१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

मक्वाइल, प्रेस र प्रधानमन्त्री

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संस्थागत गर्ने सन्दर्भमा अघिल्लो शताब्दीमा कैयन् उल्लेखनीय प्रयास भए। तर यो शताब्दीका आउँदा दिनमा आमसञ्चार माध्यमको उत्तरदायित्व सम्बन्धमा पनि उत्तिकै जोड दिनुपर्ने आवश्यकता छ । संयुक्त राज्य अमेरिकाको हचिन्स कमिसन अर्थात कमिसन अन फ्रिडम अफ द प्रेसले चार वर्ष लगाएर एउटा दिशानिर्देशक प्रतिवेदन जारी गर्नुअघि उत्तरदायित्वको सिद्धान्तलाई प्रेसमाथिको नियन्त्रण वा सरकारको हस्तक्षेपसँग जोड्ने गरिएको थियो । तर दोस्रो विश्वयुध्द समापनको दुई वर्षपछि सार्वजनिक त्यो प्रतिवेदनले जनताको विश्वास जित्न र अधिक स्वतन्त्रता उपभोग गर्न आमसञ्चार माध्यमले पनि जवाफदेहिता र उत्तरदायित्व बहन गर्नैपर्छ भन्ने मान्यता अघि सा¥यो । नयाँ मिडियाको असीमित प्रसार भएको अहिलेको संसारमा उत्तरदायित्व, नैतिकता अनि परिपक्वता नै पत्रकारिताका खास पहिचान हुन् । अभिव्यक्तिका साधन र द्रूत सञ्चार गर्ने माध्यम व्यक्तिको हातहातमा छन् । नागरिक पत्रकारिताको हावा चलेको आजको युगमा व्यावसायिक पत्रकारिताको विशिष्ट स्थान अब यसको नैतिक पक्ष र जिम्मेवार अभ्यासले मात्र सुरक्षित गर्न सक्नेछन् ।
उनी बितेको पनि एक साता पूरा भयो, पत्रकारिताका विद्यार्थीमाझ विश्वव्यापीरूपमा सुपरिचित डेनिस मक्वाइल अब यस संसारमा छैनन् । जीवनको अन्तिम कालतिर आमसञ्चार तथा पत्रकारिताको सिध्दान्त, अभ्यास र अनुसन्धानका यी विश्वप्रसिद्ध विद्वान् मिडियाको उत्तरदायित्वका विषयमा अझ बढी डिस्कोर्स चलाउन चाहन्थे । पत्रकारिता वा आमसञ्चार विज्ञान अध्यापन गरिने नेपाललगायत संसारका सबै देशका विश्वविद्यालयमा बत्तीस वर्षअघि पहिलो पटक प्रकाशित मास कम्युनिकेसन थ्योरीको नाम नसुन्ने शिक्षक–विद्यार्थी विरलै होलान् । सात वर्षअघिसम्म उनी यसमा परिमार्जन गर्दै थिए, त्यो वर्ष छैंठौ संस्करण निस्किएको थियो । आउने समयमा पनि यसका नयाँ–नयाँ मुद्रण र संस्करण अवश्य सार्वजनिक हुँदै जानेछन् । अनि उत्तरदायी पत्रकारिताको विश्वव्यापी आकांक्षामा उनी जीवित रहिरहने छन् ।  
यस्तै–यस्तै एक दर्जन पुस्तकका लेखक वा संयुक्त लेखक मक्वाइल वेलायत, नेदरल्यान्ड र फेरि वेलायतमा गरी पाँच दशकदेखि अध्यापन र अनुसन्धानमा तल्लीन थिए । उनी राजनीतिले मिडिया स्वतन्त्रताको वृत्तलाई साँघुरो पार्न सक्ने खतराप्रति सजग रहन आह्वान गर्थे । तर स्वतन्त्रताको आजको युगमा मिडियाले आफ्नोतर्फबाट जिम्मेवारीवोध, जवाफदेहिता र पारदर्शिताका मानदण्ड आमउपभोक्ताले मापन गर्न सक्ने गरी तय गर्नुपर्छ भन्नेमा पनि जोड दिन्थे ।
दुई दशकअघि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रूपमा मिडियाको उत्तरदायित्व शीर्षकमा प्रवचन दिएपछिका दिनमा उनी यही विषयमा यति तल्लिन भए यो शताब्दीको सुरुवातमै, सन् २००३ मा उनको अर्को कालजयी कृति सार्वजनिक भयो, मिडिया अकाउन्टाविलिटी एण्ड फ्रिडम अफ पब्लिकेसन । मिडियाको उत्तरदायित्व र जवाफदेहिता सम्बन्धमा वर्षौंको अध्ययन, अनुसन्धान र छलफलपश्चात उनले तयार गरेको मोडेल यस प्रकाशनमा समाहित छ । उनको अवधारणाअनुसार स्वतन्त्र आमसञ्चार माध्यमका जिम्मेवारी पूरा गर्नैपर्ने दायित्वका रूपमा हुन्छन् जसलाई दबाब दिएर पूरा गर्न लगाइन्छ कि मिडियालाई पालनाको करारमा राजी गराइन्छ, कि त मिडियाका तर्फबाट स्वयं इमानदारीपूर्वक पालना गर्ने अवस्था सिर्जना गरिन्छ । यस सन्दर्भमा मिडिया व्यक्ति वा पात्र, संस्था र समाजप्रति कानुनी, सामाजिक वा नैतिकरूपमा दायित्व निर्वाह गर्ने पक्ष वा जवाफदेही पक्षको भूमिकासहित जिम्मेवार हुन्छन् । यही परिबन्दले नै आमसञ्चार माध्यमको उच्चस्तरीय कार्यदक्षता वा व्यावसायिक अभ्यास प्रत्याभूति गर्छ ।
समाजका अनेक विषयवस्तुझैं आमसञ्चार माध्यमको उत्तरदायित्वको प्रश्न पनि खासखास समयमा मुखर हुने गर्छ । बिबिसीको नामसँग जोडिएको भए पनि त्यसको सम्पादकीय नेतृत्वभन्दा बाहिर रहेको संस्थाबाट सञ्चालित टेलिभिजन कार्यक्रममा देखिएको हाम्रा प्रधानमन्त्रीसँगको चर्काचर्कीको प्रसंगसँगै यो प्रश्न फेरि उठेको छ । मक्वाइल यस्तै प्रकृतिका घटना–सन्दर्भको समीक्षा गर्दै मापन गर्न सकिने किसिमको व्यावहारिक सूत्रको विकास होस् भन्ने चाहन्थे । बीसौं र एक्काइसौं शताब्दीका आमसञ्चारसम्बन्धी अवधारणाका सेतु यी महान् अध्येता उत्तरदायी मिडियाको विकास गर्न सक्ने त्यस्तो सूत्रलाई अभ्यासमा उतारिएको देख्न चाहन्थे । उनीप्रति नेपाली भूमिबाट श्रध्दाञ्जली व्यक्त गर्दैगर्दा मिडियाका यस्ता अभ्यासलाई एउटा दृष्टान्तका रूपमा केलाउन सकिन्छ ।
देउवाले उक्त कार्यक्रममा हाँसीहाँसी सोध्नेलाई मात्र होइन, सुन्नेलाई समेत दह्रो जवाफ प्राप्त हुने गरी त्यही मञ्च प्रयोग गर्दै आफ्ना कुरा राख्न सक्नुपथ्र्यो । तर प्रधानमन्त्रीजस्तो मान्छे त्यसरी सम्भावित प्रश्नको मोटमोटी आकलन नै नगरी आएजसरी प्रस्तुत भए । सरकार प्रमुखले नीतिगत प्रश्नबाट ओर्लिएर के–कहाँ–किन प्रकृतिका उत्तर दिनपट्टि लागेर साध्य हुँदैन भन्ने पनि उनलाई हेक्का भएन । उनले स्वयं आफ्नो कमजोरीको सार्वजनिक प्रदर्शन गरे ।
कुशल राजनीतिकर्मीमा असहज प्रश्न वा आक्रोशलाई पनि आफूअनुकूल मोड्ने क्षमता हुने गर्छ । जतिबेला प्रधानमन्त्री अन्तर्वार्ता दिंँदै थिए, क्यानडाका प्रधानमन्त्री आफ्नो देशको एक सय पचासौं स्थापना दिवस मनाउँदै थिए । तर क्यानडा दिवस मनाउने तयार गरिरहँदा आदिवासीले उनको कार्यालयअगाडि विरोध जनाउँदै प्रश्न उठाए– हामी त यही माटोमा हजारौं वर्षदेखि छौं, कसरी एक सय पचासौं जन्म दिवसको कुरा आयो ? प्रधानमन्त्री जस्टिन ट्रुडो धर्नाकारीले टाँगेको टेन्टमै पसेर वार्ता गर्न थाले । भोलिपल्ट, पहिलो जुलाइका दिन उनले वेलायती युवराज चाल्र्सलाई साक्षी राख्दै विशाल समारोहमा आफ्नो मन्तव्यको सुरुवातमै ताली खाने गरी सन्देश संप्रेषण गरे । क्यानडाको नामै नलिई भने– हामी संघको एक सय पचासौं वार्षिकोत्सव मनाउँदै छौं । त्यसपछि उनले आदिवासीसँग अघिल्लो दिन भएको समझदारीको अनुमान गर्न सकिने गरी भने– क्यानडाको कथा संघको निर्माणभन्दा धेरै पहिलेसम्म पुग्छ, पहिलेका बासिन्दासम्म पुग्छ, जसले मेहनत गरे, यो माटोको माया गरे र आफ्नो जीवनलाई यहाँको धर्तीमा अघि बढाए । प्रधानमन्त्रीले आदिवासीसँगै गोरा र अन्य सबै जातिकालाई पनि समेट्दै भने,– यो देशको कथा उनीहरूसम्म पनि पुग्छ जो शताब्दिऔंपछि आफ्ना परिवारका लागि उन्नत जीवनको खोजीमा यस धर्तीमा आए । अलिकति धैर्य गरेर सोचविचार गरी दिइएको अभिव्यक्तिका कारण उनले फस्र्ट नेसन्स, इन्युट र मेटिज जस्ता आदिवासी र पछि बसोबास गर्न आउने आप्रवासी सबैलाई चित्त बुझाए । हाम्रा प्रधानमन्त्रीले भने म किन र के बोल्न जाँदैछु भन्ने पनि सोचेको देखिएन ।
यति हुँदाहुँदै पनि यही कार्यक्रमको अर्को पाटो पनि छ । देशको राजनीतिकै कारण युवा पंक्तिमा छाएको निराशा अहिलेको यथार्थ हो । तर निराशाले उत्पन्न गर्ने आक्रोश जस्ताको त्यस्तै शैली र भाषामा यस्ता कार्यक्रममा पोखिनुपर्छ भन्ने छैन । यस्ता कार्यकक्रममा आमजनताको प्रतिनिधिका रूपमा छानेर निम्त्याइने र आसन गराइने हरेक व्यक्तिको अभिव्यक्तिको जिम्मेवारी सञ्चालक वा उत्पादकले लिनुपर्छ । हरेक व्यक्तिकोे शान्तिपूर्णरूपमा अभिव्यक्तिमार्फत सार्वजनिक विषयमा आक्रोश व्यक्त गर्न पाउने अधिकारको सम्मान गरिनुपर्छ भन्ने एक ठाउँमा छ । तर कार्यक्रममा बोलाएर कुनै राजनीतिकर्मीलाई प्रश्नको नाममा कुनै आक्रोशित युवकको भाषण सुन्न बाध्य पार्नु भने गैरजिम्मेवार कार्य हो ।
सरकार र राजनीतिकर्मीविरुद्धको आक्रोशको यस्तो नाटकीय प्रस्तुति सस्तो लोकप्रियताका लागि मात्र उपयोगी हुन सक्छ । प्रधानमन्त्रीबाट प्रश्नका उत्तर नै खोजिएका थिए भने प्रश्न नै सोधिनुपथ्र्यो । त्यस कार्यक्रममा उठाइएका प्रश्नको उत्तर कि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयका सचिवलाई फायल खोलेर जानकारी दिन लगाउनुपर्ने प्रकृतिका थिए कि त चलाखीपूर्वक सम्बोधन गरिनुपर्ने किसिमका थिए । देउवाबाट त्यस्तो बौद्धिक क्षमताको आशा कसैले गरेको छैन् । तर प्रश्नका नाममा हिरालाई ढुंगा बनाइयो भन्ने आरोपबाट सुरु गरिएको वाक्यांश र आत्मपरक टिप्पणी समावेश गरिएको प्रश्नले व्यावसायिक पत्रकारिताको ध्येयमाथि आघात गरेको मान्नैपर्छ । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन वा यस्तै कुनै सम्मानित संस्थाको अन्तर्वार्ता वा टक सो चलाउँदा ख्याल गर्नुपर्ने नैतिक पक्षसम्बन्धी निर्देशिका सर्सर्ति हेरेमात्र पनि यति कुरा थाहा हुन्छ ।
बेलाबखत देखिने पत्रकारिताका यस्तै असंगत अभ्यासले विश्वभरका सञ्चारकर्मीलाई मक्वाइलबाट प्राप्त शिक्षाको स्मरण गर्न झक्झक्याउनेछ । उनी मिडियाको उत्तरदायित्वको सिद्धान्तको व्याख्या गर्दैगर्दा मिडियासँग व्यावसायिकताका खास मापदण्डहरूको अपेक्षा त गर्थे नै, मिडियाको स्वतन्त्रताउपर अलिकति पनि आँच आउनुहुँदैन भन्नेमा पनि उत्तिकै सजग थिए । आमसञ्चार माध्यमको समाजप्रतिको उत्तरदायित्व वा सामाजिक उत्तरदायित्वको अवधारणा सरकारी हस्तक्षेप निम्त्याउने बहानाका रूपमा दुरुपयोग नहोस् भन्ने कुरामा विशेष सचेत हुनैपर्छ भन्ने उनको मत थियो । मुख्य कुरा, मिडियाले कुनै पनि व्यक्तिमाथि अन्याय गरेको देखिनुहुँदैन । स्वतन्त्र मिडिया स्वतन्त्र समाजको पूर्वाधार अवश्य हो, यस्ता मिडिया स्वतन्त्रताको सीमालाई झन् झन् फराकिलो पार्दै लैजान्छन् । तर यस्तो लोकतान्त्रिक आदर्शमा अग्रसर हुने आमसञ्चार माध्यम प्रेस स्वतन्त्रता र उत्तरदायित्वबीच रहँदै आएको तनावको उचित व्यवस्थापन गर्न सक्ने सार्मथ्यसहितको हुनैपर्छ ।

 

प्रकाशित: २१ असार २०७४ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App