१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साझा नेताको छविले देवकुमारको जित

सुर्खेत- देवकुमार सुवेदी! यो नाम सुन्नेबित्तिकै प्रायः सबैको आँखामा विद्यार्थी नेताको आकृति उभिन्थ्यो। पछिल्ला केही वर्ष बिस्तारै युवा नेताको पहिचान बन्दै गयो। यही अवस्थाबीच स्थानीय तह निर्वाचन घोषणा भयो। पार्टी राजनीतिमा लामो इतिहास बोकेका 'एकसेएक' नेता भएको वीरेन्द्रनगरमा देवकुमार सबैभन्दा कान्छो आकांक्षीका रुपमा देखापरे। 'सिनियर' हरुको भनाइ थियो– देवकुमारले टिकट पाउने हो भने त हाम्रो पुस्ताले किन राजनीति गर्नुपर्‍यो? वृद्धाश्रम गएर बसे भैगो नि!

मिलनसार, मिहिनेती, कुशल संगठक र आर्थिक रुपमा स्वच्छ छवि भएका देवकुमारले अवसरलाई सदुपयोग गर्न सके भने उनको भविष्य उज्यालो रहेको विश्लेषक बताउँछन्।

तर, एक लाख जनसंख्या बसोबास गर्ने वीरेन्द्रनगरमा अवस्था फरक ढंगले अघि बढ्यो। एमालेको बलियो जनाधार भएको नगरपालिकामा देवकुमारबाहेक अरुले टिकट पाए जित्न सकिन्न भन्ने 'रिपोर्टिङ' केन्द्रसम्म पुग्यो। अन्ततः ४० वर्षीय देवकुमारले टिकट पाए। र, सबैलाई आश्चर्यचकित पार्दै ३० वर्षपछि वीरेन्द्रनगरमा कांग्रेसको झन्डा फहराए। उपमेयर र बहुमत वडा गुम्दासमेत मेयरमा देवकुमारले बाजी मारे।

वीरेन्द्रनगरमा २०४३ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट जनपक्षीय उम्मेदवार बनेका पूर्णबहादुर खड्का पहिलो कांग्रेसी मेयर थिए। त्यसपछिका दुई स्थानीय निर्वाचनमा एमालेले जित्यो। यामलाल कँडेल र बालाराम शर्मा क्रमशः मेयर बने। यसको लाभ उठाउँदै एमालेले नगरमा आफ्नो अवस्था निकै बलियो बनायो। वीरेन्द्रनगर एमालेको 'लालकिल्ला' को रुपमा परिचित भयो। तीन दशकपछि यही किल्लामाथि देवकुमारले चारतारे झन्डा फहराए।

६ वर्षअघि देवकुमार जब कांग्रेस नगर सभापतिको रुपमा प्रवेश गरे, तब उनले सुरु गरे– एमाले गढ भत्काउने रणनीतिक अभियान। जिल्ला कार्य समिति सदस्य भइसकेका उनी मर्यादाक्रममा तल रहेको नगर सभापति हुनुमा उनीभित्र वीरेन्द्रनगरलाई कांग्रेसको पकडक्षेत्र बनाउने महŒवाकांक्षा लुकेको निकट कांग्रेसी बताउँछन्। 'देवकुमार सुवेदी सभापति भएपछि नगर क्षेत्रमा कांग्रेसको राजनीति निकै आक्रामक रुपमा अघि बढ्यो र संगठन पनि सुधि्रयो,' वीरेन्द्रनगर–६ का कांगे्रस कार्यकर्ता भद्र भण्डारी भन्छन्, 'त्यही सक्रियताले उहाँलाई कुशल संगठकको रुपमा स्थापित गराउनुका साथै कांग्रेसलाई पनि मजबुत बनायो।'

नगर सभापति भएपछि उनले दुइटा काम सँगसँगै गरे। पहिलो– नगरभित्र पार्टी संगठन विस्तार। र, दोस्रो– नगरपालिका संयन्त्रमा पार्टी प्रतिनिधिको रुपमा जनसम्पर्क स्थापित। यसले उनलाई दोहोरो फाइदा भयो। एकातिर नगरको पार्टीपंक्ति देवकुमारबिना जितिँदैन भन्ने मनस्थितिमा पुग्यो भने अर्कोतिर जनलहर पनि देवकुमारजस्तो युवा राजनीतिकर्मी मेयर हुनुपर्छ भन्ने लाइनमा देखियो। 'उहाँले नगरपालिका बोर्डमा हुँदा निकै राम्रो भूमिका खेल्नुभयो, यसले गर्दा जनतामा राम्रो छाप पर्‍यो,' वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल भन्छन्, 'सायद जनताले नगरको विकास सवालमा राजनीतिभन्दा माथि उठेर काम गर्ने नेताको रुपमा उहाँलाई मूल्यांकन गरे।'

संकटका विजेता

देवकुमारले पार्टीको तर्फबाट विपक्षीसँग दुइटा चुनाव लडे। संयोग! दुइटै चुनाव यस्ता थिए, जहाँ विपक्षीको स्पष्ट पल्ला भारी देखिन्थ्यो। कांग्रेसको अवस्था संकटपूर्ण। यसले गर्दा पार्टीको तर्फबाट उठेका अरु उम्मेदवार हारे। उनी भने सधैं विजेता बने।

२०५७ मा सम्पन्न सुर्खेत क्याम्पस (शिक्षा) को स्ववियु निर्वाचनमा सम्पूर्ण टिम पराजित हुँदा पनि उनी सभापति विजयी भए। हालैको स्थानीय तह निर्वाचनमा पनि वीरेन्द्रनगर नगरपालिकाका १६ मध्ये ११ वडामा प्रतिस्पर्धीले झन्डा फहराए। उपमेयर पनि एमालेले जित्यो। मेयरमा भने पाँच सय मतको अन्तरले देवकुमारले जित हात पारे, त्यो पनि एमाले वृत्तमा सबैभन्दा लोकप्रिय ठानिएका पूर्वमेयर बालाराम शर्मालाई पराजित गरेर। 'पार्टीको सिंगो टिम पराजित हुँदासमेत प्रमुख पदमै चुनाव जित्नुमा उहाँको साझा नेताको छवि प्रमुख कारक हो,' वरिष्ठ अधिकृत पौडेल भन्छन्, 'चुनाव जितेपछि पनि सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा देखिन्छ।'

 

उज्यालो भविष्य

पार्टीको जनाधार कमजोर भएको क्षेत्र, त्यसमाथि प्रदेशको सम्भावित

राजधानी रहेको महत्वपूर्ण सहर। यस्तो ठाउँमा चुनाव जितेपछि देवकुमारको चर्चा एकाएक चुलिएको छ। उनलाई ६ नम्बर प्रदेशको उदीयमान नेताको रुपमा हेरिएको छ।

वीरेन्द्रनगर यस्तो सहर हो, जहाँबाट चुनाव जितेका अधिकांश नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्। २०४३ सालमा कांग्रेसको तर्फबाट जनपक्षीय उम्मेदवारको रुपमा मेयर बनेका पूर्णबहादुर खड्का कांग्रेसको राजनीतिमा मात्र हैन, देशको शासकीय राजनीतिमा पनि स्थापित भए। उनी पार्टीको सहमहामन्त्री र पटकपटक मन्त्री भए। प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो स्थानीय निर्वाचनमा मेयर बनेका एमालेका यामलाल कँडेल सांसद हुँदै मन्त्री बने, अहिले पार्टी पोलिटब्युरो सदस्य छन्। २०५४ को स्थानीय निर्वाचनमा मेयर बनेका बालाराम शर्माले पनि पार्टीभित्र र बाहिर आफ्नो छवि उँचो बनाए। हाल उनी पार्टीका केन्द्रीय अनुशासन विभाग सदस्य छन्।

नेवि संघको सुर्खेत अध्यक्ष हुँदै केन्द्रीय सदस्य र कांग्रेसको केन्द्रीय विद्यार्थी विभाग सदस्य रहिसकेका देवकुमारका लागि वीरेन्द्रनगरको मेयर पद राजनीतिक जीवनको 'स्वर्णिम प्लेट फर्म' मानिएको छ। मिलनसार, मिहिनेती, कुशल संगठक र आर्थिक रुपमा स्वच्छ छवि भएका देवकुमारले यो अवसरलाई सदुपयोग गर्न सके भने उनको भविष्य उज्यालो रहेको विश्लेषक बताउँछन्। 'राजनीतिक जीवनको ऊर्जाशील उमेरमा महŒवपूर्ण जिम्मेवारी पाउनुले उहाँको भविष्य निकै चम्किलो देखिन्छ,' मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा भन्छन्, 'अहिलेकै अवस्थामा बसेर विश्लेषण गर्ने हो भने पनि ६ नम्बर प्रदेशमा देवकुमारको उदय भएको मान्न सकिन्छ।'

प्रकाशित: १२ जेष्ठ २०७४ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App