१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीको दुई थान एसएलआर र सय थान गोली पनि हरायो

चितवन- नारायणगढ मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो जाँदा चार जना प्रहरी चढेको भ्यानमात्रै पुरिएन प्रहरीका हतियारहरुसमेत हराएका छन्। चितवन जिल्ला प्रहरी कार्यालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार सो दुर्घटनामा दुई थान एसएलआर बन्दुक र त्यसमा लाग्ने सय थान गोली पनि हराएको छ। भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शव फेटिएको छ दुईजना प्रहरीसमेत हराइरहेका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको महेन्द्र पिकअप भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए। राती ११ बजे गएको पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्कै पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको हो। टोलीको नेतृत्व गरेरका सइ निश्चलकुमार तमाङ र प्रहरी जवान दिपककुमार मास्केको शव फेला परेको छ।

पिकअप भ्यानसँगै त्यसमा रहेका अरु दुईजना प्रहरी जवान सन्दीप कार्की र लिलबहादुर चेपाङको अवस्था अज्ञात रहेको छ। भ्यानमा एउटा हतकडी र दुईवटा सञ्चारसेटहरु पनि थिए। प्रहरीको भ्यानसँगै ना५ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो। सो ट्रक त्रिशुली नदी किनारमा पुगेको छ। चालक रामकुमार लामाको अवस्था सामान्य छ। सहचालक सानु ब्लन घाइते छन्। उनको अवस्था मध्यम छ।

पहिरोका कारण सो सडकमा यातायात ठप्प छ। नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो। यो सडक हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन्। सो सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ। फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटेका कारण वर्षायाममा पहिरो झरेर यात्रुलाई सास्ती दिने गरेको छ।

प्रकाशित: ९ असार २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App