१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
नागरिक खोज

बेचेको मूल्य नभन्न निगमका अधिकारीद्वारा जग्गाधनीलाई धम्की

नेपाल आयल निगमले झापाको चारआलीमा किनेको जमिन। तस्बिर : राजु अधिकारी

झापा- नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन्। चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्।

निगमले झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई अतिरिक्त रकम दिएर दोब्बरभन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ। कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने सर्तमा राज्यकोषको लाखौं रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गाधनीलाई चुप बस्न भनेका हुन्।

सरकारी मूल्यांकन तथा चलनचल्तीको भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भएको देखाएर करोडौं रकम घोटाला भएको आरोप खेपिरहेको आयल निगम नेतृत्वले जग्गाधनीको 'मुख थुन्न' राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो। जग्गा बिक्री गर्दा त्यसरी अतिरिक्त पैसा बुझेकै कारण जग्गाधनी मौन बसेका छन्। केहीले भने लामो अनुरोधपछि केही कुरा खोलेका छन्।

आयल निगमलाई जग्गा बिक्री गरेका झापा चारआलीका बासिन्दाकाअनुसार सुरुमा तय भएको मूल्यभन्दा धेरै बढी रकम पास गर्ने बेलामा देखाउनकै लागि दलालले उनीहरुलाई अतिरिक्त पैसा दिएका हुन्। सुरुमा ६ लाख रुपैयाँ कट्ठामा मोल छिनेको जग्गा मालपोतमा कागज मिलाउने बेला साढे १३ लाखको बनाएको र त्यसका लागि उनीहरुले प्रतिबिघा दुई लाख रुपैयाँ बढी दिएर लिखतमा हस्ताक्षर गराएका थिए।

कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने सर्तमा राज्यकोषको लाखौं रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गाधनीलाई धम्क्याउन सुरु गरेको छ। जग्गा खरिदको अगुवाइ गर्ने दलाल तथा आयल निगमकै कर्मचारीका नाममा गाउँलेलाई नियमित जसो धम्की आउने गरेको छ। जमिन खरिद गर्दा भएको करोडौं घोटालाबारे लगातार नयाँ तथ्य सार्वजनिक हुन थालेपछि र संसदीय समितिहरुले पनि उच्च चासो देखाएपछि आयल निगम नेतृत्व र दलालले पुराना जग्गाधनीलाई 'कुरा नखोल्न'भन्दै धम्क्याउन थालेका हुन्। धम्की आउन थालेपछि जग्गाधनी पनि बोल्न डराएका छन्। 'काठमाडौंको ल्यान्डलाइन नम्बरबाट जग्गा विवाद उल्टिन सक्छ, कोहीसँग पनि यसबारे नबोल्नू भनेर फोन आएको छ,' एक जग्गाधनीले भने।

धम्की दिइएको बारे बु‰न खोज्दा एक महिला आक्रोशित भइन्। 'तपाईंहरू केके लेखेर हाल्दिनुहुन्छ, हामीलाई पत्रकारसँग नबोल्नू,जग्गाको कारोबार उल्टेला भनेर फोन आइरहेको छ,' चारआलीस्थित घरैमा कुरा गर्दै जग्गाधनी ती महिलाले भनिन्, 'हामीलाई अप्ठेरो पार्ने काम नगरिदिनू, हाम्रो जग्गा हो, बेच्यौं, अरुलाई किन चासो?'

जग्गा प्रकरण कति पेचिलो हुँदै गएको छ भने शक्तिशाली मानिएका भर्खरै निर्वाचित जनप्रतिनिधिसमेत यसबारे बोल्न मान्दैनन्। 'जग्गाधनीलाई बिघामा २–४ लाख रुपैयाँ बढी दिएर धेरै मूल्यको लिखत बनाएको देखिन्छ,' आयल निगमले किनेको जग्गा पर्ने मेचीनगर–१३ का एक जनप्रतिनिधिले भने, 'मिलाएर पैसा खानलाई उनीहरुले जग्गाधनी फकाएका रहेछन्। पहिले धेरैले त्यो बुझेनन्।' उनले आफूलाई विवादमा नपार्न आग्रह गर्दै जग्गामा धेरै ठूलो पैसाको चलखेल भएको बताए।

निगमले झापामा प्रतिकठ्ठा १३ लाख ३१ हजार रुपैयाँका दरले २३ बिघा ३ कठ्ठा किनेको छ। मालपोत कार्यालय झापाको अभिलेखअनुसार स्थानीय चिरञ्जीवी मरासिनीको नाममा रहेको कित्ता नम्बर ११९८ को १० कट्ठा जग्गा एक करोड ३५लाख १० हजार रुपैयाँमा किनबेच भएको देखिन्छ। यसअनुसार यसको मूल्य प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँ पर्न आउँछ। त्यस्तै यहाँको जग्गाआयल निगमलाई बेच्ने सम्पूर्ण तारतम्य मिलाएका नेपाली सेनाका उच्च अधिकारी दीपककुमार कार्कीको नाममा रहेको कित्ता नम्बर ५८ को एक बिघा १८ कट्ठा, कित्ता नम्बर ५९ को एक बिघा १८ कट्ठा, कित्ता नम्बर ६७ को एक बिघा एक कट्ठा गरी चार बिघा १७ कट्ठा जमिन १३ करोड १० लाख ४७ हजारमा किनबेच भएको मालपोतको अभिलेखले देखाउँछ। यसको पनि मूल्य प्रतिकट्ठा १३ लाख ५१ हजार नै परेको देखिन्छ। साढे १३ लाख रुपैयाँमा खरिद गरिएको भनिएको यो जमिनको वास्तविक मूल्य बढीमा ६ लाखसम्म मात्रै हो।

जग्गा किनबेच हुँदाको सर्वमान्य अभ्यास समेतलाई माथ दिने गरी आयल निगमले झापामा जमिन किनेको छ। थोरै परिमाणको जमिन किनबेच हुँदा र एकैपटक धेरै जमिन किनबेच हुँदा मूल्यमा ठूलै अन्तर आउने गर्छ। '१–१ कट्ठा चोइट्याएर बेच्दा पनि ६ लाखभन्दा बढी दाम यहाँ कसैले दाम पाएको छैन,' लामो समयदेखि जग्गा कारोबार गर्दै आएका स्थानीय मेदनी बरालले भने, 'त्यति धेरै जमिन किन्दा साढे १३ लाख रुपैयाँ कट्ठा पर्‍यो भन्नु लाजमर्दो हो, सिधै पैसा खाने बहाना हो भन्ने जसले पनि बु‰छ।'

आयल निगमले चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जमिन किन्दा हरेक कट्ठाको दाम १३ लाख ५१ हजार तिरेको देखाएको छ। यसअनुसार सबै जग्गाको मूल्य६२ करोड ६१ ल्ााख ८८ हजार ५ सय रुपैयाँ देखाइएको छ। जग्गा बिक्री गरेका जग्गा धनीको हातमा भने बढीमा ६ लाख रुपैयाँ प्रतिकट्ठाका दरले मात्रै पैसा परेको छ।

आयल निगमलाई जग्गा बिक्री गर्ने १६ जनामध्ये अधिकांशले थोरै मूल्यमा जग्गा बेचेका हुन्। यसको अगुवाइ गर्ने उच्च सैन्य अधिकारी कार्कीसहितका केहीले भने राम्रै दाम लिएको स्थानीयको भनाइ छ। उनीहरु बाहेक नारायण मरासिनीले कित्ता नम्बर १०४० को १० कट्ठा एक करोड ३५ लाख १० हजारमा, राम मरासिनीले कित्ता नम्बर ७०९ को १० कट्ठा एक करोड ३५ लाख १० हजारमा, भानु मरासिनीले कित्ता नम्बर १०३९ र १०४१ को गरी १० कट्ठा १ करोड ३५ लाख १० हजारमा, नमिका कार्कीले कित्ता नम्बर ३०६ को एक बिघा १२ कट्ठा १० धुर जमिन चार करोड ३९ लाख ७५ हजारमा बिक्री गरेको झापा मालपोतको अभिलेखमा उल्लेख छ।

त्यस्तै, विष्णु कार्की भट्टराईले कित्ता नम्बर ६४७को तीन कट्ठा तीन धुर ४२ लाख ५५ हजार ६ सय ५० मा, छत्रकुमार कार्कीले कित्ता नम्बर ५७ को एक बिघा १८ कट्ठा पाँच करोड १३ लाख ३८ हजारमा, गोमाकुमारी बस्नेतले कित्ता नम्बर ७७५ को एक बिघा दुई करोड ७० लाख २० हजारमा, अनिलकुमार कार्की क्षेत्रीले कित्ता नम्बर ७९६ को एक बिघा दुई करोड ७० लाख २० हजारमा, विष्णुमाया कार्कीले कित्ता नम्बर ५६ को दुई बिघा १२ कट्ठा सात करोड २५ लाख दुई हजारमा बिक्री गरेको कागज मालपोतमा छ।

भिमादेवी मरासिनीको कित्ता नम्बर ११९९ को १० कट्ठा एक करोड ३५ लाख १० हजारमा, निरोजकुमार थपलियाको कित्ता नम्बर ७०६ र ७७६ को गरी तीन बिघा १० कट्ठा नौ करोड ४५ लाख ७० हजारमा, रमेश गौतमको कित्ता नम्बर ४७० को १० कट्ठा एक करोड ३५ लाख १० हजारमा, कमलामाया बस्नेतको कित्ता नम्बर ६४३ को पाँच कट्ठा ६७ लाख ५५ हजारमा र आभास र अग्रिम कार्कीको संयुक्त नाममा रहेको कित्ता नम्बर १५४ को तीन बिघा ६ कट्ठा जमिन आठ करोड ९१ लाख ६६ हजारमा किनबेच भएको मालपोतको अभिलेखमा देखिन्छ।

प्रकाशित: ३१ श्रावण २०७४ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App