१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रुद्राक्ष फेसन

शिवको आँसुबाट फलेको भन्दै हिन्दू धर्मावलम्बीले रुद्राक्षलाई पवित्र र शक्तिशाली फल मान्छन् । रुद्राक्ष धारण गरे रक्षात्मक शक्ति प्राप्त हुने विश्वासका कारण यसलाई विभिन्न रूपमा प्रयोग गरिन्छ । आध्यात्मिक महत्त्वका कारण धारण गरिने रुद्राक्षलाई नयाँ पुस्ताले भने स्टाइलका लागि लगाउन थालेका छन् । 

‘रुद्राक्षलाई धेरै डिजाइनमा बनाउने चलन बढेकाले पनि युवाले फेसनका रूपमा प्रयोग गर्छन्,’ पशुपति क्षेत्रमा रुद्राक्ष पसल चलाउने राहुल कुमारले भने, ‘धार्मिक काम पनि हुने, स्टाइलको काम पनि हुने।’ 

रुद्राक्षको दानालाई माला, ब्रासलेट, पेन्डेन्टजस्ता गहनाका रूपमा प्रयोग गर्न सकिन्छ । पुरुषले ठूला दानाका रुद्राक्षलाई ब्रासलेटका रूपमा प्रयोग गर्न रुचाउने गरेको राहुलले बताए । उनले भने, ‘महिलाले भने रुद्राक्षका दानाको पेन्डेन्ट बनाएर लगाउन मन पराउँछन् ।’ माला र पोते उनिएको वा सादा धागोमा रुद्राक्षको दाना उनेर पेन्डेन्ट बनाउँछन् । उनले पशुपतिमा रुद्राक्षको पसल चलाएको सात वर्ष भयो । धार्मिक आस्थाका आधारमा भक्तहरूले धारण गर्ने विभिन्न सामग्री उनको पसलमा छन् । उनले विभिन्न पूजा अनुष्ठान तथा धार्मिक कामका लागि चाहिने सामग्री पनि बेच्न राखेका छन् । यद्यपि उनको व्यापारको ९५ प्रतिशत भाग रुद्राक्षकै रहेको राहुलले बताए । 

यसरी रुद्राक्षका सामान प्रयोग गर्नेमा सबै उमेर र वर्गका मानिस छन् । कसैले आध्यात्मिक भावनाले त कसैले फेसनका रूपमा प्रयोग गर्छन् । फेसनेबल वर्गलाई बजारमा पाइने रुद्राक्षका स्टाइलिस एसेसरिजले आकर्षित गरेको देखिन्छ । पशुपति घुम्न आएका रामेछापका सानु खड्काले सीता लामाको पसलबाट रुद्राक्षको पेन्डेन्ट र ब्रासलेट किने । सानु भन्छन्, ‘माला असाध्यै राम्रो लाग्यो । त्यसैले किनेको हुँ ।’ रुद्राक्षको धार्मिक विश्वासबारे भने आफू त्यति जानकार नभएको र वास्ता पनि नभएको सानुले सुनाए । भने, ‘जसले नि लगाउँछन् । धार्मिक विश्वास जे भए पनि म भने यसलाई गहनाका रूपमा लगाउँछु ।’ 

दुर्लभ मानिने एकमुखे रुद्राक्ष लाखौँ मूल्यमा बिक्री हुन्छ । प्रशस्तै पाइने खालका रुद्राक्ष सस्तैमा पनि बेचिन्छन् । नेपाली बजारमा किनबेच हुने रुद्राक्ष केही नेपालमै उत्पादित हुन् भने धेरैजसो इन्डोनेसिया, भारतबाट आयातित।

सीता लामा पशुपतिमा चार वर्षदेखि रुद्राक्षको पसल चलाउँछिन् । उनको पसलमा क्रिस्टलको पोते, प्लास्टिकको मोती माला, पञ्चधातुका बाला, औँठी र रुद्राक्षका सामग्री छन् । उनको पसलमा रहेका स्टाइल एसेसरिजमा विभिन्न रूपमा रुद्राक्षको प्रयोग गरिएको छ । स्टाइल र जप दुवै उद्देश्यले रुद्राक्षको प्रयोग गरिने सीताले बताइन् । आफ्नो पसलको ग्राहक भारतीय र नेपाली रहेको उनले सुनाइन् । फेसनका लागि लगाउनेले ब्रासलेट र पेन्डेन्ड किन्ने गरेको उनी बताउँछिन्। 

रुद्राक्षलाई फेसनका रूपमा प्रयोग गर्न रुचाउने सानुजस्तै वर्गका लागि बजारमा रुद्राक्षका माला, बाला, पेन्डेन्टजस्ता सामान बेच्न राखिएका हुन्छन् । त्यस्ता बजारमध्ये पशुपति, स्वयम्भू लगायत विभिन्न पर्यटकीय क्षेत्रको मन्दिर क्षेत्रमा रुद्राक्ष पाइन्छ। 

युवा पुस्ता पुराना फेसनतिर फर्किरहेका कारण रुद्राक्षका स्टाइल सामग्रीको राम्रो बजार सिर्जना भएको बौद्धमा रुद्राक्ष व्यापार गर्ने सावन बानियाँ बताउँछन् । उनी भन्छन्, ‘क्लासिक फेसनतिर युवा पुस्ता ढल्किरहेका छन् । यस्तैमा रुद्राक्षले पनि बजार लिएको हो।’ 

बौद्ध स्तूपमा रहेको उनको लुम्बिनी ह्यान्डिक्राफ्टमा रुद्राक्ष लगायत विभिन्न जप माला बेच्न राखिएका छन् । रुद्राक्षका माला, पेन्डेन्ट र ब्रासलेटको स्टाइल धेरैले रुचाउने गरेको बानियाँले बताए । अधिकांश उनका ग्राहक चिनियाँ भए पनि रुद्राक्ष प्रयोग गर्ने नेपालीको पनि कमी छैन।

परापूर्वकालदेखि नै रुद्राक्षलाई पूर्वीय साधुसन्तले प्रयोग गर्दै आइरहेका छन् । आधुनिक युगका मानिसले यसलाई व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको कामना गर्दै धारण गर्ने गरेका छन् । पछिल्ला दिनमा रुद्राक्षको शक्तिको वैज्ञानिक परीक्षण समेत भएका छन् । जसकारण यसले विश्वव्यापी रूपमा ठूलो बजार बनाएको छ । बजारको विश्वव्यापी विस्तारसँगै रुद्राक्षका सामग्रीका परिमार्जित स्टाइल पनि देख्न पाइएको छ । रुद्राक्षका दानालाई सुन्दर स्टाइल दिइएका कारण नयाँ पुस्ताले समेत यसलाई स्टाइलका रूपमा स्वीकार गरेको छ। 

विश्व बजारमा विभिन्न मुखी रुद्राक्षलाई फरक–फरक मूल्य निर्धारण गरिएका हुन्छन् । व्यवसायी सावन बानियाँका अनुसार रुद्राक्षको मूल्य निर्धारण गर्ने कुनै वैज्ञानिक मापदण्ड नभए पनि यसको चिरा (मुख) गणना गरी मूल्य निर्धारित हुन्छ । ‘दुर्लभ मानिने एकमुखे रुद्राक्ष लाखौँ मूल्यमा बिक्री हुन्छ । प्रशस्तै पाइने खालका रुद्राक्ष सस्तैमा पनि बेचिन्छन्,’ उनले भने । यसरी महँगा मूल्यका रुद्राक्षलाई महँगा गहनाका रूपमा नेपालीले प्रयोग गर्ने गरेको उनले बताए । नेपाली बजारमा किनबेच हुने रुद्राक्ष केही नेपालमै उत्पादित हुन् भने धेरैजसो इन्डोनेसिया, भारतबाट आयात हुने व्यवसायी बताउँछन्। 

प्रकाशित: २७ श्रावण २०७४ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App