१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

असुरक्षित जेब्राक्रस

उपत्यकामा जेब्राक्रसभन्दा फरक स्थानबाट जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न थाले पनि सरकारले त्यसका लागि पर्याप्त मात्रामा पूर्वाधार निर्माण गर्न सकेको छैन। उपत्यकाका सडकमा भएका कतिपय स्थानका जेब्राक्रसमा संकेत गर्ने सेता धर्सा छैनन् भने कतिपय स्थानमा मेटिइसकेका छन्। मेटिएका स्थानमा सडक विभागले जेब्राक्रस र लेनचिह्न बनाउनुपर्नेमा त्यस्तो गरेको पाइँदैन। जेब्राक्रस भएका स्थानमा सवारीसाधन रोक्न बत्ती (लाइट) को  व्यवस्था त छैन नै, साथै जेब्राक्रसमा झन् तीव्र रुपमा सवारीसाधन चलाउने प्रवृत्तिका कारण पैदल यात्रुका लागि जेब्राक्रस नै असुरक्षित हुने गरेको छ। वैशाख १० गते अनामनगरस्थित बाजेको सेकुवाअगाडिको  जेब्राक्रसबाट बाटो काट्नेे क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको मृत्यु भएको घटना होस् वा जेठ २२ गते बसको ठक्करले वसुन्धराचोकमा जेब्राक्रसबाट बाटो काट्दै गरेकी रबिना चौधरीको मृत्युको घटना नै किन नहोस्, यसले पछिल्लो समय जेब्राक्रस असुरक्षित बन्दै गएको देखाएको छ। जेब्राक्रस नै पैदलयात्रुका लागि दिनप्रतिदिन असुरक्षित बन्दै जानु दुभार्ग्यपुर्ण अवस्था हो।

जेब्राक्रस असुरक्षित भएको अवस्थामा सहरका अन्य सडकमा पैदल यात्रु झनै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। एकातिर सडकको दायाँबायाँ पैदल यात्रु हिँड्न पेटी छैनन् भने अर्काेतिर भएका सडक पेटी पनि सडक विस्तार र मेलम्ची खानेपानीका लागि पाइप राख्ने क्रममा भत्काइएका छन्। त्यसैले पनि पैदल यात्रु सम्भावित सवारी दुर्घटनाको जोखिममा पर्ने गरेका छन्। गत पाँच वर्षको अवधिमा उपत्यकामा सवारी दुर्घटनाबाट सात सय ३८ जनाको मृत्यु भएकोमा ४०.७८ प्रतिशत पैदल यात्रु पर्नुले पनि यसको पुष्टि हुन्छ। अझ यो क्रम पछिल्ला दिनमा बढ्दै गएको तथ्यांकहरूले देखाएका छन्।  जथाभाबी बाटो काट्दा सवारी दुर्घटनामा पैदल यात्रुको मृत्यु हुने गरेकै कारण सरकारले त्यसको न्यूनीकरणका लागि जेब्राक्रसबाट मात्रै बाटो काट्नुपर्ने अन्यथा कारबाही गर्ने नियम ल्याएको हो। गत जेठ १६ गतेदेखि जभाभाबी बाटो काट्ने पैदल यात्रुलाई कारबाही थालेयता १८ हजारभन्दा बढी पैदल यात्रु कारबाहीमा परेका छन्। कारबाहीमा पर्ने पैद यात्रुको यो संख्याले पनि जथाभाबी बाटो काट्ने गरेको एउटा प्रवृत्तिलाई उजागर गर्छ। यस्तो अवस्थामा ट्राफिक प्रहरीले जेब्राक्रसबाट बाटो नकाट्नेलाई दुई सय जरिबाना वा तीन घन्टा अनिवार्य हिसाबले सचेतनामूलक कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यकारी नियम कार्यान्वयनमा ल्याउनु आफैंमा सकारात्मक कदम हो। तर  सरकारले यस्तो नियम प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन त्यसैअनुरूप पूर्वाधार विकास गर्न उत्तिकै ध्यान दिन आवश्यक छ।

उपत्यकामा पर्याप्त मात्रामा जेब्राक्रस त छैनन् नै साथै भएका जेब्राक्रस व्यवस्थित छैनन्। एकातिर पैदल यात्रुका लागि बाटो काट्न जेब्राक्रस बनाइएको छ भने अर्काेतिर त्यही स्थानमा तीव्र गतिमा सवारीसाधन हुइँक्याउनेहरूका कारण जेब्राक्रस असुरक्षित बन्ने गरेको हो। जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो प्रथामिकता दिनुपर्नेमा त्यही स्थानमा तीव्र गतिमा सवारीसाधन हुइँक्याउनु असभ्य प्रवृत्ति हो । साथै कानुनका हिसाबले पनि दण्डनीय हो। त्यसो त जेब्राक्रसमा नै दुर्घटनाका कारण पैदल यात्रुको मृत्यु हुन थालेपछि प्रहरीले जेब्राक्रसमा जथाभाबी सवारी कुदाउनेलाई कारबाही थालेको छ। तर त्यो पर्याप्त छैन। त्यसैले जेब्राक्रसमा जथाभाबी सवारीसाधन चलाउनेलाई कारबाही गरी त्यस्ता स्थान पैदल यात्रुका लागि सुरक्षित बनाउन आवश्यक छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App