१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन महिला हत्या प्रकरण : छ महिना बित्दा पनि दोषी पत्ता लागेन

खोटाङ- होटलमा काम गर्दैआएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ छ महिनाअघि खोटेहाङ गाउँपालिका-८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परिन्। सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव २०७३ साल माघ २६ गते बुधबार बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो। युवतीको शवको टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो। घट्नास्थलमा मडारिएको, घसि्रएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। तर, रिता मृत फेला परेको छ महिना बित्दासमेत उनको हत्यामा संलग्न दोषीबारे कुनै अत्तोपत्तो छैन। प्रहरीले ‘घटनामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन।

यस्तै, जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्माको हत्यामा संलग्न दोषी पनि हालसम्म पत्ता लागेको छैन। स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो। हलेसीमन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो। तर, हालसम्म प्रहरीले दोषीबारे कुनै सुराकी फेला पार्न सकेको छैन। रिता र ज्ञानीमायाको मात्र होइन, गत साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी विकको हत्यामा संलग्न दोषीको अवस्था पनि अज्ञात छ।

६ महिनाको अवधिमा खोटाङका तीन महिलाको विभत्स र पासविक हत्या भयो। तीनवटै घटना प्रकृति पनि उस्तैउस्तै देखिन्छ। महिलाको हत्यारा पत्ता नलागेको विषयमा जिल्लाका सांसदले संसद्मा आवाज उठाइरहेका छन्। तर, तीनवटै महिला हत्यामा संलग्न दोषीबारे प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन। जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ। प्रहरीको अनुसन्धान टोलीलेसमेत दोषी पत्ता लगाउन नसक्दा अनुसन्धानमाथि नै प्रश्न उठेको सांसद विशाल भट्टराई बताउँछन्। घटनाको प्रकृतिका आधारमा तीनवटै अपराधमा एउटै व्यक्ति वा समूहको संलग्नता रहेकोसमेत अनुमान गर्ने गरिएको छ। लामो समयसम्म दोषी पत्ता नलाग्दा कतिपयले त ‘ठूलो मान्छे’कै संलग्नता भएकाले दोषी पत्ता लाग्न नसकेको भन्दै व्यंग्य गर्ने गरेका छन्। महिलाको हत्या लगत्तै प्रहरी ताते पनि दोषी पत्ता नलाग्दा अनुसन्धान प्रयास फलदायी बन्न सकिरहेको छैन।

विभत्सरूपमा रिताको शव फेला परेपछि तत्कालीन जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधान आफंै घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि क्षेत्रीय अनुसन्धान टीम (आरआइटी)को टोलीसमेत आएर घटनाबारे विषयमा अनुसन्धान गरेर फर्कियो। तर, आरआइटीले समेत रिताको हत्यामा संलग्न पत्ता लगाउन सकेन। डिएसपी प्रधान फर्किएपछि अनुसन्धानका लागि आरआइटी झिकाइएको थियो। आरआइटीको टोलीले फागुन २६ गतेदेखि केही दिन अनुसन्धान गरेको थियो। किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अनुसन्धानका लागि घटनास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगले सुक्ष्म अनुसन्धानका लागि विशेषज्ञ टोली पठाउन पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेको केही दिनमै रिजनल इन्भेस्टीगेसन टीम आएको हो।

रिताका हत्यारा पत्ता लगाउन माग गर्दै अन्तर पार्टी सञ्जाल राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको थियो। सञ्जालको ध्यानाकर्षणपछि घट्नास्थल पुगेको आयोगको टोलीले फागुन २२ गतेदेखि केहीदिन अनुसन्धान गरेर फर्किएको थियो।

प्रहरीले रिता, ज्ञानीमाया र देवी हत्याका विषयमा अनुसन्धान जारी राखेको बताए पनि दोषी पत्ता नलाग्दा पीडितपरिवार निरास छन्। देवी हत्याको अनुसन्धानकाक्रममा पक्राउ परेका एक जना तत्काल नै छुटेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए। देबीका श्रीमान भने रोजगारीका सिलसिलामा विदेशमा छन्। विक दम्पत्तीका एक छोरा र पाँच छोरी छन्।

दोषी पहिचान नहुँदा प्रहरीको आलोचना

खोटाङमा छोटो समयमै हत्या गरिएका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ। महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै प्रशासन र प्रहरीको आलोचना गरेका हुन्। साउन २९ गते देवीको हत्यमा संलग्न दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा धर्ना दिएका थिए। यस्तै, सांसद भट्टराईको नेतृत्वमा साउन १३ गते जिल्ला प्रशासन कार्यालय गएको जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका प्रमुख/उपप्रमुखको टोलीले तत्काल दोषी पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी र डिएसपी प्रधानको ध्यानाकर्षण गराएको थियो। खोटाङ जिससको प्रथम जिल्लासभामा जनप्रतिनिधिले महिलाको हत्यामा संलग्न पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि पोखेका थिए।

सांसद भट्टराईले लामो समयसम्म महिलाको हत्यारा पत्ता नलाग्दा अपराधिक सोच र प्रवृत्ति भएका व्यक्तिीले प्रश्रय पाएको बताउँछन्। ‘एक्लै  दोक्लै हिंडेका महिलाका लाश भेटिन्छन्, हत्यारा भेटिदैन,’ सांसद भट्टराईले भने, ‘दोषी पत्ता नलाग्दा मान्छे मार्दा पनि हुने रहेछ, बलात्कार गर्दा पनि हुने रहेछ भन्ने अपराधिक मानसिकताले प्रश्रय पाएको छ। यो दुःखद हो,’ पूर्वसांसद दुर्गाजयन्ती राईले तीन महिलाको हत्यामा संलग्न दोषीलाई तत्काल पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन प्रशासन र प्रहरीको ध्यानाकर्षण गराइन्। राईले भनिन्, ‘महिला हत्या भएको महिनौं वित्दा दोषीको अत्तोपत्तो नलाग्दा कानूनी राज्यको उपहास भएको छ।’

अनुसन्धानमा असहयोग भएको गुनासो

प्रहरीले भने हत्याका दोषी पत्ता लगाउन स्थानीयको असहयोग भएको दाबी गरेको छ। स्थानीयबाट आवश्यक सूचना प्राप्त नहुँदा अनुसन्धान गर्न र दोषी पत्ता लगाउन अप्ठ्यारो परिरहेको प्रहरीको भनाय छ। ‘ज्ञानीमायाको विषयमा फरक ढंगले अनुसन्धान गर्न लागेका छौँ,’ प्रहरी श्रोतले भन्यो, ‘देवीको विषयमा अनुसन्धान गर्ने टोली अहिले पनि घटनास्थलमै छ। समय लाग्ने देखिएको छ।’

प्रकाशित: ४ भाद्र २०७४ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App