१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय नेतृत्वमा थारू समुदायका २५ जना

काठमाडौं – दोस्रो चरणको निर्वाचनबाट थारू समुदायका २५ जना स्थानीय तहको नेतृत्वमा पुगेका छन् । एमालेबाट इटहरी र घोराही उपमहानगरपालिकामा क्रमशः द्वारिकलाल चौधरी र नरुलाल चौधरीसहित अन्य दलका समेत गरी थारू समुदायबाट २५ जना नेतृत्वमा पुगेका हुन् । 

थारू समुदायबाट ३३ जना उपप्रमुख चुनिएका छन् । प्रतिपक्षी एमालेबाट सबैभन्दा बढी ८ प्रमुखसहित १२ स्थानीय तहमा थारू समुदायका उम्मेदवार जित हासिल गर्न सफल भएका छन् । सत्तासीन कांग्रेसबाट ६ प्रमुख र १३ जना उपप्रमुख तथा माओवादी केन्द्रबाट ६ प्रमुख र ५ उपप्रमुख थारू समुदायबाट चुनिन सफल भएका छन् । फोरम लोकतान्त्रिकबाट प्रमुखमा ५ जना चुनिएका छन् ।

सबैभन्दा बढी थारू जिताउने प्रतिपक्षी एमालेले उपमहानगरपालिकामध्ये इटहरी र घोराहीको नेतृत्वमा जित हासिल गरेको छ । त्यस्तै त्रियुगा नगरपालिकामा बलदेव चौधरी र कैलालीको घोडाघोडीबाट ममताप्रसाद चौधरी मेयरमा विजयी भए । त्यसैगरी, एमालेबाट शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरी, ग्रामस्थान गाउँपालिकामा शिवनारायण माझी थारू, सियारी गाउँपालिकामा अयोध्या थारू र दंगीशरण गाउँपालिकामा भागीराम चौधरीले प्रमुख पद जितेका छन् । एमालेले उठाएका कुनै पनि थारू महिला उम्मेदवार प्रमुख पदमा पुग्न नसके पनि १२ जना भने उपमेयरमा चुनिन सफल भएका छन् ।

सत्तासीन कांग्रेसबाट रामधुनी र वाणगंगा गरी २ नगरपालिकामा क्रमशः प्रकाश चौधरी र मंगलप्रसाद थारूले जित हासिल गरेका छन् । त्यसैगरी गाउँपालिकामध्ये जोशीपुरमा रामकृष्ण चौधरी, डुडुवामा सुरेन्द्र चौधरी, राप्ती सोनारीमा लाहुराम चौधरी र मायादेवीमा ध्रुवनारायण चौधरी विजयी भएका छन् । कांग्रेसबाट उपमेयरमा १३ जना थारू उम्मेदवार चुनिन सफल भए । एमालेले जस्तै एकजना पनि थारू समुदायका महिलालाई कांग्रेसले प्रमुख पदमा जिताउन सकेन् । 

अर्को सत्तासीन दल माओवादी केन्द्र ६ जना थारू समुदायका उम्मेदवारलाई स्थानीय तहको नेतृत्वमा ल्याउन सफल भएको छ । पूर्वसांसद पट्टु चौधरीलाई समेत उठाएको माओवादीले नगरपालिकामा ३ र गाउँपालिकामा ३ गरी ६  तहमा थारू समुदायका उम्मेदवारलाई जिताएको हो । जसअनुसार बर्दियाको राजापुरमा शिवप्रसाद चौधरी, भजनीमा शेरबहादुर चौधरी र वारबर्दियामा दुर्गाबहादुर चौधरी विजयी भए । गाउँपालिकामध्ये लालझडीमा मदन बडायक, कैलारीमा लाजुराम चौधरीले सो दलबाट जितेका छन् ।

दुहबी नगरपालिकामा वेद गच्छदारलाई मेयरमा जिताएको फोरम लोकतान्त्रिकले थारू समुदायका अन्य ४ जनालाई गाउँपालिका प्रमुखमा जिताएको छ । लोकतान्त्रिकबाट गाउँपालिकामा जित्नेमा जानकी गाउँपालिकामा प्रदीप चौधरी, सरावलमा श्याम चौधरी, बुर्जुमा रघुनन्दन चौधरी र बुढीगंगामा बालचन्द्र माझी छन् । 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र कमल थापा नेतृत्वको राप्रपाबाट थारू समुदायका उम्मेदवारले वडाध्यक्षमा जित प्राप्त गरे पनि प्रमुखमा भने एक जना पनि आउन सकेनन् । 

प्रकाशित: २५ असार २०७४ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App