन् ।
प्याकेजकै नाममा सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र र सिभिल अस्पतालले सेवा दिइरहेका छन् । निजीतर्फका नर्भिक, ग्रान्डी, बी एन्ड बी, अल्का, ओम, सुमेरु, बयोधाजस्ता ठूला अस्पतालले मनपरी शुल्क राखेर आ–आफ्नै प्याकेज बनाएका छन् ।
‘स्वास्थ्य परीक्षणका नाममा नचाहिने कुरा पनि जाँच्ने गरिएको छ । वर्षैपिच्छे सबै कुरा जाँच्नुपर्दैन । ब्रेन ट्युमर हुन सक्छ भनेर सीटी स्क्यान, एमआरआईसमेत गर्ने होल बडी चेकअप प्याकेज आउन थालेको छ, जुन वाहियात हो ।’
जानकारहरूका अनुसार कस्तो अवस्थामा कस्तो परीक्षण गराउने भन्ने सही ज्ञान भएमा सरकारी प्रयोगशालाबाटै सस्तो शुल्कमा विश्वसनीय जाँच सम्भव छ । काठमाडौँ, टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला, सिभिल अस्पताल, वीर अस्पतालका प्रयोगशालामा सहुलियतमा होल बडी चेकअप हुन्छ र तुलनात्मक रूपमा विश्वसनीय पनि मानिन्छ ।
कसले के चेकजाँच गराउने ?
डा. बरालका अनुसार धेरैजसो परीक्षण लक्षण वा कुनै समस्या नदेखीकनै गर्न जरुरी छैन तर केही परीक्षण भने समय÷समयमा गर्न सकिन्छ । यो कुरा उमेर, वंशाणुगत रोगको अवस्था, मोटोपन, अस्वास्थ्यकर जीवनशैली, खानपानसँग जोडिएको हुन्छ । परिवार वा आफूभन्दा अग्रजमा कुनै रोग थियो भने आफूले पनि वर्षको एकपटक त्यस्तो रोगको परीक्षण गर्नुपर्छ । कुनै लक्षण नदेखिएको अवस्थामा पनि ३० वर्ष कटेका महिला–पुरुषले वर्षमा एक पटक उच्च रक्तचाप, सुगर र मिर्गौलाको अवस्था थाहा पाउन केही चेक जाँच गराउँदा राम्रो हुन्छ ।
तीबाहेक उमेर, अवस्था र जोखिम हेरेर छातीको एक्सरे, रगतमा चिल्लो पदार्थको मात्रा (कोलेस्टेरोल), युरिक एसिड र फोक्सोको कार्यको जाँच गर्नुपर्छ । अन्य लक्षणका आधारमा फिजिसियनको सल्लाह लिएर थाइराइड, अल्ट्रासाउन्ड, रगतमा सोडियम पोटासियमको मात्रा, मुटुको अवस्था थाहा पाउन ईसीजी, पाठेघर र स्तनको जाँच गराउन सकिन्छ । त्यसै गरी लक्षण वा समस्या देखिन थालेको अवस्थामा हेमोग्लोबिन, प्रतिरोधात्मक क्षमता थाहा पाउन डब्लूबीसी, रगतको अवस्था थाहा पाउन आरबीसी र भिडियो एक्सरे पनि गर्न सकिन्छ ।
महिलाको सन्दर्भमा केही वर्षको अन्तर हेरेर पाठेघरको मुख र स्तनको जाँच गराउन उपयुक्त हुने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन् । डा. अग्रवालका अनुसार पछिल्ला दिनमा होल बडी जाँचका नाममा प्रयोगशाला र रेडियोलोजिकल परीक्षण गर्ने र शरीरको जाँचमा ध्यानै नदिने प्रचलन बढी छ । ‘स्तनको क्यान्सर जोखिम त छामेरै पनि थाहा पाउन सकिन्छ,’ डा. अग्रवाल भन्छिन्, ‘खर्च नलाग्ने शारीरिक जाँच गरे हुन्छ । अन्य परीक्षण चाहिँ चिकित्सकले सुझाव दिएमात्रै गर्नु राम्रो हो ।’
डा. अग्रवालका अनुसार धेरैले फेसनका रूपमा प्रयोगशालाको परीक्षण मात्रै गराउँछन् । ‘त्यसले मात्र धेरै अर्थ राख्दैन,’ उनले भनिन्, ‘मेरा एक जना आफन्तले नाम चलेको अस्पतालमा होल बडी जाँच गरेका थिए, तर छ महिनापछि चौथो स्टेजको ब्रेस्ट क्यान्सर देखियो ।’ डा. अग्रवाल यसमा क्लिनिकल र रेडियोलोजिकल परीक्षणमा बढी ध्यान दिनु तर ‘फिजिकल्ली’ छामेरै हेर्न सकिने कुरामा समेत ध्यान नजानुलाई प्रमुख कारण ठान्छिन् ।
चिकित्सकहरू होल बडी चेकजाँच गर्दा उमेर, लिंग, जीवनशैलीलगायत विषयमा ध्यान पुर्याउनुपर्ने बताउँछन् । वयस्क पुरुषको सन्दर्भमा पिसाबमा कुनै खालको समस्या देखिएको छ भने प्रोस्टे«ट ग्रन्थीको जाँच गराउनु उपयुक्त हुन्छ । कुनै समस्या नदेखिँदासम्म यस्ता परीक्षण बालबालिकालाई भने गराउनुनपर्ने चिकित्सकहरू बताउँछन् । तर, बच्चाको वृत्ति विकास उमेरअनुसार नभएमा वा बढी भएमा हार्मोनको अवस्था, पोषण र अन्य विकास अवस्थाको जाँच गराउनुपर्छ ।
‘जोखिम फ्याक्टर’ अर्थात् उच्च रक्तचाप, कोलेस्टरोरल, सुगर भइसकेकाहरूले भने मुटु, मिर्गौला, आँखाको ज्योतिजस्ता कुराको नियमित (छ/छ महिना) मा परीक्षण गर्नुपर्छ,’ डा. बराल भन्छन् ।
दीर्घकालसम्म दुःख दिने बढी जोखिमयुक्त मानिने नसर्ने खालका धेरैजसो रोगहरूमा लक्षण सुरुमै नदेखिने र लक्षण देखिएको अवस्थामा धेरै कुरा बिग्रिइसकेको हुने हुँदा चिकित्सकहरू स्वास्थ्य जाँचमा जोड दिने गर्छन् । विज्ञहरूका अनुसार मिर्गौला, मुटुरोग, क्यान्सरजस्ता ठूला रोगदेखि यी रोगका प्रमुख ‘रिस्क फ्याक्टर’ मानिने उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलमा समेत लक्षण नदेखिन सक्छ । ‘सबैभन्दा बढी त मिर्गौलाको समस्यामा लक्षण देखिन्न, धेरैजसो लक्षण देखिइएको अवस्थामा मिर्गौलाले काम गर्न छोडिसकेको हुन्छ,’ डा. बराल भन्छन्, ‘यस्तो अवस्थामा कम्तीमा वर्षको एकपटक पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनको मात्रा हेरेमा बेलैमा अवस्था थाहा पाउन सकिन्छ ।’
चिकित्सकहरू जोखिम नभएकाले छ÷छ महिनामा र जोखिम समूहमा रहेकाले कम्तीमा तीन÷तीन महिनाको अन्तरमा उच्च रक्तचाप परीक्षण गर्नुपर्ने बताउँछन् ।
आमबिरामी र चिकित्सक समुदायमै पनि पूर्ण स्वास्थ्य जाँचमा कस्ता कुरा जाँच्ने र के चाहिँ परीक्षण गर्नुपर्दैन भन्नेमा समान धारणा र सोच छैन । वरिष्ठ चिकित्सकहरूले समेत स्वास्थ्य जाँचका नाममा जथाभावी र पटक–पटक गरिने प्रयोगशाला, रेडियोलोजिकल परीक्षण अनावश्यक भन्ने गरेका छन् ।
चिकित्सकका अनुसार शरीरका विभिन्न अंगमा कुनै समस्या आए/नआएको वा त्यस्ता अंगको कार्यक्षमताको अवस्था पत्ता लगाउन स्वास्थ्य जाँच गरिनुपर्छ । चिकित्सा विज्ञानमा अत्याधुनिक उपकरण र प्रयोगशालाका प्रविधि एवं उपकरण उपलब्ध नहुँदासम्म चिकित्सकले समस्या वा लक्षण (क्लिनिकल डायग्नोसिस) का आधारमा रोग अनुमान र उपचार गर्थे । तर, अहिले चिकित्सकहरू क्लिनिकल डायग्नोसिस वा शारीरिक परीक्षण (फिजिकल इग्जामिनेसन) विनै प्रयोगशाला र रेडियोलोजिकल परीक्षणबाट रोगको निदान सहज मान्छन् ।
प्रविधिले थपेको सुविधाको समुचित प्रयोग गरेर रोग पत्ता लगाउन सके महँगो खर्चसँगै अनावश्यक दुःखदेखि ज्यानै जाने अवस्थाबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।
प्रकाशित: २७ वैशाख २०७४ १०:१४ बुधबार