१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कतार जाने ४० प्रतिशत घटे

काठमाडौं- दुई साताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशतले घटेको छ।  विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिब चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्वजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेले कतारमा समस्या सिर्जना भएयता श्रम स्वीकृति लिनेको संख्या ४० प्रतिशतले घटेको जानकारी दिए । ‘कतारमा रहेको राजदूतावासका अधिकारीसँग कुराकानी हुँदा खासै समस्या छैन भन्ने खबर आउँछ,’ उनले भने, ‘तर, श्रम स्वीकृति लिनेको संख्या घटिरहेको छ ।’ कतार जान दैनिक चारदेखि ६ सय युवायुवतीले श्रम स्वीकृति लिने गरेकोमा यतिखेर दैनिक दुईदेखि तीन सयले श्रम स्वीकृति लिने गरेका छन् । मंगलबार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएको पाण्डेले जानकारी दिए ।  संकट सिर्जना भएयता दुई हजारले अन्तिम स्वीकृति लिएर रोजगारीका लागि कतार पुगेका छन् ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेको बेला कतारमा समस्या सिर्जनासँगै त्यता जानेको संख्या घट्न थालेपछि अर्थतन्त्र झनै प्रभावित हुने आशंका गर्न थालिएको छ । पछिल्ला वर्ष इन्धन बिक्री गरेर राम्रो आर्थिक र भौतिक प्रगति गरेको कतारलाई दुई साताअघि छिमेकी मुलुकहरूले एक्लो बनाउँदै वर्तमान सम्बन्ध तोड्ने निर्णय गरेका थिए ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि तयार गर्नुुपर्ने भौतिक पूर्वाधारले थुप्रै रोजगारी सिर्जना गरेपछि कतार आप्रवासी कामदारको आकर्षक श्रम गन्तव्यको रूपमा विकास भइरहेको थियो । विश्वकपले रोजगारीका अवसर सिर्जना गरेको मात्र नभई खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार कतारमा ‘बढी सुरक्षित’ हुने गरेकाले पनि कतार उनीहरुको आकर्षणमा परेको मेनपावर व्यवसायी बताउँछन् । कामदारको सेवा, सुविधामा सहज होस् भनेर नेपालसँग श्रम सम्झौता गरेका कारण कतार नेपालीको रोजाइमा परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार कतार जान हालससम्म करिब साढे १२ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । कतार जानेको संख्यामा गिरावट आए पनि त्यहाँका रोजगारदाताले भने मेनपावरलाई  कामदार पठाउने क्रम जारी राख्न आग्रह गरेको मेनपावर सञ्चालक बताउँछन् । 

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ को नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिटेन्स बढेको देखिए पनि दुई वर्षअघिको वृद्धिसँग तुलना गर्दा यो वर्ष रेमिटेन्स वृद्धिदर घटेको छ । पछिल्लो नौ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिटेन्स थोरैले बढी देखिए पनि वृद्धिदर भने उत्साहजनक नभएको विभागले जनायो  । आर्थिक वर्ष २०७१÷७२ को नौ महिनामा चार खर्ब २७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ५० अर्ब रुपैयाँ आएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा १३.६१ प्रतिशत रहेको रेमिटेन्स वृद्धिदर आर्थिक वर्ष २०७२÷७३ मा ७.७ प्रतिशतमा खुम्चिएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा चार खर्ब ५० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जुन वृद्धिदर ५.३ प्रतिशत मात्र हो । हाल नेपालले प्राप्त गर्ने रेमिटेन्सटमा कतारको १०–१५ प्रतिशत योगदान रहेको विज्ञहरूको भनाइ छ।

अचेल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत खाडी र मलेसिया जान्छन्। हालसम्मको तथ्यांक हेर्दा नेपालले श्रम स्वीकृति जारी गर्ने विश्वका एक आठ देशमध्ये कतार दोस्रो ठूलो गन्तव्यको रूपमा छ । मलेसिया जाने कामदारको संख्या कतारको भन्दा थोरैले मात्र बढी छ । विभागका अनुसार हालसम्म करिब साढे १२ लाख युवायुवती श्रम स्वीकृति लिएर कतारमा जाँदा मलेसिया जानेको संख्या एक लाख जतिले बढी छ । करिब साढे आठ लाख नेपाली रोजगारीका लागि साउदी पुगेका छन् ।

विभागले सार्वजनिक गरेको सबभन्दा पछिल्लो विवरण अनुसार गत पुस महिनामा संस्थागतर्फ २७ हजार नौ सय ३३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा सबभन्दा बढी १० हजार ५८ जना कतारमा गएका छन् । मलेसिया र साउदी अरेबिया जानको संख्या क्रमशः ६ हजार आठ सय ५९ र पाँच हजार चार सय ३३ रहेको विभागले जनाएको छ ।

‘कतारी अर्थतन्त्र नाकाबन्दीभन्दा ठूलो’

दोहा, असार ६ (एजेन्सी) कतार चेम्बरका उपाध्यक्ष मोहमद बिन अहमद बिन तवार अल कुवारीले कतारी अर्थतन्त्र नाकाबन्दीभन्दा ठूलो रहेको र नाकाबन्दीबाट कतारविरुद्ध मोर्चाबन्दी गर्ने मुलुकलाई नै घाटा हुने बताएका छन् ।

‘देशको वित्तीय अवस्था र हाम्रा प्राकृतिक स्रोतहरु राम्रा छन् र यसले हामीलाई नाकाबन्दीलाई परास्त पार्न मद्दत गरेको छ,’ उनले अल जजिरासँग कुराकानीका क्रममा भने, ‘कतारी व्यवसायी अनुभवी छन् र मलाई लाग्छ यो संकटको पहिलो तीन दिनमा उनीहरुले आयातको नयाँ विकल्प खोज्न सके । ती मुलुकबाट आउने खाद्य सामग्रीलाई अन्य मुलुकबाट ल्याएर परिपूर्ति गरे ।’ कतार चेम्बरले बन्दरगाह र हमाद अन्तर्राष्ट्रिय विमानस्थलका अवरोध हटाउँदै आयात प्रक्रियालाई सजिलो बनाएको पनि उनले जानकारी दिएका छन् ।

बरु नाकाबन्दीको नकारात्मक असरबाट ती मुलुकहरुनै प्रभावित हुने उनले दाबी गरेका छन् । ‘किनभने हाम्रो अधिकांश निर्यात वस्तु प्राकृतिक ग्यास हो । हाम्रो निर्यात प्रभावित भएको छैन, युएईमै पनि प्राकृतिक ग्यासको निर्यात जारी छ । म भन्न सक्छु हरेक चिज सामान्य तवरले अघि बढिरहेको छ,’ अल कुवारीले भने ।

उता, नाकाबन्दीको बाबजुद कतार स्टक एक्सचेन्जको क्युई परिसूचक उँभो लागिरहेको स्टकका सिइओ रसिद अली अल मन्सुरीले बताएका छन् । ‘संकटको अवधिमा हामीकहाँ नयाँ खाता खोल्न एक सय ५० पोर्टफोलियो आवेदन प्राप्त भएको छ, जसले लगानीकर्ताको विश्वास देखाउँछ,’ मन्सुरीले भने, ‘संकटको पहिलो दिन सामान्य प्रभाव परेको मात्रै हो ।’

आफूहरुले जिजिसीका नागरिकलाई कतारी सरह व्यवहार गरिरहेको उनले बताए । ‘किनभने खाडीका हामीहरु परिवारका सदस्य जस्तै हौं,’ उनले भने ।

आर्थिक विश्लेषक नास्सेर बिन सुल्तान अल हुमाइदी कतारी सेयर बजार सामान्य अवस्थामा फर्किरहेको बताउँछन् । उनी पनि कतारी अर्थतन्त्र प्राकृतिक स्रोतमा आधारित रहेको बताउँछन्।

‘प्रभाव परेको एक्लो क्षेत्र खाद्य उत्पादन हो । उदाहरणको लागि साउदी अरेबियाबाट वार्षिक आठ अर्ब रियालको खानेकुरा आयात हुन्छ । कतारले ती उत्पादन अन्य मुलुकबाट नौ अर्ब रियालमा आयात ग¥यो भने भने मुलुकलाई अतिरिक्त व्ययभार भनेको एक अर्ब रियाल मात्रै हो । तर, साउदीले आठ अर्ब गुमाउँछ,’ उनले भने । सिमेन्ट र फलाममा कतार बचतकै अवस्थामा रहेकोले निर्माण क्षेत्रमा खासै असर नपर्ने उनको भनाइ छ।

 

 

प्रकाशित: ७ असार २०७४ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App