१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार वर्षमा काठमाडौंमा थपिनेछ ३४ करोड लिटर पानी

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’ क्षेत्रमा बागिरहेको पानी। तस्बिरः उपेन्द्र लाामिछाने

काठमाडौं- सरकारले आगामी चार वर्षभित्रै उपत्यकामा ३४ करोड लिटर खानेपानी ल्याउने तयारी थालेको छ। मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको परियोजना अन्तर्गत सिन्धुपाल्चोकको लार्के र याङ्ग्री खोलामार्फत थप खानेपानी ल्याउन लागिएको हो। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले दोस्रो चरणअन्तर्गत मेलम्चीको पानी ल्याउने काम अघि बढिसकेको बताए।

‘स्वदेशी तथा विदेशी परामर्शदाताले मेलम्ची दोस्रो परियोजनाको डिजाइन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिरहेका छन्, सम्भवतः डिसेम्बरसम्म प्रारूप तयार भइसक्नेछ,’ उपाध्यायले भने, ‘डिजाइन तयार भए पनि एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता गरेर सरकारले बोलपत्र आह्वान प्रकृया अघि बढाउनेछ ।’ उनका अनुसार एडिबीले दोस्रो चरणको मेलम्ची परियोजनामा ऋण सम्झौता गरेर लगानी गर्न इच्छा देखाएको छ ।

दोस्रो परियोजनाका लागि सरकारले डिजाइन तयार गर्न विदेशी परामर्शदाता ‘ट्याक्ट टिबेल’ र स्वदेशी ‘टोटल म्यानेजमेन्ट सोलुसन एन्ड इआरएमसी’लाई जिम्मा दिएको छ । डिजाइनका लागि सरकारले १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । उपाध्यायका अनुसार कुनै अवरोध नआए आगामी अङ्ग्रेजी नयाँ वर्षसँगै परियोजनाको ठेक्का सम्झौता हुनेछ। 

सरकारले लार्के र याङ्ग्री खोलाको पानी सन् २०२२ सम्म राजधानीमा ल्याइसक्ने लक्ष्य राखेको छ। त्यसबाट चक्रपथ बाहिर टोखा, जोरपाटी, गोकर्णेश्वर, ठिमी, भक्तपुर र गोठाटारलगायत क्षेत्रमा पानी वितरण गरिनेछ । दोस्रो चरणको परियोजनामा चक्रपथ बाहिरका र केही चक्रपथभित्र छुटेका क्षेत्रमा पानी वितरण गर्न पाइपलाइन जडान गर्ने लक्ष्य राखिएको मेलम्ची खानेपानी उप–आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताए ।

दोस्रो चरणको पानी भित्रिएसँगै उपत्यकाको खानेपानी अभाव अन्त्य हुनेछ । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानीलाई ११ किलोमिटरको सुरुङ बनाएर मेलम्ची खानेपानीको हेडवक्र्स (बाँध)मार्फत मिसाइनेछ ।

‘मेलम्ची परियोजनाको हेडवक्र्सदेखि याङ्ग्रीसम्म ९ किलोमिटरको सुरुङ मार्ग र बाँध बाध्नुपर्ने हुन्छ,’ दुवाडीले भने, ‘फेरि याङ्ग्रीदेखि लार्केसम्म दुई किलोमिटर सुरुङ मार्ग हुँदै बाँधबाट पानी भित्र्याइनेछ।’

मेलम्ची खानेपानी परियोजनाको सुरुङबाट झण्डै १ सय करोड लिटर पानी ल्याउन सक्ने क्षमता रहेको मेलम्ची खानेपानी उप–आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा हाल ३७ करोड ५० लाख लिटर खानेपानीको माग छ । केयुकेएलले दैनिक करिब नौं करोड लिटर पानी वितरण गर्दै आएको छ । नौं करोड लिटरमध्ये झण्डै ४० प्रतिशत चुहावट हुन्छ ।

‘पहिलो चरणको मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकाको सबै क्षेत्रमा वितरण गर्न पुग्दैन, त्यसैले दोस्रो चरणको मेलम्ची खानेपानी परियोजना सञ्चालन गर्न लागेका हौं,’ सचिव उपाध्यायले भने, ‘दोस्रो चरणको परियोजनाबाट थप ३४ करोड लिटर पानी ल्याएसँगै राजधानीमा खानेपानी अभाव हट्नेछ।’

मन्त्रालयका अनुसार दोस्रो चरणको मेलम्ची परियोजनाको लागि करिव २० अर्ब रूपैयाँ लागत लाग्ने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर र याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर गरेर दैनिक ५१ करोड लिटर काठमाडौं उपत्यकामा भित्र्याउने लक्ष्य छ।

सुरुङको गति सुस्त

सरकारले उपत्यकावासीलाई आगामी असोजभित्रै मेलम्चीको पानी घर–घरमा ल्याउने घोषणा गरे पनि ठेकेदार कम्पनीले भने सुरुङ खन्ने गति नबढाउँदा अन्योल देखिएको छ ।

मेलम्ची खानेपानी उप–आयोजनाको ठेकेदार कम्पनीलाई बारम्बार गति बढाउन निर्देशन दिए पनि आलटाल गर्दै आएको छ । त्यसले असोजभित्रै पानी आउने अझै निश्चित भएको छैन । उप–आयोजना र ठेकेदार कम्पनीबीच भएको पछिल्लो सम्झौता अनुसार असोजभित्रै मेलम्चीको पानी उपत्यकामा वितरण गरिसक्नुपर्नेछ । २७ दशमलव ६ किलोमिटर सुरुङमध्ये अझै ३ किलोमिटर खन्न बाँकी छ ।

इटालियन ठेकेदार कम्पनी ‘को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी’ (सीएमसी)ले दैनिक १५ देखि २० मिटर हाराहारीमा सुरुङ खन्दै आएको दुवाडीले बताए । अम्बाथानदेखि ग्याल्थुमसम्म १ हजार ५ सय मिटर र ग्याल्मथुमदेखि सिन्धुसम्म करिव १ हजार ५ सय मिटर सुरुङ खन्न बाँकी छ ।

‘कमजोर चट्टान भेट्टिएकाले सुरुङको गति नबढेको हो,’ उनले भने, ‘कुनै चामत्कारिक सुरुङ खन्ने गति नभएसम्म असोजभित्रै सकिने देखिँदैन ।’ सरदर २० मिटरकै हिसाबले खने पनि सुरुङ खन्ने काम सक्न ५ महिना लाग्ने देखिन्छ । ठेकेदार कम्पनीले सुन्दरीजलदेखि सिन्धुतर्फ दुई सय मिटर सुरुङको इन्भर्ट (भुई ढलान)को काम थालेको छ । ‘हेडवक्र्स’ क्षेत्रमा रहेको रहेको डाँडो काटेर ‘कोफर ड्याम’(अस्थायी) बाँध बाध्ने काम भइरहेको दुवाडीले बताए ।

 

 

 

प्रकाशित: ३ असार २०७४ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App