२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर एकै परिवारका चार सहित ६ जनाको मृत्यु (अपडेट)

बाग्लुङ-जिल्लाको निशीखोला—२ बाहुन गाउँका रेमबहादुर छन्त्यालको विदेशमा धन कमाएर आफ्नो परिवार सुखी राख्ने सपना अब कहिल्यै साकार नहुनेगरी टुटेको छ। विदेशमा कमाएको धनले परिवारलाई सुख दिने रंगिन सपना बोकेर प्रदेश छिरेको एक महिना नपुग्दै दैवले उनको सपनामाथि बज्र प्रहार गरेको हो। बुढेशकालमा बाबु—आमालाई आराम दिने, बहिनीलाई राम्रो कलेज बढाउने, श्रीमतीलाई सुख सयलमा राख्ने, सन्तानलाई बोर्डिङ स्कुल पढाउने, यस्तै यस्तै अनगिन्ती चाहानाहरु संगालेर विदेशी भूमिमा पाईला टेकेका छन्त्याल परिवार बिहीबार राती झरेको पहिरोमा परेर मारिएपछि उनको सपना अधुरो भएको हो। पहिरोमा पुरिएर छन्त्यालका बाबु ६७ वर्षीय मनिमान छन्त्याल, आमा ६३ वर्षीया नन्दकली छन्त्याल, उनकी पत्नी २२ वर्षीया बिन्दु छन्त्याल र बहिनी १८ वर्षीया गिता छन्त्याल भगवानको प्यारो भएका छन्।

केही समय अगाडी मात्र विवाह गरेका छन्त्याली श्रीमती बिन्दु दुईजीउकी (गर्भवती) रहेको स्थानीयले बताएका छन् । ‘पहिरोले पुरिएर परिवारमा भएका सबै सबैको मृत्यु भएको छ,’ निशीखोला—२ का वडाध्यक्ष कुविर विश्कर्माले भने,‘बिन्दुको पेटमा गर्भ रहेको भन्ने स्थानीयले कुरा गरेका छन् । यो पहिरोले परिवार नै सखाप पारेको छ ।’ घरमा सुतेको समयमा राती करिब तीन बजेको सयमा अविरल वर्षासंगै झरेको पहिरोले छन्त्यालको परिवारमा भएको चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले पुष्टी गरेको छ । पहिरोले छन्त्यालको घरगोठ पुरै पुरिएको छ ।

 निरन्तरको वर्षासंगैको पहिरोले निशीखोला गाउँपालिका—१ हुल्दीमा पनि ७५ वर्षीया खगिसर सिंजालीको मृत्यु भएको छ । घरमाथीबाट खसेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए । परिवारका अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले ढोरपाटन नगरपालिका—५ का ओमप्रसाद कामीको पनि ज्यान लिएको छ । शुक्रबार बिहानपख झरेको पहिरोल घर पुरिँदा घरसंगै पुरिएका ५५ वर्षीय कामीको लास फेला परेको प्रहरीले जानकारी दिएको छ । कामीको परिवारका अन्य सदस्यहरुलाई भने छिमेकीले उद्धार गरेर बचाएका छन्।

पहिरोले निशीखोलाको विभीन्न ठाउँमा गरी एक दर्जन घरमा क्षति पु¥याएको बताईएको वडाध्यक्ष विश्वकर्माले बताए । निशीखोलाका जोकलाल मल्लको घर गोठ र शौचालय र  चारवटा बाख्रा र कुखुराको फर्म समेत बगाएको छ । सोहि स्थानका प्रेम विक , लालसिंह विक, र भिमबहादुर भण्डारी, भक्तबहादुर विकको घर भत्किएको छ। घर भत्किँदा पशुचौपाया समेत मरेको वडाध्यक्ष विकले जानकारी दिए। पहिरोका कारण हुल्दीका करीब पचास घरधुरी पहिरोको उच्च जोखिम परेसंगै माथिल्लो दहको वनतर्फ लागेका छन् । निरन्तर वर्षाका कारण गाउँ नै पहिरोले बगाउन अवस्था देखिएपछि विस्थापित हुने स्थीति देखिएको स्थानीय सम्झना केसीले बताईन् ।

बाढिका कारण निशीखोला दोश्रो लघुजलविद्युत आयोजनाको कुलो बगाउँदा त्यहाँका एक हजार ६५ घरधुरी उपभोक्ता अन्धकारमा बस्नुपर्ने भएको छ। अहिलेसम्म बाढी पहिरोले पुर्‍याएको मानवीय क्षतिको मात्रै एकिन भएको तर भौतिक क्षतिको विवरण आउने बाँकी रहेको निशीखोला—१ का वडाध्यक्ष ईन्द्र मल्लले बताए। ‘अहिलेसम्म मानवीय क्षतिको खोजी उद्धारमा खटिएका छौं,’ मल्ले भने,‘भौतिक सम्पत्ती जग्गा जमिनको क्षति कति भएको छ भन्ने कुनै एकिन छैन ।’ पहिरोले क्षति पुर्‍याएका १ र २ वडाका विभीन्न ठाउँमा अझै पनि पहिरोले मानवीय क्षति पुर्‍याउन सक्ने देखिएकाले त्यहाँका स्थानीलाई सुरक्षीत ठाउँमा सार्ने काम भैरहेको निशी—२ का वडाध्यक्ष कुविर विश्कर्माले जानकारी दिए । बाढि पहिरोका कारण भौतिक र मानवीय क्षति व्यहोरेका परिवारलाई अवस्था हेरेर गाउँपालिकाले सक्दो सहयोग गर्ने निशीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

 

 

 

प्रकाशित: २० श्रावण २०७४ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App