जाजरकोट – खाना पकाउने ग्यासको सिलिन्डरबाट ग्यास लिग भएर आगलागी हुँदा बुधबार विहान जाजरकोट सदरमुकाम खलंगामा चार जना घाइते भएका छन् । भेरी नगरपालिका ३ थाप्लेचौर स्थित भक्तबहादुर वलीको घरमा भाडामा बस्ने हिरालाल पन्तको कोठामा ग्यास लिग भएर आगलागी भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी भावेस रिमालले दिएको जानकारी अनुसार घाइते हुनेहरुमा त्रिवेणी नलगाड नगरपालिका ४का हिरालाल पन्त, उनकी छोरी बन्दना पन्त, हिरालालकै नाती रोसन सिंह र भेरी नगरपालिका ३ की वागेस्वरी डांगी रहेका छन् । आगलागीबाट कोठामा रहेका विभिन्न सामाग्री जल्नुका साथै छानाको भाग पनि जलेको छ । वलीको घरमा आगलागी भएको थाहा पाएर हेर्न गएकी थाप्लेचौर निवासी वागेस्वरी डांगी पनि जलेर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि नेपालगन्जतर्फ रिफर गरिएको छ । घाइतेहरुको अनुहार र शरीरका विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ । ग्यास चुलोमा होसियारी नअपनाउदा लिग भएर आगलागी भएको बताइएको छ।
प्रकाशित: २१ असार २०७४ ०६:१६ बुधबार