१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गोर्खाली हैन, नेपालीको बयान

कस्तो विडम्बना, सच्चा नेपाली बन्नका लागि जुनसुकै देशमा बसेका नेपाली मूलका मानिसले गरेका  आन्दोलनको पनि  समर्थन गर्नुपर्ने भयो। बूढापाका भन्थे– जतिसुकै माया गरे पनि र जतिसुकै राम्री भए पनि जेठी  स्वास्नी लोग्नेका लागि कहिल्यै प्यारी हँुदिन। आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनि, जति छाती ठोकेर रोए/कराए पनि मधेसी सधँै पराया भयो यो देशमा।  मधेसमा देखिएको राष्ट्रियता र प्रजातन्त्रप्रतिको भावनाको  सही  कदर र  प्रशंसा  कहिल्यै भएन। मधेसीको समस्याको मुख्य जरो 'नीति ठीक, नियत बेठीक' भएकाले हो यसो भएको। तपाईं नै भन्नुहोस्, के मधेसीका समस्या सम्बोधन गर्दा राष्ट्रियता नस्ट हुन्छ त?

नेपालीलाई जातजाति नामको राज्य होइन, केवल सुन्दर शान्त नेपाल चाहिएको छ जहाँ जात, धर्म, भाषा, इत्यादिका आधारमा भेदभाव नगरियोस्।

आफ्नो घरमा आगो लागेका बेला अर्काको घरको आगो निभाउन खोजे आफ्नै घर खरानी हुन्छ। मधेस र पहाड  एकै रथका पांग्रा हुन् भन्ने घ्यान नभएसम्म यो द्वन्द्व सदैव रहन्छ। मधेस समस्या जति ढिलो हुँदै जान्छ त्यति नै विदेशी तत्वले आफ्नो स्वार्थका लागि राजनीति  गर्न ठाउँ पाउँछन्। पहाडका दलमात्र होइन, मधेसकेन्द्रित दलहरू पनि यो विषयमा गम्भीर हुने बेला आएको छ। मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु महाअपराध हो। त्यसकारण  जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर जाने बेला आएको छ। 

साँचो कुरा के हो भन्दा नेपालमा जनताले संघीयताबारे बुझेका छैनन्। न त संघीयता उनीहरूका चासोकै विषय हो। अभाव, गरिबी, उत्पीडन, शोषणमा पिल्सिएका नेपालीलाई संघीयताले छुन सकेको छैन। हामी नेपालीलाई जातजाति नामको राज्य होइन, केवल सुन्दर शान्त नेपाल चाहिएको छ जहाँ जात, धर्म, भाषा, इत्यादिका आधारमा भेदभाव नगरियोस्। जातीय र भाषाका आधारमा राज्य सम्भव छैन। नेपाल जस्तो मुलुकमा संघीयता लागु गर्नु विदेशीका लागि छलखेल गर्नका लागि सजिलो सजिलो वातावरण बनाउनुमात्र हो। जुन संघीयताको कुरा गरिएको छ त्यसले यो देशलाई एक ढिक्का बनाउँदैन। संघीयतामा रमाउने हो भने नेपाललाई मात्र ३ प्रदेशमा विभाजन गर्नुपर्छ। नेपालमा संघीयता भनेको एक आना जग्गामा ७ कोठाको घर  बनाएजस्तै हो।

भारतमा  गोर्खाल्यान्ड  र नेपालमा  मधेसी र जनजातिको लडाइँमा खासै फरक छैन। दुई चारजना मित्रले मेरो अभिव्यक्तिप्रति शंका पनि व्यक्त गरे। असमानता र अन्यायविरुद्ध हुने कुनै पनि आन्दोलनलाई विश्वको कुनै पनि कुनामा बस्नेहरूले समर्थन गर्न सक्छन्। त्यसमा मेरो टाउको दुखाइ छैन। मेरो धारणा केवल अरुको देशको समस्याभन्दा आफ्नैमा ध्यान दिनुपर्छ कि भन्नेमात्र हो।

पहाड र तराईको अलग्गै प्रदेश बनाउनुपर्ने, पहाडको क्षेत्रफलको तुलनामा मधेसमा धेरै तह बनाउनुपर्ने जस्ता माग राख्नेहरूसँग मेरो प्रश्न छ– भाषाकै आधारमा छुट्टै राज्य दिने हो भने नेपालमा २३ वटा राज्य बन्नुपर्छ । भारतमा जम्मा ०.२९ प्रतिशतले नेपाली बोल्छन्। यसो भयो भने त्यहाँ पनि नेपाली बोल्नेलाई छुट्टै राज्य दिएर सम्भव हुन्छ? नेपालमा ४४.६ प्रतिशतले नेपाली बोल्छन्। ११.६७ प्रतिशतले मैथली बोल्छन्, ५.९९ प्रतिशतले भोजपुरी  बोल्छन्, ०.२९ प्रतिशतले चामलिङ बोल्छन्। ०.२५ प्रतिशतले बघंगी बोल्छन्। ती सबैले भाषाका आधारमा  छुट्टै राज्य दे  भनेर लड्ने? यस्तो अवस्थामा यो सानो देशको के हालत हुन्छ?

धैर मित्रहरू नागरिकताको कुरा सवाल उठाइरहन्छन् बेलाबेला। दुई/चारजना मधेसी नेतामात्र किन, २०६२–६३ यता निकालएका सम्पूर्ण नागरिकता खारेज गर्न किन आन्दोलन गर्दैनौँ हामी? त्यसयता कसले दियो त नागरिकता? डाडु पन्युँ कसको हातमा थियो? गर्ने कोही होइन, खाली खोक्ने र आन्दोलनकारीलाई ठोक्ने  रबैयाले  देश  कहीँ  पुग्नेवाला छैन। जहाँसम्म भारतीय राजदूतसँग लसपसको कुरा छ, यो त परम्परादेखि चल्दै आएको हो, जसलाई देखासिकीमात्र गरेका हुन् मधेसका नेताले।

भारतसँग जोडिएर लम्पसारका कुरा पनि निकै हुने गर्छन्। छोराछोरीको छात्रवृत्तिका लागि लैनचौरमा दरखास्त हाल्नेको संख्या कसको बढी छ? यतिमात्र खोजबिन गर्दा कुरो प्रस्टिइहाल्छ। मधेसी नेतालाई मात्र गाली गर्नुसट्टा यता लागे वास्तविकता खुलिहाल्छ। एकातिर नेपाल जस्तो सानो देशमा धेरै प्रदेश बनाउनुहुँदैन भन्ने अर्कोतिर दार्जिलिङलाई भने छुट्टै राज्य घोषणा गर्नुपर्छ भन्ने, नेपालमा जातीय प्रदेशको विरोध गर्ने भारतमा भने गोर्खाल्यान्डको माग ठीक छ भन्नेहरूको दोहोरो मापदण्ड रहेसम्म समस्या समाधान हुन्न। 

गोर्खा फौजमा मधेसी त कोही छैनन्। रह्यो–  मधेसीले भारतीय भूमि प्रयोग गरेका कुरा। आन्दोलनका क्रममा नेपालको सरकारदेखि सुरक्षाकर्मीसम्म सबै मधेसी विरोधी थिए। राणा शासनविरुद्ध पनि अहिलेका टोपीधारी राष्ट्रवादीहरू भारत नै गएका थिए। भारत गएका नेपालीलाई त्यतिबेला परिवर्तन नचाहने सामन्ती राणाहरूको नजरमा राष्ट्रघाती  भनिन्थ्यो। समयले फड्को मारेकोमात्र हो, अहिलेे पनि परिवर्तन नचाहने सामन्तीका नजरमा मात्र मधेसी राष्ट्रघाती छन्। 

आफ्नै  देशको भूभाग खोसिने बेलामा दार्जिलिङ नेपालको  भूभाग हो र एकदिन अवश्य फिर्ता आउँछ भन्नेको भीड पनि रहेछ। आफ्नो घर र जग्गा अरुले मिचेको चाल नपाउने जमातले लिपुलेक र दसगजामा  भारतले मिच्यो भनेर देशभक्तिको नमुना पेश गर्न सुहाउँछ? दसगजामा  भारतीय  पुलिससँग लड्ने नेपाली  मधेसका नै  थिए। खोसिएको, हराएको चिज खोजी  गर्नुभन्दा भइरहेकोलाई सुरक्षा गर्नु नै बेश हुन्छ। नत्र भने अहिले भएको पनि खोसिएर/हराएर जान सक्छ।

विश्वमा गोर्खालीको भिन्नै पहिचान र परिभाषा छ। गोर्खाली संसारका धरै मुलुकमा छरिएका छन्। ती सबै गोर्खाली नेपाली भने होइनन्। तपाईं जुनसुकै देशको नागरिक भए पनि गोर्खाली हुन सक्नुहुन्छ तर नेपाली होइन। भारतीय गोर्खाली, भुटानी गोर्खाली, बर्मिज गोर्खाली र अरु थुप्रै देशमा बस्नेहरू, नेपाली भाषा बोल्नेहरू, त्यो देशका नागरिक हुन्। भारतमा गोर्खा आर्मी छ, नेपाली आर्मी होइन।

मेरा विचार सबैलाई मन नपर्न पनि सक्छ। आउनुहोस्, तर्क/वितर्क गरौँ। सही र सत्य कुरा बोल्न/लेख्न पछि  नपरौं। देशलाई द्वन्द्वतिर धकेलेर यसलाई जलाउँदै आगो तापेर कसैको हित गर्छु भन्नु र रुखको टुप्पामा बसेर  फेदतर्फ काट्ने बुद्धि एउटै हो। केहीले अंगालेका अहिलेको गतिविधि करिब करिब त्यतै उन्मुख छ। त्यसैले लहड र उत्तेजना हैन, विवेक र संयम जरुरी छ यतिखेर। देश र जनताको सोच्ने दूरदर्शी नेतृत्व भएन भने सबैले  दुःख पाउनुको विकल्प छैन। बेलैमा सोचौँ।

म त यदु वंशको सन्तान। नेपाल देश हुनुभन्दा धेरै अगाडिदेखि यो भूमिको रक्षा गर्दै आएका थिए मेरा पूर्वजले। यदु वंश भनेको परम पवित्र वंश हो। यो त्यस्तो वंश हो जसअनुसार मानव जातिको सबै पापलाई नष्ट गर्नका लागि स्वयं भगवान परब्रह्मले मनुष्यका रूपमा अवतार लिएका थिए। जसलाई हामी श्रीकृष्ण भगवान पनि भन्छौँ। म कुनै पार्टीसँग सरोकार राख्दिन तर गरिब निमुखाले दुःख नपाउन्, जमिनदारको ज्यादति शून्य होस्, हत्या हिंसा नहोस्, मेरो देश नेपालको उन्नति/प्रगति होस् भन्ने एकमात्र चाहना छ मेरो। त्यसैले त गर्व गरेर भन्छु– म नेपाली हुँ, गोर्खाली होइन।

महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायत सामाजिक कार्यमा संलग्न

प्रकाशित: ९ असार २०७४ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App