१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

लोकप्रिय ‘लाफिङ’

स्वयम्भू आसपास अचेल खूब चलन छ ‘लाफिङ’ को । ‘लाफिङ’ अर्थात ‘हाँस्दै’ । तर, यो ‘लाफिङ’ न हाँस्ने चीज हो न त हँसाउने । यो त खाने कुरा हो, जुन धेरै युवाको प्रिय स्वाद बन्न थालेको छ । 

‘प्लस टु’ पढ्ने अनिता गिरी भक्तपुरदेखि लाफिङ खान स्वयम्भू आइन् । स्वयम्भूको ‘ओम लाफिङ सेन्टर’मा पहिलो पटक लाफिङको स्वाद चाखेकी उनलाई नयाँ परिकार औधी मन प¥यो । गिरीलाई साथी नविना लामाले ‘लाफिङ’ खुवाउन स्वयम्भू ल्याएकी थिइन् । ‘म पानीपुरीको अमिलो र पिरो मन पराउँथेँ, अब ‘लाफिङ’को पिरो पनि मन पराउने भएँ,’ स्वाद चाखेपछि उनले भनिन् ।  

मैदा मुछेर बनाइएको पीठोको रोटीलाई पातलो गरी काटी त्यसलाई मसलादार सोया ससमा डुबाएपछि बन्छ ‘लाफिङ’ ।

मैदा मुछेर बनाइएको पीठोको रोटीलाई पातलो गरी काटी त्यसलाई मसलादार सोया ससमा डुबाएपछि बन्छ ‘लाफिङ’ । स्वयम्भूकै ‘जाम्बाला लाफिङ सेन्टर’मा लोभलाग्दो गरि लाफिङ हालेको कचौरा चाट्दै थिईन्, सोह्रखुट्टेकी शोभा अधिकारी । 

‘यो चाइनिज पानीपुरी हो, एकदम पिरो,’ उनले भनिन्, ‘यत्ति पिरो कि हामीले पहिलोपटक खाँदा यसको नाम ‘लाफिङ’ हैन ‘क्राइङ’ होला भन्यौं ।’ 

‘लाफिङ’मा पिरो ‘डोमिनेन्ट’ स्वाद हो । पिरो विशेषता नै यसलाई धेरैले मन पराउने गरेका छन् । पिरोको साथमा नुनिलो, अमिलोलगायतको चटपटे स्वादका कारण धेरैजसोे किशोरकिशोरीले यो परिकार मन पराउने गरेको जाम्बालाकी सञ्चालक ल्हाग्डोन लामाले बताइन् । ‘पिरो र टिम्मुरको बास्नाले मान्छेलाई तानिरहेको हुन्छ,’ उनले भनिन्, ‘जाडो गर्मी दुवै मौसममा खान सकिन्छ ।’ 

गर्मीमा चिसो र जाडोमा तातो ‘लाफिङ’ बनाइन्छ । जाम्बालामा बनाइने ‘लाफिङ’मा सबै सामग्री चीनियाँ प्रयोग गरिन्छ । यसले गर्दा स्वाद मौलिक हुने सञ्चालक लामाको दाबी छ । 

सुपथ मूल्यमा स्वादिलो र तत्कालै तयार हुने परिकार भएकाले पनि ‘लाफिङ’ले युवाको मन तानेको छ । ‘अहिलेका केटाकेटीलाई सबैथोक छिटोछरितो चाहिन्छ,’ ‘ओम लाफिङ सेन्टर’का सञ्चालक टासी लामा भन्छन्, ‘लाफिङ त्यस्तै वर्गले मन पराउछन् ।’ 

टासीले स्वयम्भूमा ‘लाफिङ’ बेच्न थालेको पाँच वर्ष भयो । गत दुई वर्षदेखि भने यो परिकार लोकप्रिय बनेको छ । यसमा प्रयोग हुने मसलाका कारण स्वाद फरक पर्ने टासी बताउँछन् । ‘लाफिङ’मा बनाउने र खाने दुवैले गुणस्तरीय मसलाको प्रयोगबारे सचेत हुनुपर्ने उनको सुझाव छ । 

‘लाफिङ’ तिब्बतबाट नेपाल भित्रिएको परिकार मानिन्छ । बौद्ध र स्वयम्भूमा बस्ने तिब्बती एवं हिमाली क्षेत्रका बासिन्दाले यसलाई सहरमा व्यावसायिक रुपमा चिनाएका हुन् । 

पिरो र अमिलो सबै उमेर समूहका लागि उपयुक्त नभए पनि युवाका लागि भने यो स्वादिलो परिकार भएको छ । ‘विशेष गरी युवतीहरु लाफिङ मन पराउँछन्,’ सुन्धारास्थित सिभिल मलमा एक वर्षदेखि ‘लाफिङ’ बेच्दै आएकी कल्पना तामाङ भन्छिन् । कल्पनाले ‘लाफिङ’को स्वादमा अलिकति मोडिफाई पनि गरेकी छिन् । उनको स्टलमा सुपी मात्र नभई तोफु र बदाम रोल गरिएको सुक्खा लाफिङ पनि पाइन्छ । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App