२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगमा राजपा

काठमाडौं- छवटा मधेसी दल मिलेर बनेको राजपाले निर्वाचन आयोगमा दर्ता हुन शुक्रबार घोषणापत्र र विधानसहित निवेदन दिएको छ। राजपाका शीर्ष नेताले अपराह्न आयोगको कार्यालय पुगेर पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। गत वैशाखमा छवटा दल मिलेर राजपा गठन भएको हो।

केही दिनभित्रै राजपालाई दर्ता भएको प्रमाणपत्र दिने आयोगका पदाधिकारीले बताएका छन्।

राजपा घोषणापत्रको प्रस्तावनामा गजेन्द्रनारायण सिंह र रामजनम तिवारीको नाम राख्न  अध्यक्षमण्डलका सदस्यहरू सहमत भएपछि अनिल झाले शुक्रबार दिउँसो पार्टी विधान र घोषणापत्रमा हस्ताक्षर गरेका थिए । यसअघि झाले विधान र घोषणापत्र दुवैको प्रस्तावनामा सिंह र तिवारीको नाम राख्नुपर्ने अडान लिएपछि सहमति हुन सकेको थिएन। शुक्रबार दिउँसो बसेको अध्यक्षमण्डलको बैठकमा पार्टी विधानको प्रस्तावनामा नभई घोषणापत्रको प्रस्तावनामा सिंह  र तिवारीको नाम राख्ने सहमति भएको थियो।

राजपा दर्ताका लागि आयोगमा निवेदन दिन  अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र यादव, अनिल झा र दोस्रो तहका नेताहरू पुगेका थिए। अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी भने भारत भ्रमणमा छन्। घोषणापत्र र विधानमा उनको पनि हस्ताक्षर छ।

पार्टी दर्ताका लागि आयोगमा निवेदन दिन  पुगेका राजपाका नेताले चुनाव चिह्न 'छाता' पाउनुपर्ने दाबी गरेका छन्।

आयोगमा दर्ता भएपछि असोज २ गते २ नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तहको चुनावमा भाग लिन उसलाई बाटो खुल्नेछ। तर राजपा नेताले संविधान संशोधन नभएसम्म असोजमा हुने स्थानीय चुनावमा पनि भाग नलिने अडान राख्दै आएका छन। संविधान संशोधन नगरिएको भन्दै राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको छ।

राजपा घोषणापत्रमा संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति प्रस्ताव गरिएको छ। यसैगरी मिश्रित निर्वाचन प्रणालाीलाई स्वीकार गरिएको छ। नागरिकताको हकमा अन्तरिम संविधान, २०६३ मा गरिएको व्यवस्था कायम हुनुपर्ने घोषणापत्रमा उल्लेख छ।

राजपा महासचिव मनिष सुमनले पार्टीले  संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको प्रस्ताव गरेको बताए। राजपा अर्का महासचिव केशव झाले एक वर्षभित्र महाधिवेशन गर्नेगरी अन्तरिम विधान तयार गरिएको बताए। पूर्ण विधान महाधिवेशनले नै प्रस्ताव गर्ने उनले बताए।  

प्रकाशित: २४ असार २०७४ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App