१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘कागजी विवरण बनाई करोडौं अनियमितता’

वीरगन्ज – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्साले यो वर्ष करोडौंको बजेट भागबण्डामा सिध्याएपछि लक्षित क्षेत्रको समुदायबाट विरोध सुरु भएको छ  । लक्षित गाउँका स्थानीयले सोधखोज गरेपछि दुव्र्यवहारमा उत्रिएका कार्यालयका कर्मचारीविरुद्ध जिल्ला प्र्रशासन कार्यालयमा गुनासो पुगेको छ ।

गुनासो गरे पनि सुनुवाइ र छानबिन नगरिएको जिल्लाबासीको आरोप छ । आर्थिक वर्ष २०७३/०७४ मा पर्सामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आठ करोड ९० लाख रुपैयाँ खानेपानीको स्यालो ट्युबवेल (हातेधारा) र आभेर हेड पानी ट्यांकी योजनामा बजेट खर्च गर्न पाएको छ । आर्थिक वर्ष सकिनुभन्दा एक महिना अघिसम्म करिब ६० प्रतिशत रकम खर्च भएको कार्यालयका इन्जिनियर दिनेशप्रसाद साहले बताए । ‘यसमा अधिक रकम स्यालो ट्युबवेलमा खर्च भएको छ, ओभरहेड ट्यांकीलाई अघिल्ला वर्षको योजनामा पनि रकम छुट्ट्याइएको छ,’ इन्जिनियर साहले भने, ‘यकिन रकम कति कति हो, यत्तिकै कहाँ बताउन सकिन्छ र ? हिसाब निकाल्नैपर्ने हुन्छ, समय लाग्छ । जिल्लामा यो वर्ष एक हजार ४६ वटा स्यालो ट्युबवेल गाड्ने योजनामा काम भइरहेको छ ।’ 

ठोस जवाफ नपाएपछि विभिन्न गाउँका सर्वसाधारणले आ–आफ्नो ठाउँको योजना विवरण माग्न थालेका छन् । यसै क्रममा अनियमितता बाहिरएको हो । कार्यालय प्रतिनिधिका गतिविधि र भएका काम शंकास्पद देखिएपछि साबिक गम्हरिया गाविसका स्थानीयले चैत २८ मा सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरी आफ्नो गाउँमा जडान भएको स्यालो ट्युबवेलको विवरण मागेका थिए । ‘पैसा लिएर मात्र धारा दिएको प्रमाण जुटाउन नसकिए पनि अनियमितता भएको यकिन प्रमाण छ,’ गम्हरियाका अवधकिशोर साहले भने, ‘छानबिन गर्ने निकायले आएर जाँच गरोस् ।’ इस्टिमेटमा कटौती र कागजमा मात्र धारा जडान गरी भारी रकम भागबण्डा भएको उनले दाबी गरे । 

आर्थिक हिसाबकिताब लुकाएर कार्यालयले उपलब्ध गराएको ७८ पन्ने विवरणले नै अनियमितता प्रस्ट पारिसकेपछि स्थानीय जिल्ला प्रशासन पुगेका हुन् । डिभिजन कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेखित ठाउँमा जडान गएिको धाराको गहिराइ ‘साहुल’ (टुप्पोमा वजन बाँधिएको डोरी) बनाएर स्थानीयले नापे । कार्यालयका प्रतिनिधिको उपस्थितिमा भएको नापमा उल्लेखित इस्टिमेटभन्दा कम गहिराइ फेला पर्‍याे । यसरी सुरुमा दुई सय ५० फिट धारा गाड्ने बताएर त्यसमा घटाइ, लाग्ने पाइपको खर्च र प्रतिफिटको हिसाबमा तय हुने धारा गाड्ने कामदारको ज्याला कर्मचारीले अनियमितता गरेको पाइएको स्थानीयको आरोप छ । इन्जिनियर साहले भने गम्हरियामा दुई सय ४० देखि दुई सय ५० फिटसम्म गहिरो धारा गाडिएको दाबी गरे । 

वास्तविकता भने फरक छ । क्यामुदिन मियाँको घरनिर गाडिएको धारा दुई सय ५० फिट गहिरो बताइएको थियो, नाप्दा एक सय ३० फिट फेला प¥यो । विश्वनाथ महतोको घरनिर गाडिएको धारा एक सय ४० र बिशुन ठाकुर लोहारको घरनजिक गाडिएको धारा एक सय १० फिटमात्र भेटियो । दलित समुदायका बलराम रामको घरअगाडि एक सय ३० फिटमात्र फेला परेको धारामा पानी निस्किएकै छैन । केही धारामा पानी नै ननिस्किने र केहीमा मुस्किलले निस्किने गरेको स्थानीय जगदीशप्रसाद कलवारले गुनासो गरे । सुग्रिम मियाँको घर नजिकको धारा एक सय ६० र मस्जिद प्रांगणमा गाडिएको धारा एक सय ८५ फिट गहिरो भेटियो । धार्मिकस्थलमा समेत बेइमानी गरिएपछि गाउँलेमा आक्रोश छ । यो वर्ष गाडिएको ३४ वटा धारामा एउटा पनि दुई सय ५० फिट भेटिएको छैन  । पोहोरको १२ वटामा पनि उस्तै तथ्य भेटियो । 

जमिनभित्र लुकेको अनियमिता गाउँलेले डोरी हालेर नापेपछि कार्यालयका कर्मचारीमा खैलाबैला मच्चिएको छ । उनीहरु अब गहिराइ अनुसारको मात्र हिसाब जोडिने बताउन थालेका छन् । ‘इस्टिमेटभन्दा स्थलमा काम गर्दा फरक पर्न सक्छ, जहाँ कम गहिराइमै, पानी भेटियो त्यहाँको त्यसै अनुसार रेकर्ड बनाउने हो, ठूलो कुरा होइन,’ गम्हरियाको खानेपानी स्यालो ट्युबवेल जडानको जिम्मेवारी लिएका इन्जिनियर रामहित यादवले भने, ‘हँुदै नभएको नाम उल्लेख भएर कसरी आयो भन्नेबारे अब खोजी गर्ने विषय भयो । स्थानीय समितिले स्थान छनोट गर्दा सर्वे रिपोर्टमा भएका मानिसको नाम छनोट गर्ने हो, हामीले घर चिनेका हुँदैनौं, र कहिलेकाहिँ फरक पर्ने गरेको छ ।’

कार्यालयले प्रमाणित गरेर उपलब्ध गराएको सूचनामा उल्लेखित कतिपय ठाउँमा धारा गाडिएकै छैन । विवरण मात्र कागजमा छ । कार्यालयले धारा नै नगाडी ललन साह सोनार, राजकिशोर साह, कैलाश महतोको नाम धारा गाडिएकाहरुको सूचीमा राखेको छ । त्यस्तै आफैंले धारा गाडेको रामचन्द साहको धाराको विवरण खडा गरिएको छ । यसरी इस्टिमेटबाट कटौती गरेर र कागजमै धारा गाडेर पैसा हिनामिना गरिएको फेला परेपछि आफू उनीहरुलाई कारबाही गराउन लागिपरेको सूचना मागकर्ता सरोजप्रसाद साहले बताए । पोहोर स्थानीय ठाकुरराम चमारलाई संरक्षक बनाई धारा गाडिएको कुरा कार्यालयले विवरणमा फर्जी रुपमा उल्लेख छ । दलित समुदायका उनलाई यसको जानकारी पनि थिएन । 

अझ गम्हरियामा साबिक घर भई भौराटारमा बस्ने आधा दर्जन व्यक्तिलाई गम्हरियाको बजेटबाट धारा यसैगरी उपलब्ध गराएकोमा पनि स्थानीयको आपत्ति छ । ‘मेरा गाउँका मानिस वीरगन्ज र काठमाडौं बस्ने पनि छन्, के कार्यालयले उनीहरु बसेकै ठाउँमा गएर धारा गाडिदिने हो ?’ सरोजले भने, ‘यो गलत गर्नु पछाडिको मनसाय र उद्देश्य के होला ? जसले खुसी पार्न सक्यो उसलाई धारा दिएको बुझिन्छ ।’

डिभिजन कार्यालयले आवश्यकता रहेको ठाउँका स्थानीयको निवेदन लिएर त्यसमध्ये एकजनालाई संरक्षक तोकी सार्वजनिक ठाउँमा धारा जडान गर्ने हो । सिर्सियामा एकै परिवारका चार जनालाईसम्म बेग्लाबेग्लै संरक्षक बनाई कार्यालयले अलगअलग धारा जडान गरिदिएको छ । त्यहाँ मरिसकेका सुलेमान मियाँलाई संरक्षक उल्लेख गरी निजी ठाउँमा धारा जडान गर्न दिएको स्थानीय राजेश चौहानले बताए । चौहनले सूचना माग गर्न जाँदा कार्यालयका कर्मचारीले निवेदन टेबुलबाट उठाएर फालिदिएर दुव्र्यवहार गरेको उनले गुनासो गरे । इन्जिनियर साहका अनुसार सो गाउँमा दुई सय १० देखि दुई सय २० फिटसम्ममा धारा गाडिएको छ । चौहान त्यहाँ सयदेखि डेढ सय फिटसम्म गहिरो मात्र धारा गाडिएका छन् । 

एउटा धाराको इस्टिमेटबाट दुई ठाउँमा गाडेर अर्कोको सबै पैसा कर्मचारीले खाइदिएका उदनहरण पनि रहेको उनले बताए । गाउँमा अहिले नबस्ने मुख्तार मियाँ, हसिम मियाँ, अफरोज मियाँ र वकिल मियाँको नाउँमा एउटा कागजी समिति बनाएर जामदार मियाँलाई धारा दिइएको छ । बाबु सुबेदार मियाँको नाममा एउटा र छोरा मकसुदको नाममा अर्को समूह उल्लेख गरी दुवैलाई धारा दिएको चौहानले बताए । ‘बजार मूल्य अनुसार सामानको दाम र चलनचल्तीको ज्याला जोड्दा १८ देखि २२ हजार पर्ने धारो गाउँलेले पाँच हजारसम्ममा किनेका हुन्,’ चौहानले भने, ‘नभएर १० मिटरको दूरीमा चार–चारवटा धारा कुन हिसाबले गाडिएको हो ?’     

प्रकाशित: ११ असार २०७४ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App