१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

क्षेत्रीयताभित्र 'भेगीय' प्रतिस्पर्धा

महेन्द्रनगर- राष्ट्रिय राजनीतिमा चाहे अखण्ड सुदूरपश्चिमको सवालमा होस् वा अन्य मुद्दामा नै किन नहोस् 'सुदूरपश्चिमको नाता' ले एकीकृत गराउँछ। फरक राजनीतिक पृष्ठभूमिका नेतादेखि नागरिक समाजले  सुदूरपश्चिमको सबालमा केन्द्रीयस्तरमा जुन किसिमको एकता देखाउँछन्, सुदूरपश्चिमको स्थानीय राजनीतिमा भने क्षेत्रीय र जातीय सबालले अझै गहिरो जरा गाडेको देखिन्छ। सुदूरपश्चिममा पार्टी र सिद्धान्तभन्दा पनि कुन जिल्ला र कुन  समुदायको भन्ने विषयले महŒव राख्ने गरेको छ। र, स्थानीय चुनाव परिणामलाई पनि यसैले प्रभावित गर्ने सम्भावना छ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेका मानिसको बाहुल्य रहेको कैलाली र कञ्चनपुरको चुनावमा कर्णालीवारिको समाज (कवास) कि कर्णालीपारिको समाज (कपास) भन्ने विषय महत्वपूर्ण हुने गरेको छ।

कैलाली र कञ्चनपुरमा गाउँटोलदेखि संसदीय निर्वाचनसम्ममा भेगीय राजनीतिले  ठूलो अर्थ राख्छ। भेग र जातको सन्तुलन नमिल्दा निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने प्रमुख दलको बुझाइ छ। पार्टीबाट टिकट लिने तर मतदाता माझ पुग्दा कहाँबाट बसाइँ सरेर आएको हो भन्ने कुराले अर्थ राख्ने गरेको छ। एउटा पार्टीले जुन भेगको नेतालाई उम्मेदवार बनायो अर्कोले पनि त्यही भेगको नेतालाई अघि सार्ने गरेको देखिन्छ।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेर आएका मानिसको बाहुल्यता रहेको कैलाली र कञ्चनपुरमा कर्णाली वारिको समाज (कवास) कि कर्णाली पारिको समाज (कपास) भन्ने विषय महŒवपूर्ण हुने गरेको छ। त्यस्तै, अछाम र डोटी भन्ने भेगीय नाराले कैलालीमा महŒवपूर्ण अर्थ राख्ने गरेको छ। कञ्चनपुरमा बैतडी र डडेलधुरा भन्ने नाराले निर्वाचनमा स्थान पाउने गरेको छ। त्यस्तै थारु समुदाय पनि यो क्षेत्रमा निर्णायक हुने गरेको छ। प्रमुख दलले यस्तै सूचकका आधारमा उम्मेदवार तय गरेको देखिन्छ।  कैलालीमा डगौरा र राना थारुका साथै डोटेली र अछामेलीको बाहुल्यता छ। धनगढी र आसपास क्षेत्रमा राना थारु र डोटीबाट झरेकाको बाहुल्यता छ। टीकापुर र आसपास क्षेत्रमा डगौरा थारुका साथै अछामबाट झरेकाको बाहुल्यता छ। डोटीबाट झरेकालाई डडेलधुरा र अछामबाट झरेकालाई बाजुरा, बझाङ, बैतडीबाट झरेकाले सहयोग  गर्छन्।

धनगढीका स्थानीय तेजनाथ जोशीले धनगढी र आसपासमा यो जात र त्यो जात वा कुन भेग भन्ने धारणा रहेको बताए। 'अशिक्षित  व्यक्तिबाट त्यस्तो धारणा आउनुलाई स्वाभाविक मान्न सकिन्छ,' सरकारी सेवाबाट निवृत जोशीले भने, 'शिक्षित वर्गको दृिष्टकोण पनि उस्तै छ।' डोटीबाट झरेका पन्त, पनेरु, जोशी, उप्रेतीलाई धनगढीमा सम्भ्रान्त वर्ग भनिन्छ। जोशीबाटै भट्ट र भण्डारी भएको बताउँदै उनीहरूले स्थानीय राजनीति र नेतृत्वमा आफ्नो पकड जमाउन खोज्छन्। धार्मिक र रूढिवादी विषयलेसमेत प्रभावित गर्ने  बताउँदै जोशीले भने, 'सहकारीको चुनावदेखि ठूलो चुनावसम्म यसले प्रभाव पार्छ।' 

टीकापुरमा अछामेलीको मतले निर्वाचन परिणामलाई प्रभावित पार्छ। दाङबाट आएका थारु चौधरीको झन्डै ४० प्रतिशत जनसंख्या टीकापुर र आसपास क्षेत्रमा छ। बाँकी ६० प्रतिशत पहाडिया समुदाय छन्। त्यसमा पनि अछामेलीको बाहुल्यता  छ। तर, पहाडबाट झरे पनि त्यहाँ कर्णालीवारिको समाज (कवास) र कर्णालीपारिको समाज (कपास) भन्ने नारा लाग्ने गरेको छ। यी दुईबीचको सम्बन्ध राम्रो छैन। असार १४ गते हुने स्थानीय निर्वाचनमा कांग्रेस र एमालेले अछामेलीलाई टीकापुरको प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएका छन्।

नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायतले क्षेत्रीयताको कुराले जिल्लाको विकास निर्माणमा सहयोग नपुर्‍याउने बताए। 'अछामेलीको बाहुल्यता छ तर अरुलाई हेप्ने भन्ने छैन,' उनले भने, 'नयाँ ठाउँ भएकाले आफ्नो प्रभुत्व जमाउन त्यस्ता कुरा उठ्ने गरे पनि हामी सबै कैलालीवासी हौं भन्ने बु‰नुपर्छ।' टीकापुर नगरपालिकाका पूर्वमेयर रत्नप्रसाद सन्ज्यालले टीकापुरमा अछामबाट आएकाकाको बाहुल्यता रहेको सुनाए। 'अरुलाई स्वीकार गर्न (अंगाल्न) भन्दा हामी हामी मिलौं भन्ने छ,' उनले भने, 'सदाचारमा होइन राजनीतिमा भने त्यो देखिन्छ।'

त्यस्तै, नेपालको ७६औं जिल्ला भनिने कञ्चनपुरमा विभिन्न जात र समुदायका मान्छेको बसोबास रहे पनि  चुनावी प्रतिस्पर्धा वैतडी र डडेलधुरा भन्ने भेगीय आधारमा हुने देखिन्छ। त्यस्तै, पूर्वीया (कर्णाली पारिबाट आएका) र स्थानीय (डोटेली) भन्ने कुराले पनि निर्वाचनमा स्थान पाउने गरेको छ। यी दुबै पक्षबीचको प्रतिस्पर्धामा सुदुरपश्चिमका नौ जिल्ला एकातिर हुन्छन् भने बाँकी अर्कोतिर। तर, सुदुरपश्चिमभित्रैको प्रतिस्पर्धामा बैतडी र डडेलधुराको क्षेत्रीयता हाबी हुने गरेको छ।

त्यस्तो अवस्थामा दार्चुलाबाट झरेकाले बैतडीलाई समर्थन गर्ने र डोटीबाट झरेकाले डडेलधुराबाट आएकलाई सहयोग गर्ने प्रचलन देखिएको छ। अछाम, बझाङ र बाजुराबाट आएकाले सम्बन्धका आधारमा सहयोग र विरोध गर्छन्। स्थानीय क्लबदेखि संसदीय चुनावसम्म बैतडी र डडेलधुराबाट झरेकाबीच प्रतिस्पर्धा हुन्छ। 

कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत प्रेम भाटले स्थानीयदेखि केन्द्रीय चुनावसम्म भेगीय प्रभाव देखिने गरेको स्वीकारे। सामाजिक विषयमा क्षेत्रीयताले प्रवेश नपाए पनि निर्वाचनमा भने त्यसको असर प्रत्यक्ष पर्ने उनले बताए। 'सिद्धान्त र कसले के गर्‍यो भन्ने मतलब हुँदैन,' भाटले भने, 'कञ्चनपुर र बैतडी, कञ्चनपुर र डडेलधुराबीचको प्रतिस्पर्धा भयो भने पनि कञ्चनपुरको पक्षमा होइन बैतडी र डडेलधुराको पक्षमा ताली बजाउँछन्।' कञ्चनपुरमै जन्मेर हुर्केकामा पनि वैतडी, डडेलधुरा भन्ने भावना रहेको उनले सुनाए।  तर, भेगीय र क्षेत्रीय राजनीतिबाट थारु समुदाय टाढै देखिन्छ।

प्रकाशित: ११ असार २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App