१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

देउवा किन सुस्त ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगतमा भन्दा सुस्त देखिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना र साता नाघिसकेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कामसमेत गर्न सकेका छैनन् । करिब डेढ महिनाको हाराहारीसम्म पनि तेइसवटा मन्त्रालय मन्त्रीबिहीन हुनु लाजमर्दो हो । यद्यपि यसरी मन्त्री खाली हुँदा राज्यका लागि वेसै भएको छ । कमसेकम आर्थिक क्षति एक महिनाका लागि कम नै भयो तर आर्थिकरूपले हेरेरमात्र हुँदैन । हुन त सात दशकको पोया काटेका देउवामा शारीरिक र मानसिक सुस्तीपन आउनु अस्वाभाविक नहोला । सबै जना गिरिजाप्रसाद हँुदैनन् । असीको वय पार गरेका कोइरालाले कहिले भेन्टिलेटर र कहिले अक्सिजनको सहारामा आफ्नो जर्जर शरीर घिस्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने कामको नेतृत्व गरे र केही समय सरकार पनि चलाए । उनले सरकार सञ्चालन गर्दा संक्रमणको उत्कर्ष थियो । राजा फाल्ने कि राख्ने भन्ने अहं प्रश्न थियो । सेनाले विद्रोह गर्ने खतरा थियो । माओवादीले राज्य कब्जा गर्न सक्ने सम्भावना थियो । छरछिमेकका पनि आँखा पक्कै लागिरहेका थिए । अन्तर्राष्ट्रिय जगतले नेपालको सम्वेदनशीलतालाई सूक्ष्म दृष्टिका साथ हेरिरहेको थियो । आन्तरिक शान्ति सुरक्षा चिन्ताजनक थियो । 

बिबिसीको साझा सवालमा प्रधानमन्त्री देउवाको आवेग आश्चर्यजनक थियो । प्रत्यक्ष प्रशारण भएको त्यो कार्यक्रममा जसरी प्रधानमन्त्री प्रस्तुत भए त्यसले नेपाली कांग्रेस, सरकार र देश सबैलाई उपहास्य बनायो ।

तर पनि कोइरालाले हरतरहले स्थितिलाई सही ट्रयाकमा हिँडाए । उनी अनावश्यक सुस्ततामा अल्झिएनन् । राम्रो÷नराम्रो जे÷जस्तो भए पनि निर्णय गर्दै लगे । उनले साझा गठबन्धनको सरकार बनाए, सचिवालय तत्काल खडा गरे, सल्लाहकार नियुक्ति गरे । कोइरालाका समयमा पार्टी लथालिंग भयो तर अहिलेको जस्तोचाहिँ भएको थिएन । सुशील कोइरालाले पनि व्यवस्थित भएर सरकार चलाए । केही नभए आफैँ कुरा सुन्ने, टिपोट गर्ने र त्यसको उत्तर दिने काम सुशीलबाट समेत भएको थियो । पार्टीलाई निरीह बनाउन उनले पनि कुनै कसर बाँकी राखेनन् । पाँच वर्षसम्म केन्द्रीय समितिले सुशीलका समयमा पूर्णता पाएन, विभाग बनेनन् । तैपनि आजको जस्तो अवस्था थिएन ।

कांग्रेसका सभापति वा पार्टी सभापतिको कुरा त सामान्य नै होला । एमाले अध्यक्ष केपी शर्मा ओली बिमार छन् । उनले मिर्गाैला परिवर्तन गरेको केही वर्ष भइसकेको छ । रुग्ण र जर्जर शरीर लिएर ओली जसरी सक्रिय छन् शारीरिकरूपले सद्देहरूका लागिसमेत शीर झुकाउनुपर्ने हुन्छ । ठीक समयमा दवाइ, ठीक समयमा सही भोजन, ठीक समयमा निद्रा र आराम ओलीको शारीरिक बाध्यता हो । तैपनि उनी आफूलाई बिमार महसुस गर्दैनन् । दिनमा छवटाभन्दा बढी सभामा भाग लिन पुगेका छन् । उनको नेतृत्व क्षमता र वाककलाकै कारण स्थानीय तह निर्वाचनमा एमाले पहिलो स्थानमा पुग्यो । उनको वाककला अरुका लागि पनि अनुकरणीय छ । संगठन र सन्तुलनमा पनि उनी माहिर देखिएका छन् । उनका आन्तरिक प्रतिस्पर्धीहरू भनी परिचित माधव नेपाल, झलनाथ खनाल र वामदेवसमेत किनारा बस्न बाध्य छन् । ओलीको बाटोलाई समर्थन गर्दै जेनतेन आफ्नो साख बचाउन यी नेता बाध्य छन् । 

एक वर्ष पहिलेसम्म प्रधानमन्त्री हुँदा उनका समयमा पनि संक्रमण थियो, देश नाकाबन्दीमा परेको थियो । जनतामा हाहाकार थियो । कुनै पनि समयमा के हुन्छ भन्ने त्रास थियो । जनताको पीडा बिष्फोट हुने खतरा विद्यमान थियो । तर ओलीले अत्यन्त संयमता, सक्रियता र चतुरतासाथ आफ्नो सचिवालय तत्काल गठन गरे, सल्लाहकार र मन्त्री नियुक्ति गरे र प्रशासन÷सरकारको बाग्डोर हाँके । उनी आफूलाई पटक्कै कमजोर ठान्दैनन् । राजनीति गर्नेहरू चलायमान हुनुपर्छ ।

इन्दिरा गान्धीको जीवनीअनुसार उनी जम्म चार घण्टामात्र सुत्ने गर्थिन् । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको सुताइ पनि चार घण्टाभन्दा बढी नभएको समाचार सार्वजनिक भएका छन् । बिहानै योग र ध्यानसमेत गर्न भ्याउँछन्, व्यक्तिगत ट्विट गर्ने समय पाउँछन्, सल्लाहकारहरूसँग विषयगत हिसावले दिनहुँ बैठक गर्छन्, मन्त्रीहरूसँग आवश्यक विषयमा छलफल गरिरहेका हुन्छन्, विदेशीहरूसँग उनको भेट निश्चित भइरहेको हुन्छ । अन्य देशका सरकार प्रमुखको सक्रियता पनि योभन्दा बढी नभए समान छ । 

तर नेपालका प्रधानमन्त्री एक महिनाभर सरकार गठन गर्न असमर्थ भइरहेका हुन्छन्, सचिवालय हुँदैन, सल्लाहकार नियुक्त हँुदैनन् । सहयोगी÷विज्ञहरुको अभाव छ, चयन हुँदैन । योभन्दा लाजमर्दो अरु के हुनसक्छ ? गिरिजाप्रसाद कोइरालाको शिष्य दाबी गर्ने देउवाको यो आलसीपन र सुस्ती निरीहताको पराकाष्ठा हुन पुगेको छ । कोइरालाका अपकर्महरूको अनुशीलन गर्ने हो भने त्यस शिष्यको कुनै अर्थवत्ता रहँदैन । कोइरालाका राम्र काम पालना गर्ने सामथ्र्य भएमा मात्र शिष्य परम्पराको सार्थकता हुनेछ ।

बिबिसीको साझा सवालमा प्रधानमन्त्री देउवाको आवेग आश्चर्यजनक थियो । प्रत्यक्ष प्रशारण भएको त्यो कार्यक्रममा जसरी प्रधानमन्त्री प्रस्तुत भए त्यसले नेपाली कांग्रेस, सरकार र देश सबैलाई उपहास्य बनायो । प्रधानमन्त्री देउवाको प्रस्तुति दयनीय थियो । तर गरिब देशका राजनेतालाई सडकमा नंग्याएर आफ्नो रोजगारी चलाउने गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका पनि कम विचारणीय र विवादास्पद छेैन । प्रत्यक्ष प्रशारण गर्दा कमसेकम प्रश्नका विषयमा गृहकार्य र छलफल आवश्यक हुन्छ । के विषय समावेश हुने हुन् त्यसबारे समीक्षा हुनुपर्छ । 

देउवाका प्रेस सल्लाहकार नभएका कारण उनले के भन्नुपर्ने थियो र कसरी प्रस्तुत हुनुपर्ने थियो बहस भएन । तर प्रधानमन्त्री त्यसरी प्रत्यक्षमा जाने हो भने आफैँ तयारी गर्नु आवश्यक थियो । कुन उद्देश्य र प्रयोजनका लागि सम्वाद गरिँदैछ बुझ्नु जरुरी थियो । तर लापर्बाहीका साथ पुगेका देउवाले जे जानेका थिए त्यही बोले र जस्तो अनुभव गरे, त्यसरी नै प्रस्तुत हुन पुगे । उनको क्रोध सर्वाधिक आलोच्य भयो । देउवा कृष्णप्रसाद भट्टराईका पनि शिष्य हुन् । सन्त नेता भट्टराईको प्रेस प्रस्तुति कलाको एकछेउ पनि उनले सिकेका भए त्यस दिन त्यसरी आलोचित हुनुपर्ने थिएन । हाँसीहाँसी प्रश्न पन्छाउन सक्ने थिए । तर मुखले शिष्य भन्दैमा कहाँ हुन्छ र ? 

देउवा बाढीपीडितको अवस्था निरीक्षण गर्न सप्तरी पुगे । त्यहाँ तत्काल राहतस्वरूप २५ हजार सरकारले दिने घोषणा गरे । घर बगाएकालाई घर बनाउन १५ लाखसम्मको सुविधाजनक बैंक ऋण दिने निर्णय सुनाए । यी राम्रा काम थिए तर उनको एउटा गल्तीले यी काम छायाँमा परे । उनले बाढीपीडितको पीडा पढ्ने पृष्ठसँगै जनताले दिएका विज्ञप्ति रहेछ, त्यही पढिदिए । थाहा पाएपछि राखे । सबै ध्यान गल्तीतिर तानियो । सरकारले दिएको सहयोगको विषयले स्थान नै पाएन न त बाढीपीडितको व्यथा सतहमा आयो । देउवाको अर्को विवादित दृश्य चर्चामा छ । संसद्मा नीति तथा कार्यक्रममाथिको जवाफका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनी अलमलिए । सांसदहरूको प्रश्न आफैँले लेख्ने वा सहयोगीलाई टिप्न र सँगै जवाफ तयार गर्ने क्रम गरेको भए उनी हाँस्यपात्र हुने थिएनन् । तर संसद्मा उनले प्रश्न बिर्सँदा हाँसोका पात्र बन्न पुगे । के देउवा अब वृद्ध भएका हुन् ? प्रश्न उठ्न लागेको छ ।

देउवाको पार्टीको हालत पनि सन्तोषजनक छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा झर्नुले अनेक प्रश्न उठेका छन् । केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन । विभाग गठन भएका छैनन् । यसअघि सुशील कोइरालाविरुद्ध लागेको यही आरोप थियो । एक महिनाभित्र विभाग र केन्द्रीय कार्यसमिति पूरा गर्ने प्रतिज्ञा गरेका देउवा आफँै अलमलमा परेका छन् । स्थानीय निर्वाचन परिचालनमा नेताहरू जति जानुपर्ने थियो त्यो पूरा भएन । कांग्रेसमा मौलाएको रोग हो– अन्तर्घात । यद्यपि यो पटक अन्तर्घात शब्दलाई एमालेले बहुप्रचलनमा ल्याएको छ । जिल्लामा अन्तर्घात भएको भन्दै धमाधम स्पष्टीकरण, प्रतिवेदन विवरण र कार्बाही प्रारम्भ भएको छ एमालेमा । पहिलो स्थानमा पुगेर पनि उसको चित्त बुझेको छैन । 

यो अन्तर्घात शब्द सबभन्दा पहिले २०४८ को निर्वाचनमा पुनर्जागरण साप्ताहिकले राजनीतिकरूपमा प्रचलनमा ल्याएको थियो । २०४८ को संसदीय चुनावमा किसुनजीविरुद्ध कोइराला परिवारबाट भएको धोकालाई अन्तर्घात भनिएको थियो र काठमाडौं १ मा सम्पन्न २०५० को संसदीय उपनिर्वाचनमा यो व्यापकरूपमा प्रचलित भयो । अहिले अन्तर्घात संस्कारजस्तै हुन पुगेको छ । अन्तर्घातको रोगले एमाले पनि पीडित भएछ । नेपाली कांग्रेसले अन्तर्घातलाई परम्परा जस्तै मानिआएको छ । यो सबै अवस्थाले नेपाली कांग्रेसको दुर्दशा व्यक्त गरिरहेका छन् । देउवाको सुस्तता निरन्तर रहेमा कांग्रेस निरन्तर प्रतीरक्षात्मकमात्र हुनेछ । जसको मूल्य लोकतन्त्रले समेत चुकाउनुपर्ने हुन्छ ।

प्रकाशित: ४ श्रावण २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App