१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सडक एम्बुस

अन्तर्राष्ट्रिय जगतमा कुनै अपरिचित व्यक्तिले मौसमबारे कुरा गर्न थाल्यो भने ऊ बेलायती भएको अनुमान गरिन्छ । मौसम सामान्यतः तटस्थ किसिमको विषय हो । अपरिचित व्यक्तिसँग कुराकानी थाल्ने सहज उपाय पनि हो यो । मौसमको विषय झिकेपछि कुरा गर्न सजिलो हुन्छ । 

हामीकहाँ भने कुनै पनि अपरिचित व्यक्तिसँग पनि सहजै छलफल गर्न सकिने विषय हो– सडक । सडकको दूरवस्थाका कारण जोसुकैसँग भेट हुँदा अचेल यसै विषयमा छलफल हुन थालेको छ । कस्तो हिलो ? कस्तो धुलो ? कहिले बन्लान् यी बाटा ? अचेल प्रायः मानिसले बाटोकै चिन्ता गरिरहेका हुन्छन् । तर अझै यसबारे हाम्रो संवेदनशीलता पर्याप्त छैन ।
प्रायः म छिमेकीहरूसँग बाटोबारे कुरा गरिरहन्छु । बैरागलाग्दा खाल्डा देखेर उनीहरूलाई आग्रह गर्छु– लौ न जाऔं सम्बन्धित निकायमा यी खाल्डाबारे छलफल गर्न । हामी सबै मिलेर यो सडक ठीक बनाउन सकिएला कि ? 

आउनोस् सडकबारे आवाज उठाऔं । यस्तो अवस्थामा पनि हामी नबोले स्थिति झनै खराब हुनेछ । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा बाँचेका हामी खाल्डामा खसेर मर्ने खतरा दिनानुदिन बढिरहेको छ । 

उनीहरू प्रायः भन्छन्– खोइ यहाँको त ठेकेदार भागेको रे । कोही भन्छन्– काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमामा परेको हुनाले कसले मर्मत गर्ने भन्ने टुंगो नलाग्दा यस्तो भएको रे । किनभने हाम्रा सडक समन्वय गर्ने निकायबीच समन्वय नभएरै अहिलेको अवस्थामा छन् । सडकका लागि बजेट छ तर काम हुँदैन । 

नेपाली कांग्रेसबाट निर्वाचित युवा नेता गगनकुमार थापाको क्षेत्र हो कपन । एकपटक साह्रै अनुरोध गरेपछि उनले त्यो ठाउँमा सरोकारवालाको बैठक बोलाइदिए । सडकका हाकिम पनि बोलाइएको थियो । तिनले तत्कालै काम सम्पन्न गर्ने आश्वासन दिए । हामी त्यो सुनेर फक्र्यौं । काम भएन । उनी स्वास्थ्य क्षेत्रको सुधारमा लागे, हाम्रो क्षेत्रका सडकमा झन् ठूला खाल्डा भए । 

यो कपन चखुञ्चाखोलामाथि बनेको सडकको कथा हो । यो सडकको जीवनमा एक दशकअघितिर कालोपत्रे भएको थियो त्यो पनि स्थानीयको पहलकदमीमा । स्थानीय उपभोक्ताले निश्चित रकम बुझाएपछि त्यो सडक पिच भएको हो । त्यसयता धेरै पटक बजेट व्यवस्था अवश्यै भयो होला, तर कहिल्यै काम भएन । 

त्यसपछि त्यो सडकमाथि ठूला गाडी कुद्न थाले । सडक बनाएको गाडी कुदाउनकै निम्ति हो । विस्तारै सडकमा खाल्डा बन्न थाले । बेलैमा त्यसमा मर्मत हुन सकेको भए सडक रहिरहन्थ्यो । अहिले कालोपत्रे भएको सडक हेर्न चक्रपथभित्रका केही ठाउँमा आउनुपर्छ । 

संसद्मा निर्वाचित व्यक्तिको आदेश पनि पालना हुन सकेन । सांसद पनि आफैँ ब्यस्त छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भयो । स्थानीय तहको निर्वाचनमा आफ्नै टोलछिमेकका सदस्य पनि निर्वाचित भए । फूलमाला र अबिर लाएर जनप्रतिनिधि हिँड्न थालेपछि लाग्यो– अब भने हाम्रा सडकले जुनी फेर्ने भए । 

यो झरीमा सडकमा खाल्डा झन् ठूला भए । जनप्रतिनिधि पनि मुख लुकाएर हिँड्न थालेका छन् । बरा तिनले पनि गरुन् के ? कुनै एउटा ठाउँ भए पो काम गरुन् ? जताततै उस्तै छ । हरेक दिन कपनबाट बाहिर निस्किने बेलामा एउटा महाभारत हुन्छ । राजधानी काठमाडौंमात्र होइन, देशैभर यो अवस्था छ । 

कतिपटक मोटरसाइकलमा पहिले गएर सडक रेकी गरिसकेपछि मात्र गाडी निकालेको अवस्था पनि छ । मोटरसाइकल लिएरमात्र हुँदैन, एकजोर गमबुट पनि चाहिन्छ । त्यो हिलो र खाल्डा छिचोलेर गन्तव्यमा पुग्न हम्मे पर्छ । कहिलेकाहीँ कुनै सडकमा ल्याएर दुई ट्रिप माटो हालिन्छ । 

माटोसँगै ठूल्ठूला ढुंगा ल्याएर असरल्ल छाडिदिएको हुन्छ । गिटी हालिदिनुपर्छ भन्ने पनि सोच सरोकारवाला निकायलाई छैन । त्यसलाई ल्याएर सम्याइ छाडिदिए पनि सहज हुन्थ्यो । गाडी अगाडि बढायो ड्वाङ्ग ढुंगाले तल हान्छ । तल गाडीमा ढुंगाले जतिपल्ट छुन्छ उतिपल्ट गाडीधनीको मुटु फुट्लाजस्तो हुन्छ । 

केही दिनअघि नेपालयमा आयोजित कलाकार शान्ति ठटालको सांगीतिक कार्यक्रममा भेटिएका वरिष्ठ सञ्चारकर्मी एवं गायक रवीन शर्माले यो प्रसंग उठाउँदा आफ्नै बह उनले पोखिदिएजस्तो अनुभूति भयो । उनी बस्छन् जोरपाटीमा । अचेल चावहिलबाट जोरपाटीसम्म जानु भनेको एउटा ठूलै महाभारत हो । 

कतिपटक मोटरसाइकलमा पहिले गएर सडक रेकी गरिसकेपछि मात्र गाडी निकालेको अवस्था पनि छ । मोटरसाइकल लिएरमात्र हुँदैन, एकजोर गमबुट पनि चाहिन्छ । त्यो हिलो र खाल्डा छिचोलेर गन्तव्यमा पुग्न हम्मे पर्छ ।

छोरीलाई कलेज पुर्‍याउने बेलामा अचेल हामी कहिल्यै गाडी लिएर त्यो बाटो हिँड्दैनौं । मोटरसाइकलले समेत ती खाल्डामा जोल्टिङ ख्वाउँछ । त्यसमाथि ठेकेदारले बेलाबेलामा ल्याएर हाल्ने माटोले सिंगै सडक रोपाइँका निम्ति तयार हुन्छ । यस्तो बेथिति र विडम्बनाको अवस्था यसअघि कहिल्यै देखिएको थिएन । 

म कपनमा बस्न थाल्दा सुरुमा धेरै बाटा थिएनन् । बस्ती पनि ठूलो थिएन । बाटो नहुँदा बाइकमै रात÷साँझ गर्दा चिप्लेटी खेल्दै पनि गइन्थ्यो त्यहाँ । पछि सडक बने जताजतै । सडकसँग घर बने । असाध्यै सुविधाजनक ठाउँजस्तो लाग्थ्यो । अचेल काममा निस्किने मानिसहरू, स्कुल जाने साना नानीहरूको बिजोग देखिन्छ जताततै । कतै एक टुक्रा टेक्ने ठाउँ पाइन्छ कि भन्दै खोज्नुपर्ने हुन्छ । 

यता सहरतिर भने पिचमाथि पनि पिच गरेको देखिन्छ । सुन्धाराको एउटा पेटी हामीले देख्दादेख्दै तीन पटक भत्काउँदै र बनाउँदै गरेको देखियो । सहिदगेट, रत्नपार्कतिर आधाआधा पिच गरेर झारा टारेको पनि देखियो । तर, त्यता कुनै न कुनै रूपमा पिच गर्ने काम भइरहेकै हुन्छ । तर चक्रपथ बाहिर एक दशकसम्म पनि कुनै कुनै क्षेत्रमा बाटो बनाउने काम भएको छैन । 

म पूर्वी पहाडको भोजपुरबाट तीन दशकअघि राजधानी खाल्डो आउँदा यो सफा, स्वच्छ र स्निग्ध थियो । बरु भक्तपुर केही फोहरजस्तो लाग्थ्यो । बरु अहिले भक्तपुरले सरसफाइमा काठमाडौं र ललितपुर दुवैलाई उछिनेको छ । तीन दशकमा मुलुकले राजनीतिक र सामाजिक परिवर्तनमा संसारलाई चकाचौध पारे पनि विकास निर्माणका काम पूरा नगरेर नागरिकलाई दिक्क पारेको छ । 

राजधानी काठमाडौंको कपन नै हेरौं न । दुई दशकमै यो ठाउँ एउटा सुन्दर खेतीयोग्य फाँटबाट कंक्रिटको विरूप जंगलमा रूपान्तरण भएको छ । हामी जुनबेलादेखि यहाँ बस्यौं यो कपन गाउँ विकास समिति थियो । अहिले यो पदोन्नति भएर बूढानीलकण्ठ नगरपालिका भएको छ । गाउँ विकास समिति नगरपालिका भयो तर हामीले पाउने सुविधामा कुनै परिवर्तन आएको छैन । बरु हिजो गाविस हुँदा हिँड्ने बाटाघाटा त थिए, अहिले त्यो पनि छैन । 

मेलम्चीको पानी खाने सपना राजधानीले देखेपछि यसको बेहाल भएको छ । दुई दशकभन्दा बढी यो योजना लम्ब्याएर राजधानीबासीलाई मृत्युको घाटमा पु¥याउने काम आयोजना र यसका जिम्मेवार ठेकेदारहरूले गरेका छन् । राजधानीका सडक सुधारको जिम्मेवारी पाएकाहरूले बहानाबाजी गरेर समय कटाएका छन् । ठेकेदार पोसेका छन् तर काम भएन । 
हालै कक्षा ३ मा अध्ययनरत विनिता फुँयालको सडकमा समयमा मर्मत नभएको ढलमा परेर निधन भएको छ । अर्की वालिका सत्या सापकोटा त्यस्तै ढलमा परेर बाँच्न सफल भइन् तर तिनले जिन्दगीभर त्यो त्रासदिलाई सम्झेर जिउनुपर्ने भएको छ । धन्य, प्रधानमन्त्री शेरबहादुर देउवाले भने यो विषयलाई संवेदनशील भएर हेरे र आफ्ना निकायलाई १५ दिनभित्र खाल्डा पुर्ने निर्देशन दिए । 

प्रधानमन्त्रीको निर्देशनले हामीलाई यति आशावादी बनायो कि प्रत्येक दिन खाल्डा पुर्ने निर्देशन कार्यान्वयनको ‘काउन्ट डाउन’ छाप्दै आएका छौं । तर सरकारी निकायले प्रधानमन्त्रीको निर्देशन गम्भीरपूर्वक कार्यान्वयन गरेको महसुस भएको छैन । त्यसलाई अझ लामो समयसम्म अघि बढाउन फेरि अर्को निर्देशन दिनुपर्ने अवस्था देखिएको छ । 

सडकको अवस्थाबाट हामी सबै पीडित भएका छौं । हामी सडक प्रयोग गरेवापत सवारीको कर बुझाउँछौं । आफूले गरेको आम्दानीको निश्चित प्रतिशत पनि सरकारलाई बुझाउँछौं । त्यतिमात्र होइन, आफूले खाएको एक प्लेट मःमःको पनि हामी कर बुझाउँछौं । राज्यले पनि हामीलाई हिँड्नलायक बाटो र सुविधा दिनुपर्ने हो, दिएन ।

आउनोस् सडकबारे आवाज उठाऔं । यस्तो अवस्थामा पनि हामी नबोल्ने हो भने स्थिति झनै खराब हुनेछ । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा बाँचेका हामी खाल्डामा खसेर मर्ने खतरा दिनानुदिन बढिरहेको छ । 
भन्नोस् त, तपाईंको घर नजिकैको सडक कस्तो छ ?

प्रकाशित: १५ श्रावण २०७४ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App