१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'कभर सङ'को बाढी : नयाँ हिट, पुराना ओझेलमा

पानी पर्‍यो, असिना झर्‍यो बोलको गीतको कभर डान्स गर्दै कार्टुन क्रुको टोली

काठमाडौं – सदाबहार पुराना नेपाली गीत संगीतलाई ‘कभर गीत’ बनाउने प्रवृत्ति फस्टाउँदो छ। युट्युब, फेसबुक र ट्विटरमा पछिल्लो समय ‘कभर सङ’ छ्यास्छ्यास्ती भेटिन्छन्। कतिपय कलाकार र फिल्म युनिटले नै गीतको कभर बनाउन आह्वान गर्ने प्रवृत्ति पनि बढ्दो छ।

‘प्रेम गीत २’ नामक फिल्मले युट्युबमार्फत ‘कभर सङ’ प्रतियोगितै सञ्चालन गराएको थियो। त्यस्तै गायक हेमन्त रानाको ‘साइली’ गीत युट्युव ट्रेन्डिङमा एक नम्बरमा परेपछि उनले ‘कभर सङ’ तयार गरेर पोस्ट गर्न आह्वान नै गरेका थिए।

प्रतिलिपी अधिकारबारे नेपाल र डिजिटल प्लाटफर्मका नियमहरु फितला छैनन्। सर्जकहरुले तिनको प्रयोगका विधि, प्रक्रिया थाहा पाएर आफ्नो सिर्जनाको रक्षमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ।

कभर सङ के हो?
विश्वकै संगीतमा यतिबेला 'कभर सङ' एउटा चर्चित विधा हो। पहिला नै गाइसकेका गीतहरुलाई नयाँ रेकर्डिङ गराउनु वा प्रस्तुति दिनु नै त्यो गीतको 'कभर भर्सन' वा 'कभर सङ' हो। छोटकरीमा यसलाई कभर मात्र पनि भनिन्छ। एक जमानामा नारायण गोपालले गाएका लोकप्रिय गीतहरुलाई गीतारको धुनमा रेकर्ड गरेर अपलोड गरेका 'कभर सङ'हरु युट्युबमा प्रशस्त भेटिन्छन्।

नारायण गोपालका गीतको हकमा रोमाञ्चक पक्ष के छ भने कतिपय गीतको पुरानो भर्सन युट्युबमा नराखिँदै यस्ता 'कभर भर्सन' अाएर लोकप्रिय भए। यही भएरै डिजिटल प्लाटफर्ममा अाउने 'कभर सङ'लाई एउटा अलग विधाको रुपमा अन्तरार्ष्ट्रिय रुपमै हेर्न थालिएको छ।

पुराना गीतहरुको 'कभर भर्सन' युट्युबमा थुप्रै छन्। कतिपय संगीत पारखीले सोखले 'कभर भर्सन' बनाएका छन्। कतिपयले यसलाई आम्दानीको बाटो समेत बनाएका छन्। कभर गीत अपलोड गर्ने युट्युब च्यानललाई ‘मनिटाइजेशन’मा लगेर पैसा आर्जन गर्नेको संख्या दिनदिनै बढ्दो छ।
कभर गीत बनाउनेहरुले वास्तविक श्रष्टासँग प्रतिलिपिको अनुमित नलिँदा उनीहरु मर्कामा परेका छन्।

‘प्रतिलिपि अधिकारबारे सम्बन्धित स्रष्टासँग अनुमतिबिना गीत प्रयोग गर्ने व्यक्तिहरु अनविज्ञ देखिन्छन्’, प्रतिलिपि अधिकार संरक्षणका लागि स्थापित नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देल भन्छन्, ‘यसले गर्दा स्रष्टाहरु मर्कामा परेका छन्।’

स्रष्टाहरुले आफ्नो बौद्धिक सम्पति संरक्षणमा बेवास्ता गर्दा पनि युट्युवमा गीतसंगीत मनोमानी शैलीमा आउन थालेको उनको बुझाइ छ। ‘व्यक्तिगत रुपमा स्रष्टाको गीत प्रयोग गर्न पाइन्छ। आर्थिक कारोबारको लागि भने स्रष्टा वा स्रष्टा निकट सम्बन्धित व्यक्तिबाहेक अरुले प्रयोग गर्न पाइदैनँ’, उनी भन्छन्, ‘स्रष्टाको स्वीकृतबिना तयार भइरहेका यस्ता गीत संगीत र फिल्म लगायतलाई युट्युवमा राख्नेहरुलाई कारवाही हुन्छ।’

पुराना गीतहरुलाई भाव मर्न नदिई गीतारको ट्युनिङ हालेर डिजिटलमा ल्याउनु आफैँमा राम्रो काम भएको कतिपयको बझुाइ छ।

महानगरीय प्रहरी अपराध महाशाखा गत वर्षमात्र प्रतिलिपि अधिकार उल्लघंन भएको एउटा घटना मात्र दर्ता भयो।

महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी पशुपति खरेल सामान्य घटनालाई सम्झाई बुझाइ गरेर मुद्दा टुंग्याउने गरेको र अपराधका घटनालाई कानुनी कारवाहीका अघि बढाउने गरेको सुनाउँछन्।

नेपाली फिल्मका निर्माता श्रवण घिमिरले ‘लाहुरे’, ‘दर्पण छाँया’ र ‘दक्षिणा’का गीतहरु अनुमति लिएर कभर गरिएको सुनाए। ‘यो बाटो कहाँ जाने हो’ र ‘चियाबारीमा’ बोलको गीत प्रयोग गर्न एउटा पार्टीलाई स्वीकृति दिएको उनले बताए।

भाइरल कभर युट्युबबाट गायब

‘यी दुई गीतबाहेक हामीले संरक्षण गर्न नसक्दा अधिकांश फिल्मको गीतहरु हाम्रो अनुमतिबिना प्रयोग भएका छन्। पुराना गीतहरु रिमेक र कभर गीतको रुपमा आउनु चर्चाका हिसाबले राम्रो भए पनि जानकारी नगराइ आर्थिक प्रयोजनमा प्रयोग हुँदा मूल श्रष्टा मर्कामा पर्ने रहेछन्,’उनले नागरिकन्युजसँग भने।  

गत वर्ष गायक अल्मोडा राणा उप्रेतीको ‘पानी पर्‍यो असिना झर्‍यो, दाइको रुमाल भाउजूलाई मन पर्‍यो’, गीतको कभर युट्युबबाट भाइरल भयो। अनुमति नलिई बनाइएको सो कभरबारे विवाद भएपछि भिडियो एकाएक युट्युबबाट गायब भयो।

गीतको प्रतिलिपि अधिकार नलिई कसैले युट्युबमा राखेमा उसले वास्तविक श्रष्टालाई दाबी गर्ने विकल्प दिन्छ । अल्मोडाले त्यही विकल्प प्रयोग गर्दै युट्युबमा आफ्नो गीत प्रतिलिपि अधिकार नलिई राखेको दाबी गरेपछि युट्युबबाट भिडियो हटेको थियो। दुवै पक्षबीच सहमतिपछि भिडियो पुनःफर्कियो।

‘युट्युवलाई कपिराइटको जानकारी गराउँदै गीत हटाउन आग्रह गरेँ। पछि द कार्टुन्ज क्रुसँग सहमति भएपछि फेरि गीत युट्युबमा राखियो’, उनी भन्छन्।

कभर बनाउने श्रृङ्खलामा नयाँ चर्चित गीतदेखि पुराना सदाबहार गीतहरु पनि छन्। पुराना गीतहरुलाई भाव मर्न नदिई गीतारको ट्युनिङ हालेर डिजिटलमा ल्याउनु आफैँमा राम्रो काम भएको कतिपयको बझुाइ छ।

‘गीत नबिगारिकन गिटारको ट्युनिङ हालेर कभर गीत बनाउनु आफैँमा सिर्जनशीलता चाहिन्छ। हामीले स्रष्टालाई क्रेडिट दिएका छौं’, भिजे म्युजिकका विजय घिमिरे भन्छन्, ‘कतिपय गीतहरुका सम्बन्धित श्रष्टा उपलब्ध हुन नसक्दा अनुमति लिन भने सकेका छैनौं।’

प्रतिलिपी अधिकार ऐन २०५९ ले गैरनाफामूलक प्रयोजनका लागि प्रतिलिपि अधिकारको कानुन आकर्षित नहुने छुट दिएको छ। श्रष्टाको सिर्जना अनुमतिबिना नाफामूलक प्रयोजनमा ल्याए सो उत्पादन जफत गरी सम्बन्धित पक्षलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।

प्रतिलिपी अधिकारबारे नेपाल र डिजिटल प्लाटफर्मका नियमहरु फितला छैनन्। सर्जकहरुले तिनको उपयोग विधि र प्रक्रिया थाहा पाएर आफ्नो सिर्जनाको रक्षमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ।

प्रकाशित: ७ असार २०७४ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App