२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तर्घातीमाथि कारबाहीमा दलहरू हच्किए

काठमाडौं – तीनवटै ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने घोषणा गरे पनि कार्यान्वयनमा असफल भएका छन् । 

स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्दा त्यसको प्रभाव प्रदेश र संसदको आगामी चुनावमा पर्ने भएकाले पनि अन्तर्घात गर्नेलाई कारबाही गर्न ठूला दलका नेता हच्किँदा त्यससम्बन्धी घोषणा कार्यान्वयन हुन नसकेको हो । अन्तरघात गर्नेलाई कारबाही गर्छौ भन्दै आएका उनीहरूमा यो प्रक्रियालाई अघि बढाउन अलमल देखिएको छ । 

एमालेले स्थायी समितिको गत साउन २ गते बसेको बैठकले पहिलो र दोस्रो चरणको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारसँग घात गर्ने, पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने र बागी उम्मेदवारी दिने पार्टी कार्यकर्ताको छानबिन गरी १५ दिनभित्र केन्द्रमा सूची पठाउन सबै जिल्ला समितिलाई निर्देशन दिएको थियो । तर, सोमबारसम्म एउटा जिल्लाबाट पनि  रिपोर्ट नआएको एमालेका कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । जिल्ला समितिले रिपोर्ट पठाए पनि तत्कालै त्यसमाथि छानबिन नहुने श्रेष्ठले जनाए । जिल्ला समितिले अन्तर्घात गर्नेमाथि छानबिन गरी केन्द्रमा रिपोर्ट पठाएमा साउन मसान्तपछि बस्ने एमाले स्थायी समिति बैठकमा छलफल हुने श्रेष्ठले बताए । ‘अन्तर्घातले पार्टीलाई नोक्सान पु¥याएको छ,’ उनले भने । खासगरी पूर्वी पहाडी जिल्लामा अन्तर्घात भएको एमाले नेताको बुझाइ छ । 

कांग्रेसको स्थिति पनि फरक छैन । यो पार्टीका कतिपय जिल्ला समितिले अन्तर्घात गर्नेलाई कारबाही गरेको जनाए पनि पार्टी विधानअनुसार जिल्ला समितिले कारबाही गर्न सक्दैनन् । जिल्ला तथा क्षेत्रीय समितिले कारबाही गर्न केन्द्रमा सिफारिसमात्रै गर्न सक्छन् । कारबाही गर्ने अधिकार केन्द्रीय अनुशासन समितिलाई हुन्छ। 

कांग्रेसका कार्यलय सचिव प्रेम केसीले जिल्ला समितिले गर्नेे सिफारिसलाई  छानबिन गरी अनुशासन समितिले कारबाही गर्न सक्ने बताए । उनले भने, ‘जिल्ला समितिले  अनुशासनको कारबाही गरेको मान्य हुँदैन।’ 

 कांग्रेस विधानमा  पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, बागी उम्मेदवारको समर्थक र प्रस्तावमाथि स्वतः अनुशासनको कारबाही हुने व्यवस्था छ । पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने पार्टी कार्यकर्तालाई कारबाही गर्न क्षेत्रीय समितिले जिल्ला समितिलाई सिफारिस गर्ने र जिल्ला समितिले केन्द्रमा सिफारिस गर्ने प्रावधान छ । 

तर, कांग्रेसका विभिन्न जिल्ला समितिले आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै पार्टी कार्यकर्तालाई  कारबाही गरेको बताएका छन् । आइतबारमात्रै कपिलबस्तुको शिवराज नगरपालिकाले पार्टीको आधिकारिक  उम्मेदवारलाई असहयोग गरेको भन्दै २४ जनालाई कारबाही गरेको जनाएको छ । आइतबार दाङको बबई गाँउपालिकाले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै २० जनालाई कारबाही गरेको जनाएको छ । यसैगरी कास्की, सुनसरी, झापा, कैलाली, कञ्चपुरलगायत जिल्लामा पनि जिल्ला समितिले पाटीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको जनाएका छन् । केसीले भने जिल्ला समितिबाट   लिखित रूपमा कारबाहीको लागि केन्द्रमा सिफारिस नआएको बताए । दुवै चरणका चुनावमा पराजित भएका केही उम्मेदवारले आफूमाथि अन्तर्घात भएको गुनासो पार्टीका नेता तथा पदाधिकारीलाई  मौखिक रूपमा दिएका छन् ।  

अन्तर्घातबाट स्थानीय तह चुनावमा केही नोक्सानी भएको माओवादी केन्दले निष्कर्ष निकालेको छ ।  माओवादी केन्द्रको गत शनिबार बसेको बैठकले अन्तर्घात गर्नेलाई कारबाही गर्नका लागि छानबिन गर्न ६ वटै प्रदेशका लागि छानबिन समिति बनाउने निर्णय गरेको छ । अन्तर्घात गर्नेका बारेमा छानबिन समितिले केन्द्रमा सिफारिस गर्ने र केन्द्रले त्यसमाथि थप छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने पार्टी सचिवालय सदस्य प्रल्हाद बुढाथोकीले बताए । 

प्रकाशित: १० श्रावण २०७४ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App