साइबर सुरक्षा

शुक्रबार, ०५ जेठ २०७४, ०९ : ४५ सम्पादकीय


संसारको सुरक्षा चासो कति भिन्न भएछ भन्ने बुझ्न यति बेला संसारभरि एक किसिमको कम्प्युटर भाइरस (र्यान्सम वेयर) ले मच्चाएको आतंक पर्याप्त छ । कुनै बेला देशको सुरक्षा भनेर भौतिक विषय, राज्यको सीमा, नागरिक जीउधनको रक्षाजस्ता विषयलाई मुख्यरुपमा लिइन्थ्यो । तर, आज हामी सबैको जीवनको अभिन्न अंग बनेका कम्प्युटर र तिनमा राखिएका फाइलको सुरक्षा अपरिहार्य बन्न पुगेको छ । कम्प्युटरमा सुरक्षित फाइल कसैले भाइरस पठाएर ध्वस्त पारिदिएपछि दैनिक कामकारबाहीमै असर पर्ने अवस्था संसारमा आएको छ । गत शुक्रबार विन्डोज अपरेटिङ सिस्टमका कमजोरीको फाइदा उठाउँदै संक्रमित गराइएको ‘वाना क्राई’ भाइरसले १ सय ५० मुलुकका कम्प्युटरलाई ‘इन्क्रिप्ट’ पारेको छ । यसरी सिस्टममा भाइरस आक्रमणपछि कम्प्युटर प्रयोग गर्न सकिन्न । यो रुनु न हास्नुको अवस्थामा पुगेका धेरै देशले ‘र्यानसम’ अर्थात् फिरौती बुझाउनुपर्ने अवस्था आएको छ । फिरौती नबुझाउने हो भने सुरक्षित राखिएका तथ्यांक र अभिलेखले काम गर्दैन । ताइवान, भारत, चीन र रुसका कम्प्युटर सबैभन्दा बढी प्रभावित बनाएको यस भाइरसले नेपालका केही बैंक र इन्टरनेट सेवा प्रदायकलाई समेत असर पुर्याएको छ । यस किसिमको आक्रमणमा उत्तर कोरियाली ह्याकरहरुको हात रहेको अमेरिकी जासुसी संस्थाको दाबी छ । कम्प्युटरको सञ्जाल बढ्दै जाँदा कम्प्युटर नेटवर्कमाथि आक्रमण हुने, सूचना कब्जामा लिने र त्यसबापत फिरौती माग्ने क्रम पनि बढ्न थालेको छ । 

‘वानाक्राई’ संक्रमणले नेपालका नीति निर्माता, प्रविधिविज्ञ र सुरक्षाविज्ञलाई यसबारे गहन रुचि लिने, यस किसिमका आक्रमणले भविष्यमा पार्ने असर तथा क्षतिको विवेचना गर्ने र यसको रोकथाम गर्ने गतिलो अवसर दिएको छ

सन् १९०३ बाट सुरु भएको यस किसिमको ह्याकिङ प्रविधिले आफूलाई क्रमशः विकास गर्दै नयाँ शैली प्रयोग गर्दै आएको छ । केहीले रहरले अरुका कम्प्युटर र गोप्य कागजात कब्जा गर्ने गर्छन् त केहीले यसैलाई पेसा बनाएर कुस्त कमाइ पनि गरेका छन् । कम्प्युटर ह्याकिङ, भाइरस र नेटवर्क अट्याकजस्ता कामका पछाडि केही सकारात्मक पक्ष पनि लुकेका छन् । ह्याकिङ र भाइरस आक्रमण जति बढी हुन्छ, अपरेटिङ सिस्टम निर्माताले अझ बलियो र त्रुटिरहित सिस्टम बनाउनेतर्फ कदम चाल्ने गरेका छन् । कतिपय ठूला कम्पनीले त अपरेटिङ सिस्टमका कमीकमजोरी पहिचान गर्न ह्याकरलाई जागिर नै दिने गरेका छन् । आपल, माइक्रोसफ्ट, आइबिएमजस्ता ठूला कम्पनीले हरेक वर्ष आफ्नो नेटवर्कमा आक्रमण गर्न उक्साउने, ह्याक भए त्यसलाई सुधार्ने जिम्मा दिने वा विशेष पुरस्कार दिने गरेका छन् । यस किसिमको अभ्यासलाई ‘इथिकल ह्याकिङ’ भन्ने गरिन्छ । अर्कोतर्फ इन्टरनेटमार्फत अनेक किसिमका लिंक पठाउने र तीमार्फत भाइरस छिराई फाइल नष्ट गर्ने चलन पनि छ । यस किसिमको ह्याकिङका पछाडि भाइरस सफा गर्ने सफ्टवेयर बेच्ने कम्पनी लागिपरेका हुन्छन् । इथिकलबाहेकका ह्याकिङ र भाइरस पठाउनुको उद्देश्य व्यक्तिका सूचना हासिल गर्ने, तिनलाई अप्ठेरो पार्ने र ‘ब्ल्याकमेलिङ’ गर्नु नै हुन्छ । अधिकांशतः धनीमानी व्यवसायी, प्रख्यात सेलिब्रिटी यसको सिकार बन्ने गरेका छन् । खासगरी अभिनेत्रीहरु यस किसिमको ह्याकिङको मुख्य सिकार बन्ने गरेका छन् । कहिलेकाहीं त यस्तोे ब्ल्याकमेलिङमा मुलुक पनि पर्ने गर्छन् । केही विज्ञले आउँदा दिनमा कम्प्युटरमार्फत युद्ध हुने घोषणा गरिसकेका छन् । हुन पनि ह्याकरले भाइरसमार्फत संसारभरि पार्ने असर र त्यसको क्षति आकलन नै गर्न नसकिने किसिमको हुन्छ । आफ्ना सूचना चोरी हुने डरले अधिकांश अर्बपतिले स्मार्टफोन नै प्रयोग गर्दैनन्, गरे पनि अति सुरक्षित मोबाइल फोनमात्र प्रयोग गर्छन्, उनीहरुको कम्प्युटर पनि त्यतिकै सुरक्षित हुन्छन् । यस्तै व्यक्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत पर्छन् । आफ्ना सूचना चोरिने डरले प्रविधि उपयोग नै नगर्नु व्यावहारिक नहोला तर कसरी त्यस किसिमका आक्रमणबाट बच्ने भन्नेतर्फ सचेत भने हुनै पर्छ । 

नेपालमा पनि बेलाबखत कम्प्युटर ह्याक हुने, वेबसाइट फ्रिज हुने, भाइरसले सूचना नष्ट गरिदिने घटना नौलो होइन । संसारमै सबैभन्दा कम सूचना प्रविधि उपयोग हुने देशमध्ये नेपाल पर्छ । यस अवस्थामा नेपाललाई उति धेरै भौतिक, आर्थिक र अन्य किसिमको क्षति नहोला तर सूचना प्रविधिको प्रयोग जुन गतिमा बढिरहेको छ, जसरी देशभरि डिजिटल सञ्जाल बढ्दो छ, त्यस हिसाबले यस्तै प्रकृतिको बृहत् आक्रमण भयो भने हुने क्षतिको आकलन गर्न सकिन्न । यस्तो आक्रमणको डरले डिजिटल प्रक्रिया रोकिनु पनि हुँदैन । अझ हाम्रो समाजमा जुन ढंगको डिजिटल अन्तर (ग्याप) छ, त्यसलाई समेत कम गर्नुपर्ने चुनौती पनि छ । यो अन्तर कम भएसँगै समाज थप डिजिटलाइज्ड हुन्छ । त्यसैले पनि डिजिटल सुरक्षा प्रणाली दह्रो बनाउने, आफ्ना सामग्री बढीभन्दा बढी सुरक्षित राख्नेतर्फ सचेत हुनु उपयुक्त हो । विकसित मुलुकले आफ्ना सीमा, जनधन सुरक्षालाई जति महत्त्व दिने गर्छन्, त्यत्ति नै महत्त्वका साथ कम्प्युटरमाथि आक्रमण हुनुलाई लिने गर्छन् । कम्प्युटर प्रणाली र सञ्जालमाथि आक्रमण नहोस् भनी करोडौं डलर सुरक्षा सतर्कताका लागि खर्च गर्ने गर्छन् । पछिल्लो ‘वानाक्राई र्यान्समवेयर’ को आक्रमणले पनि डिजिटल प्रणालीतर्फ उन्मुख नेपाल अहिलेदेखि नै सतर्क हुनुपर्ने आवश्यकता औंल्याएको  छ । ‘वानाक्राई’ संक्रमणले नेपालका नीति निर्माता, प्रविधिविज्ञ, सुरक्षाविज्ञलाई यसबारे गहन रुचि लिने, यस किसिमका आक्रमणले भविष्यमा पार्ने असर तथा क्षतिको विवेचना गर्ने र यसको रोकथाम गर्ने गतिलो अवसर दिएको छ । यस अवसरलाई सम्बन्धित निकायले साइबर सुरक्षाका क्षेत्रमा अवस्य पनि सदुपयोग गर्नेछन् । अहिलेको विश्वव्यवस्थाअनुसार चल्न पनि आफूलाई प्रविधि र डिजिटल क्षेत्रमा उपयोगी सावित गर्न ढिलाइ भएमा भविष्यमा क्षति अरु अकल्पनीय हुनेछ । 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...