३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङमा ठाउँ ठाउँमा बम, मेयर उम्मेदवार र सांसदमाथि आक्रमण

दाङ- निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घरसहित ५ स्थानमा बम फेला परेका छन्। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ। गिरीको घरमा मंगलबार बिहान बम फेला परेको थियो।

यसैगरी तुलसीपुरकै बीपी चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ। अरनिको मैदानमा बुधबार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ। मेयर उम्मेदवारको घर सहित तुलसीपुरमा फेला परेका तीन स्थानका बम नेपाली सेनाले डिष्पोज गरेको छ।

यस्तै घोराही उपमहानगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमको घरमा पनि शंकास्पद बस्तु फेला परेको छ। घोराहीस्थित ट्राफिक चोकमा पनि बम फेला पारेको प्रहरीले जनाएको छ। निर्वाचन विरोधी गतिविधि गर्दै आएको विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले सो बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यसैबीच, निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दका कारण दाङसहित दोश्रो चरणको निर्वाचन हुने जिल्लाहरु प्रभावित भएका छन्। बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन् भने बजार, उद्योगहरु पनि बन्द छन्।

मेयर उम्मेदवारमाथि आक्रमण

तुलसीपुर उपमहानगरपालिकाका कांग्रेस बाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी माथि आक्रमण भएको छ। तुलसीपुरको मानपुरस्थित कांग्रेस नेता श्याम रेग्मीको घरमा जाने क्रममा उनी चढेको गाढीमा आक्रमण भएको थियो। गिरीले आफूमाथि आक्रमण गर्ने समूह एमालेका कार्यकर्ताहरु रहेको दाबी गरेका छन्। आक्रमणबाट सवार बा१४च ६३५८ नम्बरको जीपको सिसा फुटेका छन्। गिरी भने सकुशल छन्। 'श्याम रेग्मीजीले घरमा बोलाएकाले म मानपुरतर्फ जाँदै थिएँ। गाडी कुदिरहेकै बेला एक्कासी ढुंगा बर्सिए, त्यो समूह एमालेका कार्यकर्ता हुन्, मैले चिनेकै अनुहार पनि त्यहाँ थिए,' उनले भने। उनले आफूमाथि भएको आक्रमणमा संलग्नहरुलाई तत्काल कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेका छन्।

सांसदमाथि आक्रमण प्रयास

कांग्रेस सांसद डिल्ली चौधरीमाथि पनि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए।

उक्त घेराबाट उम्किएर तुलसीपुर आइपुगेका चौधरीले पत्रकार सम्मेलन गरेर आफू भाग्यले जोगिएर फर्किएको बताएका थिए। 'मौन अवधिमा म प्रचारका लागि गएको थिइनँ, परिवारका सदस्यको निधनले शोकमा रहेको परिवारलाई समवेदन व्यक्त गर्न गएको हुँ,' उनले भने, 'मौन अवधिमा मृतकको घरपरिवारलाई समवेदन प्रकट गर्न जानु पनि अपराध हो?'

आफू सांसद भएकाले निर्वाचन आचारसंहितालाई कसरी पालना गर्नुपर्छ भन्ने हेक्का रहेको भन्दै उनले एमालेबाट निकै ज्यादतीपूर्ण व्यवहार गरिएको बताए। उनले आफूमाथि आक्रमणको प्रयास गर्नेहरुलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

प्रकाशित: १३ असार २०७४ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App