१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

सिआइबीले बरामद गरेको प्रतिबन्धित भारु।

काठमाडौं—भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्। 

भारतमा हजार र पाँच सयको पुरानो नोटमाथी प्रतिबन्ध लागेपछि नेपालमा भारु हजार नेपाली हजारमा बिक्री शुरु भएको थियो।  एसपी चौधरीको अनुसार पक्राउ परेका अभियुक्तहरुले प्रतिबन्धित भारु प्रतिनोट ५० पैसादेखि २ रुपैंयँसम्ममा बिक्री हुने गरेको खुलेको बताइन्।

भारत सरकारले कालो र नक्कली भारतीय रुपैंयामाथि आक्रमण गर्दै एक हजार र पाँच सय दरको भारु नोट साट्न सीमित समय दिएर अहिले ती नोटको कारोबारमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा सार्वजनिक कारोवारमा प्रतिबन्धित भए पनि सटहीबारे निर्णय नहुँदा नेपाल र भारतको गिरोह मिलेर कालो धन नेपाल ल्याउन सक्रिय देखिएको हो।

प्रहरीले एक साताको बीचमा काठमाडौंको विभिन्न स्थानबाट ४ करोड ६६ लाख रुपैया बराबरको २ करोड ९६ लाख भारु सहित १८ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ अभियुक्तको बयानमा ती नोट भारतको हरियाणबाट नेपाल ल्याएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको छ।

अभियुक्तहरुको बयानबाट भारतमा सटही गर्न नसकेर थन्किएको कालो धन विभिन्न नाकाहुँदै नेपाल भित्र्याएर प्रतिगोटा २ रुपैंयामा बिक्री गर्ने गरेको देखिएको ब्युरोकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन्। नेपालमा रहेका भारु सटही गर्ने विषयमा नेपालको राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफका अधिकारीबीच पटक–पटक छलफल भए पनि ठोस सहमति बन्न सकेको छैन। 

नेपाल पक्षले राखेको प्रतिब्यक्ति २५ हजार भारु साट्नुपर्ने प्रस्ताव भारतीयपक्षले स्वीकार नगरी केवल ४ हजार ५ सयमा मात्रै सहमती जनाएको थियो। त्यसपछि यो प्रकृया त्यतिकै रोकिएको छ।  अझै पनि भारतले नेपालमा रहेको भारु स्विकार गर्नसक्ने भन्दै भारत र नेपालमा रहेका संगठित समूहले स्थलमार्गबाट भारु नेपाल ल्याएर वीरगञ्जमा स्टोर गरेर काठमाडौंमा ल्याउने गरेको देखिएको एसपी चौधरीले बताइन्।

‘नेपालमा रहेको भारु सटही गर्ने विषय छलफलमै रहेकाले यता सटही गराउन संगठित गिरोहले प्रतिबन्धीत नोट नेपाल भित्र्याएर स्टोर गरेर राख्ने गरेको देखियो,’ चौधरीले भनिन्‘केही गिरोह समातिएका छन्, अरुको खोजी जारी छ ।’

घरमै प्रतिबन्धित भारुको गोदाम
ब्युरोले जेठ २ मा पहिलो पटक हजार र पाँच सय दरको २ करोड १६ लाख भारु सहित १५ जनालाई पक्राउ गरेको थियो। गौरीघाटमा रहेको कमला भण्डारीको डेरा र तिलगंगाको एक होटलबाट ब्युरोले हजार र पाँच सयको भारुको चाङ सहित नेपाली र भारतीय नागरिकलाई पक्राउ गरेको थियो। 

ब्युरो अनुसन्धानमा रहेकै बेला महानगरीय प्रहरी अपराध महाशाखाले ६ जेठमा कालीमाटी सोल्टीमोडबाट २९ लाख ५९ हजार हजार र पाँच सयको प्रतिबन्धीत भारु नोट सहित कृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो। 

त्यसको २ दिनपछि ८ गते ब्युरोले बुढानिलकण्ढबाट हरियाणका अनिलकुमार सोनी र किरणकुमार सोनीलाई ५० लाख ५० हजार भारु सहित पक्राउ गर्‍यो। 

प्रति नोट ५० पैसा देखि २ रुपैंयासम्म
भारतमा हजार र पाँच सयको पुरानो नोटमाथी प्रतिबन्ध लागेपछि नेपालमा भारु हजार नेपाली हजारमा विक्रि शुरु भएको थियो। हजार भारुको सटही दर १ हजार ६ सय रहे पनि बोर्डर निकटका जिल्लामा हजार भारु हजार र पाँच सय भारु पाँच सय रुपैंयामै कारोवार भएको थियो।  

एसपी चौधरीको अनुसार पक्राउ परेका अभियुक्तहरुले प्रतिबन्धीत भारु प्रतिनोट ५० पैसादेखि २ रुपैंयासम्ममा विक्रि हुने गरेको खुलेको बताइन् । उनका अनुसार पक्राउ अभियुक्तहरुले भारतबाट नोट सस्तो दरमा किनेर नेपाल ल्याएको दावी गरेका छन्। ‘विचौलियाहरुले प्रतिबन्धित भारु प्रतिगोडा ५० पैसा देखि २ रुपैंयासम्ममा विक्रि गर्नेगरेको खुलेको छ,’ एसपी चौधरीले भनिन्‘नेपालमा रहेको भारु सटही प्रकृयामै रहेकाले कतै साट्न सकिन्छ कि भन्ने प्रलोभनमा प्रतिबन्धीत भारु नेपाल भित्रिरहेको देखियो।’

प्रकाशित: १० जेष्ठ २०७४ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App