१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

काठमाडौं- थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषय मिलाउन नसकेपछि भोलिपल्ट निरन्तरता दिने भन्दै साउन ११ मा स्थगित गरिएको बैठक पुनः स्थगित गरिएको थियो। थ्री स्टारकै विषयमा सहभागीबीच चर्काचर्की भएपछि भोलिपल्ट १ बजेसम्मका लागि स्थगित गरिएको भने पनि अन्तिम समयमा अध्यक्ष नरेन्द्र श्रेष्ठले सूचना टाँस गरेर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेका थिए।

सूचनामा स्थगित भनिए पनि उक्त बैठकलाई रद्द गर्दै साउन ३२ का लागि अध्यक्षले बुधबार नयाँ बैठक बोलाएका छन्। पुराना एजेन्डामा वार्षिक रूपमा दिइने गरेका पुरस्कारको नयाँ विषय थप गरेर बुधबार कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पत्राचार गरिएको छ। अघिल्लो पटक सहमति जुट्न नसकेको थ्री स्टारको विषयले आगामी बैठक पनि प्रभावित हुने एन्फाको उच्च स्रोत बताउँछ।

तर एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अबको बैठकबाट निष्कर्ष आउने दाबी गर्छन्। 'थ्री स्टारलाई क्षतिपूर्ति दिने विषय चाँडोभन्दा चाँडो विशेष साधारणसभा बोलाएर त्यहीं छलफल गर्ने विषयमा साथीहरूबीच सहमति भइसकेको छ। असन्तुष्ट साथीहरूसँग छलफल भइरहेको छ। अबको बैठकमा सहमति नभए प्रक्रियामा जान्छ। अस्ति पनि प्रक्रियामा गएको भए निर्णय आउँथ्यो,' तुलाधरले भने, 'बैठकसम्म सबथोक टाकटुक मिल्छ। सहमतिमै निर्णय हुन्छ।'

थ्री स्टारले एसिया कप खेल्न नपाएको विषयमा छानबिन गर्न एन्फाद्वारा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही गरेपछि मात्र क्षतिपूर्तिको विषयमा प्रवेश गर्नुपर्ने अडान केही सदस्यले राखेपछि अघिल्लो बैठक स्थगित भएको थियो। मानार्थ अध्यक्ष टासी घले, समितिका संयोजक खड्का, केन्द्रीय सदस्यद्वय पंकजविक्रम नेम्वाङ र वसन्त अर्याल तथा सहमहासचिव किरण राईले क्षतिपूर्तिको विषयमा छलफल गर्नुअघि दोषीमाथि कारबाही गर्नुपर्ने अडान राखेका थिए।

अर्का सहमहासचिव सञ्जीव मिश्र र केन्द्रीय सदस्य रमेश रायमाझी सदस्य रहेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा महासचिव धीरेन्द्र प्रधान, कर्मचारीहरू गोकुल थापा र वसन्त रिजाललगायतलाई दोषी ठहर गरेको बताइएको छ।

अघिल्लो बैठक स्थगित गरेपछि एन्फा अध्यक्ष श्रेष्ठले थ्री स्टारकै विषयका कारण बैठक सम्पन्न गर्न नसकेको बताएका थिए। 'अहिले फुटबलको भविष्यसँग गाँसिएको विषय छ। यसलाई होमवर्क पुगेन। सबै साथीहरूसँग गहन छलफल गरेर निष्कर्षमा पुगौं भनेर बैठक केही दिनका लागि स्थगित गरिएको हो,' अध्यक्ष श्रेष्ठले नागरिकसँग भनेका थिए, 'थ्री स्टारको विषयमा साथीहरूबाट धेरै खालको कुरा आयो। केही वर्षदेखि हुन नसकेको लिग नगरी हुँदैन। तर फुटबलको भविष्यसँग गाँसिएको विषय भएकाले हेलचेक्र्याइँ पनि गर्नु भएन। त्यसैले साथीहरूसँग गहन छलफल गरेर मात्र बैठक बस्नेछौं र त्यो बैठकले राम्रो समाधान ल्याउनेछ।'

स्रोतका अनुसार आगामी बैठकमा छानबिन समितिको प्रतिवेदन टेबुल गरिनेछ। त्यसपछि प्रतिवेदनको समीक्षा गर्दै सुझाव पेस गर्न अर्को उच्चस्तरीय समिति बनाइनेछ। त्यो समितिलाई केही हप्ताको समय दिइनेछ र त्यस अवधिभर प्रतिवेदनमा मुख्य दोषी ठहर गरिएका महासचिव प्रधान र कर्मचारी थापा निलम्बनमा रहने सहमति भएको छ। थ्री स्टारलाई क्षतिपूर्ति दिने विषय भने छलफलका लागि विशेष साधारणसभामा पठाउने विषयमा पनि भद्र सहमति भएको स्रोतले दाबी गर्‍यो। तर तुलाधरले भने निलम्बनको विषयमा सहमति नभएको बताए।

'अहिले केही साथीहरू थ्री स्टारको विषयमा कार्यसमितिले क्षतिपूर्ति दिने निर्णय गरेर आफू फस्न नचाहने मुडमा देखिएका छन्। क्षतिपूर्ति दिए आफूहरू फसिन्छ भन्ने डर साथीहरूमा छ,' स्रोतले भन्यो, 'त्यसैले यो विषय विशेष साधारणसभामा पठाउने कुरा भएको छ। यसबीचमा महासचिव र गोकुल थापाजीलाई फुटबल गतिविधिबाट अलग राखिनेछ। यसमा उहाँहरू पनि सहमत हुनुहुन्छ।'

एन्फाको गल्तीका कारण राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार छनोट प्रतियोगिता पार गरे पनि एसिया कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो।

थ्री स्टारले उक्त प्रतियोगिता खेल्न नपाएपछि दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति नदिएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने निर्णय लिएको थियो। थ्री स्टारले सुरुमा ६ करोड रुपैयाँ क्षतिपूर्ति मागे पनि पछिल्लो समय एन्फा र क्लब पदाधिकारीबीच १ करोड ५० लाख तथा तीनवटा मैत्रपूर्ण खेलमा अनौपचारिक सहमति भएको थियो। त्यही अनौपचारिक सहमतिलाई कार्यसमितिबाट अनुमोदन गराउनेसहित नयाँ निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, महिला प्रतियोगिता, फुटसल गर्ने, भौतिक पूर्वाधारको अभावलगायतका विषय अघिल्लो बैठकका एजेन्डा थिए।

'तिनै एजेन्डामा पुरस्कार थप गरेर नयाँ बैठकका लागि पत्राचार भएको छ,' एन्फाका एक सदस्यले भने, 'नयाँ बैठक भनिएपछि पहिलाको बैठकमा भएका केही निर्णयमाथि पनि फेरि छलफल हुनेछ।'

एन्फाले बर्सेनि प्रदान गर्दै आएका रूपक स्मृति, शरद्चन्द्र शाह स्मृति र वर्षको उत्कृष्ट खेलाडी पुरस्कारका लागि उम्मेदवार चयन आगामी बैठकले गर्नेछ। तर ५ लाख रुपैयाँ राशिको शरद्चन्द्र शाह स्मृति पुरस्कार भने एन्फाका पूर्वकार्यवाहक अध्यक्ष लतिलकृष्ण श्रेष्ठलाई मरणोपरान्त दिने सहमति भइसकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए। 'ललित दाइलाई दिने विषयमा सहमति भएको हो। निर्णय बैठकले गर्नेछ,' उनले भने।

आगामी बैठकका लागि पुरस्कारको एजेन्डा थप गरिएपछि गत वर्ष मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको विजेता टोलीका सदस्यलाई दिइने भनेको जनही ३ लाख रुपैयाँ अहिलेसम्म दिन नसकेको तथा दुई वर्षअघि बंगलादेशमा जितेको बंगबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको पुरस्कार ५० हजार डलर ल्याउन नसकेको विषय पनि उठ्ने सम्भावना छ। एन्फाले सोलिडारिटी कप जित्नेबित्तिकै सबै खेलाडीलाई ३ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको थियो। तर बंगलादेश फुटबल संघले बंगबन्धुको पुरस्कार नपठाएका कारण सोलिडारिटी कपका विजेतालाई पुरस्कृत गर्न नसकेको तुलाधरले बताए।

'कार्यसमिति वैठकले स्रोत खोजेर पुरस्कृत गर्ने भनेर निर्णय गर्‍यो। तर हामीले बंगबन्धुको पुरस्कारलाई यता प्रयोग गर्ने योजना बनाएका थियौं। उनीहरूले सधैं केही दिनमा पठाउछौं भनिरहेका छन्। तर पैसा आएको छैन,' तुलाधरले भने।

बंगबन्धुको अर्को संस्करण आउँदो डिसेम्बरमा हुँदै छ। त्यसका लागि साबिक विजेताको हैसियतमा नेपाललाई पनि निम्तो आइसकेको तुलाधरले बताए।

निर्वाचन पुसमा

कार्यसमितिको समयावधि कात्तिक १९ मा सकिने भए पनि एन्फाले नयाँ चार वर्षे कार्यकालका लागि पुस २४ मा निर्वाचन गर्ने भएको छ। साउन मसान्तमा बस्ने कार्यसमिति बैठकले औपचारिकता दिने गरी पुस २४ का लागि चुनावी साधारण सभाको मिति तय भएको बताइएको छ।

यसै गरी लामो समयदेखि हुन नसकेको सहिद स्मारक 'ए' डिभिजन लिग मंसिरमा गर्ने योजनालाई पनि कार्यसमिति बैठकले अनुमोदन गर्ने तुलाधरले बताए।

प्रकाशित: २० श्रावण २०७४ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App