१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडकमा करेन्ट

काठमाडौं- काभे्र, तिमाल गाउँका ३० वर्षीय छोइकु तामाङले राजधानीकै सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भन्ने सोचेकै थिएनन्। तर, उनले अनपेक्षित दुर्घटना झेल्नुपर्‍यो। सडकमै करेन्ट (विद्युतीय स्पर्शाघात) लागेर उनी घाइते भए।

लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिँडिरहेका बेला उनलाई करेन्ट लागेको थियो। विद्युत् पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाकए ढल्न पुगे। करेन्टले उनको दुवै खुट्टादेखि माथिसम्मको भाग जलेको छ। कीर्तिपुर अस्पतालमा तीन साताको उपचारपछि अहिले उनी घरमै आराम गरिरहेका छन्।

तामाङका अनुसार त्यो बिहान पानी परिरहेको थियो। बिहान पाँच बजेतिर लैनचौर पुग्दा सडक बीचमा नेपाली सेनाका जवान देखिए। तामाङलाई देख्नेबित्तिकै ती जवानले सडक बीचमा करेन्ट प्रवाह भएको तार लत्रिएकाले छेउबाट जान सुझाए। उनी सचेत हुँदै सडकपेटीबाट अघि बढ्दै थिए। चप्पल लगाएका उनलाई करेन्टले तान्यो। उनी सडकमै ढले।

ब्यँुझिदा वीर अस्पतालमा थिए। उनलाई तिनै सैनिक जवानले वीरमा पुर्‍याएका थिए।

उनको घाउ अहिले केही ओभाए पनि पूर्ण रूपमा निको हुन वर्षदिन लाग्ने डा. शंकरमान राईले बताए। उनको उपचार खर्च नेपाल विद्युत् प्राधिकरणले व्योहोर्ने सहमति भएको छ। 'प्राधिकरणमा बिल पेस गरेको छु, दिन्छन् होला,' तामाङले नागरिकसँग भने।

मजदुरी गर्दै आएका तामाङ डेरामा बस्छन्। कमाएको पैसाले परिवारको खर्च धान्थे। तर अहिले उनको कमाइ रोकिएको छ। पत्नी गर्भवती छिन्। कमाएर परिवार धान्ने तामाङलाई आफंै वर्षदिनसम्म काम गर्न नसक्ने भएपछि गर्भवती पत्नीसहित अन्य सदस्यको खर्च कसरी जुटाउने भन्ने पिरलो थपिएको छ। आफू निर्दोष हुँदाहुँदै पनि प्राधिकरणको लापरबाहीका कारण सडकमै करेन्ट लागेर घाइते हुनुपरेको उनले बताए। 'म सार्वजनिक सडकमा हिँडेका बेला करेन्ट लागेर यस्तो भएँ,' उनले भने, 'प्राधिकरणकै कमजोरीले करेन्ट लागेको हो। सम्पूर्ण खर्च र क्षतिपूर्ति प्राधिकरणले दिनुपर्छ।'

तामाङलाई आफू घाइते भएपछि यही महिना सुत्केरी हुने पत्नीको चिन्ता छ। 'छिट्टै श्रीमती सुत्केरी हुँदैछिन्, सुत्केरी हुँदा के खुवाउने?', उनले भने। उनी अहिले आफन्तको शरणमा छन्। तर परिवारको खर्च धान्ने आधार छैन। 'सधैं मजुदरी गरेर खाने मान्छे, अब के खाने?' तामाङले पीडा पोखे।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पानी परेका बेला ११ हजार भोल्ट प्रवाह भएको तार चुँडिएर सडकमा लत्रिएको थियो। सडकमा पानी जमेको थियो। पानीमा लत्रिएको तारबाट प्रवाह भएको करेन्ट लागेर सडकपेटीमा हिँडिरहेका तामाङ घाइते बनेका हुन्। विद्युत् पोलको पिन इन्सुलेटर टुटेर सो दुर्घटना हुनपुगेको हो।

त्यस्तै तीन साताअघि महाराजगन्ज पानीपोखरीमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको खाल्डो पुर्ने क्रममा टिपरचालक सिन्धुपाल्चोक, मेलम्चीका नवराज माझीले करेन्ट लागेर सडकमै मृत्युवरण गर्नुपर्‍यो। सोही गाडीका सहचालक रामबहादुर तामाङ करेन्ट लागेर गम्भीर घाइते बनेका छन्। उनको उपचार त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। घाइते तामाङ पनि सिन्धुपाल्चोक, मेलम्चीका हुन्। राजधानीका सडकका खाल्डा पुर्न प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार  महाराजगन्ज खण्डको खाल्डो पुर्ने ठेक्का सडक विभागले शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई दिएको थियो। कम्पनीका अनुसार खाल्डो नजिक गिट्टी खन्याएर हिँडेको टिपर ५० मिटर पर पुग्दा टायरमा ढुंगा अडि्कयो। टायरमा अड्केको ढुंगा निकाल्न सहचालक रामबहादुरले प्रयास गरे पनि सकेनन्। ढुंगा निकाल्न सजिलो होस् भनेर चालकले टिपरको बुममाथि उचाले। बिजुली प्रवाह भएको तारमा बुमले छोएपछि चालकको गाडीभित्रै मृत्यु भयो। सहचालक सडकमा बेहोस भए। प्राधिकरणले अव्यवस्थित रुपमा तार राखेका कारण यो दुखद घटना हुन पुग्यो।

शैलुङ कन्सट्रक्सन कम्पनीका प्रमुख रमेश सुवेदीले घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिएको बताए।

प्राधिकरण, रत्नपार्क शाखाका अनुसार बिजुलीको खम्बा या तारमा ठोक्किएर मासिक २५ देखि ३० वटा गाडी दुर्घटनामा पर्छन्। कतिपय दुर्घटनामा करेन्ट लागेर मानिसको ज्यान जान्छ भने कतिपयमा बिजुली खम्बा र तार भाँच्चिन्छ। प्राधिकरण, महाराजगन्जका शाखाका अनुसार मासिक औसत १५ देखि २० वटा मालवाहक गाडीले बिजुलीको तार चुडाउँछन्। धेरै तल तार टाँगिएका कारण यस्तो दुर्घटना हुने गरेको छ।

प्राधिकरणका अनुसार बिजुलीका खम्बामा अरु तार पनि टाँगिदा पनि दुर्घटना हुन्छ। यस्ता खम्बामा सबैभन्दा माथि बिजुलीको तार हुन्छ। बिजुलीको तारमुनि टेलिफोन र केबुलका तार राखिएका हुन्छन्। अव्यवस्थित रुपमा टाँगिएका यी तार पनि दुर्घटनाको कारण भएको प्राधिकरणका अधिकारी बताउँछन्। कतिपय अवस्थामा टेलिफोन र केबुलका तारको भारले पोल भाँचिने र विद्युतको तार चँुडिन गई दुर्घटना हुने प्राधिकरण, रत्नपार्क र महराजगन्ज नोलाइट शाखाले जनाएका छन्। 'हाम्रो तार जमिनबाट २० फिट माथि हुन्छ, अरु तारलाई गाडीले छुँदा खम्बा ढल्न पुग्छ, खम्बा ढलेर विद्युत् प्रवाह भइरहेको तार लत्रिएपछि दुर्घटना हुन्छ', प्राधिकरण रत्नपार्क नोलाइट शाखाका सुपरभाइजर हरिहरकुमार सिंहले भने।

क्षमताभन्दा बढी तारको भारले पनि बिजुलीका तार चँुडिन्छन्। 'नांगो तार भुइँमा लत्रेको अवस्थामा ज्यान जानेसम्मको दुर्घटना पनि हुन्छ,' प्राधिकरण काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय निर्देशक दीर्घायु श्रेष्ठले भने।

संख्यात्मक रूपमा धेरै तार चुँडिने र खम्बा भाँचिने भए पनि मानवीय क्षति भने कम हुनेगरेको प्राधिकरणका अधिकारीको दाबी छ। सडकमै करेन्ट लागेर मानवीय क्षति भएका दुर्घटनाको तथ्यांक भने प्राधिकरणसँग छैन। श्रेष्ठका अनुसार उपत्यकामा अव्यवस्थित तारकै कारणले दुर्घटना भएको महसुस सबै पक्षले गरेका छन्। उपत्यकामा अव्यवस्थित तारले निम्त्याएको करेन्टजन्य या अन्य दुर्घटना रोक्न दुई उपाय अपनाउनुपर्ने सुझाव श्रेष्ठको छ। पहिलो उपायअन्तर्गत, नेपाल टेलिकम र केबल कम्पनीहरूले प्रयोग नभएका तार निकाल्ने र अप्टिकल फाइबर तार जडान गर्ने। यो तत्कालीन उपाय हो। दोस्रो, बिजुलीदेखि केबुल कम्पनीसम्मका तार जमिनमुनि बिच्छयाउनु समस्याको दीर्घकालीन समाधान हो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले जमिनमुनि तार बिछ्याउने योजना बनाएको छ। यसका लागि चाँडै टेन्डर प्रक्रियामा जाने श्रेष्ठले बताए।

प्रकाशित: ३ भाद्र २०७४ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App