२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोरीको हत्या आरोपी पक्राउ गर्ने डिल्लीमायाको माग ६ वर्षपछि पूरा

काठमाडौं- १४ वर्षीया बालिका सुन्तली तामाङको हत्या आरोपी श्याम राउत ६ वर्षपछि बल्ल पक्राउ परेका छन्। घटनालगत्तै भागेर दिल्ली पुगेका उनलाई प्रहरीले उतै नियन्त्रणमा लिएर नेपाल ल्याएको हो। २०६८ माघ ५ मा हराएकी सुन्तलीको शव १६ दिनपछि फेला परेको थियो। अनुसन्धानमा उनको बलत्कारपछि हत्या भएको देखिएको थियो। राउतविरुद्ध किटानी जाहेरी परे पनि भारतमा लुकेर बसेकाले पक्राउ परेका थिएनन्। विश्वस्तस्रोतका अनुसार राउतलाई प्रहरीले भारतमा नियन्त्रणमा लिएर नेपाल ल्याइसकेको छ।

कक्षा ७ मा पढ्दै गरेकी सुन्तलीलाई सैपु १ खुदुर्री बस्दै आएका १९ वर्षीय राउतले बलत्कार र हत्या गरेका थिए। उनी घर नजिकै रहेको सिरिसे बजारमा सामान किनेर घर फर्कदै थिइन्। उनी हराइन्।

सुन्तली हराएको रात उनीहरुले जंगलमा कुनै युवती चिच्च्याएको आवाज सुनेका थिए। तर त्यो आवाज छोरीको हो भन्ने चाल पाएनन्। हराएको १६ दिनपछि लिखु नदी किनारमा उनको शव फेला परेको थियो। शव फेला पर्दा कम्मर मुनी कपडा थिएन।

६ वर्षसम्म पनि छोरीको बलत्कार र हत्यामा संलग्न पक्राउ नपरेकोमा उनकी आमा डिल्लीमाया तामाङ न्याय माग्दै काठमाडौं आएकी थिइन्। काठमाडौं आएर लामो समय बसे पनि छोरीको हत्यामा संलग्न पक्राउ नपरेपछि उनी निरास भएर रामेछाप फर्किए पनि प्रहरीले अनुसन्धानको काम भने छाडेको थिएन।

प्रहरी नै शंकामा

१४ वर्षीया बालिकाको बलत्कार र हत्याको घटनाको गम्भिर अनुसन्धानको साटो प्रहरीले जाहेरी समेत नलिइ उल्टो पीडकको पक्ष लिएपछि सुन्तली हत्या घटनाको अनुसन्धान प्रहरीको लागिसमेत साखको विषय बनेको थियो।

सुन्तलीको परिवारले घटनापछि राउतविरुद्ध जाहेरी दिन खोज्दा रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासले जाहेरी दर्ता र अनुसन्धानको साटो मिलमपत्र गर्न दबाब दिएको सार्वजनिक भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको थियो। उनी काठमाडौं तानिएपछि २०६८ फागुन ३ मा आरोपी राउतविरुद्ध जाहेरी दर्ता भएको थियो।  प्रहरीको आलोचना बढेपछि केन्द्रले नै घटनाको अनुसन्धान गरे पनि सफल हुन सकेको थिएन।

दिल्लीमा भेटिए राउत

राष्ट्रिय मानवअधिकार आयोग लगायतकाले तामाङको घटनाको अनुसन्धान र दोषीमाथिको कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराए पनि आरोपी राउत फेला परेनन्।

आरोपी राउतको परिवारको दवावका कारण तामागं परिवार रामेछापको सिसन्दूबाट बसाई सरेको थियो। डिल्लीमाया काठमाडौं धाउनेक्रम भने रोकिएको थिएन।

सरकारको आदेशमा घटनाको ४ वर्षपछि ६ लाख क्षतिपूर्ती दिएको थियो। तामाङ परिवार छोरीको बलत्कार र हत्यामा संलग्न आरोपी पक्राउको प्रतिक्षामा थियो। तर प्रहरी सफल हुन सकेको थिएन।

अनुसन्धानमा राउत दिल्लीमा रहेको सूचना आएपछि उनको खोजीका लागि काठमाडौंबाट गएको प्रहरीले उनलाई दिल्लीमा नियन्त्रणमा लिएर आइतबार काठमाडौं ल्याएका छन्। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार राउतले आफूले आवेशमा आएर बलत्कार गरेको र पछि पोल खुल्ने डरले हत्या गरेको दाबी गरेका छन्।

प्रकाशित: १२ असार २०७४ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App