१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरान : तोडिएला 'लालकिल्ला'?

धरान- २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछिको स्थानीय, संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुई संविधानसभा निर्वाचनको मतपरिणामले मात्र होइन, निरंकुश पञ्चायती व्यवस्थामा पनि धरान कम्युनिस्ट गढका रुपमा थियो। पञ्चायती व्यवस्थामा जनपक्षीय उम्मेदवारका नाममा धरानमा वामपन्थी चुनावमा उठेर नेतृत्व लिने गर्थे।

२०४६ पछिका सबै निर्वाचनमा धरानबाट नेकपा एमालेले जित हासिल गर्‍यो। २०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेको जित भयो भने २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा एमाले उम्मेदवारले कांग्रेसलाई पराजित गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवारको हार भए पनि लालकिल्ला तोडिएन। माओवादी केन्द्रका उम्मेदवारले जित्दै लालकिल्ला कायमै राखे। त्यसबेला कांग्रेस तेस्रो स्थानमा झर्‍यो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुनः एमाले उम्मेदवारले यहाँबाट जित हासिल गर्दा कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहे। जुनसुकै निर्वाचनमा पनि कम्युनिस्टले जितेर लालकिल्लाका रुपमा परिचित धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको परिणाम के होला, यो सबैको उत्सुकताको विषय बनेको छ।

यसपालि लालकिल्ला तोडिएला त? नेता, कार्यकर्तासँगै आम मतदाताको मनमा यही प्रश्न खेलिरहेको छ। कांग्रेसका नेता मीन विश्वकर्मा केही दिनदेखि धरानमै छन् भने माओवादीले बुधबार घरदैलो अभियानमा केन्द्रीय नेता देव गुरुङलाई हिँडायो। एमालेले पनि केन्द्रीय नेता ल्याउने कसरत गरिरहेको छ।

यस उपमहानगरको मेयरमा कांग्रेसले धरान सभापति तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार बनाएको छ। एमालेबाट मेयरमा धरान अध्यक्ष तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी चुनावी होडमा छन् भने माओवादी केन्द्र–संघीय समाजवादी फोरम गठबन्धनबाट अइन्द्रविक्रम बेघा मेयरमा र पारस काङमाङ राई उपमेयरमा उठेका छन्। सधैं पराजय बेहोरेको कांग्रेस असार १४ गतेको निर्वाचन जितेर लालकिल्ला तोड्न चाहन्छ।  एमाले आफ्नो विरासत जोगाउन चाहिँरहदा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीचको चुनावी तालमेलले त्रिपक्षीय प्रतिस्पर्धा हुने अडकलबाजी हुन थालेको छ।

धरानमा राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी र पाँचजना स्वतन्त्र उम्मेदवारसहित १२ जना मेयरमा उठे पनि कांग्रेस, एमाले र माओवादी–फोरम गठबन्धनबीच प्रतिस्पर्धा हुने अनुमान छ। 'धरान २००७ सालअघिदेखि नै कम्युनिस्ट गतिविधि भएको ठाउँ हो। यहाँका जनता विद्रोही स्वभावका छन्। २००७ सालमा दिल्ली सम्झौता धोका हो भन्दै राजा त्रिभुवनलाई कालो झन्डा देखाउने धराने नै हुन्। यो वा त्यो रुपमा पञ्चायतमा पनि वामपन्थी उम्मेदवारले चुनाव जित्थे,' महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद दाहालले भने, 'लालकिल्ला तोड्न त्यति सहज छैन तर कम वा बेसी कांग्रेस, एमाले र माओवादीबीचमा नै प्रतिस्पर्धा हुन्छ।'

कांग्रेस नेताहरु विगतमा जितेका कम्युनिस्ट उम्मेदवारले धरानको विकास र समृद्धिको स्पष्ट खाका कोर्न नसकेकोले यो पटक जनताले वैकल्पिक शक्तिका रुपमा कांग्रेसलाई जिताउने दाबी गर्छन्। 'यसअघि जितेका दल र उम्मेदवारले धरानको भौतिक पूर्वाधार र सामाजिक विकासका लागि दीर्घकालीन नीति र कार्यक्रम ल्याउन सकेनन्। अहिले पनि बसपार्क अस्तव्यस्त छ, दिगो आर्थिक स्रोत छैन, महंगी बढेको छ,' कांग्रेसबाट मेयर पदका उम्मेदवार राईले भने, 'जनताले वैकल्पिक शक्ति चाहिरहेका छन्, त्यसैले यसपटक कांग्रेसको जित निश्चित छ।' विगतको तुलनामा अहिले कांग्रेस सांगठनिक रुपमा बलियो रहेको उनको दाबी छ। यद्यपि, कांग्रेसले विगतमा जस्तो अन्तर्घात रोक्न नसके धरानमा जित्न कठिन पर्ने कांग्रेसी वृत्तमा नै चर्चा छ। पूर्व नगरसभापति किशोर राईले मेयरमा भोट माग्दै हिँडिसकेको अवस्थामा टिकट नपाएपछि अन्तर्घातको आशंका बढेको थियो। धरानमा राईको जनसंख्या बढी भएकाले आफ्ना उम्मेदवारलाई बढी भोट आउने कांग्रेसको विश्वास छ। राई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष पनि हुन्। केही दिनअघि यायोक्खा जिल्ला कमिटीले धरानका सबै राई उम्मेदवारलाई निमन्त्रण गरेर शुभकामना कार्यक्रम राखेपछि राईहरुको 'न्युट्रल' मत कांग्रेस उम्मेदवारले पाउने चर्चा छ। 

एमालेले धरानमा आफ्नो विरासत जोगाउन तेस्रो पटक पार्टीको अध्यक्ष भएर नेतृत्व गरिरहेका सुब्बालाई भरोसा गरेको छ। पार्टी नेतृत्व गर्नुका साथै सुब्बाले धरानको विकास निर्माण तथा जनचासोको विषयमा लामो समय सक्रिय भूमिका निर्वाह गरेर जनताको विश्वास जितेकाले जित हासिल गर्ने एमालेको दाबी छ। 'धरानमा अहिले जेजति विकास निर्माण भएको छ, त्यो सबै हाम्रो जनप्रतिनिधिको कार्यकालमा बनेको भिजनअनुसार हो। त्यति बेला नै धरानलाई सांस्कृतिक, पर्यटकीय, शैक्षिक, आवासीय सहर बनाउने भिजन बनेको थियो,' एमालेबाट मेयरका उम्मेदवार सुब्बाले भने, 'सांगठनिक रुपमा हामी बलियो छौं र जनताको विश्वास हामीसँगै छ। त्यसैले यसपालि पनि जित्छौं।' जातीय मत कांग्रेसलाई जाने भन्ने कथन उनले अस्वीकार गरे। आफ्ना मतदाता बढी भएको विष्णुपादुका गाविस धरान उपमहानगरमा गाभिएकाले पनि जित हुनेमा एमाले ढुक्क छ।

माओवादी उम्मेदवार अइन्द्रविक्रम बेघा राजनीतिक अजेन्डासँगै समाजवादी फोरमसँगको गठबन्धनले आफ्नो जित सुनिश्चित भएको बताउँछन्। 'राजनीतिक अजेन्डाको कारणले पनि जनताको मत हामीले पाउछौं। संघीयता, गणतन्त्र, पहिचान, महिला र दलितको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै हो,' मेयरका उम्मेदवार बेघाले भने, 'हामीसँग जनाधार छ, धरानको विकासको भिजन बनाएका छौं र यो गठबन्धनपछि पहिलो पार्टी भएका छौं, हाम्रो जित सुनिश्चित भएको छ।' पहिलो संविधानसभा निर्वाचनमा विजयी बनेकाले पनि माओवादी केन्द्र धरानमा जित हुनेमा आशावादी छ।

धरान उपमहानगरमा कुल मतदाता संख्या ७९ हजार २ सय ८२ छन्। धरान २० वडामा विभाजित छ।

चुनावी अजेन्डा

स्थानीय तह निर्वाचनमा होमिएको धरानका मुख्य राजनीतिक दलले मतदाता आकर्षित गर्न पानी र बिजुली निःशुल्क दिने, उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त गर्नेदेखि बसपार्क बनाउने, सुकुमवासीलाई जग्गा र बसोबासको स्वामित्व दिलाउनेसम्मको अजेन्डा अघि सारेका छन्। माओवादी केन्द्रले धरानलाई प्रदेश नं. १ को राजधानी बनाउने, प्रत्येक परिवारलाई १० हजार लिटर पानी र १० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, जोेगबनीबाट धरानसम्म रेल ल्याउने, धरानको गुमेको व्यापारिक साखलाई उठाउने, धरानलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेको छ। यसैगरी वैज्ञानिक कर लागू गर्ने, सेउती, सर्दुलगायत खोलामा तटबन्ध निर्माण र पक्की पुल बनाउने तथा सुशासन कायम गर्न र नगर सरकारको काम अनुगमन गर्न शक्तिशाली नागरिक संयन्त्र गठन गरेर जनपालको व्यवस्था गर्नेलगायतका अजेन्डा माओवादीका छन्।

कांग्रेसले उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउने, उपमहानगरप्रति गुमेको जनताको विश्वास जोगाउने, आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, उद्योगमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने, धरानलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने, एयरपोर्ट र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने अजेन्डा अघि सारेको छ। यस्तै विष्णुपादुका तथा पाँचकन्याको समग्र विकास गर्ने बृहत्तर विकास परियोजना सञ्चालन गर्ने, सुकुमवासीलाई नगरवासी बनाउन परिचयपत्र दिएर शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायतमा विशेष छुट व्यवस्था गर्नेलगायतका अजेन्डा पनि कांग्रेसले अघि सारेको छ।

एमालेले धरानको विकास र समृद्धिको आधार सुनिश्चित गर्न धरानलाई सुरक्षित, व्यवस्थित, व्यावसायिक, आवासीय, पर्यटकीय सुन्दर शहर बनाउने जनाएको छ। धरानलाई पर्यटकीय, व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, धरानवासीलाई खानेपानी अभावबाट मुक्त गर्ने, सुकुमवासी तथा अव्यवस्थित बसोवासलाई सुरक्षित गरेर स्वामित्वसहितको आवास व्यवस्थापन गर्ने, सभागृहलाई अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय सेमिनार हलमा रुपान्तरण गर्ने एमालेका अजेन्डा छन्। बसपार्क निर्माण गर्ने, धरान वडा नं. ६ लाई औद्योगिक क्षेत्रका रुपमा विकास र विस्तार गरी उद्योग कलकारखाना स्थापनालाई प्रोत्साहन गर्ने, सेउती र सर्दुमा तटबन्धन गर्न, नगरवासीको स्वास्थ्य बिमा गर्ने, चक्रपथ निर्माण गर्नेलगायतका अजेन्डा पनि एमालेले अघि सारेको छ।

प्रकाशित: ९ असार २०७४ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App