जसले पहिलो स्थानीय निर्वाचनमा भोट खसाले

शनिबार, ३० बैशाख २०७४, ११ : २१ शिवहरि घिमिरे

‘खेतमा काम गर्दै थिएँ, गाउँका टाठाबाठा आए, सबैले मन्त्री छान्न भोट हाल्न जाउँ भने, अनि यो चिह्नमा भोट हाल्नुस् भनेर पनि सिकाए,’ भक्तपुर सूर्यविनायकका ९० वर्षीय हरिलाल पञ्च देशको पहिलो स्थानीय निर्वाचन सम्झन्छन् ।

हरिलालले राणाकाल (२००४ साल) मा भएको स्थानीय निर्वाचनमा भोट खसालेका थिए । त्यसबेला उनलाई चुनावबारे कुनै पनि ज्ञान थिएन । ‘तर, नेपालकै पहिलो स्थानीय निर्वाचनमा भोट दिन पाएको भन्ने बुझेपछि खुसी भएँ,’ उनी भन्छन्, ‘भोट हालेको पाँच वर्षपछि मात्रै चुनावबारे थाहा पाएँ ।’ 

उनका अनुसार त्यो समय मतदाता भोट माग्न घरघरमा आउँदैनथे । पार्टीका एक–दुईजना व्यक्ति आएर यो चिह्नमा भोट खसाल्नुस् भनेर सिकाउँथे । मानिस खेती–किसानीमै व्यस्त हुन्थे, आफ्नो अधिकार कसरी खोज्ने भन्ने धेरैलाई थाहै हुँदैनथ्यो । जनप्रतिनिधि भनेका कस्ता हुन्छन् र तिनले के काम गर्छन् भन्ने पनि थाहा थिएन । ‘हामी किसानहरूमाथि त्यो समय धेरै शोषण हुन्थ्यो, सबैले हेप्थे,’ उनी पुराना दिन सम्झन्छन्, ‘त्यो बेला भक्तपुरमा किसान संघ भन्ने एउटा पार्टी थियो, त्यो पार्टीका मानिसले आफूहरूलाई भोट खसालेर जिताए किसानको हितमा काम गर्छ भन्थे ।’ 

नेपालको पहिलो चुनावमै भोट खसाल्न पाउने अर्का व्यक्ति हुन्, संंस्कृतिविद् तथा साहित्यकार सत्यमोहन जोशी । पहिलो स्थानीय निर्वाचनमा भोट हाल्न पाउँदा कुनै बन्देजबाट फुकेको महसुस भएको उनी बताउँछन् । जोशीले पहिलो पटक मत हालेको समयमा उपत्यकाको जनसंख्या निकै कम थियो । चुनावको दिन मानिसहरू भोट हाल्न तोकिएको स्थानमा लामबद्ध हुन्थे । भोट कसरी हाल्ने भनेर धेरैलाई अलमल हुन्थ्यो । ‘भोट हाल्न आएका कतिपयलाई चुनाव भन्ने के हो भन्ने ज्ञानै हुँदैनथ्यो,’ जोशी सम्झन्छन्, ‘त्यो बेला उम्मेदवार पनि थोरै हुन्थे, कतिपय मतदाता कुन पार्टीको कस्तो चिह्न हो भनेर समेत थाहा पाउँदैनथे ।’ त्यसबखत भोट हाल्नका लागि अहिले जस्तो झन्झट भने बेहोर्नुनपरेको उनी बताउँछन् । 

‘एकैछिन् लाइनमा बसेपछि पालो आउँथ्यो, जान्ने मान्छे आफूूलाई चित्त बुझेको चिह्नमा औँठा छाप लगाउँथे,’ जोशी भन्छन्, ‘नजान्नेले कुन पार्टीमा भोट हालौँ भनेर एक–अर्कालाई सोध्थे ।’ उनका अनुसार उतिबेला भोट हाल्ने व्यक्ति एकातिर हुन्थे भने गन्ती गर्नेहरू अर्कातिर । दुवैतिरको काम एकैचोटि सुरु हुन्थ्यो र नतिजा छिट्टै आउँथ्यो । पहिलो निर्वाचनमा भोट हाल्ने अवसर पाउनुलाई मानिसहरू नौलो ठान्थे । 

पहिलो चुनावका बेला जोशीले ललितपुरको सुनाकोठीमा औपचारिक इन्चार्ज भएर काम गरेका थिए । ‘मैले उक्त निर्वाचनमा भोट मात्रै हालिनँ, चुनावभर औपचारिक इन्चार्ज भएकाले भोट गणना गर्ने मौका समेत पाएँ,’ उनी भन्छन्, ‘पहिलोपटक भएकाले अलमल हुन्छ भनेर दलहरूले अघिल्लो दिनै मतपत्र बाँडेका थिए । मतदाता अर्को दिन आएर आफूलाई चित्त बुझेको चिह्नमा छाप लगाएर जान्थे ।’ नेपालमा स्थानीय निकाय निर्वाचनको इतिहास सात दशक पुरानो हो । पहिलो निर्वाचनमा भोट खसाल्ने व्यक्ति अहिले थोरै मात्र जीवित भेटिन्छन् ।

२०५४ पछि देशमा स्थानीय चुनाव हुन सकेको छैन । २० वर्षपछि वैशाख ३१ गते देशमा पहिलो चरणको स्थानीय तह निर्वाचन हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का नागरिकले आफ्नो स्थानीय नेता चुन्दैछन् । 

०५४ को स्थानीय चुनाव अनुभव गरेका व्यक्ति अहिले अघिल्लो पुस्ताका भइसकेका छन् । त्यसैताका जन्मिएका व्यक्ति अहिले मतदान गर्न र उम्मेदवार बन्न योग्य बनिसकेका छन् । पहिले र अहिले देश, काल र परिस्थिति बदलिएको छ । विज्ञान–प्रविधि र विकास निकै अघि बढेको छ । मानिसका आशा र अपेक्षा समयसापेक्ष ढंगमा बदलिँदै आएका छन् ।

नेपालमा हालसम्म स्थानीय निकायका १२ वटा निर्वाचन भइसकेको छ । अहिलेसम्म भएका सबै निर्वाचनमा भोट खसाल्दै आएका व्यक्ति हुन्, काठमाडौँ असन बहालका ९१ वर्षीय गोपाल ख्वाउजु । उनी चुनावमा भोट खसाल्न पाउनु आमनागरिकको अधिकार भएको बताउँछन् । ‘यसअघिका चुनावमा धेरै व्यक्तिलाई भोट हालियो,’ उनी भन्छन् । तर, उनी सपना मात्रै बाँड्ने नेताप्रति भने रुष्ट छन् । 

पहिलो निर्वाचनमा भोट हाल्न नपाए पनि २०१५ सालको आम निर्वाचनमा भोट हाल्न पाउने अर्का पाका व्यक्ति हुन्, तत्कालीन ललितपुर नगरपालिकाका पहिलो मेयर बुद्धिराज बज्राचार्य । पहिलो निर्वाचनमा आफू सानै भएकाले भोट हाल्न नपाएको उनले बताए । उनको बुझाइमा अहिले र पहिलेको निर्वाचन प्रक्रियामा धेरै भिन्नता आइसकेको छ । उनी भन्छन्, ‘उतिबेला जनसंख्या कम थियो, उम्मेदवार नमस्कार गर्दै प्रत्येकको घरदैलोमा भोट माग्न आउँथे, तर अहिलेको चुनावी प्रक्रिया भद्रगोल भइसकेको छ ।’ बुद्धिराज ०४२ देखि देखि ०५८ सालसम्म ललितपुरको मेयर थिए भने ०२७ देखि ०३२ सालसम्म वडाध्यक्ष थिए ।  

महिलाले भोट हाल्न पाउँदैनथे
नेपालको पहिलो निर्वाचनमा महिलालाई भोट खसाल्न पाउने अधिकार थिएन । चुनावी कार्यक्रममा पुरूषले मात्रै भाग लिन्थे । महिलाहरू घरायसी काममै व्यस्त रहन्थे । पछि २०१० मा आएर पहिलोपटक महिलालाई मताधिकार दिइयो । २००७ सालमा प्रजातन्त्र आएपछि १७ भदौ २०१० मा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । संस्कृतिविद् जोशीका अनुसार उक्त समय २१ वर्ष उमेर पुगेकाले गोप्य मतदान गर्न पाएका थिए । ‘घर र किसानी काममा सीमित महिलाले यसै निर्वाचनदेखि मतदान गर्ने अधिकार पाएका थिए,’ उनी भन्छन्, ‘उक्त निर्वाचनमा महिला प्रतिनिधि पनि निर्वाचित भए ।’ 

पहिलो निर्वाचन
नेपालमा निर्वाचनको इतिहास धेरै लामो छैन । २००४ सालदेखि स्थानीय निर्वाचन सुरु भएको हो । उक्त समय काठमाडौँ महानगरपालिकाको नाम काठमाडौँ म्युनिसिपालिटी थियो । तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले २००४ जेठ ३ गते पहिलो निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति चुनिएका थिए । मतदाता संख्या र उम्मेदवार संख्या पनि निकै कम थियो । निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको बताइन्छ । महिलालाई भोट हाल्ने अधिकार नभएकाले २१ वर्ष पुगेका पुरुषलाई मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको असन बहालका ९१ वर्षीय गोपाल ख्वाउजु बताउँछन् । उनी भन्छन्, ‘निर्वाचनको मुखमा मतदातालाई प्रधानमन्त्री पद्मशमशेरले नगरपालिकाको काम गर्न र नागरिकको रक्षा गर्न सक्ने असल, लायक, अनुभवी र योग्य प्रतिनिधि छान्नु भनी आदेश दिएका थिए ।’  

उक्त समय २१ वडा रहेको काठमाडौँ म्युनिसिपालिटीमा १३ हजार पाँच सय ५३ घरधुरी र ६८ हजार एक सय १८ मतदाता रहेको जानकार बताउँछन् । उत्तर महाराजगन्ज, दक्षिण वागमती, पूर्व धोबीखोला र पश्चिम विष्णुमती चार किल्ला रहेको काठमाडौँ म्युनिसिपालिटीको प्रत्येक वडाबाट एक–एक सदस्य छान्ने व्यवस्था थियो । त्यसमध्ये वडा २१ बाट निर्विरोध निर्वाचित भएका भुवनलाल प्रधान नेपालका पहिलो जननिर्वाचित प्रतिनिधि मानिन्छन् । 

प्रत्येक वडामा बसोबास गरिआएका २१ वर्ष उमेर पुगेका पुरुषको नाम समावेश गरी मतदाता नामावली तयार गरिएको थियो । सरकारी तिरो तिर्न र बुझाउन बाँकी नभएका २५ वर्ष पुगेका पुरूष मात्र उम्मेदवार बन्न सक्ने प्रावधान थियो । २१ वडामध्ये ५, ९, १०, ११ मा एक उम्मेदवार मात्र उठेका थिए । त्यसैले भोट खसाल्ने ढ्वाङ (मतपेटिका) राखिएको थिएन । मतदान गर्ने समय बिहान ११ देखि अपराह्न ३ बजेसम्म तोकिएको थियो । निर्वाचनको अघिल्लो दिन नै मतपत्र परिवारका पुरूष मतदाताको घरघरमै लगिएको थियो ।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहलाई 'नो चान्स' : मनिषा कोइराला

विवाहलाई 'नो चान्स' : मनिषा कोइराला

सात वर्षअघि काठमाडौंका व्यापारी सम्राट दाहालसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको वैवाहिक जीवन लामो समय...

सकियो राष्ट्रिय वाङ्मय संगोष्ठी

सकियो राष्ट्रिय वाङ्मय संगोष्ठी

नेपाल र भारतबीचको साहित्यिक सम्बन्ध, प्रगतिको चर्चा र कविता वाचनसँगै राजधानीमा गत शनिबारदेखि सुरु भएको 'त्रिदिवसीय राष्ट्रिय वाङ्मय संगोष्ठी तथा...

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म 'पाहुना' को टिजर 'कान्स फिल्म फेस्टिबल'...

राजधानीमा नयाँ फिल्म कलेज

राजधानीमा नयाँ फिल्म कलेज

नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म...