२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जुम्लामा उपभोक्ताद्वारा सिडिओ कार्यकक्षको टेबुल तोडफोड

जुम्ला- जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन्।

जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडिओ भागेपनि प्रशासन कार्यालय मुखदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्। प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी वेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको आरोप उनीहरुको छ।

छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरिसकेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दासमेत वास्ता नगरी एकाएक भागेको भन्दै तत्काल फिर्ता वोलाएर कामको ज्याला उपलव्ध गराउन माग गरेका छन। कूल ८ लाख रुपैयामा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपैयाँमात्रै भुक्तानी गरेर एलडिओ भागेको उनको आरोप छ।  

तत्काल एलडिओ बोलाएर भुक्तानी दिने वातावरण नमिलाए स्थानीय प्रशासनविरुद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिइएका छन्। यस्तै चोत्रा रामी दोहा हुर्दै मौरे सडकको निर्माणको २४ लाख ६० हजार रुपैया सम्झौता भएकोमा १८ लाख रुपैया भुक्तानी दिएर उम्कीएको भन्दै काम अनुसारको रकम उपलव्ध गराउन कन्ज्जुस्याई गरेको प्रति आपत्ती प्रकट गरे। 

स्थानीय विकास अधिकारी वेल्वासलेलाई प्रहरी नायव उपरीक्षक काफ्लेले स्कटिङ गरेर लगेको आरोप जुम्लावासीको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताले काम गरेको रकम उपलव्ध हुनेगरी स्रोत खोजेर संवोधन गर्न प्राविधिक कार्यालयका प्रमुख राजकुमार गोहितलाई निर्देशन दिएका छन्।

प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले आफूले बोल्न नमिल्ने उनले बताए। एलडिओ कहिले कसरी गएको भन्ने वारे आफूलाई कुनै जानकारी नभएको बताए।

स्थानीय विकास अधिकारी वेल्वासेमाथि आर्थिक लाभ उठाउन मनपरीरुपमा कोटेशन बाँडेको, उपभोक्ता समितिबाट कमिसन लिएको र बार्गेनिङका आधारमा योजनाको भुक्तानी दिने गरेको आरोप छ। एलडिओ रातारात भाग्दा प्रमुख जिल्ला अधिकारी मुखदर्शक भएको भन्दै असारे विकासको रकम कुम्ल्याउन सवैको मिलोमतो रहेको आशंका उनीहरुले गरेका छन्।

प्रकाशित: ३ श्रावण २०७४ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App