१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नारीवादको भर्चुअल झन्झावात

केही दिनअघि बैठकमा बसिरहँदा अधिकारकर्मी राधिका सापकोटालाई स्कुलबाट छोरीको फोन आयो। 'ममी मलाई महिनावारी भयो। मलाई अप्ठ्यारो लाग्यो, लिन आउनुहोस्,' उनकी छोरीले फोनमा भनिन्।

त्यस दिन उनकी छोरी पहिलोपटक महिनावारी भएकी थिइन। छोरी महिनावारी भएको खुसीमा राधिकाले साथीलाई चकलेट बाँडिन्। उनले साथीभाइबाट बधाइ पाइन्। 'छोरी जवान हुनु एउटी आमाका लागि खुसीको कुरा हुँदो रहेछ,' राधिकाले भनिन्।

महिलाका मुद्दाको वकालत गर्ने राम्रो प्लेटफर्म बनेको छ, सामाजिक सञ्जाल। एकैपटक धेरै जना सहभागी हुन सक्ने भएकाले महिलाका मुद्दाबारे बहस गर्न पनि महत्वपूर्ण माध्यम बनेको छ।

त्यतिले मात्र भएन, राधिकालाई यो खुसी अरु धेरैमाझ बाँड्न मन लाग्यो। उनले छोरी सदिच्छाको फोटोसहित फेसबुकमा पोस्ट गरिन्– 'बधाइ छ छोरी तिमीलाई। आज तिमी पहिलोपटक महिनावारी भएकी छौं। आजदेखि तिमी महिलाको सबैभन्दा ठूलो शक्ति प्रजननका लागि सक्षम भएकी छौं। आज तिम्रो यौनाङ्गबाट बगेको रगत तिमीले गरेको कुनै पाप हैन, तिम्रो शक्ति हो। त्यसैले त्यसमा गर्व गर।'

आफ्नो खुसीको जनाउ दिन मात्र पोस्ट गरिएको उनको त्यो स्टाटस केही बेरमै भाइरल बन्यो। दसौं स्त्रि्कनसट लिइए। उनको पोष्टमा थरिथरिका कमेन्टको ओइरो लाग्यो। उनको इन्बक्स पूरै भरियो। राम्रादेखि नराम्रा सबै खालका प्रतिक्रिया पाइन् उनले।

'मेरा साथी, सर्कल, आफन्तबाट राम्रै प्रतिक्रिया पाएँ। केही छद्मभेषी मानिसले यसको बाङ्गो अर्थ लगाएर नकारात्मक टिप्पणी गरे,' राधिकाले भनिन्, 'यस्तो होला भन्ने सोचेकै थिइनँ। एकाएक यसबारे पक्ष–विपक्षको वादविवाद समेत भयो।'

महिनावारी व्यक्तिगत कुरा हो, यसलाई सामाजिक सञ्जालमा सार्वजनिक नगर्नुपर्थ्याे भन्ने तर्क धेरैले गरेको उनले बताइन्। राधिका प्रश्न गर्छिन्, 'महिनावारी व्यक्तिगत कुरा हो भने महिनावारी भएकी महिलालाई समाजले किन छुन नहुने नियम बनायो त? त्यसैले महिनावारीबारे बोल्नु पर्छ।' महिनावारी र महिनावारीसँग जोडिएका महिलाका समस्याबारे छलफल गरिनुपर्ने उनको मत छ। महिनावारीबारे बोल्नुपर्छ भनेर अभियान चलाउनेहरू पनि यसबारे आफैं भने नबोल्ने गरेको उनको गुनासो छ।

'त्यसैले मैले महिनावारी र महिनावारी भएकी छोरीलाई लुकाएर राख्न नचाहेको मात्र हुँ। तर, कतिले मलाई 'साइलेन्स ब्रेक' गर्‍यांै भनेर बधाइ दिए,' राधिकाले भनिन्, 'यसले के देखाउँछ भने अझै पनि महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रिया हो भनेर स्वीकार गर्ने सोचको विकास भएकै रहेनछ।'

सन्तान प्राप्ति, न्वारान, विवाह, घुमफिर, अनि घरायसी दैनिकीबारे व्यक्तिगत कुरा सामाजिक सञ्जालमा पोष्ट गर्ने र महिनावारीजस्तो नारीको जीवनको महŒवपूर्ण पाटोलाई लुकाएरै राख्नु पर्छ भन्ने विरोधाभाषपूर्ण मानसिकताबाट आफू अचम्ममा परेेको उनले सुनाइन्। भनिन्, 'यो त महिनावारीलाई अभिशापको रूपमा लिने पुरानै सोचको निरन्तरता मात्र हैन र?'

छोरीको महिनावारीको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेर आफूले कुनै साहसिक काम नगरे पनि कम्तीमा महिनावारी बोल्ने कुरा हो या होइन? भन्ने विषयमा बहस गर्ने वातावरण बनेको राधिकाको अनुभव रह्यो। भन्छिन्, 'इस्यु यसरी नै स्थापित हुने हुन्।' 

महिलाका मुद्दाको वकालत गर्ने राम्रो प्लेटफर्म बनेको छ, सामाजिक सञ्जाल। एकैपटक धेरै जना सहभागी हुन सक्ने भएकाले महिलाका मुद्दाबारे बहस गर्न पनि महŒवपूर्ण माध्यम बनेको छ। राधिकाले भनिन्, 'मेरो केसमा पनि मैले पोस्ट मात्र गरेँ, बाँकी बहस अरुले नै गरे। युवाले सामाजिक सञ्जालको पोस्टमार्फत, समाचार, कविता, लेख लेखेर समर्थन गरेको पाएँ।'

गएको माघमा एकल महिलाको एक सञ्जालले एउटा अभियान सुरु गर्‍यो। रातो टीका च्यालेञ्जको नाममा सुरु अभियान एकल महिलालाई रातो रङ प्रयोगमा गरिएको वर्जनको विरुद्ध थियो। एकल महिला समूहकी संस्थापक लिली थापाले रातो टीका लगाएर 'रेड टीका च्यालेन्ज' ह्यासट्याग गरिएको फोटो फेसबुकमा पोस्ट गरी यो अभियान सुरु गरेकी थिइन्। पछि यो अभियानमा फेसबुक हुँदै टि्वटरदेखि इन्टाग्रामसम्म सयौंले सहभागिता जनाए। सहभागीले निधारमा रातो टीका लगाएर समाजिक सञ्जालमा पोस्ट गर्ने र कम्तीमा तीन जनालाई यसबारे जानकारी दिन आह्वान गरिएको थियो। रातो टीका लगाएर 'रेड टिका च्यालेन्ज' को ट्रेण्डिङमा सहभागी हुने विवाहित/अविवाहित महिला थिए। पुरुषलेसमेत यसमा एक्येबद्धता जनाएका थिए।

यस अभियानले एकल महिलालाई रातो रङ प्रयोगमा वञ्चित गर्ने हिन्दू संस्कृतिविरुद्ध बहस गर्ने भर्चुअल प्लाटफर्म सिर्जना गरिदियो।

अभियानमा रातो टीका लगाएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न आह्वान गरिएको थियो। फेसबुकबाट सुरु भएको रेड टीका च्यालेन्ज टि्वटरदेखि इन्स्टाग्राममा समेत ट्रेन्डिङ भएको थियो। रातो रङ र रातो टीकालाई सौभाग्यको प्रतीक मानी श्रीमानको मृत्यु भइसकेका महिलालाई 'अभागी' दर्ज गर्ने हिन्दू सामाजिक विश्वासविरुद्ध मात्र रातो टीका अभियान लक्षित थियो। यद्यपि यसले महिलाको वैवाहिक स्थितिका आधारमा दिइनेे सामाजिक स्थान र पतिपत्नीको सामाजिक शक्ति सम्बन्धका विषयमा अर्काे बहसको सिर्जना गर्‍यो।

यस अभियानमाथि कैलाश राई र वन्दना ढकालको विचारको फरक कोण पनि चर्चाको विषय बन्यो। एक लेखमा उनीहरूले लेखे – 'रातो रंगमा प्राप्त हुने वा खोसिने जुनसुकै महिलाको अधिकारलाई त्यही रंगभित्रै खोजिरहनु नेपालका महिलामाझ रहेको अनेक विविधताका दृष्टिकोणको हिसाबले लाभकारी त छैन नै, एकल महिलाका समस्या समाधानको दीर्घकालीन बाटो पनि यसले पहिल्याउन सक्दैन।' 

महिलाको निधारमा टल्किने वा टल्किएको रातो टीकाको उज्यालोपन, खुसी, दृढता र आत्मविश्वासको आधार फेरि पनि महिला–पुरुषबीचको असमान शक्ति सम्बन्धमा अडिएको लेखकद्वयको तर्क छ। एकल महिलाको आत्मविश्वास, सम्मान र अधिकार रातो परिधान र शृंगारमा खोज्नुको साटो समान सामाजिक संरचना र विभेदरहित सामाजिक–सांस्कृतिक मूल्यमान्यता, मानसिकता, व्यवहार र पद्धतिहरूको विकासमार्फत खोज्ने राई र ढकालको सुझावलाई बहसको सशक्त पक्षका रूपमा लिन सकिन्छ।

२०६९ मा विदेशबाट फर्किएकी एक युवतीको बलात्कारलाई लिएर केही अभियन्ताले सुरु गरेको अभियान सामाजिक सञ्जालमा भाइरल बन्यो। 'अकुपाई बालुवाटार' नामको त्यो अभियानमा सामाजिक सञ्जालमार्फत नै कैंयौ सहभागी भए। नेपालमा सामाजिक सञ्जालमार्फत आन्दोलन सिर्जना गर्ने सम्भवतः त्यो सबैभन्दा ठूलो घटना थियो। सामाजिक सञ्जालमार्फत महिलाका मुद्दामा विभिन्न अभियानका लागि मत संगठित गर्न यो उपयोगी भए पनि नेपालमा यस्तो अभ्यास त्यति प्रभावकारी नभएको समाजशास्त्री मृगेन्द्र कार्कीको विचार छ।

उनका अनुसार नेपालमा तीन प्रकारका सामाजिक सञ्जाल प्रयोगकर्ता छन्। पहिलो, आफ्नो पहिचानसहित बौद्धिक विचार व्यक्त गर्ने, दोस्रो, सामाजिक सञ्जाल वा सूचनाप्रविधिको अधिक ज्ञान भएको जमात र अर्काे लहडमा सामाजिक सञ्जाल चलाउने।

सामाजिक सञ्जालमा महिलाका विभिन्न मुद्दामा हुने बहसमा बौद्धिक वर्गको उपस्थिति उनी कम देख्छन्। भन्छन्, 'सामाजिक सञ्जालमार्फत व्यक्त भएका विचारलाई मान्यता दिने नीति र प्रचलनको कमीका कारण बौद्धिक वर्गको 'इन्गेजमेन्ट' कम भएको मेरो बुझाइ हो।' अचेल सामाजिक सञ्जालमा घटना सिर्जित मुद्दामा बढी केन्द्रित रहेको उनको भनाइ छ। महिलाको अधिकार र समानताका लागि दर्जनौं बहसयोग्य विषयमा सामाजिक सञ्जाल बहसमा छिर्नै नसकेको उनी बताउँछन्।

नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाका विभिन्न मुद्दामाथि व्यक्तिगत रूपमा आफ्ना विचार पोख्ने गरेका छन्। तर, ती विषयलाई संगठित गरी नीतिगत रूपमा दबाब दिने खाले उपलब्धी भने कमै भएको देखिन्छ।

यद्यपि कतिपय महिलाका लागि आफ्नो पीडाको अभिव्यक्तिको सशक्त माध्यम बनेको समाजशास्त्री मृगेन्द्रको भनाइ छ। 'कति महिलाले नितान्त अनुभूतिजन्य कुरा अभिव्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गरेका छन्। मर्यादित रूपमा महिलाको सब्जेक्टिभिटी त्यसरी बाहिर आउनु सकारात्मक कुरा हो। समाजले महिला के चाहन्छ भन्ने बुझ्ने अवसर मिल्छ।'

सामाजिक सञ्जालमा ह्यासट्याग गरेर र नगरेर महिलाका विभिन्न मुद्दामा विचार अभिव्यक्तिको आन्दोलन चलिरहेको छ। नेपालमा महिलामाथि हुने विभिन्न हिंसा तथा अन्यायमा महिला पुरुष दुवैले उत्तिकै रूपमा सामाजिक सञ्जालबाट विरोध गरिरहेका हुन्छन्। महिलालाई अगाडि बढाइनुपर्छ भन्ने मान्यता बोकेको पुस्ताले महिलाका मुद्दामा विभिन्न तरिकाले एक्येबद्धता जनाउने गरेका छन्। विश्वव्यापी रूपमा पनि मिन्स्ट्रएसन म्याटर्स, आइ एम फेमिनिस्ट, लेट गर्ल्स लर्न जस्ता ह्यासट्यागमा हजारौं कन्टेन्ट पोस्ट भइसकेका छन्।

प्रकाशित: २४ असार २०७४ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App