१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कठै गुरु !

‘जुनसुकै भाषा आफ्नै नियमले चल्छ, यो कुनै व्यक्तिले आफूखुसी चाहेर खलबल्याउन सक्दैन, भाषा सधैँ समयानुकूल परिवर्तित हुन्छ,’ संस्कृत व्याकरणका विश्वप्रसिद्ध लेखक ह्विट्नीका चेला र आधुनिक भाषा विज्ञानका जन्मदाता ससुरको भनाइ हो यो । तर, हाम्रोमा भने यो भनाइ कताकता नमिलेजस्तो लाग्छ । पछिल्लो समय नेपालमा भाषासम्बन्धी बहस र विवाद सतहमै छताछुल्ल हुन पुग्यो । भाषालाई माध्यम बनाएर निजी स्वार्थसिद्ध गर्ने प्रयाससमेत भएको आरोप–प्रत्यारोप चल्यो । सतहमै देखिएको विरोधाभाषपूर्ण उक्त बहसले अझै निकास पाइसकेको छैन । भाषा सम्बन्धी बहस, यसको अवैज्ञानिकता एकातिर छ भने विज्ञान, प्रविधि, भूमण्डलीकरणसँगै देशमा नेपाली भाषा अध्ययन गर्नेहरू पनि निरन्तर घटिरहेका देखिन्छन् । 

‘कुनै समय ऐच्छिक नेपाली पढ्ने विद्यार्थी कक्षाकोठामा खचाखच हुन्थे, अहिले यो विषय पढ्ने विद्यार्थीकोे खडेरी नै लाग्यो,’ भक्तपुरको वागिश्वरी उच्च माविका नेपाली विषय शिक्षक ज्ञानसागर प्रजापति भन्छन्, ‘अभिभावक, विद्यार्थी र शिक्षकमा अंग्रेजी भाषामा पढ्नुपर्छ भन्ने मानसिकताकाले जरो गाडेका कारण अहिले नेपाली विषय हेपिँदै गएको छ ।’ 

चार–पाँच वर्ष पहिलेदेखि उच्च माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली विषय हटाएर ऐच्छिक नेपाली राख्ने निर्णय गरेकोमा उनी रुष्ट छन् । ‘केही राजनीतिक दल, भाषाका दलाल र नेपाली भाषा विरोधीले यो भाषालाई पाठ्यक्रमबाटै खारेज गर्ने निर्णय गरिसकेका थिए, तर नेपाली भाषापे्रमीको अनवरत आन्दोलनले नेपाली भाषा बचायो,’ उनी भन्छन् । शिक्षक प्रजापतिले भनेजस्तै पछिल्लो समय नेपाली भाषा सबैतिरबाट हेपिएको महसुस हुन थालेको छ । उच्च माध्यमिक शिक्षा परिषद्, निजी तथा सामुदायिक स्कुल÷कलेज, अभिभावक, विद्यार्थीले नै नेपाली विषयलाई प्राथमिकतामा राखेका छैनन् । धेरैजसो स्कुल÷कलेजमा पनि अंग्रेजी माध्यममै पढाइ हुन्छ । थोरै मात्र सामुदायिक कलेजले अहिले नेपाली माध्यममा कक्षा सञ्चालन गर्छन् । ‘सबैतिर अंग्रेजी माध्यममै पढाइ हुन थालेपछि सामुदायिक विद्यालय पनि अंगे्रजी माध्ययमा कक्षा सञ्चालन गर्न बाध्य भए,’ प्रजापति भन्छन्, ‘आमअभिभावक, शिक्षक, भाषाविद्लगायतको मानसपटलमा अंगे्रजी भाषामै पढाइ हुनुपर्छ भन्ने प¥यो, यस्तै मान्यताले स्कुल÷कलेजमा नेपाली भाषा हेपिँदै गयो ।’ अंग्रेजी नजान्नेलाई हेप्ने तथा विद्यालयमा नेपालीमा कुरा गर्दा सजाय भोग्नुपर्नेजस्ता नियम बन्नाले पनि यो भाषाप्रतिको अभिरूचि घट्दै गएको छ । 

पछिल्लो पाठ्यक्रममा रहेको वर्ण विन्यासप्रति पनि शिक्षक प्रजापति सन्तुष्ट छैनन् । ‘नयाँ पाठ्यपुस्तकमा पनि द्वारालाई ‘द्वारा’, विद्यालयलाई  ‘विद्यालय’ बनाइएको छ,’ उनी भन्छन्, ‘यस्ता अवैज्ञानिक नियम लागु गर्न खोज्नाले शिक्षक र विद्यार्थी दुवैलाई अप्ठेरो पारेको छ ।’ प्रजापतिले भनेजस्तै नेपाली विषय स्कुल÷कलेजमात्रै होइन आफूलाई घरानिया भन्ने परिवारबाटै पनि हेपिएको छ । स्कुल÷कलेजमा नेपाली विषय पढाउने र पढ्नेलाई खासै मान्यता दिइँदैन । अभिभावक पनि छोराछोरीलाई सकेसम्म नेपाली विषय पढाउन चाहँदैनन् । अंग्रेजी नजानी जागिर पाइँदैन भन्ने मान्यता बलियो बन्दै गएको छ । 

‘पाँच वर्षअघिसम्म कलेजमा ऐच्छिक नेपाली पढ्ने विद्यार्थीको लर्को लाग्थ्यो,’ भाषाविद् चूडामणि गौतम भन्छन्, ‘नेपाली विषयलाई जोगाउन कक्षा ११ देखि माथिका सबै तहमा नेपाली भाषाको विषयवस्तु समावेश हुनुपर्छ ।’ नेपाली भाषा जोगाउन गौतमले पाँच वटाभन्दा बढी पुस्तक लेखिसकेका छन् । पछिल्लो समयको भाषिक विवादका कारण थप हेपाइमा पर्दै गएको नेपाली भाषाबारे लेखिएको पुस्तक प्रकाशनको तयारीमा छन् । ‘सर्वोच्च र उच्च माध्यमिक शिक्षा परिषद्ले नेपाली विषयमाथि धेरैपटक कुठाराघात गरे,’ उनी भन्छन्, ‘गाउँले बलदेव, शरदचन्द्र वस्ती, विप्लव ढकाल, मुकुन्दशरण उपाध्यायलगायत हामी सबै मिलेर नेपाली भाषालाई टुक्र्याउन दिएनौँ, यद्यपि नयाँ पाठ्यक्रममा यो भाषाको विषयवस्तुमा धेरै त्रुटि भेटिएका छन् ।’ 

उनका अनुसार स्कुल÷कलेजले पनि यो विषयलाई तल्लो दर्जामा राखेका छन् । विद्यालयमा अन्तिम ‘पिरियड’मा नेपाली विषयलाई स्थान दिएका छन् । ‘स्कुल तहमा समेत नेपाली विषयलाई बेवास्ता गरिन्छ,’ गौतम भन्छन्, ‘अनि विद्यार्थीले कसरी जानून् नेपाली भाषा ?’ अहिले ८, ९ र १० कक्षामा पढ्ने कतिपय विद्यार्थीलाई वर्ण विन्यास र राम्ररी नेपाली पाठसमेत पढ्न नआउने उनले बताए ।

दुई वर्षअघि नेपाली किताबमा लेखिएको जुनसुकै शब्द पनि पाठकले शब्दकोशमा भेटाउँथे, तर त्यसको मर्मै नबुझी नेपाली वर्ण विन्यास परिवर्तन गर्दा विद्यार्थी र शिक्षक अलमलमा छन् । यस्तै, अलमलमा छिन् नेपाली विषयकी शिक्षक शर्मिला गिरी । उनी स्कुल तहमा नेपाली विषय अध्यापन गराउँछिन् । ‘कुन पुस्तकलाई आधार मानेर पठनपाठन गराउने,’ शिक्षिका गिरी प्रश्न गर्छिन्, ‘अहिलेको नयाँ पाठ्यपुस्तकमा पनि धेरै गल्ती छन् ।’ उनी भाषा परिवर्तनशील हुन्छ भन्ने विषयलाई सकारात्मक रूपमा लिन्छिन् । तर, केही समयअघि नेपाली भाषाको क्षेत्रमा गएको भुइँचालोप्रति उनी चिन्तित छिन् । नेपाली भाषाको अस्तित्व नै मेटिनेगरी एकैपटक ठूलो परिवर्तन भएकोमा उनलाई पटक्कै चित्त बुझेको छैन । ‘विवादपछिको नेपाली कोश नेपाली भाषाका सबै पाठक र लेखकको अघिल्तिर साझा बन्न सकेको छैन,’ उनी भन्छिन्, ‘यस्तो परिवर्तनले नेपाली बृहत् शब्दकोशको प्रभाव र लोकप्रियता घट्दै जान्छ ।’ हुन त ‘नेपाली बृहत् शब्दकोश’ कुनै एउटा संस्थाको ‘शैली पुस्तिका’ होइन । यो समग्र नेपाली लेखक र पाठकको साझा दस्तावेज भएकाले यसलाई सरल र समयानुकूल बनाउनुपर्ने धेरैको माग छ । ‘उसै पनि भाषा परिवर्तनशील हुन्छ,’ शिक्षक गिरीले भनिन्, ‘यो विषय हामी सबैले मान्छौँ, तर नेपाली भाषामा विग्रह एकैपटक आयो, यो एकदमै दुःखद कुरा हो ।’

पछिल्लो नेपाली पाठ्यपुस्तक हेर्दा मन दुख्छ उपप्राध्यापक विप्लव ढकालको । ‘अरु देशमा भाषा समयानुकूल परिवर्तन हुँदै जान्छ, तर हाम्रोमा भने नेपाली भाषालाई एकैपटक निमोठ्न खोजियो । यो अप्राकृतिक र अवैज्ञानिक छ,’ कवितामा समेत आफ्नो नाम बनाएका ढकाल भन्छन्, ‘हामीले पुरानो मानक नियमलाई नै अनुशरण गर्नुपर्छ, यसो गर्न सकिएन भने कालान्तरमा नेपाली विषय मौखिकरूपमा मात्रै बाँच्ला ।’ 

नेपाली भाषाको नियमलाई बिगार्न खोज्ने केही बुजु्रकप्रति उनी निकै असन्तुष्ट छन् । ‘सीमित व्यक्ति र राजनीतिक दलले नै नेपाली भाषाको नियमलाई बंग्याउन खोजेको हुन्,’ उनले भने, ‘अहिले नेपाली भाषालाई दुब्लो बनाउने, बदनाम गर्ने र बिगार्ने प्रपञ्च रच्ने काम नेपाली भाषा मातृभाषा भएकाहरू नै बढी छन् ।’ नेपाली भाषाविद्का अनुसार हालसम्म नेपालका झन्डै सयवटा मातृभाषा लोप भइरहेका छन् । आफ्नो सबल भाषालाई जोगाउनतर्फ कसैको ध्यान नपुगेका कारण यी भाषा लोप भएको उनीहरूको भनाइ छ । नेपाली भाषा पनि जति काट्यो, त्यति लामो हुने, जति मठा¥यो उति फराकिलो हुने गाउँखाने कथाजस्तो बनेको बताउँछन्, पद्मकन्या क्याम्पसमा नेपाली विषय पढाउँदै आएकी प्रा. डा. सावित्री कक्षपति । उनी भन्छिन्, ‘चीन, जापान र फ्रान्समा विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुख आफ्नो मुलुकमा आए सबैतिर राष्ट्र भाषाको प्रयोग गरिन्छ तर हाम्रोमा त्यस्तो प्रवृत्ति छैन ।’ नेपालमा भारतका नेता आउँदा र नेपालका नेता भारत जाँदा हाम्रा नेताले हिन्दी बोलेर आफ्नो भाषाप्रति बेइमानी गरेको उनी बताउँछिन् । 

नेपाली विषयप्रति आकर्षण घट्दो
सबैतिरबाट हेपिएको नेपाली विषयमा विद्यार्थीको आकर्षण क्रमशः घटेको छ । पहिला–पहिला ऐच्छिक नेपाली पढाइ हुने धेरै कलेजमा विद्यार्थीकै अभावका कारण अहिले पढाइ हुन छाडेको छ । त्रिभुवन विश्वविद्यालयमा ५ वर्ष अघिसम्म करिब ३ सय विद्यार्थीले एमए तह अध्ययन गर्थे, तर अहिले नेपाली विषय पढ्ने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । काठमाडौँको पद्मकन्या क्याम्पसमा नेपाली विषय अध्यापन गराउँदै आएकी साबित्री कक्षपतिले अहिले एमए तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ५० जनामात्रै रहेको बताइन् । ‘राज्यले नेपाली विषयलाई अझै पनि वास्ता नगर्ने हो भने नेपाली विषय पढाइ हुने सबैजसो कलेज बन्द हुन्छन्,’ उनले भनिन्, ‘सरकारले अरु विषयलाई जसरी प्राथमिकतामा राखेको छ नेपाली विषयलाई पनि त्यसरी नै प्राथमिकतामा राख्न जरुरी छ, नेपाली जनतालाई जोड्ने नेपाली भाषाबाहेक अरु कुनै भाषा हुनै सक्दैन ।’ उनले अरु देशमा आफ्नै भाषामा पढाउने अनिवार्य गरेको, तर नेपालमा भने आफ्नो मातृभाषालाई नै हेप्न थाल्नु गम्भीर विषय भएको गुनासो गरिन् । ‘नेपाली भाषा नै नरहे हामी नेपाली हुनुको अस्तित्व छैन,’ उनी भन्छिन्, ‘अहिले कक्षा १२ भन्दा माथिल्लो तहमा नेपाली विषय नपढे पनि हुने व्यवस्था छ, यो एकदमै गतल हो । नेपालमा पढेको विद्यार्थीले नेपाली समुदायसँग भिजेर काम गर्नुपर्छ भने उसको नेपाली भाषा पनि राम्रो हुनुपर्छ ।’ उच्च शिक्षा अन्तर्गत बीबीए, एमबीबीएसलगायत प्राविधिक विषयमा समेत नेपाली भाषाको एउटा विषयमात्रै समावेश गर्न सक्ने हो भने पनि नेपाली भाषा जगेर्ना गर्न सकिने कक्षपतिको भनाइ छ । ‘हाम्रो पालामा नेपाली विषय पढ्ने विद्यार्थी धेरै हुन्थे, तर अहिले नेपाली विषय पढेर वेरोजगार भइन्छ भन्ने मान्यताका कारण नेपाली विषयमा आकर्षण घटेको छ,’ उनले भनिन्, ‘अंगेजी माध्ययमा डाक्टर पढेको विद्यार्थीले पछि सहरमै जागिर खान्छ भन्ने छैन, ऊ अशिक्षित र नेपाली भाषाबाहेक अन्य भाषा नबुझ्ने समुदायमा गएर पनि काम गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा चाहिने नेपाली भाषा नै हो । डाक्टरले अन्य भाषामा बोल्न थाल्छ भने विरामी आफ्नो रोगबारे खुल्नै चाहँदैनन्–सक्दैन, त्यसैले नेपाली भाषाको ठूलो महŒव छ ।’ 

नेपाली पढेर बेरोजगार भइँदैन
नेपाली विषय पढ्दैमा बेरोजगार भइँदैन । पछिल्लो समय नेपाली विषयका अनुभवी शिक्षकहरू पाउन मुस्किल पर्न थालेको कतिपय उच्च माध्यमिक विद्यालय÷कलेज सञ्चालक बताउँछन् । नेपाली विषयमा स्नातकोत्तर गरेका व्यक्ति अहिले सरकारी तथा निजी स्कुलमा अध्यापन गराउँदै आएका छन् । भक्तपुरको वीरेन्द्र सैनिक विद्यालयमा नेपाली विषय अध्यापन गराउँदै आएका शिक्षक चन्द्र ढकाल पछिल्लो समय नेपाली विषयप्रति विद्यार्थीको आकर्षण घट्नु अस्वाभाविक मान्छन् । ‘पहिलापहिला ऐच्छिक र अनिवार्य नेपाली विषय विद्यार्थी पनि उत्तिकै रूचिकर मानेर पढ्थे, तर अहिले नेपाली विषयमा विद्यार्थीको आकर्षण घटेको छ,’ उनी भन्छन् । 

नेपाली विषय पढेर रोजगारी पाइँदैन र पछि परिन्छ भन्ने मान्यता गलत रहेको तर्क राख्छिन् शिक्षक शर्मिला गिरी । उनी कुनै विषय पढेकै कारण वेरोजार भइन्छ भन्ने कुरामा विश्वास गर्दिनन् । ‘आफू सक्षम हुने हो भने जुनसुकै विषय पढे पनि रोजगारी पाइन्छ,’ उनले भनिन्, ‘तर, नेपाली विषय नै पढेका कारण वेरोजगार भएँ भन्ने कुरा अहिलेसम्म कतै सुनिएको छैन ।’ त्यसो त अहिले नेपाली विषयमा स्नातकोत्तर गरेका कतिपय विद्यार्थी बोर्डिङ स्कुल र सरकारीमा अध्यापन गराउँदै आएका छन् । नेपाली विषय पढेर वेरोजगार भइँदैन बरु यो विषयको अध्ययनले नेपाली भाषामा दख्खल राख्न सकिने शिक्षकहरूको भनाइ छ । शिक्षक स्वयंले यो भाषाको सम्मान गर्नुपर्ने र यसको मिठास तथा वैज्ञानिकताबारे विद्यार्थीलाई राम्ररी बुझाउन सक्नुपर्ने उनीहरूको मत छ । यति हुँदाहुँदै पनि कतिपय निजी विद्यालय÷कलेजमा नेपाली विषय पढाउने शिक्षक हेपिएको देखिन्छ । यस्तो अवस्था बढी मात्रामा उपत्यकाभित्र रहेको सम्बद्ध शिक्षक बताउँछन् । निजी विद्यालय सञ्चालकले नेपाली शिक्षको महŒव नै कम भएको जस्तो व्यवहार गर्ने र तलब पनि सकेसम्म कम दिने गरेको भुक्तभोगी शिक्षकको अनुभव छ । ‘यो विषय पढेका विद्यार्थीले स्कुल÷कलेजमा काम पाइहाले पनि अन्य विषयका शिक्षकसरह तलब पाउँदैनन्,’ उपत्यकाको एक प्रतिष्ठित उच्च माध्यमिक विद्यालयका शिक्षक भन्छन्, ‘नेपाली पढाएका कारण समयमा तलब पाउन र बाह्रै महिनाको तलब पाउन पनि गाह्रो पर्छ ।’ वर्ष दिनको कोर्स ६–७ महिनामा सक्न दबाबसमेत आउने उनको गुनासो छ । 
 
निजी स्कुलमा हेपिन्छन् नेपाली शिक्षक
अहिले अन्यभन्दा नेपाली विषय पढाउने शिक्षकहरूको पारिश्रमिक कम छ । तलब तथा स्कुलमा पनि फरक व्यवहार गरेका कारण नेपाली विषय पढाउने शिक्षकहरू सन्तुष्ट छैनन् । विशेषगरी निजी स्कुल र कलेजहरू नेपाली विषय पढाउने शिक्षकले पारिश्रमिक पनि कम पाउने गरेको बताउँछन् ज्ञानसागर प्रजापति । उनी भन्छन्, ‘विद्यालयमा अरु सबै शिक्षकमाथि राम्रो व्यवहार गरिन्छ, तर नेपाली विषय पढाउनेलाई भने खासै महŒव दिइँदैन, यस्तैखाले प्रवृत्तिका कारण पनि नेपाली विषय शिक्षक हेपिएका हुन् ।’ सबैभन्दा अचम्मको कुरा त के छ भने, अहिले कतिपय स्कुलमा अन्य विषय पढेको शिक्षकलाई नेपाली पढाउन लगाइन्छ ! नेपाली विषयमा दख्खल नभएका शिक्षकलाई नै निजी स्कुलहरूले नेपाली विषय पढाउने जिम्मेवारी दिँदा उनीहरूले बुझाएर पढाउन नसक्ने बताउँछिन शिक्षक साबित्री कक्षपति । उनी भन्छिन्, ‘हामीले पाठ्यक्रम बनाउँदा नेपाली विषयबारे राम्ररी व्याख्या सकेनौँ, यस्तै कारणले नेपाली भाषा विद्यालय तहदेखि नै हेपिन थालेको हो ।’ नयाँ पाठ्यक्रममा सुरूचिपूर्ण विषय (कथा, कवितालगायत) समावेश गर्न नसक्नाले पनि विद्यार्थी नेपाली पढ्न झन्झट मान्ने गरेको शिक्षकहरूको गुनासो छ ।  

 त्यसो त अहिले ऐच्छिक नेपाली पढाइ हुने कलेजको संख्या एकदमै न्यून छ । निजी विद्यालयमा यो विषयलाई कम महत्त्वको दर्जामा राख्नाले नेपालीमा विद्यार्थी कमजोर बन्न थालेका छन् । विद्यार्थीमा नेपाली भाषाको अभ्यास हराउनु र विश्वविद्यालय तहमा सेमेस्टर प्रणाली लागु गर्नुजस्ता कार्यले नेपाली विषय झन्झन् धरापमा पर्दै गएको शिक्षकहरूको भनाइ छ ।

पढाइ नेपालीमा प्रश्नपत्रचाहिँ अंग्रेजी
त्रिभुवन विश्वविद्यालयमा अधिकांश विषयको कक्षा नेपाली माध्यममा पढाइ हुन्छ, तर प्रश्नपत्रचाहिँ अंग्रेजीमै तयार पारिन्छ । अंग्रेजीमा प्रश्नपत्र सोधिने विषयका धेरैजसो शिक्षकलाई नेपालीमै पढाउने बानी परिसकेको छ । त्यसो त प्रश्नपत्र अंग्रेजीमै आए पनि कतिपय विद्यार्थीले नेपाली भाषामै जाँच दिएका हुन्छन् । ‘यसरी नेपाली माध्यममा पढाउन हुने, पढ्न हुने, उत्तर लेख्न हुने, शोधपत्र र शोधप्रबन्ध लेख्न हुने तर प्रश्नपत्रचाहिँ अंग्रेजीमा हुनु दुखद कुरा हो,’ विप्लव ढकालले भने, ‘पढाइ दुवै भाषा हुन्छ भने प्रश्नपत्र पनि दुवै माध्यममा हुनुपर्ने होइन ?’ नेपाली वाक्यमा आगन्तुक भाषाका शब्दहरू छ्यासमिस पारेर आफ्नो सामाजिक दर्जा माथि भएको देखाउने प्रवृत्तिले पनि यो भाषाको नियमलाई बिगारेको उनको टिप्पणी छ । ‘मातृभाषाको रूपमा नेपाली बोल्ने कति ठालूहरू अंग्रेजी उपवाक्य (आई ह्याभ नो प्रोब्लम, इफ यु गो) भन्ने जस्ता शब्द प्रयोग गर्छन्,’ उनले भने, ‘यस्तो बानीले पनि नेपाली भाषालाई बिगारेको छ ।’ उता, परीक्षामा प्रश्नपत्र अंग्रेजीमा आउँदा विद्यार्थीले प्रश्न नबुझ्ने समस्या पनि छ ।

नेपालीमा बोल्दा सजाय ! 
निजी विद्यालय र कलेजहरूले अहिले अंग्रेजी माध्यमको पढाइलाई अनिवार्य गरेका छन् । उनीहरूले शिक्षक र विद्यार्थी दुवैलाई अंगे्रजी बोल्नु भनेर सिकाएका हुन्छन्, नियम बनाएका हुन्छन् । त्यस्ता धेरैजसो स्कुलमा विद्यार्थीले नेपाली बोले भने सजायँ दिइन्छ । राम्रोसँग बोली फुटिनसकेका केटाकेटीहरूलाई आफ्नो मातृभाषा बोल्न पनि नदिई अंग्रेजी सिक्न बाध्य बनाउँदा पछिल्लो समय नेपाली विषयमा धेरै विद्यार्थी कमजोर बनेका छन् । विगतका एसएलसीलगायतका अन्य महŒवपूर्ण परीक्षामा नेपाली विषयमा कम नम्बर ल्याउने वा अनुत्तीर्ण नै हुने अवस्था अद्यापि कायम छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई कम्तीमा आफूजत्तिकै नेपाली भाषा र नेपाली संस्कृतिको मर्म जान्ने बनाउन नसक्दा अहिले नेपाली विषयमा ट्युसन कक्षा सञ्चालन गर्नुपरेको शिक्षकहरू बताउँछन् । भाषालाई भत्काउने क्रम अविलम्ब नरोक्ने हो भने नेपाली भाषा त कमजोर हुन्छ नै देशको अस्तित्व नै धरापमा नपर्ला भन्न सकिन्न ।  

प्रकाशित: ६ जेष्ठ २०७४ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App