१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शम्भुजित-सानुको सांगीतिक सम्बन्ध

कन्सर्टमा रमाइरहेका दर्शकलाई छक्क पार्दै गत शनिबार बलिउड गायक कुमार सानुले नेपाली संगीतकार शम्भुजित बास्कोटालाई मञ्चमा बोलाए। धेरैको अनुमान विपरीत मञ्चबाटै सानुले बास्कोटालाई 'नेपालको हिरा' भनेर प्रशंसा गरे। सानुले होटल याक एन्ड यतिको भरिभराउ हलमा दर्शकलाई सम्बोधन गर्दै शम्भुजितको संगीतले आफू कायल भएको बताए। सानुले बोलीले मात्र  बास्कोटालाई सम्मान गरेनन्, पछि मञ्चमै बोलाएर उनीद्वारा संगीतबद्ध गीत समेत गाए। सानुले आफू उनको संगीतको फ्यान रहेको बताए।  

बास्कोटाले कुमार सानुलाई सन् १९८० को दशकको उत्तरार्द्धतिर देखेका थिए। बलिउडका फिल्ममा ब्रेक पाउनुअघि कुमार सानु केदारनाथ भट्टाचार्यको रूपमा कोलकाताको पार्क नामको  रेस्टुरेन्टमा गाउँथे। बास्कोटा भने कोलकाताकै डमडम स्टुडियोमा रेकर्डका लागि जान्थे। त्यही समयमा बास्कोटाले सानुलाई भेटेका थिए। दुवैबीच चिनजान भएको थियो।

बलिउडका स्रष्टालाई मात्र महान् देख्ने धेरैका लागि यो यस्तो दृश्य थियो, जो बिरलै देख्न पाइन्थ्यो। कुनै समयको बलिउडको एक नम्बर गायकले बास्कोटालाई दिएको सम्मानले धेरैको मनमा प्रश्नसँगै गर्वको भाव पैदा गराएको थियो। के बास्कोटाले भव्य दर्शकबीच बलिउडका उच्चकोटिका गायकबाट यो लेबलको सम्मानको अपेक्षा गरेका थिए?

'बिल्कुलै थिएन,' केही दिनपछि नागरिकसँग कुरा गर्दै बास्कोटाले भने, 'तर, यो एउटा प्रतिभाले अर्को प्रतिभालाई दिएको सम्मान हो जस्तो लाग्छ। धेरैलाई थाहा छैन, उनी बलिउडमा सुपरहिट हुनुअघि नै मेरो संगीतसँग परिचित थिए।'

बास्कोटाले कुमार सानुलाई सन् १९८० को दशकको उत्तरार्द्धतिर देखेका थिए। बलिउडका फिल्ममा ब्रेक पाउनुअघि कुमार सानु केदारनाथ भट्टाचार्यको रूपमा कोलकाताको पार्क नामको  रेस्टुरेन्टमा गाउँथे। बास्कोटा भने कोलकाताकै डमडम स्टुडियोमा रेकर्डका लागि जान्थे। त्यही समयमा बास्कोटाले सानुलाई भेटेका थिए। दुवैबीच चिनजान भएको थियो।

'मसँग परिचय भएपछि उतिबेलै उनले मैले संगीत गरेका 'पूर्णिमाको रात पनि औँसीको झैँ लाग्न थाल्यो' र 'तिम्रो त्यो हँसिलो मुहारको' गाउने गरेको बताएका थिए। 'दार्जिलिङ, सिक्किमतिर गाउन गएका बेला ती दुई गीत गाउँदा रहेछन्,' 'बास्कोटाले पुराना दिन सम्झँदै भने, 'दुवै गीतको मेलोडी एकदमै मन पर्छ भन्थे। पछि बलिउड फिल्मको पार्श्व गायनमा जमेपछि यही कारण पनि मलाई हेर्ने दृष्टिकोण फरक थियो।'

कार्यक्रममा कुमार सानुले बास्कोटाको प्रशंसा गर्ने क्रममा उनी मुम्बई आएको खबर पाएसँगै आफ्नो व्यस्त समय निकालेर बास्कोटालाई दिने गरेको बताएका थिए। उनले भनेका थिए, 'शम्भुजित मुम्बई आएर मलाई भेट्न चाहेका छन् भन्ने थाहा पाएपछि म सब रेकर्डिङ पर सारेर उनलाई भेट्न जान्थेँ। मलाई विश्वास थियो, उनले मेरा लागि दामी मेलोडी लिएर आएका छन्।'

सानुले गलत बोलेका थिएनन्। बास्कोटाको संगीतमा सानुको आवाजका केही गीत साँच्चिकै कालजयी बनेका छन्। तर, बास्कोटा सानुले बलिउडमा सुपरहिट भए पनि नेपाली संगीत र आफ्ना लागि सधैँ सहयोगी भावना राखेको बताउँछन्।

'उनले हामीलाई आफ्नो व्यस्त समय मात्र होइन, पैसामा पनि धेरै सहयोग गरेका थिए। नेपाली निर्माता उनलाई मुस्किलले १० हजार भारु दिन सक्थे तर त्यो बेला उनले बलिउडका कुनै पनि गीत पाँच लाख घटी गाउँदैनथे', बास्कोटाले भने, 'नेपाली संगीतप्रतिको उनको प्रेमको यही सबैभन्दा ठूलो उदाहरण थियो। उनले बलिउडमा लिने बराबरको पारिश्रमिकले यहाँ फिल्मको आधा सुटिङ सक्ने अवस्था थियो।'

कुमार सानुले सयको हाराहारीमा नेपाली गीत गाएका छन्। त्यसमा केही आधुनिक गीत र धेरै फिल्मका गीत छन्। बास्कोटाको संगीतमा भने सानुले दर्जन जति गीत गाएका छन्। संगीतको लय टिप्न खप्पिस भए पनि कुमार सानुमा उच्चारणमा भने समस्या रहेको बास्कोटाको अनुभव छ। यही कारण रेकर्डिङको समयमा आफू र सानुबीच बारम्बार झगडा पर्ने गरेको बास्कोटाले सम्भि्कए।

'मोहनी फिल्मको एउटा गीत गाउने क्रममा त उसको र मेरो ठूलै झगडा पर्‍यो। 'कसको मायाले आज मोहनी लगायो' भन्ने गीत गाउने क्रममा हामी नराम्ररी बाझ्यौँ। उसले बारम्बार गलत उच्चारण गरिरहेको थियो। मैले जति सम्झाउँदा पनि टिप्न सकिरहेको थिएन। मैले उसको गलत उच्चारणमा कसैगरी पनि चित्त बुझाइनँ। ऊ पनि त्यसो भए म सक्दिनँ भनेर सन्कियो। पछि दुवैले आफ्नो गल्ती महसुस गर्‍यौँ। हाम्रो सम्बन्धमा यो घटना टर्निङ प्वाइन्ट थियो। यही घटनापछि हो, उसले मलाई झन् इज्जत गर्न थालेको,' बास्कोटाले विगत खोतल्दै भने।

कार्यक्रममा सानुले आरडी बर्मनको संगीतमा गाएको एउटा गीतको प्रसंग सुनाएका थिए। बर्मनको संगीतमा सानुले धेरै गीत गाएका थिएनन् तर सम्झने बेलामा उनले उनलाई स्टार बनाउने नदिम श्रवण र अनु मलिकलाई सम्झेनन्। बास्कोटाले पनि सानुले कन्सर्टको बीचमा आफूलाई सम्झनु आफ्नो प्रतिभालाई इज्जत दिएको  क्षणको रूपमा बुझेका छन्।

'यसलाई मैले समग्र नेपाली संगीतकै सम्मानको रूपमा बुझेको छु। उनको मनमा नेपाली संगीतप्रति यस्तो सम्मानभाव रहनु हामी सबैका लागि गर्वको कुरा हो,' बास्कोटाले भने।

प्रकाशित: ७ श्रावण २०७४ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App