सूर्योदयको किनारादेखि सूर्यास्तको अन्तिम ढोकासम्म अर्थात् पूर्वको इलामदेखि पश्चिमको अमरगढीसम्म नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय सरकारमा कब्जा जमाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व कुशलतासामु नेपाली कांग्रेस र माओवादी नेतृत्व बाउन्ने सावित हुन पुगेको छ। गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय सरकार चुनावमा जसरी एकछत्र रजाइँ एमालेको भएको थियो दोस्रो चरण पनि त्यसैको पुनरावृत्ति भयो । दोस्रो चरणमा नेपाली कांग्रेस पहिलो स्थानमा आउनेछ भनी बुद्धिविलास गर्नेहरूका लागि अपत्यारिलो जवाफ भएको छ । तर एक डेढ वर्षको राजनीतिक धारमाथि सूक्ष्म विश्लेषण गरिरहेकाहरूमा भने कुनै आश्चर्य भएको छैन । एमालेको यो वर्चस्व स्वाभाविक परिणाम हो भनेर उनीहरू मानिरहेका छन् ।
अमरगढीमा सूर्यको झण्डा फहराएर वर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाकमा घाउ लगाइदिएको छ नेकपा एमालेले । यो चहराइरहने घाउको पीडा देउवाका लागि लामो समयसम्म अनुभव हुने निश्चित छ । किनकि डडेल्धुरामा एकछत्र राजनीति गरिरहेका ‘शेरे पश्चिम’ को ढोकामा कठोर प्रतिपक्षको नमिठो संकेत पुगेको छ । देउवाको पश्चिममात्र होइन, तीन दशकदेखि कुण्डली मारेर बसेको राजनीतिक महल यसपटक ध्वस्त भएको छ । कुनै पनि लोकतन्त्रवादीका लागि र त्यसमा पनि नेपाली कांग्रेसका सदस्यका लागि यो सुखद क्षण होइन । देउवाको किल्ला ध्वस्त हुनुको अर्थ धेरैतिर अनेक लाग्ने हुनसक्छ । नेपाली कांग्रेसमा स्थायी विपक्ष बनाएर र भाग र अंशबन्डाको राजनीतिलाई मलजल गर्नेहरूका लागि देउवा किल्ला ध्वंस हुँदा राजनीतिक ऊर्जा थपिदिएको मानिनेछ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका लागि दिग्विजयजस्तै भएको छ । सत्ता समीकरणका लागि निरर्थक लाग्न सक्छ । देउवाको उत्थानका कारण आफ्नो पतन ठान्नेहरूलाई पुनर्जीवन मिलेको हुनसक्छ र स्वयं देउवाका लागि यो क्षण शक्ति क्षीणको प्रथम पाइला मानिन सक्छ । देउवाका हातमा अहिले कांग्रेसको नेतृत्व छ । उनमा विश्वास गर्नेहरू गलत ढंगले उनको प्रशंसामा शब्द खर्च गरिरहेका हुन सक्छन् । यतिबेला देउवाका लागि सल्लाहकार, प्रशंसक, सेवकहरू होइन, हितैषी आवश्यक पर्नसक्छ । प्रिय÷अप्रिय जे भए पनि उनको हितका कुरा गर्ने हितैषी सही साथी हो राजनीतिमा । तर हितैषीले प्रिय कुरा गर्दै सेवा गर्ने काम गर्दैन । देउवाका लागि हितका कुरा कति पाच्य हुने हुन् र कति अपाच्य । राजनीतिक कुण्डलीको घेराबाहेक अन्यत्रका कुनै पनि विचार सुन्ने बानी नभएका देउवाका लागि अहिले हितवचनको आवश्यकता नहुन पनि सक्छ । तर अमरगढीले लगाएको नाकको घाउमा मलम लगाउने हो भने हितवचनकै आवश्यकता पर्छ । यद्यपि यो पटकको निर्वाचनमा पुतलीबजार, गैंडाकोट, बनेपा जस्ता किल्लादेखि तम्घास जस्तो कांग्रेस किल्लालाई एमालेले भत्काइदिएको छ ।
एकताका निर्दलीय पञ्चायती सत्ताका सर्वाधिक सफल खेलाडी सूर्यबहादुर थापाको सिंगो जिल्ला धनकुटालाई सूर्यको प्रचण्ड तेजभित्र समेट्न सफल भएको छ नेकपा एमाले । कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र कसैले पनि धनकुटामा आफ्नो तम्वु राख्ने स्थान पाएनन् । एमालेका लागि यो वास्तवमा सफलताको उत्कर्ष हो । त्यसो त एमालेका प्रभावशाली नेता वामदेव गौतमका नाकमा समेत घाउ लागेको छ । बर्दियालाई करिब आफ्नो राजनीतिक विर्ता ठान्ने गौतमको जिल्ला सदरमुकामको नगरपालिका गुलरियामा पराजय हुन पुगेको छ र त्यहाँ कांग्रेसले वाजी मारेको छ । जे भए पनि एमालेको चमत्कारपूर्ण प्रभावकै क्रममा २०४८ देखि नै रुखको छहारी नपाएर सूर्यको तातोमा जलिरहेका भोजपुरबासीमा यो पटक थोरै भए पनि पिपलको छहारी मिलेको छ । कांग्रेसको त्यो सफलता आफैँमा महत्वपूर्ण छ । ।
निर्वाचन ठूलो परिणामको प्रजातन्त्रका लागि एउटा आवश्यक राजनीतिक संयन्त्र हो । राजनीतिक संस्था भनेर यसलाई रवर्ट ए. डाहलले परिभाषित गरेका छन् । डाहलका अनुसार ठूलो परिणामको प्रजातन्त्रका लागि निर्वाचित पदाधिकारी, स्वतन्त्र, निष्पक्ष र नियमित चुनाव, अभिव्यक्ति स्वतन्त्रता, सूचना जानकारीका वैकल्पिक स्रोत, संघ÷संस्थाको स्वायत्तता र सबैलाई सामेल गरिने नागरिकता महत्वपूर्ण राजनीतिक संस्था हुन् । नेपालको लोकतन्त्रले स्थायित्व हासिल गरेको छैन । लोकतन्त्रका पुराना अभ्यासक्रमशः विस्थापित हुँदै नयाँ मान्यता संस्थापन हुँदैछ । निर्वाचनको विधिबाट लोकतन्त्रको भविष्य र स्थायित्व सम्भव छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबभन्दा तल्लो तहबाट आफूलाई सवल बनाउनुपर्ने हुन्छ । स्थानीय सरकारको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरामा पानी हालेको छ । अर्को शब्दमा जग बसाउने काम गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो पटक हुँदै गरेको निर्वाचन शृंखलाको दोस्रो चरण सम्पन्न भएको छ । अझै यसले अर्को खुड्किलो पार गर्नुपरेको छ। त्यो गौंडो निकै अप्ठेरो छ ।
तेस्रो चरणको निर्वाचन वर्तमान संविधानका लागि सबैभन्दा असजिलो गौंडो हो । यो गौंडो पार नगरी निर्वाचनको अर्थवत्ता पूर्ण हँुदैन र संविधानको सफलता पनि दर्ता हुँदैन । देशव्यापीरूपमा स्थानीय सरकारको निर्वाचन सम्पन्न भएपछि मात्र यो संविधान जगबाट पलाउन लाग्नेछ । परिणाम प्राप्त गर्न प्रदेश सभाको निर्वाचन र संघको निर्वाचनसम्म पर्खनुपर्नेछ । तेस्रो चरणको निर्वाचन नेपाली लोकतन्त्रको भविष्यलाई कतापट्टि लैजाने हो त्यसको सन्धिविन्दुमा हँुदैछ । यसकारण यो सन्धिविन्दु हो कि २०६२ को राजनीतिक सहमतिको एक परिच्छेद असोज २ गतेबाट समाप्त हुनेछ ।
२०६२ मंसिर ७ गते जारी १२ बुँदेले ल्याएको परिणाम आजको राजनीति हो । यस राजनीतिमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता, समानुपातिक निर्वाचन जस्ता महत्वपूर्ण विशेषता छन् । ती विशेषताको निरन्तरता रहने कि नरहने भन्ने प्रश्नको छिनोफानो असोज २ गते सम्पन्न हुने तेस्रो चरणको स्थानीय सरकारको निर्वाचनबाट स्पष्ट हुनेछ । असोज २ गते स्थानीय सरकारको निर्वाचन हुन सकेन, स्थगित भयो, हिंसात्मक भयो वा तराई मधेसको मसिहा दावी गरिरहेको राष्ट्रिय जनता पार्टीले भाग लिएन भने के हुन्छ ? दुई चरणमा सम्पन्न स्थानीय सरकारका चुनावको औपचारिकता, वैधता र औचित्य स्थापित वा प्रमाणित हुने कसरी ? निर्वाचन भएमा यी कुनै पनि प्रश्नको सान्दर्भिकता अन्त्य हुनेछ । तर संविधान संशोधन नभई चुनावमा भाग नलिने राष्ट्रिय जनता पार्टीको अडान र संशोधनको चावी हातमा समातेर बसेको एमालेको कुनै पनि हालतमा संशोधन हुन नदिने अडानका कारण परिवर्तनको भविष्य अन्धकारमा पुग्ने सम्भावना बढाएको छ । यही अडानले सिके राउत जस्ता पृथकतावादीको हिंसात्मक चिन्तनले प्रश्रय पाउनेछ । पृथकतावादी चिन्तनका लागि यसैकारण एमालेको अडान र राष्ट्रिय जनता पार्टीको ढिपी समानरूपमा जिम्मेवार छन् । नेपालमा ठूलो प्रजातन्त्रको विकासका लागि एमाले र राष्ट्रिय जनता पार्टी दुवै समानरूपमा खराब अवरोध सिद्ध भएका छन् ।
निश्चय पनि निर्वाचन परिणामले एमाले अध्यक्ष केपी शर्मा ओलीको उचाइ थपेको छ । अरु नेतालाई निकै पछाडि पार्दै कुशल निर्वाचन रणनीति उनले सञ्चालन गरेको देखियो । एमालेमा चरम मतभेद छ । माधवकुमार नेपालको बलियो गुट त्यहाँ कार्यरत छ । झलनाथ खनालको गुट त्यति देखिँदैन । उनको स्वभावले पनि शाही शैली देखाउँछ । वामदेव गौतमले टाइटुय्यँ गरे पनि उनको गुट सिर्जना गर्ने औकात छैन । २०५४ सालमा पार्टी फुटाएर पुनः मूलधारमा फर्केका हुनाले पनि उनको प्रभाव त्यस्तो देखिँदैन । मूलरूपमा माधवकुमार नेपाल पक्षको असहमति, आक्रमण र असन्तुष्टिलाई व्यवस्थित गर्दै केपी ओली पार्टी हाँकिरहेका छन् । उनले आन्तरिक असहमतिलाई चामत्कारिकरूपमा व्यवस्थित गरेका छन् । सबै असन्तोषलाई उनले पाखा लगाउँदै र आफँैले भनेअनुसार पार्टी सञ्चालनको सामथ्र्य खाएका छन् ।
शारीरिकरूपले अस्वस्थ ओली बिमार छन् भन्ने पनि थाहा हँुदैन । उनको खरो बोली, आक्रामक तेब्बर छुरा जस्ता शब्द र चोटिला चुट्किलाले मानिसको मन चसक्क छुने गर्छ । त्यसमा पनि उनले भारतसँगको सम्बन्धलाई आफूअनुसार परिचालित गरेको, परिभाषित गरेको र व्यवहार गरेको भ्रम दिन सफल भएपछि नेपाली राष्ट्रवाद खर्लक्क ओलीको पक्षधर हुन पुगेको देखिन्छ । भारतमा अधिकांश निर्भर नेपाली समाज प्रत्यक्षमा भारत विरोधी नारालाई नेपालको राष्ट्रवाद ठान्ने भुलभुलैयामा बाँचेको छ । स्थानीय सरकारको निर्वाचन परिणामले यसलाई सिद्ध गरेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भारतीय राजनीतिको प्रभाव रहेको, गठबन्धन निर्माण गर्ने काम भारतीय राजनीतिले गरेको जस्ता अनेक आरोप र लाञ्छना बेहोरेको कांग्रेस र माओवादी नेतृत्व पछाडि पर्नुको कारण पनि यही नै प्रमुख हो । नेपथ्यमा बसेर कसले कस्तो भूमिका खेल्छ त्यसलाई अनुमान गरिरहनु आवश्यक छैन । नेपालमा केपीओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति हुने ताला साँचो कसरी र कताबाट खुलेको हो सबैलाई थाहा छ । गिरिजाप्रसाद कोइराला राष्ट्रपति किन हुन पाएनन् सबैलाई थाहा छ । नेपथ्यका कुराले आफ्नो क्षणिक राजनीतिको भाँडो भर्न सजिलो छ तर त्यसमा अडिग हुन जसकसैलाई पनि कठिन हुनेछ । ओलीको उचाइ जति बढे पनि टेक्ने ठाउँ भने खुम्चिएको सबैलाई थाहा छ।
प्रकाशित: २१ असार २०७४ ०४:३९ बुधबार